८ वैशाख २०८१ शनिबार
विचार

भविष्यको अमूर्त चित्र

सत्य देखेर, जानेर वा विश्वासिला मानिसबाट सुनेर पनि असत्य मात्र पत्याउँछ भने त्यो मानिस बेबकुफ (स्टुपिड) नै हो। दुराशयले सत्यलाई सदैव लछारपछार गर्न खोज्छ। व्यक्तिगत स्वार्थका निम्ति सत्यको साटो मिथ्याको काँध थाप्नेहरू राजनीति, प्रशासन, आर्थिक क्षेत्र तथा पत्रकारितामा धेरै भेटिन्छन्। कूटनीतिमा पनि पूर्वाग्रह र बाहिरी शक्तिको प्रभाव क्यान्सर मानिन्छ। कुरै कुरामा राष्ट्रसंघका लागि नेपालका प्रतिनिधि ऋषिकेश शाहलाई सोभियत संघका सर्वोच्च शासक निकिता खु्रश्चेभले राष्ट्रसंघ प्रधान कार्यालयमा भनेछन्– ‘भाइ, तपाईँ राजा महेन्द्रबाट तलव खानुहुन्छ तर अमेरिकाले जे भन्छ, त्यो गर्नुहुन्छ।’ शाह आफैँ यस्ता कुरा सुनाउँथे।

स्पष्ट वक्ता शाह ठूलो स्वरमा बोल्थे। आफूले गरेका राम्रा–नराम्रा कर्म पनि सुनाउँथे। ख्रुश्चेभ ऊबेला अमेरिकासँग टक्कर गर्ने कम्युनिस्ट नेता थिए। सन् १९५८ देखि १९६४ सम्म प्रधानमन्त्री र पार्टीका सर्वोच्च कमान्डर थिए उनी। अमेरिका विरोधी राष्ट्रहरू उनको इशारामा चल्थे। स्टालिनका नीति उल्टाएर केही उदाहरणीय काम गरे उनले। सोभियत संघलाई अन्तरिक्ष कार्यक्रम आवश्यक छ भन्दै मार्गचित्र बनाए। यत्तिकैमा उनलाई हटाएर लियोनिद ब्रेझनेभलाई राष्ट्रको बागडोर सुम्पियो। प्रथम विश्वयुद्ध (सन् १९१४) सुरु हुँदा जन्मेका ख्रुश्चेभका धेरै गुण भए पनि हठी, घमण्डी र अरुका कुरा नसुन्ने खराव बानीले पतन भएको इतिहासकारहरूको धारणा छ। सैनिक सेवामा लागेर लेफ्टिनेन्ट जनरल भइसकेका ख्रुश्चेभले राजनीतिज्ञहरूलाई पनि परेड खेलाउन खोज्थे भन्ने उनका आलोचकहरूको तर्क छ।

अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टन भविष्यको चित्र कोर्न सफल राजनेता मानिन्छन्। उनी निर्दलीय पृष्ठभूमिबाट आएका एकमात्र राष्ट्रपति भए। ब्रिटेनको छत्रछायाँमा रहेको सम्भ्रान्त अमेरिकी परिवारमा हुर्केका ती बौद्धिक व्यक्तित्व कमान्डर–इन–चिफ (प्रधानसेनापति) भइसकेकाले ‘म्याप टु ग्राउन्ड’ भाषा प्रयोग गर्थे। फाल्तु कुरा नगर्ने र समयको मामिलामा प्रत्येक पलको सदुपयोग गर्ने उनको बानी थियो। बैठकमा एक मिनेट ढिलो पुगेछन् उनका दाजु पर्ने व्यक्ति। ‘माफ गर्नुहोस् राष्ट्रपति महोदय, मेरो घडी ढिलो भएछ’ भन्दै क्षमा माग्दा राष्ट्रपतिले भनेछन्– भोलि घडी फेर्नुहोस् नत्र म तपाईँलाई फेर्छु। हामीले एक एक सेकेन्ड उपयोग गरेर यो राष्ट्र बनाउनु छ। तसर्थ, समय गुमाउनेहरू मलाई मन पर्दैन।टर्कीका फिल्डमार्सल कमाल अतातुर्कले उद्योगबाट मात्र राष्ट्र समृद्ध बन्छ भन्दै आफ्नो स्पष्ट मार्गचित्र देखाए। बालबालिकासँग रमाउन पाउँदा खुसी हुने कमालका सन्तान भएनन्।

नेपालका कैयन् नेताले ‘अँगेनामा लोहोरो पाक्दैछ, पाकेपछि खालास्’ भनेर हजारपल्ट ढाँटे। ढाँटिरहेका छन्। 

