७ वैशाख २०८१ शुक्रबार
विचार

चिनियाँ ‘चिकित्सक सेना’को त्यो लडाइँ

डिसेम्बर महिना चिनियाँका लागि सधैं विशेष हुने गर्छ । नेपालमा दसैंजस्तै डिसेम्बरमा नयाँ वर्ष र वसन्त पर्व मनाउन चिनियाँहरू आफू जहाँ भए पनि घर फर्कन्छन् । परिवारबाट टाढा बस्नुपरेको न्यास्रो यही बेला मेटाउँछन् । यही समय संसारकै सबभन्दा धेरै जनसंख्या भएको देश चीनका लाखौँ जनता कतै घुम्न पनि निस्कन्छन् । यो वर्षको डिसेम्बर भने चिनियाँहरूका लागि ज्यादै नरमाइलो र अविस्मरणीय बन्यो ।

कुनमिङबाट वुहान खटिएकी नर्स यु यालिङ ड्युटीमै रहँदा उनकी आमाको निधन भएको फोन आयो । मातृवियोगले शोकाकुल उनले त्यतिबेला गर्न सक्ने केही थिएन । आमाको सम्मानमा उनले कुनमिङतिर फर्केर तीनपटक निहुरेर सम्मान व्यक्त गरिन् ।

वसन्त पर्वका लागि आफ्ना आफन्त र परिवार भेट्न यात्रा गरिरहेका चिनियाँले अचानक मध्यचीनको वुहानबाट डढेलोसरि भाइरस फैलिएको खबर सुने । मध्य चीनको हुपै प्रान्तमा फैलिएको कोभिड–१९ भाइरस संक्रमणको वायुवेग गति रोक्न चीन सरकारसँग ‘लकडाउन’ नै सबभन्दा शक्तिशाली हतियार थियो । संक्रमणको डढेलो फैलिन नदिन सरकारले लकडाउन गरेसँगै चौबीसै घन्टा चालू रहने चीनका भव्य सहर केही घन्टामै ठप्प भए । लाखौँ मानिस यात्रा गर्ने सवारी–साधन छिनभरमै बन्द भए । मानिस आ–आफ्नो घर–डेरामा बसे । सधैंभरि व्यस्त रहने चिनियाँ सहर भर्खरै कुनै भयानक राक्षस पसेर आतंक मच्चाएपछिको सहरजस्तै सुनसान बने । सहरका ठुल्ठूला अस्पतालका वार्ड साँघुरा हुन थाले । अस्पतालको क्षमताले थेग्न नसक्ने भएपछि चीन सरकारले सहरका सबै रंगशाला, क्याम्पस र विद्यालयलाई अस्पतालको रूपमा प्रयोग गर्‍यो । एम्बुलेन्सको साइरन सडकमा लगातार गुञ्जिरह्यो ।

मानौँ, चीनका सहरले कुनै युद्धको सामना गरिरहेछन् । खासमा त्यो एउटा युद्धकै अवस्था थियो, धुँवा नउडेको युद्ध । जसमा विस्फोटको आवाज थिएन, आकाशमा धुँवा थिएन, तर जनजनको मनमा सन्त्रासको बादल मडारिइरहेको थियो । त्यस युद्धमा सामेल सिपाहीले बर्दी लगाएका थिएनन्, तर उनीहरूको आफ्नै पोसाक थियो– सेतो रंगको पूरै शरीर ढाक्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई), निलो हेलमेट, बाक्लो मास्क र गगल्स । उनीहरूले बोकेका थिए– इन्जेक्सनका सिरिन्ज र असंख्य अरु चिकित्सकीय सामग्री । हो, चीनमा फैलिएको कोभिड–१९ विरुद्धको लडाइँको अग्रमोर्चामा लडेका थिए, पिपिई लगाएका स्वास्थ्यकर्मी । हरेक लडाइँमा जसरी सेनाले युद्ध जित्न ठूलो बलिदान गरेको हुन्छ, वुहानको लडाइँमा पनि पिपिई लगाएका योद्धाले उस्तै बलिदान गर्नुपरेको थियो । त्यसकारण चीनका राष्ट्रपति सी चिनफिङले वुहानको लडाइँलाई चीनको स्वतन्त्रता आन्दोलन सरह मानेर ‘जनयुद्ध’(पिपुल्स वार) को संज्ञा दिएका थिए ।

