१३ असार २०७९ सोमबार
विचार

१३५ वर्षअघिको त्यो हैजा

यतिबेला संसार कोभिड–१९ को महामारी सामना गरिरहेकोछ । अहिलेकोे समय संसारलाई धेरै लामो समयसम्म स्मरणमा रहनेछ । इतिहासका ठेली पल्टाउँदा संसारले यस्ता अनेकन विपद्को सामना गरेको भेटिन्छ । कोभिड–१९ को विपद् सुरु भएयता मानिसले सामना गरेका त्यस्ता महामारीकोव्यापक खोजीनीति र चर्चा भएका छन् । हामै्र देशको इतिहासमा पनि हाम्रो पुर्खाले त्यस्ता महामारीको सामना गरेका अनेकन घटना छन् ।१३५ वर्षअघि नेपाली जनताले त्यस्तै एउटा विपत्तिको सामना गरेका थिए– हैजाको महामारी । त्यतिबेला देशमा राणा प्रधानमन्त्री रणोद्वीप सिंहको शासन थियो । हैजाको महामारी फैलिएको त्यो बखत काठमाडौँस्थित बेलायती रेसिडेन्सीमा चिकित्सक कोटामा कार्यरत थिए– लेफ्टिनेन्ट कर्णेल जिएचडी. गिमलेट । 

उनी सन् १८८३ को नोभेम्बर महिना(वि.सं. १९४० मंसिर) मा नेपाल (काठमाडौँ) आएका थिए र सन् १८८७ जुन(वि.सं. १९४४ जेठ)सम्म बसेका थिए । झन्डै पाँच वर्षको नेपाल बसाइँका क्रममा गिमलेटले देखे, भोगे र सुनेका कुरामा आधारित रहेर एउटा पुस्तक लेखेका थिए– ‘नेपाल एन्ड द नेप्लिज ।’ पुस्तकमा उनले नेपालको सामाजिक, आर्थिक, प्रशासनिक, राजनीतिक र ऐतिहासिक परिचय सँगै नेपाल बसाइँको क्रममा आफूले गरेका अनुभव पनि लेखेका छन् । 

गिमलेट नेपाल रहँदै सन् १८८५ मे महिना(वि.सं. १९४२ वैशाख–जेठ) को मध्यतिर काठमाडौँ उपत्यकामा हैजाको महामारी फैलिएको थियो । काठमाडौँ उपत्यकामा वैशाख र जेठ महिनामा गर्मी हुन्छ । त्यसकारण यो समयमा सानोतिनो परिमाणमा हैजा र झाडापखालाको समस्या निकै पछि पनि फैलिएको हुन्थ्यो । गिमलेटले आफ्नो संस्मरणमा त्यतिबेला फैलिएको महामारीबारे चर्चा गरेका छन् । उनले लेखेको त्यतिबेलाको महामारीको प्रसङ्ग अहिलेको विश्वव्यापी महाव्याधिको समयमा स्मरण गर्नु उचित र उपयोगी हुनसक्छ । उनले त्यत्तिबेलाको महामारी यसरी सम्झेका थिए:
सन् १९४२ वैशाख महिनाको अन्त्यतिर काठमाडौँमा छिटफुट हैजाका बिरामी देखापरेका थिए । जेठ १ गते परेकोपानीले हैजाको बिरामीको संख्या एकाएक बढायो । हैजाका कारण दैनिक मर्नेको संख्या १०–१२ पुगेको थियो । जेठ ३ गते हनुमानढोका दरबारभित्र पनि अचानक हैजाले केही मानिसलाई थला पा-यो । केही घण्टाभित्रै हैजाका कारण २३ जना मानिसको निधन भयो । मर्नेमध्ये धेरै दरबारका सुसारे (केटीहरू) थिए । दरबारभित्र सबै भयभीत भए, त्यहाँ काम गर्ने सबै मानिसको चारैतिर भागदौड भयो । दरबारभित्र ३–४ सयको संख्यामा मानिस थिए । उनीहरू कोही पाटन दरबारमा पुगे, कोही भादगाउँको दरबारमा, कोही काठमाडौँ उपत्यका वरपरका विभिन्न क्षेत्रमा भागे । यसरी भागाभाग भएका मानिस पनि हैजा संक्रमित थिए । संक्रमितहरू पुगेका ठाउँमा उनीहरूले पनि रोग फैलाए । रोगका नयाँ नयाँ केन्द्र बन्दै गए । जेठ ३ गते एकै दिन काठमाडौँ सहरमा ५०–६० जना मानिस हैजाको कारण निधन भयो ।