आठ जना धर्मपुत्र/पुत्री हुर्काए उनले। अटोमन वार कलेजमा पढेका टर्कीका प्रथम राष्ट्रपति कमालले धर्म नै सबैथोक हो भनेनन् भनेर कट्टरपन्थी मुसलमानहरूले चर्को विरोध गरे। कमाल भन्थे– ‘धर्मबेगर राष्ट्र जीवित रहँदैन तर कर्मबेगरको धर्मले राष्ट्र चल्दैन।’ सम्पूर्ण सम्पत्ति राष्ट्रका नाममा अर्पण गर्ने ती राजनेताले इच्छापत्रमा लेखेका थिए– ‘मेरी बहिनी र आठ सन्तानलाई राष्ट्रले संरक्षण गरोस्।’ स्कुलका निम्ति ज्यामिति पुस्तकदेखि लिएर राष्ट्र धर्मलगायतका बारेमा नौवटा पुस्तक लेखे उनले।राजनीतिक तनाव र कचिंगल नहुने राष्ट्र कमै होलान् तर भविष्यको तस्बिर, मार्गचित्र, बाटो र उद्देश्य सफा छ भने राष्ट्र र जनता चिन्तित हुनुपर्दैन। तातो तावाबाट भुंग्रोमा परेको माछा भएका छन् आज नेपाली जनता। त्यसैले प्रायः हरेक मुहारमा विषाद, चिन्ता, भय र अन्योल देखिन्छ। कारण एउटै छ– दलहरूले जनतालाई अझै पनि ढुक्क बनाउन सकिरहेका छैनन्। भविष्यको चित्रसमेत कोर्न सकेनन्।

उनन्तीस वर्षसम्म सिंगापुरको नेतृत्व गरेका राजनेता लि–क्वान–यु एसियाका मात्र होइन, विश्वकै उदाहरणीय मानिन्छन्। ‘द सिंगापु्र स्टोरी’ ग्रन्थमा कति दुःखले राष्ट्र शान्त, समुन्नत र स्वतन्त्र रहन्छ भन्ने वर्णन गरेका छन्। ब्रिटेनबाट राष्ट्रलाई स्वाधीन मात्र बनाएनन् उनले। ‘राष्ट्रपिता’ भनेर जनताले सदैव सम्मान गरेका पूर्वप्रधानमन्त्री लि–क्वान–युले अमूर्त कुरा गरेर जनतालाई अल्मल्याएनन्। इमान, साहस, विवेक र लगनले मात्र राष्ट्र बन्छ भन्दै उनले कैयन् ठाउँमा भनेका छन्– सानै भए पनि दिनहुँ एकएक वटा असल काम गर। घर, समाज र राष्ट्र स्वतः सुन्दर बन्छ। सिंगापुरबाट काठमाडौँ आएका एक जना पत्रकारलाई मैले सोधेको थिएँ– ‘ती बालाई जनताले किन धेरै मन पराएका ? के गुण छ त्यस्तो ?’ उनले भने– भेरी सिम्पल, बूढाले कहिले पनि ढाँट्दैनन्। थोरै बोल्छन् र काम फत्ते गरेर देखाउँछन्। त्यति गरे त हुँदोरहेछ नि। नेपालका कैयन् नेताले ‘अँगेनामा लोहोरो पाक्दैछ, पाकेपछि खालास्’ भनेर हजारपल्ट ढाँटे। ढाँटिरहेका छन्। समाजवाद, राष्ट्रवाद, अन्तर्राष्ट्रियवाद, उदारवाद, सुधारवाद, क्रान्तिकारी छलाङ, धरातलीय यथार्थ, अर्जुनदृष्टि, साम्यवाद, खुला बजार, उदारीकरण के के हो के के !

