coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

जो आफ्नै देश फर्किन 'आज्ञा' कुरिरहे

सन् २०१३ मा डेनमार्कबाट फ्रान्स जाँदै गर्दा सँगैको सीटमा एक युवक थिए। छोटो यात्रामा उनीसँग बोलचाल भयो। सिरियाका ति युवाले यूरोपमा इन्जिनियरिङको पढाइ भर्खर सकेका रहेछन्। मैले उनलाई नेपाली भएको र तीन दिन पछि काठमाडौं फर्किन लागेको बताए। त्यस पछि उनले भने, 'तिम्रो त देश छ। जहाँ गए पनि देश फर्किने बाटो छ। तर हामी शरणार्थी न देश छ। न फर्किने ठाउँ। पढेर सकियो अब कहाँ जाने यसै भौतारिरहेको छु।' यूरोप भ्रमणको ६ वर्षपछि त्यहाँका धेरै तस्बिर धुमिल भए पनि उनले सुनाएको पीडा घरी घरी ताजा बनिदिन्छ। सारा विश्व अहिले कोरोना महामारीमा तड्पिरहेको छ। आफ्नो देश फर्किन सबैलाई रहर हुन्छ। मायाँ हुन्छ। नेपाल – भारत सीमामा सयौं नेपाली अलपत्र छन्। न उनीहरु शरणार्थी हुन् न त आफ्नो देश आउन भिसा नै आवश्यक पर्छ। त्यै पनि सरकारले उचित कदम चाल्न सकेको छैन। मानिसले सँधै सरकार खोज्दैन, यस्तै दु:ख पर्दा देश र सरकार चाहिने त हो नि! आफ्ना नागरिकलाई राज्यले हामी छौं भन्ने ढाडस दिन सक्नु पर्छ तर त्यो सिमानासम्म पुग्न सकेको छैन।

अहिले सीमामा रोकिएका नेपाली आफ्नो देश भए पनि फर्किन पाएका छैनन्। शरणार्थी भएर देश फर्किन नपाउनुको पीडा भन्दा देश भएर देश आउन नपाउनुको पीडा बढी हुन्छ।

जर्मनी, अमेरिका, अष्ट्रेलीया लगायत देशले नेपालमा अलपत्र आफ्ना नागरिकलाई चार्टर विमान पठाएर स्वदेश लगे। तर नेपालीहरु परदेशको सीमाबाट आफ्नै देशलाई हेरिरहेका छन्। काँकडभिट्टा, सुनौली, धार्चुला, वनवासा लगायतका नाकामा अलपत्र नागरिकको पीडा देशले सुन्न सकेको छैन।

अहिले सीमा रोकिएका नेपाली आफ्नो देश भए पनि फर्किन पाएका छैनन्। शरणार्थी भएर देश फर्किन नपाउनुको पीडा भन्दा देश भएर देश आउन नपाउनुको पीडा बढी हुन्छ।

कामको खोजीमा उनीहरु भारत पुगे, कमाएर पैसा यतै पठाए। जेनतेन परिवार पाले। दु:ख पर्यो स्वदेश फर्किन खोजे। स्वदेश आउन पाउनु पर्ने भन्दै नाराजुलुस गर्नपर्ने अवस्थामा समयले उनीहरुलाई पुर्‍यायो। विश्वलाई अहिलेको समय निर्दयी बनिदिएको छ। सिमानामा उनीहरुलाई कोरोना त्रासले रोकिएको छ। न खानु न बस्ने ठाउँ तर आँखै अगाडि देशको माटो छ तर प्रवेश गर्न विशाल सरकारी पर्खाल। एक पटक आफैलाई त्यो ठाउँमा राखेर सोचौं कस्तो महसुस हुन्छ ?

