८ वैशाख २०८१ शनिबार
विचार

यतिभए पुग्छ प्रधानमन्त्री ज्यू !

कोरोना कहरले संसारमा धनीभन्दा गरिबलाई बढी दुःख दिइरहेको छ। भाइरस आफैंले वर्ग छुट्याएर दुःख दिने त होइन, तर भाइरसको नाममा शासकद्वारा लादिएका नियमले गरिबलाई मर्कामा पारिरहेका छन्। महामारी नियन्त्रणका लागिभनेर नेपाल सरकारले लकडाउन त लगायो, तर त्यसले देशमा रहेका फरक वर्गका मानिसलाई कस्तो र कुन तहसम्म असर पार्छ भन्ने हेक्का राखेको देखिएन। सरकारले जनतालाई कोरोनाबाट जोगाउँछु भन्दा भोक र चिन्ताले चाहिँ मार्न लागेको होकि भन्ने महसुस भइरहेको छ। 

प्रधानमन्त्रीज्यू, तपाईंले हाँसीहाँसी अब कोही भोकै बस्नुपर्दैन भन्दा हजारौं जनताको अनुहार खुसीले धपक्क बलेका थिए,उनीहरूले देउतै भेटेझैं मानेका थिए। कामदारको सुरक्षा गरिनेछ, रोजगारी दिलाइनेछ भनेर भाषण गर्दा हजारौं ताली बजेका थिए।  तर आज के भइरहेको छ,थाहा छ तपाईंलाई ?कि ती दुःखी जनताको सास्ती तपाईंलाई देखाइएको र बताइएको छैन कि तपाईं थाहा पाएर पनि यिनको भाग्य नै यस्तै हो, केही गर्न सकिँदैन भनेर आराम गरिरहनुभएको छ। तपाईं त बालुवाटारको सुविधा–सम्पन्न भव्य महलमा– जे खान मन लाग्छ,त्यही‘अर्डर’गर्दै स्वास्थ्य–लाभ गरिरहनुभएको छ। तर यो लकडाउनले कति लाख जनताको स्वास्थ्य दीर्घकालीनरूपमा बर्बाद गरिरहेको छ,ख्याल गर्नुभएको छ ?

प्रधानमन्त्रीज्यू,हो, हामी धनमा गरिब हौंला, तर मन, इच्छा–शक्ति र स्रोतमा निकै धनी छौं। आज लाखौं नेपाली युवा विदेशमा पसिना बगाउँदै ती देशलाई समृद्ध बनाइरहेका छन्। याद आउँदैन तपाईंलाई,चुनावताका आफूले गरेका वाचा? भन्नुभएको थियो नि– विदेशिएका युवालाई देशमै फर्काउँछु,विदेशिन नपर्ने अवस्था सिर्जना गर्छु। अहिले कोरोना महामारीका कारण लाखौं युवा खाडी मुलुकमा रोजगारी गुमाउँदै हामीलाई स्वदेश  फर्किन देऊ भनिरहेका छन्, तर तिनको हारगुहार सुन्न चाहनुहुन्न। भारतको सीमानामा बिचल्ली परेका जनताको दुःखले तपाईंलाई छुन्न। ती युवा देश फर्किनु भनेकै कोरोना ल्याउनु हो ?ती युवा अब देशलाई कामै नलाग्ने भइसकेका हुन? ठीकै छ, युरोप, अमेरिका अस्ट्रेलियाजस्ता देशमा विभिन्न तरिकाले छिरेका,अझै धेरै त नक्कली शरणार्थी बनेर त्यतै स्थायी बसोबास गरेका र नागरिकता लिएकाहरूलाई जेजस्तो गर्नुहुन्छ गर्नुहोस्, तर बाध्यताले खाडीलगायत देश गएका र परिवार नेपालमै रहेका नेपालीलाई कसरी देश नछिर्नु, नफर्किनु भन्न सक्नुभएको !

