६ वैशाख २०८१ बिहीबार
विचार

शीतल निवासमा तक्मा थाप्नेहरू संकटमा कता?

डा. नम्रता पाण्डे 
कोभिड–१९ को महामारी ३ महिना अगाडि चीनमा फैलियो। चीन हुँदै आज युरोप र अमेरिकालाई आक्रान्त बनाइरहेको छ। बाहिरबाट आएकै नेपालीबाट नेपालमा संक्रमण देखिएको शंकामा ५ जनालाई जाँच गरिएकामा ३ जनाको नतिजा नेगेटिभ आएको र २ जनाको नतिजा आउन बाँकी भन्ने समाचार आइरहेको छ। समाचारका अनेक माध्यम भएपनि विश्व स्वास्थ्य संगठन र नेपालको स्वास्थ्य मन्त्रालयको समाचारलाई आधिकारिक मान्नुपर्ने कुरापनि सरकारकै प्रवक्ताले बताइरहेका छन्। यी दुई माध्यमलाई आधार बनाएर नेपालका सबै सञ्चार जगत, पत्रपत्रिकाले अहिलेको संकट र त्रासको अवसरमा भरपूर सूचना दिएर आफ्नो धर्म पूरा गरेका छन्। 

कतिपय सञ्चार माध्यमले यो शंका र भयको अवस्थामा सकारात्मक सन्देश दिने र सकारात्मक हुने उपायबारेका अन्तर्वार्ता र सामग्रीहरू पस्केर धेरै सहयोग गरेका छन् जुन सराहनीय छन्। राष्ट्र लक डाउनको अवस्थामा छ। जनता घरभित्र छन्।अन्य राष्ट्रमा जस्तै नेपालमा पनि एकैचोटि संक्रमण फैलिएमा हाम्रो तयारी अवस्था त्यति प्रभावकारी नदेखिएको हुँदा जनता घरभित्र रहेर पनि सरकारप्रति विश्वस्तहुन सकेका छैनन्। सबैको अनुभूति र अभिव्यक्ति यस्तै आइरहँदा राजनीतिक दल, तिनका सक्रिय कार्यकर्ता, जनप्रतिनिधि एवं उच्च धनाढ्य व्यापारी वर्ग कता छन् ?खोजी भएको अवस्थापनि छ। सामाजिक सञ्जालमा यस्ता सवाल बारबार आइरहे पनि कसैले खासै सम्बोधन गरेको पनि पाइएन।

केही दिन अगाडि उमेर ढल्किसकेका एकजना अनुभवी व्यक्तिले मलाई मेसेन्जरमा लेख्नुभयो– ‘म्याडम तपाईँको कलम चल्छ, वर्तमान संकटका सबै विषय समेटेर लेखहरू प्रकाशित भइरहेका छन्। अहिलेको सन्दर्भमा आपत्कालीन अवस्थालाई मध्यनजर राखेर सरकारले विश्वसनीय तयारी नगरेको र सरकारलाई सघाउन उच्च धनाढ्य व्यक्तिहरू खुलेर लाग्नुको सट्टा मौन बसेको देख्दा मलाई चित्त बुझेको छैन। तपाईँलाई कस्तो लाग्छ ? केही कुरा लेखेर जनताको मन शान्त पारिदिन सक्नुहुन्छ ?’ मैले हाँसेरमात्र जवाफ दिएँ। सोचेँ, ठीकै त हो नि,अहिले सरकारले सबैलाई घरभित्रै बसेर हामीलाई सहयोग गर्नु,हामी कुनैपनि समस्या आउन दिँदैनौँ भनेकै छ।किन कोहीपनि बाहिर निस्कनुपर्‍यो र ?उहाँको भावना हो, मलाई पोख्नुभयो ठीकै छ नि भनेर म चूपचाप बसेँ। 

केहीदिन बित्यो मेरो मनमा पनि उहाँको कुराले कता/कता घच्घच्याउन थाल्यो। साँच्चै शीतलनिवासमा लर्को लागेर अनेक विधामा विभूषित हुनेहरू अहिले कतागए होलान् हँ? राष्ट्रको सम्मान र तक्मालिन होडबाजी गर्दै नाम लेखाउनेहरू अहिले राष्ट्रको संकटमा होडबाजी गर्दै के गर्नुपर्छ मेरो तर्फबाट भन्दै लर्को किन नलागेका होलान् हँ?उमेर ढल्किसकेका एकजना अनुभवी व्यक्ति प्रतिनिधि पात्र भएर यो प्रश्न र जिज्ञासा उठाएपनि यसले धेरै जनताको जिज्ञासा समेटेको छ भन्ने भावले मलाई कलम नसमाइ सुखै दिएन। यो बीचमा अपवादका रूपमा १–२ जना मैदानमा उत्रिएका देखिएपनि अपेक्षित संख्या नदेखिएकै कारणले उहाँको मनमा प्रश्न र जिज्ञासा बाँकी रहेको अनुमान गर्न सकिन्छ। आजसम्म राष्ट्रको विकासमा होस् या निर्वाचन र अन्य निर्णयका कुरामा जनताका भावना, विचार र सामाजिक लेखा परीक्षण फेल खाएका छैनन्।उनीहरूका भावना र विचारलाई सम्बोधन गरिनुपर्छ भन्ने लाग्यो।