गिमलेटले आफ्नो संस्मरणमा त्यतिबेला फैलिएको महामारीबारे चर्चा गरेका छन् । उनले लेखेको त्यतिबेलाको महामारीको प्रसङ्ग अहिलेको विश्वव्यापी महाव्याधिको समयमा स्मरण गर्नु उचित र उपयोगी हुनसक्छ ।

बेलायत सरकारले उत्तरपश्चिम सिमानामा तैनाथीको लागि सिपाहीको माग गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर त्यतिबेला उपत्यकाभित्र रहेका १६ हजार–१८ हजार सिपाहीमध्ये कसैलाई पनि घर बिदा दिइएको थिएन । तर हैजाको महामरी फैलिएपछि उनीहरू सबै आआफ्नो घर फर्के । 

हैजा लागेको कोही पनि बिरामी बाँच्ने सम्भावना साहै« कम हुन्थ्यो । कसैलाई हैजाका लक्षण देखिनेबित्तिकै वाग्मती किनाराको घाटमा दौडाइन्थ्यो । घाट छेउछाउका पाटीमा राखिन्थ्यो । बिरामीको लागि न कुनै ओछ्यान हुन्थ्यो न जीउ ढाक्ने कुनै न्यानो लुगा नै । बिरामीका आफन्त नजिकै टुक्रुक्क बसेका हुन्थे । बिरामी मरणासन्न हुने बेलासम्म त्यहीँ खाना पकाइन्थ्यो । जसै बिरामी मरेतुल्य हुन्छ तब उसलाई नदीछेउ लगिन्थ्यो । खुट्टादेखि घुँडासम्म पानीमा डुबाइन्थ्यो । कतिबेला बिरामीहरूको रेखदेख गर्न बस्ने मानिसको धैर्यको बाँध टुटिसकेको हुन्थ्यो, त्यसैले रोगीको अन्तिम बिदाइ गर्न उनीहरूलाई हतार भइरहेको हुन्थ्यो । मैले धेरै पटक आधा पानीमा डुबाइएको मानिस घन्टौँ श्वास फेरिरहेको देखेको थिएँ । तीमध्ये नदीमा चोबलिएको एकजना बिरामीलाई मैले अस्पतालका सहयोगीको साथ लिएर पानीबाट निकाल्न लगाएको थिएँ । त्यो बिरामी तीन दिनसम्म बाँच्यो । उपचार नपाएकैले उसको तीन दिनपछि निधन भयो । कति अभागीहरूलाई त संक्रमित भएलगत्तै नदीको किनारामा ल्याएर त्यत्तिकै छोडिन्थे । 

हुनेखाने परिवारको कोही मरे आफन्तले राम्ररी सद्गत गर्थे । लास पोलिँदैे गर्दा छेउमै बिरामीहरू अशक्त भएर लडिरहेका हुन्थे । गरिब र तल्लो जातका मानिसको लास त गहिराइ नभएको नदीको बीचमा हुत्याइन्थ्यो । सयौँको संख्यामा यसरी लास बेवारिसे फालिएका थिए । त्यस्ता लास कुकुर र स्यालले किनारामा लगेर लुछ्थे । असार महिनातिर आएर महामारी अलि कम भयो । त्यतिबेला काठमाडौँ उपत्यकामा दैनिक मर्नेको दर ५०–६० थियो । असार १७ गतेबाट एक सातासम्म पानी प¥यो । पानी परेपछि हैजा अझ फैलियो । दैनिक मर्नेको संख्या बढेर सय पुग्यो । केही दिनसम्म लगातार मर्नेको संख्यामा कुनै कमी भएन । त्यहीबेला तापक्रम पनि बढेको थियो । साउनको पहिलो साता मौसम अलि चिसो भयो । हैजाको प्रकोपले केही समय बिट मा¥यो । तर दोस्रो र तेस्रो सातामा अझ उक्लियो । सहरका विभिन्न भेगमा हैजाले दिनु दुःख दियो । अन्तिम सातासम्ममा भने महामारी निकै कम भइसकेको थियो । मर्नेको संख्या दैनिक २०–३० मा झरिसकेको थियो । भदौ–असोजसम्म अवस्था त्यस्तै रह्यो अनि असोजसम्ममा हैजाको प्रकोप रोकियो । 