यसरी ढाँटेरै २०४६ सालपछि हजारौ ‘राजनीतिज्ञ’ रोडपतिबाट करोडपति भए, अर्बपति भए। स्पष्ट मार्गचित्र बनाउन नसक्ने प्रवञ्चकहरूकै वरिपरि प्रदक्षिणा गरिरहन पाउँदा ‘जनता’ स्टिकर टाँसेका लाखौँ कार्यकर्ता प्रशन्न छन्।‘रिडर्स डाइजेस्ट’ पत्रिकामा धेरै सालपहिले प्रकाशित एउटा ‘जोक’ याद आयो– ‘मान्छेले मान्छेलाई शोषण गर्ने प्रणाली पुँजीवाद हो भने शासकले जनतालाई निचोर्न पाउने प्रणाली साम्यवाद।’ हामी नेपालीले दुवै भोगिरहेका छौँ, टु–इन–वान। ‘दुई जना पाइलट’ रहेको सत्तारुढ दलका चालक आपसमा चिथोरिरहेका छन्, भुत्ल्याइरहेका छन् र विषवमन गरिरहेका छन्। विमान सकुशल अवतरण हुन्छ कि अलिकति इन्धन रहुन्जेल उडिरहन्छ, निधो छैन। बिहानै उठेर बजारतिर अल्लारिने र बरालिने बेरोजगार मानिसजस्तो देखिन्छ सरकार। हरेक दिन जनतालाई ढाँट्ने र दिन काट्ने गर्छ। ‘यसैगरी बिताइदिन्छु दुई दिनको जिन्दगी’ भन्दै नारायणगोपालले गीत गाएजस्तो गतिमा छ सरकार। साधन, स्रोत, ऊर्जा सबै छ राष्ट्रमा तर जनताले इमानदार सरकार देख्नै पाएनन्।

समाजवाद, राष्ट्रवाद, अन्तर्राष्ट्रियवाद, उदारवाद, सुधारवाद, क्रान्तिकारी छलाङ, धरातलीय यथार्थ, अर्जुनदृष्टि, साम्यवाद, खुला बजार, उदारीकरण के के हो के के ! यसरी ढाँटेरै २०४६ सालपछि हजारौँ ‘राजनीतिज्ञ’ रोडपतिबाट करोडपति भए। 

अमेरिकामा पनि कम्युनिस्ट पार्टी छ, सुषुप्त। कफी सप वा पार्कमा खासखुस गरेर बाँचेका छन् नेता। पत्रपत्रिकाले ठट्टा गर्छन्– अमेरिकी कम्युनिस्टका सन्तान पनि रातो ‘डाइपर’ लगाउँछन्। ‘रेड डाइपर बेबी’ एउटा ‘जार्गन’ बन्यो अमेरिकामा। झापामा तेह्र जना निर्दोष मानिसको हत्या गरेर ‘राष्ट्रका लागि त्याग गरेको’ कथा सुनाउनेहरू ‘स्कुलिङ’ चलाउन पैसा लुट्थे भन्ने कुरा ऊबेलाका कम्युनिस्ट बताउँछन्। रुकुममा खटिएका झापाका एक जना कम्युनिस्टले आफू ‘ध्रुव मल्ल ठकुरी’ नामले त्यहाँ गएको र केही दिन पाहुना बसेर घर मालिकलाई लुटेको बताए। यसरी लुट्ने कामलाई उनीहरू ‘मनी एक्सन’ भन्दा रहेछन्। ‘संस्थागत’ लुटपाट कम्युनिस्ट पार्टीका लागि ‘निष्पापकर्म’ मानिन्छ। सुनकाण्ड, जग्गाकाण्ड, विमान खरिद प्रकरणलगायत यावत घोटाला प्रायोजित र निर्देशित थिए। त्यसैले सञ्चारमाध्यमले लेखे– ‘ठूल्ठूला भ्रष्टाचारीहरू प्रधानमन्त्रीकै सिरकभित्र गुँडुल्किएका छन्।’ त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमप्रति किन बारम्बार प्रहार गर्छन् भन्ने बुझ्न गाह्रो छैन।

राजनीतिशास्त्रका प्राध्यापकहरू पुराना ग्रन्थ हेरेर पढाउँथे– ‘कम्युनिस्ट शासनमा सबै जनता बराबर हुन्छन्। जात हुँदैन, शोषक राज्य हुँदैन र जनतामा भेदभाव हुँदैन। राष्ट्राध्यक्षले चौकीदारलाई पनि ‘कमरेड’ भन्छन्, जसको अर्थ हो, साथी।’ यो त कितावको मिष्ठान्न रहेछ, हेर्न मात्र पाइने। भियतनाम, चीन जस्ता राष्ट्रमा केही कम्युनिस्ट नेता राष्ट्रवादी पनि थिए– हो चिमिन्ह र माओ जस्ता। नेपालका ‘ठूला’ कम्युनिस्ट पनि राष्ट्रवादी भन्छन् आफूलाई। कति राष्ट्रवादी छन्, महाकाली सन्धि, नागरिकता विधेयकलगायतका दस्तावेज हेरे पुग्छ। लालबाबु पण्डित (पूर्वमन्त्री तथा कम्युनिस्ट नेता) एउटा अन्तर्वार्तामा भन्दै थिए– ‘एमालेका ८६ जना नेतालाई संविधानसभा चुनावमा भारतले खर्च दिएको थियो।’ कम्मल ओढेर घ्यु खाने काम अझै जारी छ। माओवादी हुन् कि एमाले, काले÷काले मिलेर खाउँ भाले।

