४ वैशाख २०८१ मंगलबार
विचार

समृद्ध तुल्याउँ बन्दाबन्दी

के आयो यो कोरोना भाइरसको झञ्झावाद जसले संसारै हल्लाइदियो ।कहिलेसम्म हल्लाउने हो भन्न सक्ने कोही छैन । के रोग हो, यो कति बलवान रहेछ, कुनै पनि परमाणुशक्ति राष्ट्रको पनि पिताम चल्दैन । चीनको हुबइ प्रान्तको उहान सहरमा पहिलोपल्ट देखा परेको कोरोना विषाणु कहाँबाट जन्मियो टुङ्गो लाग्न सकेको छैन । चीनले धूमधाम गर्‍यो, कडाइ गर्‍यो, आलोचना खेप्यो तर आफ्नो राष्ट्रबाटै भगायो । हो,३ हजार २७७ मान्छे खायो । चीनमा चिनिया साधना एवं तन्मयताका कारण उहानमा अहिले नयाँ संक्रमण छैन । तसर्थ यो कोरोनाको एउटै मात्र अचुक औषधि या रामवाण भनेको एक्लै बस्नु ‘तपस्या’ नै रहेछ । ‘संघे शक्ति’ भन्ने मान्यताको विरुद्ध रहेछ कोरोना ।

चीनमा चिनिया साधना एवं तन्मयताका कारण उहानमा अहिले नयाँ संक्रमण छैन । तसर्थ यो कोरोनाको एउटै मात्र अचुक औषधि या रामवाण भनेको एक्लै बस्नु ‘तपस्या’ नै रहेछ ।

कस्तो रोग अर्को व्यक्तिलाई छुन नहुने, परै बस्नुपर्ने रे । मान्छेले मान्छेलाई माया, प्रेम, स्नेह, वात्सल्य छोएर गर्न नहुने रे । यो निर्दयी, निर्मम रोग १९२ मुलुकमा पसिसकेछ । यही चैत १२ गतेसम्म संसारभरिबाट २१ हजार,७१७ जनाको ज्यान लिइसक्यो । अझै कति मान्छेको ज्यान लिने हो थाहा छैन । यो भाइरस ज्येष्ठ नागरिक विरोधी रहेछ । जति बढी उमेर त्यति बढी खतरा रे । चीनले जसरी नियन्त्रण गर्‍यो उहानमा त्यो साँच्चै विलक्षण नै लाग्यो । यो कोरोनाले आफ्नो करामत देखाउन थालेको प्रथम चरणमा नै चीनले कठोर निर्णय गर्‍यो । त्यो सहरलाई एक्ल्यायो ।

त्यहाँका मान्छेलाई घरबाट निस्कन नि दिएन । बाहिरको मान्छेलाई त्यहाँ बस्न त के पस्न पनि दिएन । परन्तु, नाटकीय प्रक्रियाबाटै भगायो कोरोना विषाणुको बलियो फौजलाई । सलह भए नाङ्गो आँखाले पनि देखिने । फेरि सलह त खान पनि हुने । कैयौँ रोग त आफूलाई अलि स्नेह गर्ने आमा, श्रीमतीको,श्रीमान्को तातो काखमा यसो मुण्टो राख्ने, एकपल्ट आमाले, श्रीमतीले,श्रीमान्ले यसो टाउको छाम्दा, सुम्सुम्याइदिँदा आराम हुने कति ज्ञानी रोगहरू । तर यो पापी कोरोना त सकभर एक्लै बस्नुपर्ने रे । कस्तो निर्गिणी, निर्दयी कोरोना या कोभिड–१९ ।

मान्छे सिंह जस्तै एक्लै बस्न रुचाउने जात होइन । समूह नै मान्छेको आश्रय हो । यो पापी कोरोना मान्छेको नजिक नबस भन्छ । कस्तो मानवता विरोधी व्याधि ।

