coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

कोरोना र सीमा नियमन

नेपालले समयमै गर्न खोजेको भए प्रतिरोधको पूरै तयारी गर्न सक्थ्यो किनभने निकटतम मित्रराष्ट्र चीनको हुपेइ प्रान्तको उहानमा यो नोबेल कोरोना भाइरस देखिएको हो । जहाँ थुप्रै नेपाली विद्यार्थी अध्ययन गर्थे । उहानमा कोरोना छिटो फैलिन लागेपछि चीन सरकारले तत्कालै त्यो सहरलाई लकडाउन घोषणा ग-यो । यो महामारीको स्वभाव थाहा नपाउनेहरूले असन्तोष पनि पोखे । तैपनि उपचारमा पूरा खटिएका केही डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीको ज्यान गयो । कस्ता सक्कली डाक्टर, नर्स र स्वास्थ्यकर्मी, बिरामीहरूको पूरा लगनका साथ अहोरात्र खटिएर सेवा गर्दा आफैँ अस्ताए । यस्ता असल स्वास्थ्यकर्मीको प्रशंसा गर्ने शब्द नै छैन आजसम्म संसारका शब्दकोशहरूमा । 

यो भयो एकातिरको छिमेकी मित्रराष्ट्र । चीनमा नेपाली राजदूतावास थियो र छ । राजदूत थिए र थिए अरु पनि धेरै कर्मचारी  उहानमा पढिरहेका विद्यार्थीका परिवारले पनि नेपाल सरकारलाई आफ्ना सन्तान जो उहानमा पढिरहेका रहेका थिए, उनीहरूको कुशलताको खातिर जरुर सरकार गुहारे । विमान नै चार्टर गरी उहानका नेपाली फर्कन चाहने सबै विद्यार्थीलाई काठमाडौँ उतारियो र भक्तपुरको खरिपाटीमा विधिवत क्वारेन्टाइनमा राखी सकुशल घर–घर पठाइदियो सरकारले । सरकारको यो कदमको समर्थन र स्वागतसमेत भयो । हो, यसरी हाम्रो यो सरकार कोरोनाको बारेमा पूरापूर सुसूचित छ । सँगै हाम्रो मुलुकको स्वास्थ्य सेवाको नाङ्गो स्थिति पनि राम्ररी कण्ठस्थ नै छ । त यहाँ प्रश्न उठेको छ गम्भीर किसिमले । तब सरकारले बेलैमा कोरोना संक्रमणविरुद्ध किन चनाखो भएन र किन आवश्यक सुरक्षात्मक एवं प्रतिरोधात्मक कदम चालेन ? यो दोस्रो प्रश्न हो । पहिलो प्रश्न छ– खास खास ठाउँमा किन उपयुक्त स्वास्थ्य बन्दोबस्त गरिएन ?

राज्यविहीनताको अवस्था रोक
कम्तीमा अन्तर्राष्ट्रिय विमानस्थल र भारतबाट नेपाल प्रवेश गर्ने चौकी भएका जिल्लाहरूमा क्वारेन्टाइन, आवश्यक ओखतीमूलोसहित अस्पतालहरूको स्तर उकास्न सक्थ्यो । सरकारलाई पूरा थाहा छ– हाम्रो सार्वजनिक स्वास्थ्य प्रणाली कमजोर छ । यस्तो अवस्थामा पहिलेदेखि तयारी गरिएन भने परिणाम अवाञ्छनीय आउँछ । भारतमा हाम्रा नेपाली विभिन्न उमेर समूहका पनि धेरै जान्छन् तर गएको अभिलेख राखिँदैन । केटाकेटीसमेत ठूलो संख्यामा जान्छन् । त्यसो त यताबाट जानेमात्र होइन, भारतबाट पनि त्यस्तै ठूलो संख्यामा केटाकेटीसहित बथानका बथान आउँछन् । सरकारले यो नाङ्गो सत्यतर्फ आँखा लगाएन । लकडाउन गर्ने अवस्था पनि आउन सक्छ भन्ने दिशातिर पनि आँखा चिम्लियो । 

ओम्नी जस्तो बिजिनेस कम्पनीसँग सरकारले गरेको सम्झौता पनि थाहा हुँदोरहेनछ त विचरा प्रधानमन्त्रीलाई ।