दलहरूबेगरको राजनीतिक प्रणाली पो चाहिने रहेछ भन्न थालेका छन् शिक्षित युवा। अमेरिकामा मन्त्री हुन दलको सदस्य र कार्यकर्ता हुनुपर्दैन, योग्य भए पुग्छ। राष्ट्रपतिले ज्ञान, इमान, क्षमता हेरेर मन्त्री छान्छन्। लेखक, प्राध्यापक, सेवानिवृत्त जर्नेल जो पनि मन्त्री हुन्छन्। नेपालमा मन्त्रीहरू पदेन बुद्धिजीवी बनेका छन्। अपवादवाहेक प्रायः सबै विगतमा पार्टीमा ‘योगदान’ गरेको कथा सुनाउँछन्। राष्ट्रलाई धनी, सुखी र खुसी पार्ने सपना बेचेर कति जना नेताले करोडौँको सम्पत्ति भेला पारे, अनुसन्धान हुन बाँकी छ। राष्ट्र लुट्ने व्यक्ति र दलमाथि ‘सर्जिकल स्ट्राइक’ गरेर सम्पत्ति फिर्ता गर्ने हो भने विदेशीसँग भीख माग्नुपर्दैन। सन् १९७६ मा एउटा विमानमा बन्धक बनाइएका यात्रीलाई मुक्त गर्न एन्टेबेमा सेनाले ‘सर्जिकल स्ट्राइक’ गरेको थियो, युगान्डामा। ‘प्वाइन्ट टार्गेट’ सजिलो छ। मध्यरातमा कमान्डोले पचास साठी जना भ्रष्टाचारीलाई ‘उन्मुक्ति’ दिने साहस गरेमा राष्ट्र दरिद्रता र अभावबाट मुक्त हुन्छ। राष्ट्र लुट्नेहरूको भागाभाग हुन्छ।

‘दुई सय चालीस वर्ष एउटा वंशले नेपाल लुटिरह्यो’ भन्नेहरूले बितेका पन्ध्र बीस वर्षयता कति लुटे ? कति राष्ट्रघात गरे ? अमूर्त चित्र देखाएर ‘समाजवादमा पुग्ने’ र समृद्ध बनाउने भन्दै हामीलाई ठगिरहेका छन्। विविधताले भरिएको पृष्ठभूमि, भोगाइहरू हजारौँ सपनाको ‘कोलाज’ हो हाम्रो समाज। प्रथम विश्वयुद्ध र त्यो भन्दा अघिदेखि नेपाली सन्तानले रगत, पसिना र प्राणसँग परिवारको ‘खुसी’ साट्दै आएका छन्। जनताको पीडा नबुझ्ने शासकहरूले ढाँट्दै आएका छन्। सत्ताले जहिले पनि जनतालाई प्रतिपक्ष ठान्ने मानसिकता झन् खतरनाक देखिएको छ। कतैबाट आलोचना नहोस्, सञ्चारमाध्यम मुकदर्शक मात्र होइन, भजन गाउँदै खैँजडी बजाएर बसून् अनि दुःखी दरिद्रले खरानी घसून भनेर तस्कर, भ्रष्ट तथा बाह्य शक्तिका दूत तथा भूतहरूद्वारा महिमामण्डित सरकारलाई एउटै प्रश्न छ– अमूर्त चित्र बेचेर कहिलेसम्म ठगिरहन्छौ ?

‘हारे पनि जिते पनि हामी भविष्यप्रति आशावादी हुनैपर्छ। किनभने प्रत्येक पलपल इतिहास बन्दै नदीझैँ बगिरहन्छ र त्यो समय फर्केर आउँदैन’ भनेका थिए अमेरिकी राष्ट्रपति लिन्डन बि जोन्सनले। पुर्खाले हजारौँ वर्षसम्म नेपाल जोगाए तर ‘नयाँ नेपाल’ बनाउन आएकाले विगतलाई सराप्नेबाहेक कुनै स्थायी काम गरेको देखिँदैन। राष्ट्रिय मूल नीति र भविष्यको सुन्दर तस्बिर बनाएर सबै नेपालीलाई उत्साहित बनाउनुपर्नेमा पेसेवार राजनीतिज्ञहरू (?) आपसमा चिथोरेर समय बर्बाद गरिरहेका छन्। न घीन छ, न लज्जा।

प्रकाशित: २६ वैशाख २०७७ ०८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App