वुहानमा उपलब्ध चिकित्सकले मात्र कोभिड–१९ को आक्रमणलाई पराजित गर्न सम्भव थिएन । त्यसकारण चीनका विभिन्न प्रान्त र मेडिकल कलेजबाट रिइन्फोर्समेन्टका लागि कैयौं स्वास्थ्यकर्मी वुहान पुगे । वुहानतिर जान लागेका स्वास्थ्यकर्मीको बिदाइले कुनै युद्धमोर्चामा जाने सिपाहीलाई परिवार र आफन्तले गर्ने बिदाइकै झझल्को दिने खालको थियो । महासंकटको त्यो घडीमा परिवार छाडेर युद्धमोर्चामा जानु सहज थिएन । तथापि आफूहरूले आदर गर्ने क्यानडाका चिकित्सक नर्मन बेथुन र भारतीय चिकित्सक डा. कोटनिसको बलिदानका कथा पढेका चिनियाँ स्वास्थ्यकर्मीलाई लाग्यो– प्रतिकूलता चिरेर लडाइँमा होमिनैपर्छ ।

वुहान विश्वविद्यालय प्रांगणमा फुल्ने आरुको फूललाई अझ सुन्दर मानिन्छ । आरुका फूलप्रति नर्सहरूको उत्साह र आकर्षणको कुरा सुनेर वुहान विश्वविद्यालयका उपकुलपतिले उनीहरूलाई कुनै पनि बेला विश्वविद्यालयको भ्रमणका लागि आउन भनेका थिए ।

उनीहरूका लागि झन्डै दुई महिनाको अवधि आफ्नो जीवनकालभरि मात्र होइन, आगामी पुस्ताले समेत सम्झने र गौरव गर्ने खालको बनेको छ । स्पष्ट छ, यी स्वास्थ्यकर्मीका भावी पुस्ताले पनि आफ्ना पुर्खा ‘वुहानको लडाइँमा लडेको’ भनी गौरव गर्नेछन् । हुपै प्रान्तमा ४० हजार स्वास्थ्यकर्मीले ५० दिनभन्दा बढी काम गरेका थिए । ती दिनमा उनीहरूले आफ्ना शब्दकोशबाट ‘थकान’ भन्ने शब्द मेटेका थिए । संक्रमणको सम्भावनालाई ध्यानमा राखी उनीहरूले त्यो अवधिमा शौचालय समेत प्रयोग गर्दैनथे । बिरामीको चापका कारण उनीहरूलाई एक क्षण बस्ने फुर्सद हुँदैनथ्यो । उनीहरू मुस्किलले आफू बसेकै कुर्सीमा केही मिनेट सुस्ताउँथे । कति स्वास्थ्यकर्मी भुइँमै लम्पसार परेर केहीबेर आराम गर्थे ।

वुहानमा चीन सरकारले १० दिनभित्र तयार गरेको आकस्मिक अस्पताल हौसेन सानको सघन उपचार कक्षमा खटिएका चिकित्सक चाङ सिचिनले अस्पतालमा आफ्नो जिम्मेवारीको चित्रण गर्दै भने, ‘हामी मृत्युसँग दौड प्रतियोगिता गरिरहेका छौं । मानिसको जीवन जोगाउन हामीले मृत्युलाई जित्नैपर्छ ।’

सिजिटिएनले बनाएको वृत्तचित्रमा सिचुआनबाट वुहान गएका दुई नर्सको कथाले संसारलाई ‘वुहान स्पिरिड’को सन्देश प्रवाह गर्‍यो । २४सै घन्टाको ड्युटीपछि आफूहरूले लगाएको विशेष चस्मा फुकाल्दा देखिएको अनुहारको दागले धेरैलाई भावुक बनाएको थियो । २०–२२ वर्षका नर्सका सुन्दर अनुहारमा देखिएको यस्तो दागलाई धेरैले सुन्दरताकै संज्ञा दिएका थिए ।

कुनमिङबाट वुहान खटिएकी नर्स यु यालिङ ड्युटीमै रहँदा उनकी आमाको निधन भएको फोन आयो । मातृवियोगले शोकाकुल उनले त्यतिबेला गर्न सक्ने केही थिएन । आमाको सम्मानमा उनले कुनमिङतिर फर्केर तीनपटक निहुरेर सम्मान व्यक्त गरिन् ।

बिरामीको उपचारकै क्रममा संक्रमण भएर केही चिकित्सकको निधन समेत भयो । यसरी ज्यान गुमाउने चिकित्सकमध्ये एक थिए– ली वेलियाङ । वुहानमा सार्सजस्तै श्वासप्रश्वाससम्बन्धी महामारी फैलिन सक्ने सम्भावनाको खुलासा सुरुमा उनैले गरेका थिए । तर, उनको कुरालाई त्यतिबेला अफवाहको रूपमा लिइयो । त्यसकारण स्थानीय सरकारले उनको दाबीलाई गम्भीरतापूर्वक लिएको थिएन । अन्ततः लीले भनेजस्तै महामारीले विकराल रूप लियो । महामारीको वेगले नै उनलाई पनि मृत्युको काखमा पुर्‍यायो । उनको निधनपछि वुहानको स्थानीय नेतृत्वको सार्वजनिक आलोचना पनि भयो ।