भारतबाट पनि ठूलो संख्यामा नेपाली फर्किए । तिनको कुशल व्यवस्थापन गर्न सकेन । भारतमा एकैपल्ट तीनसाता लामो बन्दाबन्दी घोषणा गरेपछि त्यहाँ असंगठितरूपमा काम गरिरहेका नेपाली सपरिवार नेपाल फर्के। सबैलाई क्वारेन्टाइनमा राख्न सकेन । बल्ल बल्ल क्वारेन्टाइनमा राखिएकाहरू पनि कैयौँ भागे । धार्चुला सीमाको महाकाली तर्ने पुलमा ताल्चा लगाएपछि तीन दर्जन जति नेपाली महाकाली नदीमा हेलिएर दार्चुला छिरे । ती क्वारेन्टाइनमा बस्ने कुरै आएन । रुपैडिया, वेलाहिया, वीरगन्ज जस्ता सीमा नाकामा त सयौँ नेपाली र भारतीय भेडा बाख्राझैँ थुनिएका छन् । गड्डा चौकीको हालत पनि उस्तै छ । यी सबै अनर्थ हुनुको कारण कताका मान्छे कता कति गएका छन् भन्ने खाता नभएर हो । कम्तीमा अब त सीमा नियमन गरौँ । 

तयारीबिना लकडाउन
नेपालले गर्न खोजेको भए धेरै थोक गर्न सक्थ्यो नोबेल कोरोना भाइरसको आतंकबाट बच्न । अहिले यहीँका नेपाली त बसेकाछन् एकदमै ज्ञानी भएर । हाम्रो स्वभाव मैले बुझेसम्म चञ्चले हो, गम्भीर होइन । तर अहिले गम्भीर भै सरकारको बन्दाबन्दीको नयाँ आदेशको सामान्यतः पालना गरिरहेका छन् । तर भारतमा काम गर्न गएका धेरै नेपाली स्वदेश फर्केरआउँदा क्वारेन्टाइन नामको खोरमा बस्नुपरेको भन्ने गुनासो आइरहेको छ ।खासगरी उही सुदूरपश्चिम झुलाघाट, दार्चुलामा निकै कष्टकर दिन-रात बिताइरहेको गुनासो छ । उनीहरूको गुनासो सुन्दा राज्यबिहीनताको कष्ट बेहोरिरहेको कठिनतम अवस्थाबाट एक्काइसौँ शताब्दीको मानव अधिकारका न्यूनतम सुविधाको क्वारेन्टाइन त हुनुप-यो भन्नेतर्फ भारत सरकारको अविलम्ब ध्यानाकर्षण हुनुप-यो । 

कोरोना भाइरस उपचारका उपकरण र वस्तु किन्दा ४८ गुनासम्मको रकम बढी देखाएर कोरोनाले भन्दा बढी लुटेको कुरा पनि थाहा नहुने रहेछ । कसरी झुक्याउँदारहेछन् आफैँले पत्याएका मान्छेले ?

मान्छेको मृत्यु भनेको अन्तिम सत्य हो । मृत्यु भनेको त मृत्यु नै हो । कोरोनाबाट भएपनि मृत्यु, अव्यवस्थित क्वारेन्टाइनबाट भएपनि मृत्यु । कोरोना भाइरसबाट मात्र मृत्यु जोगाउने हो र ? यस दिशातर्फ गम्भीर ध्यानाकर्षण हुनुप-यो । यस्तोमा निजामती माध्यम त्यति प्रभावकारी हुन सक्तैन तसर्थ प्रधानमन्त्री ओलीले उताका प्रधानमन्त्री मोदीसँग एकपल्ट फोनमै वात मार्नुप-यो ताकि राज्यविहीनताको आजको अवस्था अन्त्य होस् । साथै हाम्रो नेपालको क्वारेन्टाइनमा बसेका भारतीय नागरिकहरूको अवस्था कस्तो छ त्यो पनि बुझी कमजोर भए सुधारिहाल्नेतर्फ पनि ध्यान जानु उपयुक्त हुन्छ । 

लकडाउन गर्नुभन्दा पहिले न्यूनतम आवश्यकताका खाद्य र पेयका वस्तुहरूको सहज आपूर्तिको सञ्जाल व्यवस्था गर्नैपर्ने । नानी जन्मनुअघि नै कन्ननीको जोहो जस्तो गर्नुपर्ने । तर सरकार हड्बडाएको र बिनापूर्व तयारी बन्दाबन्दी घोषणा गरिदियो । यस्तो व्यवस्था गर्नैपथ्र्यो र गर्न पनि सकिन्थ्यो । तर सरकारको ध्यान समग्रतर्फ जान सकेन । मात्र बन्दाबन्दी घोषणा गर्नेतिर गयो । जो ठीक होइन । त्यसो गर्न सकेको भए उत्पादक किसान, समुदाय र आमउपभोक्ता सबैलाई स्वास्थ्यका निम्ति ओखती र अन्य उपभोग्य वस्तुहरूको व्यवस्थापनमा ढुक्क हुने अवस्था आउँथ्यो । 