यो विपत्ति हामीलाई मात्र परेको होइन, विश्वलाई नै परेको हो। अझ हामी त अहिलेसम्म सुरक्षित अवस्थामै छौं।कोरोनाका कारण अहिलेसम्म कसैलाई ज्यान गुमाउनुपरेको छैन।  यो जस पनि तपाईंनै लिनुहोस्। थाहा छ तपाईंलाई, हामीभन्दा गरिब देशले पनि विदेशमा रहेका आफ्ना नागरिकलाई फिर्ता बोलाएका छन्। धनी देशले त जहाज नै चार्टर गरेर विदेशमा रहेका आफ्ना नागरिक स्वदेश फर्कारहेका छन्। नेपालबाटै अस्ट्रेलिया, बेलायत, अमेरिकाले आफ्ना नागरिक लगिसके। उनीहरूले विश्वका अन्य देशबाट यसैगरी आफ्ना नागरिक फिर्ता लगेका छन्। भुटान र माल्दिभ्सले समेत आफ्ना नागरिकलाई हाम्रो देशबाट लगेको तपाईंले देख्नुभएकै होला।कि तपाईंका सल्लाहकारले यस्ता सूचना लुकाएका छन् ?प्रधानमन्त्री ज्यू, अरू देशले यस्तो गरिरहँदा तपाईंलगायत हाम्रा नेता भने जो कोहीपनि देश छिर्न र निस्किन बन्देज हो भन्दै किरियापुत्रीलाई समेत विदेशीभूमिमै अलपत्र पर्न बाध्य पारिरहेका छन्।  अन्तिम सास लिइरहेका आफ्ना मातापिताको अनुहार हेर्नबाट समेत रोकिरहनुभएको छ,मानवता भन्ने चिज कता हरायो प्रधानमन्त्री ज्यू ?

हामीलाई अहिले केरुङ रेल, पानीजहाज र सेटलाइट चाहिएको छैन। विदेशी भूमिमा रहेर स्वदेश फर्किन चाहनेलाई आउन दिनुहोस्, सुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराइदिनुहोस्।

कोरोनाका कारण देशभित्र लाखौँ नागरिकले रोजगारी गुमाउँदै छन्। दिनभर काम गरेर बिहान–बेलुका हातमुख जोड्ने वर्ग अहिले भोकभोकै परेको छ। साना व्यवसायी ऋणमा डुबिरहेका छन्। मध्यम र ठूला व्यवसायी÷उद्योगीपनि संकटमा परेका छन्। यस्तो अवस्थामा सरकारले ती निम्नवर्ग र उद्योगी÷व्यवसायीको उद्धारका लागि कार्यक्रम घोषणा गर्नुपर्ने समयमा तपाईंलाई आफ्नो सत्ता मजबुत बनाउन अरूदल टुटफुट गराउने अध्यादेशको आवश्यकता महसुस हुन्छ। जनता सयौं किलोमिटर हिँडेर घर फर्किरहेको तपाईंलाई पत्रकारले रचेको षड्यन्त्र लाग्छ। ती व्यवसायी र उद्योगीले कर तिरेको गुन सरकारले फिर्ता गर्ने बेला होइनर यो ?उनीहरूलाई संकट पर्दा सरकार साथमा छ है भनेर प्रमाणित गर्ने बेला होइन र यो ?
लकडाउनले निर्माण–कार्य ठप्पजस्तै भएको छ,निर्माण कम्पनीका करोडौंका उपकरण थन्किएर बसेका छन्। निर्माण मजदुर बिचल्लीमा परेका छन्। प्रधामन्त्री ज्यू, सहरभन्दा निकै बाहिर रहेका आयोजना रोक्नैपर्ने थियो र? मजदुरको बिचल्ली पार्नैपर्ने थियो र ?वर्षाअगाडि खोलाको काम सकाउनुपर्ने जलविद्युत् आयोजना लकडाउनकै कारण १ वर्ष पछि धकेलिनपुग्दा निजी लगानीकर्ताको लगानी डुबेको तपाईं देख्नु हुन्न,किनकि तपाईंका सल्लहाकारले यस्तो कुरा बताउँदैनन्। सुरक्षितरूपमा निर्माण–सामाग्री आपूर्ति गर्दै आयोजना निर्माण थाल्न सकिन्थ्यो। त्यसो गर्दा निर्माण कम्पनी र लगानीकर्ता मात्र होइन,मजदुरको बिचल्ली हुने थिएन। तर तपाईंको प्राविधिक टोलीले यो सोच्न सकेन, जसका कारण आज ती सबैको बिचल्ली भएको छ। 