बेलाको बलियो निर्णय
प्रधानमन्त्री केपी शर्मा ओली सरकारका अनेकौँ ज्यादति छन् । बेथिति छ, भ्रष्टाचार छ, अख्तियारको दुरूपयोग उच्च अंकमा छ । समानुपातिक तर्फबाट पनि सांसद हुन पाउने निर्वाचन पद्धति प्रारम्भ भएपछि यो नीतिगत भ्रष्टाचार मोटाउन लागेको हो । कतिवटा राजनीतिक पार्टीले त समानुपातिकतर्फका स्थान महँगो मूल्यमा बेच्ने र त्यसरी बेचेर आएको पैसाले आफ्नो निर्वाचन खर्च गर्ने अभ्यास गर्न लागे । साना पार्टीले पनि समानुपातिक स्थानमा संसद्मा छिर्न पाउने पद्धति कायम रहँदा त्यस्ता पार्टीका नेताले टिकट बेचेको पैसाले काठमाडौँमा घरसमेत किने भने तराईतिर जग्गा पनि जोडे । हाम्रो राजनीतिको गति यस्तो भएपछि राजनीति भाँडिन लाग्यो । निष्ठा, आस्था, दर्शनका आधारमा राजनीति सेवामा होइन, पैसामा आकर्षित हुनुपर्नेमा पैसामा राजनीति खेल्न लाग्यो । जब राजनीति सेवामा होइन पैसामा आकर्षित हुन लागेपछि भ्रष्टाचार र अख्तियारको बाटो छल्ल नीतिगत भ्रष्टाचार मौलाउन लागेको हो ।

यस्तो अवस्था र स्थितिमा पनि प्रधानमन्त्री ओलीले मसक्क आटेर स्वदेशमै दोस्रो पल्टको मिर्गाैला प्रत्यारोपण गराएर स्वदेशको स्वास्थ्य सेवा र चिकित्सकहरूउपर अद्वितीय जुन विश्वास गरे, सम्मान गरे, त्यसबाट ओलीको साख बढ्न लागेको थियो । यस्तै बेला अर्को संकट आइलाग्यो कोरोना भाइरस । यसको दोस्रोपल्ट नेपाल पस्नासाथ बन्दाबन्दीको निर्णय गरेर दोस्रो साहसिक काम गरे । यसका लागि पनि धन्यवाद र बधाई ।

कोरोना र पूजापाठ हवन
यो संसारका मान्छेको स्वभाव अचम्म लाग्दो छ । आ–आफ्नु स्वभावअनुरूपको विश्वास हुने रहेछ । विश्वासबमोजिमको आस्था हुने रहेछ । आस्थाअनुसारको व्यवहार हुने रहेछ । मान्छे हो आखिर ! मान्छेसँगै मान्छे विजय–पराजय हुने रहेछ । यो पृष्ठभूमि गाँस्नुको कारण हो यही कोरोना भाइरस ।यो महामारीको साधनापूर्ण उपचारपश्चात कोरोनालाई हिम्मतसाथ परास्त गरी बहादुरी अनुभव गरिरहेका छन् । तर मानिसको जात अनेक विकल्प खोज्ने, अझ आपत्विपत्मा त झनै बढी आत्तिने । जसले जे भन्छ मानिहाल्ने । मान्छेको स्वभाव कहिले आत्तिने, कहिले मात्तिने र कहिले पात्तिने परिस्थिति हेरी ।

मान्छे बिरामी भो । चाँडो निको नहुने रोग लाग्यो भने फाकफुक उपचार गाउँको, टोलको नाडी हेर्नेबाट नाडी उपचार, देउदेउताको उपासक उपासिकाहरू महांकाल, संकटा, भाटभटेनी, अजिमा, भद्रकाली पूजा उपचार ज्योतिष विधाबाट जप, पाठ, हवन, आयुर्वेद उपचार, युनानी उपचार र अंग्रेजी दबाइ । अब त्यो मान्छे स्वस्थ्य भो तर बुझ्दैन कि कुन उपचारबाट ठीक भो । ऊ भ्रममा नै बाँच्छ । एउटा पद्धतिमात्र अपनाएको भए ठम्याउँथ्यो तर ‘बहु’ मा पत्यार गर्ने भएकाले केले निको भो पत्ता पाउँदैन । आज यो कोरोनाबारे झण्डै झण्डै त्यही कथा दोहोरिन लागेको छ । अहिले मान्छेकतै देउताको पूजा गर्न लागे, कतै देवीलाई बलि दिन थालेका छन्, कतै ढ्याङ्ग्रो ठोकी यज्ञ गर्न लागेका छन् । अदृश्य शक्तिको पूजा आराधना गर्दा रोग व्याधि शान्त हुन्छ भन्ने कुरा पुर्खाबाट सिकेका छन् ।