भाइरस फैलिन नदिन सरकारले चालेका कदम उचित हुँदा हुँदै पनि नाकामा अलपत्र परेका नेपालीको उद्धार गर्नु राज्यको दायित्व हो। सरकारले विदेशबाट आएका नागरिकहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने भनेको छ। स्थानीय सरकारले त्यसमा काम पनि गरेका छन्।  

भारतमा कोरोना फैलिए पछि त्यहाँ पनि लकडाउन गरिएको छ। त्यहाँ आफ्नो श्रम बेचिरहेका नेपालीलाई साहुले यो अवस्थामा घर जान भनेपछि उनीहरु नेपाल फर्किन बाध्य भए। तर सिमानामा आफ्नै सरकारले रोकिरहेको छ। असुरक्षितरुपमा आउँदा उनीहरुबाट कोरोना भाइरस फैलिएला भन्ने हामी सबैमा त्रास नभएको होइन तर सुरक्षितरुपमा नेपाल ल्याएर अनिवार्य क्वारेन्टाइनमा राखियो भने त्यो डरलाई समाधान गर्न सकिन्छ। नेपाल आउन खोज्नेले पनि यो पहिलेको जस्तो सहज समय नभएको बुझ्नु पर्छ। त्यसैले सरकारले भनेको मान्दै अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नै पर्छ। जसले सबैलाई सुरक्षित बनाउँछ।

यो अवधिमा भारतमा काम गर्न गएका लाखौं नेपाली घर आइसकेका छन्। केही सिमानामा अड्किएका हुन्। नाकामा अड्किएकाहरुलाई संक्रमण देखियो भने त्यसको पहिलो असर कसलाई पर्छ? यसतर्फ सरकार सचेत देखिएको छैन। सीमामा रोक्नु मात्रै समाधान होइन। उनीहरुलाई सुरक्षित बनाउनु नै अहिलेको समाधान हो।

नेपाली सीमामा रोकिएका भारतीयलाई नेपालले र भारतीय सीमामा रोकिएका नेपालीलाई भारतले क्वारेन्टाइनमा राख्ने भनिए पनि त्यसको तयारी भनाईमा मात्र देखिन्छ। यो सहमति भएको भनिएको दुई दिन भइसक्यो तर पनि सीमामा नेपालीले उस्तै दर्दनाक पीडा भोगिरहेका छन्। न निद छ न खाना, छ त एउटै आशा स्वदेश फर्कने। त्यसैले त धार्चुला नाकाबाट घर फर्कन खोजेका यूवाले महाकालीमा हाम फाले। महाकाली त तरे तर खोलावारी उभिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिए, मानौ उनी एक कुख्यात अपराधी हुन्।

राज्यको दायित्व आफ्नो सिमाना भित्र भएका नागरिकको लागि मात्र होइन। सीमा भन्दा कोसौं टाढा रहेकाहरु प्रति पनि रहनुपर्छ। त्यसैले त देश कोरोनाले आक्रान्त बनिरहँदा पनि यूरोप र अमेरिकाले आफ्ना नागरिकलाई उद्दार गरे। तर नेपालीहरु दशगजामा आएर देशको आकास चिहाइरहनु परेको छ। नागरिक विना राष्ट्रको कल्पना हुँदैन। नागरिक भएपछि मात्र भूगोलले देशको परिचय पाउँछ। त्यो परिचय दिने आफ्ना नागरिकलाई अलपत्र छोड्नु कदापि एउटा सार्वभौम देशलाई सुहाउँदैन। अझ अहिलेको जस्तो दुरी कामय गर्ने अवस्थामा सिमानामा ठेलमठेल राख्न त हुँदै हुँदैन।

राष्ट्रवादको संगीत मिठो सुनिन्छ। संगीतसँग नृत्य गर्न कठिनै हुन्छ। तर राज्यले त्यो छुट पाउँदैन अर्थात काम गरेरै देखाउनु पर्छ। राज्यका सबै भुलहरु त्यसले माफ गर्दैन।

  

 

प्रकाशित: १९ चैत्र २०७६ ०९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App