हामी कहाँ गरिबहरू मानसिक रूपमा गरिब छैनन्।उनीहरूलाई सामान्य जीवनशैली गुजारा गर्न पाए पुग्छ। मानसिक गरिब त तिनै वर्गमा देखिन्छ जसले पाइलापाइला आफ्नो व्यवसाय, सम्बन्ध र नाफा÷घाटा हिसाब गरेर पर्दा पछाडिबाट चलेका हुन्छन्।

सरकारले तिनलाई खोज्छ कि खोज्दैन आफ्नो ठाउँमा छ तर जनताले ऐन मौकामा हिसाब खोज्दा रहेछन् भन्ने उदाहरण पनि हो जस्तो लाग्यो।शीतलनिवासमा लर्को लागेर तक्मा थाप्नेहरूको भिडियो हेरेर र समाचार पढेरमात्र जनताले त्यसै बिर्सने र स्वीकार गर्ने होइनन् रहेछ। दूरदर्शी जनताले भविष्यमा पनि यसको परिणाम खोज्दा रहेछन्। सरकारसँग ऐन मौकाको फाइदा लिएर धेरै उच्चपदस्थ व्यक्तिले संकटकै अवस्थामा र अन्य मौका पारेर सुविधा लिने र परिआए अरबौँको भ्रष्टाचार गर्नमा पछि नपरेका पनि हुन्। नीतिगत रूपमै भ्रष्टाचार गर्ने परिपाटी कति बाहिर समाचार बनेर आए र कति भित्रभित्रै सेलाए। जनताले यी सबै बिर्सन्छन् या हामी पेलेरै जान्छौँ भन्ने मनसाय र मानसिकतालाई बेला मौकाले स्मरण गराइदिन्छन्। धेरैजसो राजनेताको आड भरोसा भनेकै उच्चघराना व्यापारी हुन् भन्ने बुझ्न कुनै गाह्रो छैन।मध्यमवर्गीय जीवनस्तरका राजनेताहरूको आजको जीवनशैली देख्दा सहजै अनुमान गर्न सकिन्छ कि उनीहरूमा यो विकास, यो परिवर्तन र यो समृद्धि कसरी आयो ? राष्ट्र गरिब र व्यक्तिधनी कसरी बन्दैछन् ?

कुनैपनि राजनीतिक नियुक्ति, सेवा, सम्मान र सुविधा तिनै वर्गलाई मिल्ने गरेको छ जो राजनेताको आसपासमा हुन्छन्।आजको संकटमा जनताले खोजेका र स्मरण गरेका व्यक्तिहरू सधैँ पर्दा पछाडि नै रहने गरेका हुन्छन्। त्यसैले होला आजपनि तिनीहरू पर्दाभित्र नै छन्।अहिलेपनि सरकारले संकटमा भनेर जतिपनि सुविधा घोषणा गरेको छ त्यसबाट निम्न स्तरका जनतालाई भन्दा तिनै धनाढ्य व्यापारीलाई फाइदा पुग्ने किसिमका छन् भनेर बुझेका छन् जनताले। विश्वको राजनीति र समृद्धि हेर्नेहो भने राजनेता र व्यापारी वर्गबीचको समन्वयले राष्ट्रलाई धेरै माथि उकासेका उदाहरण पाइन्छन् तर नेपालमा यसको अभ्यास राष्ट्र र जनहितमा भन्दा व्यक्तिगत फाइदामा अल्झेका कारण जनताका यी प्रश्न सधैँ नै ज्युँ का त्युँ रहने गरेको हुनुपर्छ। हामी कहाँ गरिबहरू मानसिक रूपमा गरिब छैनन्।उनीहरूलाई सामान्य जीवनशैली गुजारा गर्न पाए पुग्छ। मानसिक गरिब त तिनैवर्गमा देखिन्छ जसले पाइलापाइला आफ्नो व्यवसाय, सम्बन्ध र नाफा/घाटाहिसाब गरेर पर्दा पछाडिबाट चलेका हुन्छन्। राजनीतिक आड लिएर अनेकौँ सुविधा लिएका हुन्छन्।