गौमूत्रको मात्र भर नपरौँ
यस सन्दर्भमा केही यस्ता गतिविधि प्रारम्भ भइसकेका छन् । श्री सत्य साइ बाबा संगठन नेपालले विशेष प्रार्थना सभा आयोजना गरिसक्यो, पोखरामा तमु प्ये ल्हु संघले कोरोना भाइरस आजबाट मुक्त हुन, विश्वशान्ति र सुस्वास्थ्यको कामनासहित यज्ञसमेत गरिएछ । नून पानी खुवाउँदा र छर्कँदा पनि कोरोना संक्रमणबाट बच्न सकिन्छ भन्ने विश्वास नेपाल र भारतमा मात्र होइन, दक्षिण कोरियाको एउटा चर्चले पनि आफ्ना अनुयायीहरूलाई नून पानी छर्किएछ । भारतमा कोरोनाको प्रकोप शान्त पार्न हिन्दु महासभाका नेताले पूजा अर्चना गरे । सहभागी सबैलाई गिलास भरी गौमूत्र खुवाए ।

गौमूत्रले कोरोना भाइरसको उपचार हुन्छ भन्ने तर्क थियो उनीहरूको । कोरोनाबाट जोगिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गोमूत्र पठाइ सकेका छन् रे । यस्तै गौमूत्र संयुक्त राज्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि पठाउन लागिएको छ रे । पश्चिमा विश्वले पूर्वीय सभ्यताको अभिवादन गर्ने पद्धतिमध्ये एउटा ‘नमस्ते’ अँगालेकाले गौमूत्र सेवन पनि गर्नुपर्ने एक सहभागीको भनाइ थियो । यी उपायको औपचारिकता वा आधिकारिकता कति छ ? कस्तो परिणाम आएको छ । यस्ता सूचना वा उदाहरण लिइएको छैन । यी उपाय सद्भावना एवं मान्छे निरुपाय भई मनोबल गिर्न नदिने उपाय किं वा भरोसाको सन्देश पनि हुन सक्छ । परन्तु यी प्रणाली वा पद्धतिहरूको मात्र भर प¥यो भने आवाञ्छित नतिजा आउन सक्छ ।

कोरोना मानवता विरोधी
महामारीहरूको कुनै भूगोल हुँदैन न राजनीतिक विश्वास हुन्छ न त हुन्छ सम्प्रदाय, धर्म, जातजाति नै । महामारी महामारी नै हो । महामारी वस्तुतः सबै प्राणीविरुद्ध हो । यसर्थ पनि सबै मिलेर संयुक्त प्रयासबाट यसको तत्काल प्रतिरोध र कालान्तरमा निर्मूल नै गर्नुपर्छ । सर्वप्रथम यस रोगको प्राथमिक तहकै भए पनि वैज्ञानिक अध्ययन, अनुसन्धान, अनुशीलन एवं गवेषण गरी आन्तरिक कालका लागि मात्र भए पनि औषधि पत्ता लगाउनु पर्‍यो । यो महान कार्य चीन/अमेरिकामा सुरु पनि भइसकेको छ भने उत्तम र प्रशंसालायक प्रयत्न हो । यो कोरोना मानव जातिको मानवीय महत्वपूर्ण सभ्यता र संस्कृति सम्पदाको शत्रु हो । तसर्थ विश्वका शक्तिराष्ट्रहरू सबैको गम्भीर एवं उत्तरदायित्वपूर्ण ध्यान यस महामारीको उन्लूलन गर्ने हिसावले केन्द्रित हुनैपर्छ ।