काठमाडौँ उपत्यका र वरपरका सबै ठूला सहरमा महामारीले प्रभाव देखाएको थियो । असार महिनाको सुरुतिर पाटनमा महामारीले भयानक प्रभाव देखाइसकेको थियो । छोटो समयमा नै पाटनले काठमाडौँलाई उछिनिसकेको थियो । त्यसको एक दुई सातापछि भादगाउँमा पनि रोग फैलियो । त्यहाँ पनि मर्नेको संख्या केही समय त सबभन्दा माथिल्लो क्रममा नै थियो । 

जेठ–असारतिर बिदा लिएर घर–घर गएका सिपाहीहरूले चारै दिशाका गाउँ गाउँसम्म हैजा पु¥याए । कतिलाई बाटोमा जाँदाजाँदै हैजाले अत्यायो । बीचमै मरेकाको पोशाक, अन्य बन्दोबस्तका सामग्री र उनीहरूले बोकेका राज्यका अन्य सम्पत्ति सबै राजधानी फर्काइयो । मानिस यसरी चारैतिर छरिएपछि जताततै हैजाको प्रकोप देखियो । दरबारले दिएको जानकारीअनुसार काठमाडौँ उपत्यकामा मात्र मर्नेको संख्या दस हजार पुगेको थियो । कुनै मनसायले जानाजान दरबारले मर्नेको संख्या बढाएर सार्वजनिक गरेको हुनसक्छ । तथापि मर्नेको संख्या भने अचाक्ली नै थियो । 

महामारी फैलिएसँगै रेजिडेन्सीले दरबारलाई केही अस्थायी अस्पताल बनाउन चाहेको भनी खबर गरेको थियो । तर दरबारले कुनै चासो देखाएन । जोडबलले अन्ततः सहर(काठमाडौँ) मा एउटा सानो घरको भुइँ तल्लालाई स्वास्थ्य चौकी र औषधि वितरण केन्द्र(डिस्पेन्सरी) खोल्ने अनुमति दिइयो । त्यहाँ माग्न आउने जतिलाई औषधि दिने व्यवस्था मिलाइयो । तर बिरामीलाई भर्ना गरेर उपचार गर्ने कुनै ठाउँ मैले पाउन सकिन । केही बिरामीलाई म घरमै पुगेर जाँचेँ । असार ९ गतेदेखि भदौ १२ गतेसम्म वाग्मतीको किनारमा गएर त्यहाँ राखिएका बिरामीको उपचार गरेँ । धन्न दरबारले त्यति भने गर्न दियो । दर्ता खातामा गन्ती गर्दा जम्माजम्मी नौ सय नौ जना बिरामीको जाँच गरेको देखिएको छ । नदी किनारामा राखिएका बिरामीलाई औषधि स्वास्थ्य चौकीबाट दिने बन्दोबस्त गरिएको थियो । तर अन्धविश्वास, अज्ञानता र चासोको कमीले बिरामीलाई भयाबह अवस्थामा पु-याउँथ्यो । 

रेजिडेन्सीभित्र हैजाको प्रकोप भने देखिएन । त्यहाँको सरसफाइले त्यसमा पक्कै भूमिका खेलेको थियो । नजिकैका बस्तीहरूमा हैजाले भुसुक्कै बनाएको थियो । रेजिडेन्सी नजिकैको नालीमा हैजाले मरेका मानिसको लास त्यत्तिकै फालिएको हुन्थ्यो । रेजिडेन्सीमा सुरक्षाका लागि तैनाथ सिपाहीहरू र अन्य सहयोगीहरूलाई सहर पस्न निषेध गरिएको थियो । त्यसबाहेक रेजिडेन्सीमा आइसोलेसनको अरु कुनै उपाय भने अपनाइएको थिएन ।

प्रकाशित: १४ वैशाख २०७७ १०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App