यसले उनीहरूको व्यक्तिगत सम्पन्नतालाई लाभ पुर्‍याएको हुन्छ। सर्वसाधारण जनतालाई कुनै लाभ मिल्दैन। परिआएमा यस्ता संकटमा मैदानमा उत्रेर सहयोग गर्न होइन,कहाँनेर आफूले फाइदा लिन सकिन्छ भनेर दाउ हेरेर बसेका हुन्छन्। हामी एकछिन कल्पना गरौँ, चीन कसरी आफैँ सम्पन्नभयो ? ३ महिना कोरोना भाइरसले आतंकित पार्‍यो, रातारात हजारौँ व्यक्ति बस्न मिल्ने अस्पताल निर्माण गरेर देखायो। कोरोनाको संक्रमण बुहान सहरमा फैलियो तर बेइजिङ र सांघाइ नपुगी युरोप÷अमेरिका पुग्यो। चिनियाहरूले कुन मेकानिज्म र तयारीका उपाय निकालेर बुहानबाट भाइरस अन्यत्र फैलन दिएनन् होला?पूर्वतयारी र दूरदर्शिताको उदाहरण सिक्न पर्याप्त छ यो घटना। एउटा भनाइ पढेकी थिएँ– तेस्रो विश्वयुद्ध मैदानमा नलडीकन जितिन्छ। चीनका लागि यो झण्डै सही सावित भएको छ। बुहान सहरलाई पूरै लकडाउन गरी ३ महिनासम्म जनताको घर–घरमा आवश्यक र आपत्कालीन सेवा उपलब्ध गराएर ३ महिनाको अवधिमा आज कोरोनामुक्त राष्ट्र बनिसकेको छ। अब चीन आफ्नो पूर्वावस्थामा फर्किसकेको छ र अरू राष्ट्रलाई सहयोग गर्न तत्पर छ।

३ महिनाको कठिन अभ्यास, पूर्वयोजना र दूरदर्शिताको परिणामस्वरूप उसको आफ्नो नियमित उद्योगधन्दा र विकासका काम अरू अग्रसरताका साथ अगाडि बढ्ने निश्चित छ।हाम्रो स्थिति हेर्ने हो भने कैयौँ कलकारखाना र उद्योग पहिल्यै बन्द भइसकेका छन्। किन भएका हुन् भनेर हाम्रा नवसन्ततिले सोधे भने दिने जवाफ छैन हामीसँग। रणनीति, योजना र दूरदर्शिता प्रयोग गर्ने हो भने यसरी गर्न सके हाम्रो जस्तो सानो मुलुकलाई न कुनै आर्थिक संकट आइलाग्छ न त कुनै संकटकाल नै। यसका लागि जनहित र राष्ट्रहितका लागि सोच बनाएर काम गर्ने सम्पूर्ण सरोकारवालाको अहम् भूमिका हुन्छ। आफैँ मात्र सम्पन्न बनौँ र आफ्नै मात्र कल्याण होस् भन्ने भावनालाई तिरोहित गर्न नसकुन्जेल हाम्रो अवस्था यस्तै रहनेछ र जनताका प्रश्नबाँची नै रहनेछन्। हाम्रा भ्रष्टाचार र अनैतिकता अनि अराजकताका स्रोत के हुन् ?हामीले कसलाई मलजल गरिरहेका छौँ ?मौकामा सुविधा भोग्ने व्यापारी महाजनहरू पनि भनेजस्तो पुर्‍याउन नसक्दा अनेक धम्की र असुरक्षा भोग्न बाध्य भएका उदाहरण पनि छिपेका छैनन् तर यो प्रवृत्तिको विकास कहाँबाट भएको छ निर्मूल पनि त्यहीँबाट हुनु जरूरी छ।

संकटको यो घडीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको व्यक्तिगत सुरक्षालाई समेत प्राथमिकतामा राख्दै अत्यावश्यक र आपत्कालीन अवस्थाका लागि तयारी पूरा गर्न पटक्कै ढिला गर्नुहुँदैन। सबैको मिलेमतो सहयोग अहिले आवश्यक छ। त्यही सहयोगको अपेक्षाका लागि जनताले खोज्दैछन् सम्पन्न र सरोकारवाला वर्गलाई जसले तन, मन, धन लगाउन सक्ने खुबी राख्छन्। यो परिस्थितिले विश्वमै आर्थिक मन्दीको शंका उत्पन्न गराएको छ भने नेपाल त्यसबाट अवश्य अछूतो रहने छैन।यसमा सरकारलाई के सहयोग गर्न सक्छन् उद्योगपतिहरूले ?प्रतिकूल अवस्थामा उनीहरूले प्राप्त फाइदा र लगानीलाई अहिले संकटमा राष्ट्रको हितमा लगानी गर्न सक्छन् कि सक्दैनन् ? परीक्षाको समय आएको छ।

प्रकाशित: २१ चैत्र २०७६ ०५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App