७ वैशाख २०८१ शुक्रबार
विचार

राष्ट्रनायकको खोजी

मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला ‘समाज’ पत्रिका चलाउँथे मणिराज उपाध्याय। मदनमणि दीक्षित, गोपालदास श्रेष्ठ, शंकरनाथ शर्मा, श्यामदास वैष्णव आदि युवकहरू ऊबेला सक्रिय थिए। मणिराज सिंहदरवारमा प्रवेश गर्दा उच्चपदस्थहरू पनि सतर्क हुन्थे भन्ने कुरा श्यामदास अझै पनि सम्झन्छन्। मणिराजले लेखेका छन्– पत्रकारिताका बारेमा कुरा गर्ने हो भने यस्ता अनेकन उदाहरण दिन सकिन्छ जसमा पत्रकारहरूले औल्याएर सचिव र डाइरेक्टरहरू मात्र होइन, देशका प्रधानमन्त्रीलाई समेत जनविरोधी कार्य गरेबापत पदच्युत गराएको इतिहास पनि छ।

राजा महेन्द्रले समेत अखबारबाट सत्य थाहा पाएर आफ्नो भूल स्वीकार गरेका उदाहरण छन्। पूर्व तराईमा उनले आफ्ना सेवकलाई दिएको जमिन जंगल क्षेत्रमा पर्छ भन्ने कुरा पत्रिकामा छापिएपछि राजाले गल्ती स्वीकारे। बकस पाउनेलाई क्षतिपूर्ति दिएर सो जमिन फिर्ता गरे। पत्रकारिता सत्य र निष्पक्ष भएमा राष्ट्रका सारथि वा महारथिलाई मार्गदर्शन हुन सक्छ भन्ने यस्ता उदाहरण धेरै छन्। दलहरूमाथि प्रतिबन्ध लागेको कालखण्ड (२०१७ पुसदेखि २०४६ चैतसम्म) आजझैँ सञ्चारमाध्यम स्वतन्त्र थिएनन् तर धेरै जिम्मेवार थिए। पत्रकारितामा ४१ वर्षसम्म काम गर्दाको मेरो अनुभव हो यो। अपुष्ट, रहस्यमय, गैरजिम्मेवार, काल्पनिक र असत्य सामग्री प्रचारप्रसार गर्नेहरू दण्डित हुन्थे। पछिल्ला वर्षहरूमा भ्रम बेच्नेहरू पनि ‘ठूला पत्रकार’ भए। 

‘गोर्खापत्र’ स्थापना गर्दा वि.सं. १९५८ मा प्रधानमन्त्री देवशमशेरले इस्तिहार (सनदपत्र नै भनुँ) मा निर्देशन दिएका छन्– ‘हाम्रा तारिफका कुरा नछाप्नू।’ त्यो भनेको ‘सत्ताको चाकडी नगर्नू, देखेको कुरा स्पष्ट छाप्नू’ भनेकै हो। दलका सदस्य, नेता र कार्यकर्ता बनेका आजका धेरै पत्रकार आफ्नै दलका कैदी बनेका छन्। आफ्नो नेता ‘लास्टै खराब’ भए पनि उनीहरू दुर्गन्ध ढाकछोप गर्न भ्रमको अत्तर छर्किन्छन्। दलको कोटामा प्रेस काउन्सिल, पत्रकार महासंघलगायतमा ‘पण्डितहरू’ विराजमान भएपछि मालिकहरू रिझाउनै पर्‍यो। त्यस्तो अवस्थामा विवेकहीन वर्ग घर–घरमा खुलेका फोहरी मिडियाको कुसूचनाले आक्रान्त हुनु अस्वाभाविक होइन। राष्ट्र सर्वोच्च हुन्छ भन्ने विश्वासले जरा गाड्न राष्ट्रवाद पल्वित–पुष्पित हुनुपर्छ। उल्टो भयो यहाँ। दलवाद, गुटवाद, व्यक्तिवाद बलियो भयो।

चौध वा त्योभन्दा बढी जेल बस्ने संसारमा लाखौँ होलान्। त्यो योग्यताको होइन, अपराधको प्रमाणपत्र हो।