कोभिड–१९ उपरको प्रतिकार वा अझ त्यसको रोकथामका उपाय पनि सार्वजनिक भइरहेका छन्–हामी मान्छे बस्ता टाँसिएर नबसी अरु मानिससँग उपयुक्त शारीरिक फरक, हुलमुल र भेलाहरू घटाउने वा भेलाहरू नै नगर्ने, हात, मुख, नाक र अन्य अङ्गहरू बेलाबेलामा धोएर सफा राख्ने, बेलाबेलामा पुग्दो गरी पानी पिउने । रोगका लक्षण शंका लागेमा अरु मान्छेबाट आफूलाई टाढा राखेर आफैँ पन्छिने र सम्बद्ध स्वास्थ्य संस्थामा गई ढुक्क हुने उपायहरू सुझाउँछन् विज्ञहरू । मान्छे सिंह जस्तै एक्लै बस्न रुचाउने जात होइन । समूह नै मान्छेको आश्रय हो । यो पापी कोरोना मान्छेको नजिक नबस भन्छ । कस्तो मानवता विरोधी व्याधि ।

हल्लाको पछि लाग्यौँ भने
यस्तो आजको जस्तो असामान्य अवस्थामा मनोस्वास्थ्य अत्यन्त महत्वपूर्ण पक्ष हो । मनोस्वास्थ्य उपेक्षित रहेमा हुनुपर्ने काम हुँदैन, गर्नुपर्ने काम गरिँदैन । नतिजा उल्टो हुन सक्छ । जनता हल्लाको पछि दौडने बानीको हुन्छ । तर हल्लाको पछि लाग्नु मूर्खतामात्र होइन, महामूर्खता हुन्छ । सूचनाले मान्छेलाई मद्दत गर्छ । तर त्यो सूचना आधिकारिक हो/होइन पुष्टि गराउनुपर्छ । कोरोनाको स्थिति अद्यावधिक गराइराख्नु आवश्यक छ । आफ्नो दैनिकी नियमित, स्वास्थ्यमैत्री बनाउँ । झन ‘बन्दाबन्दी’ भएको असाधारण अवस्थामा एउटै काममा मात्र निरन्तर नघोटिने, आफ्ना मान्छेसँग नियमित सम्पर्कमै आएकामा अनियमितता आउनु स्वाभाविक हुने भो । यस्तो असामान्य दैनिकीलाई कसरी सामान्य बनाउने र दिक्कवाक्क नभई उज्यालो अनुहारमा रमाइलो वातावरण निर्माण गर्नुपर्छ ।

यसो गर्न सक्यो भने यो नयाँ भोगाई सरल होला । मान्छे कसरी रमाइलोसँग जीवन जीउने ? त्यो कला आफैँले सिर्जना गर्नुपर्छ । एउटै कोठा, एउटा परिस्थिति, एउटै वातावरण जीवनलाई कसरी समृद्ध पार्ने ? आजको यो ‘बन्दाबन्दी’ले सिक्न बाध्य पार्‍यो । यो बन्दाबन्दीलाई कसरी सकारात्मक पार्ने ?यस्ता गुह्य पत्ता लगाउनेतिर ज्येष्ठ नागरिकहरूको ध्यान गयो र कला पत्ता लगायो भने यो नयाँ स्थिति पनि उत्पादक हुन्थ्यो भन्ने लाग्छ । लौ न हो ८० माथिका,८५ माथिका, ९० माथिका, ९५ माथिकाहरू जुर्मुराउने कि ? जानु त एक दिन छँदैछ । नजाउञ्जेल केही गर्ने होइन त? यस्ता चुनौतीपूर्ण मौका सधैँ आउँदैन है । आउन पनि हुँदैन । समग्रमा, यस्तो ‘बन्दाबन्दी’ को अस्वाभाविक वाक्क लाग्दो समयलाई मनोरञ्जक, सिर्जनात्मक, उत्पादक बनाउने बाटो र विधि खोजौँ । अनि बन्दाबन्दीलाई औचित्यपूर्ण बनाउँ ।

 

प्रकाशित: १६ चैत्र २०७६ १०:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App