प्रधानमन्त्री ज्यू,स्वास्थ्य जनताको आधारभूत अधिकार भनेर त संविधानमा लेखियो, तर आज अवस्था कस्तो छ भन्ने त तपाईंलाई भनिरहन नपर्ला। स्वास्थ्य उपकरण र सामाग्री खरिद गर्ने बाहनामा खरिद ऐन मिचियो र करोडौंको चलखेल गर्ने प्रयास भयो। जनताको करमा नेताको रजाइँ हुँदा तपाईंले उनीहरूकै बचाउमा बोल्नुभयो। सिंगापुरबाट अनुदानमा आउने स्वास्थ्य सामग्रीलाई तपाईंको सरकारले स्वीकार गरेन, किनकि त्यो अनुदानमा कसैलाई कमिसन आउने थिएन। दिनरात नभनेर आफ्नो स्वास्थ्यको पर्वाह नगरी सुरक्षा साधन (पिपिई)बिनै खटिने स्वास्थ्यकर्मीको हुमर्त लिने काम भयो। मन्त्रालयमा बोलाएर धम्की दिने काम हुँदा तपाईंले थाहा नपाएझैं गर्नुभयो। जनताले तपाईंलाई बहुमत दिएको यस्तै गर्न हो त प्रधानमन्त्री ज्यू?

तपाईंको प्रहरी–प्रशासनले औषधि किन्न हिँडेका नागरिकलाई लाठी वर्षाउँछ। सयौं किलोमिटर पैदलै गन्तव्य फर्केका गरिबलाई फेरि पुरानै ठाँउमा फर्काउँछ। आवश्यक काम परेर साइकलमा सवार सर्वसाधरणलाई नीलडाम हुने गरी हिर्काउँछ। तर तपाईंको पार्टीका सांसद, अनि पूर्वप्रहरी प्रमुख लकडाउन उल्लंघन गर्दै सयौं किलोमिटर टाढा पुगेर अपहरण शैलीमा कसैलाई काठमाडौं ल्याउँछन्। तपाईंका विद्यार्थी संगठनका प्रमुखले राहत बाँड्ने भन्दै कैयौं गरिबलाई एकै ठाउँ भेला गराउँछन र ‘सामाजिक दूरी’को धज्जी उडाउँछन्। लकडाउन गरिबलाई मात्र लागू हुने हो त प्रधानमन्त्रीज्यू ?ती सांसद, नेता, अनि पूर्वप्रहरी प्रमुखलाई चाहिँ लकडाउन लागू हुन्न?

प्रधानमन्त्री ज्यू,गुनासो मात्रै कति गरौं ?यो संकटलाई एउटा अवसरका रूपमा लिइदिनुहुन आग्रह गर्छु। तर नेता र पार्टीका लागि होइन, देशको विकास गर्ने मौकाका रूपमा सोचिदिन अनुरोध गर्छु। विदेशबाट फर्किने युवाले केही न केही सीप लिएर आउँछन्।थोरै पुँजी पनि पक्कै ल्याउलान्।उनीहरूको क्षमता चिनेर सदुपयोग गर्ने कार्यक्रम ल्याउनुहोस्।प्रविधिको विकास गरेर काम गर्ने वातावरण बनाइदिनुहोस्। अनलाइन सपिङदेखि कन्ट्याक्टलेस पेमेन्ट, फोन र इमेलबाट प्रशासनिक काम र आवश्यकता पर्दा अनलाइनबाट अध्ययन गर्न सकिने कामको सुरुवात गर्नुहोस्। कृषिमा व्यापक अनुदान र प्रविधि भित्र्याउँदै देशलाई आत्मनिर्भर बनाउने यो सुनौलो मौका हामीले पाएका छौं। नगुमाऔं। देशभित्रै केही गर्न सकिन्छ भनेर युवाको मनमा आत्मविश्वास भर्ने अवसर पनि हो यो, खेर नफालौं। 

अन्तिममा, हामीलाई अहिले केरुङ रेल, पानीजहाज र सेटलाइट चाहिएको छैन।विदेशी भूमिमा रहेर स्वदेश फर्किन चाहनेलाई आउन दिनुहोस्, सुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराइदिनुहोस्। कृषि क्षेत्रमा आवश्यक सिँचाइ, मल, बीउबिजन र उपकरण सहजरूपमा उपलब्ध हुने वातावरण बनाइदिनुहोस्। हामी र हाम्रा सन्तान घरबाट बाहिर निस्किँदा सुरक्षित महसुस गर्न सकिने प्रशासन निर्माण गरिदिनुहोस्। सरकारका गलत कामको विरोध निर्धक्कसँग गर्न पाइने अधिकार दिनुहोस्। देशमा केही त सुधार हुँदै छ है भन्ने आभास गर्न भ्रष्टाचारीलाई जोगाउने होइन, जेल पठाउनेतिर सोच्नुहोस्। हामीलाई यतिभए पुग्छ, प्रधानमन्त्री ज्यू !

प्रकाशित: २४ वैशाख २०७७ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App