विधिको शासन प्रजातन्त्रको प्राण हो। यहाँ दलभित्रको एउटा झुण्डले राष्ट्र चलाउँछ। ऐन, नियम, कानुन मिचेर राष्ट्र हाक्नु पनि अधिनायकवाद हो विकासवादी नाताशाहमा जनताले यदाकदा स्वीकार गरेका छन्। सही ढंगले घर चलाउने र कुलको संरक्षण, सम्वद्र्धन तथा सम्पोषण गर्ने अभिभावकले गलत काम गर्ने सन्ततिलाई थप्पड हाने पनि सहन्छन्। तर घरको सम्पत्ति उडाएर आफू मोजमज्जा गर्ने र सन्तानको दुःख नबुझ्ने ‘गार्जियन’ घरका भाइरस हुन्। त्यस्ता भाइरस सिंहदरवारदेखि वडासम्म फैलिएका छन्। त्यसैले दलनायकबाट राष्ट्र चल्दैन, राष्ट्रनायक खोजौँ भन्दैछन् जनता। राष्ट्रनायक सुयोग्य, प्रभावशाली र दूरदर्शी भएमा संसारले पत्याउँछ। गाउँमा पनि जँड्याहा, फटाहा र अनैतिक धनीलाई भन्दा सभ्य, संस्कारी, सज्जान हितैषी गरिबलाई इज्जत गरिन्छ। २०१२ सालमा राष्ट्र संघको सदस्य भएको नेपालले परराष्ट्रमन्त्री चूडाप्रसाद शर्माको नेतृत्वमा राष्ट्रसंघीय महासभामा भाग लिन ६ जनाको प्रतिनिधिमण्डल पठायो।

त्यसमा हिमालयविक्रम शाह, प्रिन्सेप शाह, संसमान सिंह, केशरबहादुर केसी र दमनराज तुलाधर थिए। उनीहरूको व्यक्तित्व, प्रस्तुति तथा व्यवहारले राष्ट्रसंघका धेरै सदस्य प्रभावित भए। राष्ट्रसंघका प्रथम महासचिव ड्याग ह्यामरसोल्ड हवाई दुर्घटनामा पर्दा छानबिनको जिम्मा नेपाललाई दिइएको थियो। घरमूली भरोसायोग्य छन् भने छरछिमेकीले विश्वास गर्छन्। राष्ट्रनायक सुप्रवल र सक्षम छन् भने संसारले विश्वास गर्छ। राजनीति, कूटनीति र घर व्यवहारको आधार नै विश्वास हो। सुन्दा तीतो लाग्ला, आजका सबैजसो नेताले विश्वास गुमाएका छन् नेपालमा। जनतामा वितृष्णा बढेको छ। दलहरूभित्रै ल्याइते र व्याइते, ठ्या र मठ्याहा छुट्याउने प्रवृत्ति छ। खेतबारीका बीचमा बनेको घरमा पर्खाल (कम्पाउन्ड) लगाउँदा बटुवाले पनि परैबाट ३–४ आना जमिन रहेछ भन्ने चाल पाउँछ। कुनै कम्पाउन्ड छैन भने उसको जमिन कति भनेर हत्पत्ति मेलो पाउँदैन। कवि वासु शशिको एउटा कविता नै छ– पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ।

विलियम ग्ल्याडस्टोन ब्रिटेनमा चारपल्ट प्रधानमन्त्री भए। राजा वा महारानीले शासन गरे पनि कार्यकारी अधिकार प्रधानमन्त्रीमा रहने त्यहाँको प्रणालीलाई उनले प्राञ्जल बनाए। जनताले राष्ट्रनायककै रूपमा स्वीकार गरे। राष्ट्र र जनताको हितबाहेक जसको कुनै स्वार्थ हुँदैन, राष्ट्रनायक बन्ने र भन्ने आधार त्यही हो। चौध वर्ष वनबास बसेर भगवान राम प्रसिद्ध र पूज्य भएका होइनन्। जनताको हितमा काम गरेको अयोध्या क्षेत्र र रामराज्य भयो। चौध वा त्योभन्दा बढी जेल बस्ने संसारमा लाखौँ होलान्। त्यो योग्यताको होइन, अपराधको प्रमाणपत्र हो। कम्बोडिया, ब्रुनाइ, नर्वे, ब्रिटेन, थाइल्यान्ड, स्विडेन, स्पेन, स्विजरल्यान्ड, युएइ, साउदी अरेबिया, कतार, ओमान, हल्यान्ड (नेदरल्यान्डस्), भ्याटिकन सिटी, मोरक्को र मोनाको राजतन्त्रात्मक राष्ट्र हुन। यस्तै, मलेसिया, लक्जेमवर्ग, लिचेन्स्टाइन, लेसोथो, कुवेन, जोर्डन, जापान, डेनमार्क, भुटान, बहराइन र बेल्जियमको राष्ट्राध्यक्ष राजा छन्। यीमध्ये कोही पनि दरिद्र छैनन् भनेर संयुक्त राष्ट्र संघले स्वीकार गरेको छ।