रूपान्तरण फेरि कोरोनामा
तीन दशक लामो पञ्चायती शासन र त्यसपछिको अर्को तीन दशक राजनीतिक अकर्मण्यता तथा गैरजिम्मेवारीका कारण अहिले झण्डै एकतृतीयांश नेपाली नागरिक नेपालबाहिर छन् । १३२ वटा मुलुकमा आफ्नो सुन्दर भविष्य निर्माणको सपनामा छरिएका छन् । त्यसरी विदेशमा छरिएका नेपाली कति त मानव तस्करद्वारा बेचिएका छन् । जोसँग नेपाली हो भनेर चिनाउने कागतको एउटा चिर्कटोसम्म छैन । औपचारिक तथ्यांक छैन तसर्थ अनुमान मात्र आधार हो । सरसर्ती हिसाव गर्दा अहिले ८८ लाख लगभग नेपाली विदेशमा हुनुपर्छ । वैदेशिक रोजगारीमा भन्दा औपचारिक शब्द भो । त्यो विशाल संख्याको जनता सबैसँग औपचारिक लिखत हुँदैन, छैन । 

भारत र नेपालबीच त खुलारूपमा जान÷आउन पाइने हुँदा झन अथाह छकति नेपाली भारतमा छन्, कति भारतीय नेपालमा छन् भन्ने एकीन गर्न । अनुमान हो, नेपाल बाहिर कामका लागि गएकामध्ये एक तिहाइभन्दा बढी त भारतमा छन् । जसको कुनै आधिकारिकताको संकेतसमेत हुँदैन । भारतका विभिन्न राज्यमा छरिएर बसेका छन् । भारतमा काम गर्ने नेपाली कामदारमध्ये मुस्किलले बढीमा दश प्रतिशत होलान् संगठित औपचारिक कागजपत्र भएका । अरु बाँकी ९० प्रतिशत लगभग त अनौपचारिक क्षेत्र कृषि मजदूर, चौकीदार, निजी निवास, सामुदायिक आवास र घरेलु काममा आबद्ध छन् । यस्तो वस्तुगत अवस्थामा भारतमा पनि अकस्मात लगातार तीन साता लामो लकडाउन घाषणा गरे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले । परिणाम अब ती अनौपचारिक क्षेत्रमा काम गर्ने नेपालीहरूमा आकस्मिकरूपमा वज्र प-यो । उनीहरूको एउटै मात्र बाटो रह्यो स्वदेश फर्कनु । त्यसैको परिणाम हो अहिलेको सीमामा जम्मा भएका फौज ।

स्नेह, वात्सल्य, आदर र सम्मान पुनःस्थापना 
सरकारले फेरि एक साताका लागि बन्दाबन्दी थप्यो । त्यसो त छिमेकी भारतले एउटै निर्णयबाट तीन साता लकडाउन घोषणा गरेको थियो । नेपालले पनि तीन पु-याउने भो तर किस्ताबन्दी गरेर । यसमा आलोचना एकैपल्ट तीनसाताको घोषणा भएको भए मान्छेले त्यसैबमोजिमको योजना बनाउँथे, सजिलो हुन्थ्यो । प्रधानमन्त्री ओलीले यी दुई साता अरु समस्या बढ्ने परोक्ष संकेत गरेर फेरि नयाँ साता पनि बन्दाबन्दीका निम्ति मानसिकरूपमा तयार हुन जनाउ दिनुभएको बुझेँ मैले । 