नर्वे, डेनमार्क आदि राष्ट्र त मानव विकास सूचकांकमा अमेरिकाभन्दा अग्रणी छन्। सभ्यताको इतिहास पढ्दा संसारका सम्पदाहरू सक्षम राष्ट्रनायकले बनाएका पाइन्छ। चन्द्रलोकबाट पनि देखिने चीनको ग्रेटवाल, भारतको ताजमहल, काठमाडौँ उपत्यकाका प्राचीन मन्दिर तथा सहरको संरचना योग्य नायकहरूले निर्माण गरेका हुन्। राजतन्त्रलाई नरुचाउने इतिहासकारहरूले पनि लेखेका छन्– अस्थिरतामा होइन, विधिको शासन र स्थिरतामा सभ्यता फस्टाउँछ। राष्ट्रको नायक सवल र प्रभावशाली छ भने राष्ट्रको उन्नयन हुन्छ। राजधर्मका बारेमा गहिरो अध्ययन नगरेका राजनीतिशास्त्रीहरूले पाश्चात्य राजनीतिक दर्शनलाई अधिक महत्व दिने गरेका पाइन्छ। प्राचीनकालमा पनि प्रवल, सुुयोग्य, दीक्षित, धार्मिक, नैतिक र प्रजापालक राजाहरू भएकै कारण नेपालको रक्षा भएको थियो भन्ने कुरा स्वीकार गर्नुपर्छ। काल माक्र्सले निर्देश गरेको माक्र्सवाद, माओ–लेनिन–स्टालिन आदिको ‘सर्वहारा वर्गको अधिनाकयवाद’ आदि/इत्यादि त काठमाडौंँ कालिकास्थानस्थित वरको रुखभन्दा धेरै पुराना होइनन्।

दलहरूमाथि प्रतिबन्ध लागेको कालखण्ड (२०१७ पुसदेखि २०४६ चैतसम्म) आजझैँ सञ्चारमाध्यम स्वतन्त्र थिएनन् तर धेरै जिम्मेवार थिए।

दोस्रो महायुद्धभन्दा झन्डै एक सय वर्षअघिदेखि मालिक र मजदूरहरूबीच प्रदूषण, भ्रम र दूरी बढाएर केही कम्युनिस्ट नेताले आफ्नो घरको धुरी अग्लो बनाए। तसर्थ, साम्यवादको जन्म नै प्रतिशोध, दुरासय र वैमनस्यभावले भएको पाइन्छ। सत्रवटा राष्ट्रमात्र थिए महाभारतकालमा। आज झन्डै दुई सयवटा राष्ट्रले संयुक्त राष्ट्र संघबाट मान्यता पाएका छन्। राजधर्मले सबै मानव बराबर छन् भन्छ। मानव कर्तव्यको व्याख्या गरेको छ। राष्ट्रनायक निरंकुश हुन्छ र हुनुपर्छ भनेकै छैन। सत्रवटा राष्ट्रमात्र अस्तित्वमा छँदा नेपाल ऊबेला नै स्वाधीन, सम्पन्न र स्वावलम्वी थियो। जहाँ शासकहरू पराधीन बन्छन्, त्यो राष्ट्र मानसिक र मनोवैज्ञानिक दृष्टिले परतन्त्र बन्छ। नेपालले आज त्यही पीडा भोग्दैछ। खुला सिमाना व्यवस्थित नगर्ने, लाखौँ विदेशीलाई ठूला दल मिलेर नागरिकता दिने, स्वदेशमा कति विदेशी आए, गए र अवैधरूपमा बसेका छन् भन्ने अभिलेखसम्म राख्न नसक्ने अयोग्यहरूले किन ठूलो स्वरमा कुरा गर्नु ? समृद्ध नेपाल बनाउँछौँ भनेर सहरमा किन दलका नेताको तस्बिर झुण्ड्याउनु ? जनताको रगत/पसिना निचोरेर कहिलेसम्म सत्ताको सर्वत पिउनु ? भ्रष्टाचारीहरूलाई आफैँ सिरकमा गुटुमुटु पारेर भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न भन्दै बारम्बार जनतालाई किन ढाँट्नु ?

श्रीमद्भागवत्गीतामा नित्य कर्म, इच्छित कर्म र आपत्कालीन कर्मको व्याख्या छ। कर्म मुख्यतः तीनखालका हुन्छन्– स्वेच्छाचारी कर्म, अकर्म र कर्तव्य कर्म। शासकले कर्तव्य कर्म अर्थात राजधर्म पालना गरेनन् भने सत्तामा बसिरहन आवश्यक छैन। २०७२ सालको भूकम्पपछि विदेशबाट प्राप्त करोडौँ डलर बराबरको नगद–जिन्सी सहायताको व्यापक दुरूपयोग भयो। कोरोनाको त्रासले जनता भयाक्रान्त भइरहेका बेला सत्तापक्ष र विपक्षी दलहरू मिलेर चौध अञ्चलका प्रत्येक वडा, गाउँ र टोल स्वच्छ पार्न सक्थे। लाखौँ कार्यकर्ता भएको दाबी गर्ने दलहरूले सुरक्षाकर्मीहरूको मात्र दायित्व ठानेका छन् महामारीविरुद्धको युद्ध। विष्णु पुराणमा भगवान विष्णुलाई खुसी पार्नु सबैको उद्देश्य हुनुपर्छ भनिएको छ। दलनायकमा विष्णुको अवतार देख्ने र सत्य बोल्न डराउनेहरू पनि राष्ट्रलाई शक्तिशाली नेता चाहिन्छ भन्न थालेका छन्। नेपाललाई पुनः एकीकृत, सुदृढ, सुरक्षित र संरक्षित गराउने काम राष्ट्रनायक पृथ्वीनारायण शाहले गरे। उनको साहस, इमान, अहर्निश परिश्रम तथा अदम्य नेतृत्वले नै राष्ट्र निर्माणको सिलसिला अघि बढ्यो।

रामकृष्ण कुँवर, सुरप्रताप शाह, दलवीर शाह, तुलाराम पाँडे, दामोदर पाँडे, बम शाह, शिवनारायण खत्री, काजी अमरसिंह थापा, दलभञ्जन पाँडे, कालु पाँडे, शिवरामसिंह बस्न्यात, गन्दर्भ राना, भाष्कर राना, जयकृष्ण कुँवर, परशुराम थापा, हस्तिदल शाह, परशुराम थापा, भीमसिंह थापा, भक्ति थापालगायतका योद्धाले राष्ट्रनायककै नेतृत्वमा आफूलाई युद्धमा होमेका थिए। पशुपतिनाथप्रति अगाध आस्था राख्ने नेपालीहरू मन्दिरका वरिपरि बस्ने चारखुट्टे प्राणीलाई चिन्दैनन्। यत्ति थाहा छ– महादेवका नाममा ती चौपायाले पेट भरेका छन्। देवादिदेव महादेवसँग ती कसैको तुलना हुँदैन। राष्ट्रनायक बनेर राष्ट्र र जनताको निस्वार्थ सेवा गर्छु भन्ने सदाशय राखेर आज जसले राष्ट्र हाँक्ने अठोट राख्छ, जनताले विश्वास गरे भने केही दिनमै उथलपुथल हुन्छ। वरिपरिका दोपाया–चौपायाका हजार स्वार्थ होलान् तर राष्ट्रनायकको अठोट, गन्तव्य, साहस र समर्पण स्पष्ट देखियो भने युगले कोल्टे फेर्छ। त्यो बेला उदाउँछन् देदीप्यमान राष्ट्रनायक।

प्रकाशित: २९ चैत्र २०७६ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App