राष्ट्रमा बेलाबखत संकट आउँछ । यो नयाँ होइन । तर नयाँ हो के त भन्दा यो कोरोना संकट विश्वव्यापीरूपमा आयो । संसारै आत्तिएको छ । मुखले आत्तिनुहँुदैन भन्नेहरू पनि अन्तर्यमा आत्तिएका जस्ता देखिन्छन् । बेलायतमा प्रधानमन्त्री डेभिड जोन्सन जस्ता मान्छे घरमै थला परे । अहिले अस्पतालको सघन उपचार कक्षमा ओखती गराउँदैछन् । मैले बन्दाबन्दीपछि केही व्यस्त मान्छेसँग सम्पर्क गर्दा बडो प्रसन्नपूर्वक भन्नुभो– पुस्तक लेखिसकेँ । कतिले भन्नुभो– पुराना लेखका फाइल मिलाएँ । यो कोरोनाको प्रहार सकिएको एकाध महिनामा धेरै प्रकाशन आउनेछन् । त्यसबेला कोरोनाको विपक्षमा कम मान्छे उभिने लक्षण देखापरेको छ । कति परिवारमा आफ्ना पुस्ताको बारेमा जानकारी हासिल गरेका हुनेछन् । अघिल्लो पुस्ताले नयाँ पुस्ताको चाहना, आकांक्षा र मनोविज्ञान बुझेका हुनेछन् । केही अभिभावकले त आफूलाई पछिल्लो पुस्तामैत्री बनाउनेछन् । 

अहिले परिवारका सदस्यबीच गहिरो अन्तर्सम्बन्ध विकसित भएको छ । ससुरा वर्गका एक विद्वान् भन्दै हुनुहुन्थ्यो– बुहारीहरू घरै छन् । के के मीठो खाजा खुवाउँछन्, अघि-पछि अफिस जान्थे । बिहान÷बेलुकी पनि मीठो ख्वाउँछन् । खाजा पनि फेरि फेरि खुवाउँछन् । नाति-नातिनीहरू पनि नजिक छन् । घरमा स्नेह, वात्सल्य, आदर र सम्मानको वातावरण पुनःस्थापना भएको छ । बन्दाबन्दीको १६ औँ दिन बिहान आलु र कोइरालाको अचार खान दिए घरमा । कति सन्तोषको क्षण, कति सुन्दर काम ।

कोरोनाको अडिट भएपछि मात्र
तर लकडाउनका यी तीन हप्ताले हाम्रो नेपालको आफ्नै र विश्वभरकै अर्थतन्त्रमा कति हान्यो होला ? उत्पादनर उत्पादकत्व कति घट्यो होला ?सिङ्गो विश्वकै विकास र समृद्धिको ग्राफ कति बाङ्गिएर तल झ¥यो होला ? अब यो कोरोनाको निर्मम आक्रमणले विश्वकै निर्माण, विकास र उपलब्धिमा ह्रास कति अंकमा झ¥यो होला ? यी पक्ष मसिनो गरी केलाएर परिणाम आएपछि विश्व नै एकछिन टक्क रोकिन्छ कि जस्तो लाग्छ । त्यो बेला थाहा हुनेछ मानव समुदायलाई अहिलेको तत्कालको सतर्कता र सजगता भने यस्ता आपत्का बेला आपत्कालीन वस्तु एवं उपकरण किन्दा पनि ‘शुभलाभ’ को निकृष्ट काम पनि हुँदोरहेछ । 

ओम्नी जस्तो बिजिनेस कम्पनीसँग सरकारले गरेको सम्झौता पनि थाहा हुँदोरहेनछ त विचरा प्रधानमन्त्रीलाई । कोरोना भाइरस उपचारका उपकरण र वस्तु किन्दा ४८ गुनासम्मको रकम बढी देखाएर कोरोनाले भन्दा बढी लुटेको कुरा पनि थाहा नहुने रहेछ । कसरी झुक्याउँदारहेछन् आफैँले पत्याएका मान्छेले ? मंगलबार चैत २५ मा प्रधानमन्त्रीको सम्बोधनमा पनि अभिभावकत्व ग्रहण गरेको अनुभूत भएन । सबै तहबाट हताशाका मात्र सन्देश आउनुभएन । समाजमा मान्यजनहरूले अभिभावकत्व ग्रहण गरिदिनुप¥यो । जनताले अभिभावकत्व खोजेको जस्तो लाग्यो । यो कोरोना आतंक मत्थर भएपछि यस कालखण्डको क्षति र प्राप्तिको निर्मम एवं कठोर लेखा परीक्षण गरिनुपर्छ । त्यस्तो परीक्षण आन्तरिक र भौतिक विषयमा मात्र सीमित नभई मान्छेको यावत पक्षमा हुनुपर्छ । मानव मुल्यको दृष्टिबाट परिवारबीचको सम्बन्ध, सांस्कृतिक पक्ष, पुस्तान्तरणबीचको अन्तरसम्बन्ध जस्ता समष्टिमा मूल्याङ्कन भएमा यो कोरोनाको सही मूल्याङ्कन भएको हुनेछ ।

 

प्रकाशित: ३० चैत्र २०७६ ०४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App