कोभिड–१९ को महामारीविरुद्ध लड्ने क्रममा जीवन अर्पण गर्ने यस्ता अरु पनि धेरै चिकित्सक छन् । कतिले अस्पतालमा रहँदा गरेको आफ्ना परिवारसँगको मोबाइल संवाद, भिडियो च्याटका दृश्यले संसारलाई भावुक र सजग बनाएको थियो । आज संसारमा फैलिएको यस भाइरसविरुद्ध लड्ने चिनियाँको त्यो साहस, वस्तुनिष्ठता र समर्पण सराहनीय र अनुकरणीय छ । आज इटालीलगायत युरोपेली देशका चिकित्सक पनि त्यही बलिदानी भावनाका साथ लडिरहेका छन् ।

वुहानमा कोभिड–१९ सँगको विषम लडाइँका बखत पनि त्यहाँ कार्यरत चिकित्सकको आशामा कमी आएको देखिएन । मनभित्रका ती आशा उनीहरूले अस्पतालका भित्तामा पोखेका थिए । हौसेन सान अस्पतालको भित्तामा नर्सहरूले आरुका फूलहरूको पात टाँसेर सुन्दर आशाको चित्र कोरेका थिए । वुहानमा वसन्त ऋतुमा फुल्ने आरुको फूल चीनभरि चर्चित छ । त्यही वुहानको आरुको फूललाई आशाको प्रतीक मान्दै अस्पतालको भित्तामा उनीहरूले आशा फुलाएका थिए । विशेषतः वुहान विश्वविद्यालय प्रांगणमा फुल्ने आरुको फूललाई अझ सुन्दर मानिन्छ । आरुका फूलप्रति नर्सहरूको उत्साह र आकर्षणको कुरा सुनेर वुहान विश्वविद्यालयका उपकुलपतिले उनीहरूलाई कुनै पनि बेला विश्वविद्यालयको भ्रमणका लागि आउन भनेका थिए ।

वुहान आगामी अप्रिल ८ देखि सामान्य दैनिकीमा फर्कंदै छ । झन्डै तीन महिना सिकिस्त बिरामी त्यो सहर आज पुनः जीवनको लयमा फर्कंदै छ । वुहानले बाँच्ने जीवन भने अब सदाका लागि बदलिनेछ । वुहान जीवनमा फर्केको छ, तर उसको जीवन हिजोको जीवनभन्दा फरक हुनेछ । वुहानबाट फर्किएका विभिन्न प्रान्तका स्वास्थ्यकर्मीलाई वुहानले निकै भावुक बिदाइ गर्‍यो । कृतज्ञताको संस्कारले समाजलाई सभ्यतातिर डोर्‍याउनेछ ।

नेपाल अहिले लकडाउनमा छ । कोभिड–१९ को निर्दयी हमलाबाट जोगिन हामी घरभित्र छौं । नेपालका हजारौँ स्वास्थ्यकर्मी अहिले ड्युटीमा छन् । सम्भावित संकटबाट देशलाई जोगाउन आज उनीहरू सिमाना रक्षक जत्तिकै चनाखो भएर बसेका छन् । कोभिड–१९ विरुद्ध चीन र आज इटालीले लडिरहेको लडाइँ नेपालले लड्न नपरोस् भन्ने सबैको कामना छ । तथापि प्रतिकूलताको भुमरी सामना गर्न तम्तयार हाम्रा स्वास्थ्यकर्मीप्रति हामी आभार हुन जरुरी छ । सरकारले उनीहरूलाई लडाइँको मैदानमा परिचालन गर्न सेनालाई जस्तै आत्मरक्षाका सबै सामग्री र हतियार सहज बनाउन आवश्यक छ । हतियार नबोकी लडाइँको मैदानमा जानु साहस होइन, मूर्खता हुन सक्छ ।

शत्रुलाई कमजोर ठान्ने पक्ष कहिल्यै पनि युद्ध जित्न सक्दैन । तसर्थ, सेतो एप्रोन लगाएका हाम्रा सिपाहीलाई हातहतियार सम्पन्न बनाइन आवश्यक छ । धुवाँ नउड्ने यो लडाइँ जित्न युद्ध मैदानको अग्रभागमा लड्ने स्वास्थ्यकर्मीप्रति कृतज्ञ बनौं । उनीहरूलाई साथ दिऊँ र सम्मान गरौं । त्यही संस्कारका कारण छिमेकी देश चीन कोभिड–१९ को हमलामा विजयी भएको हो । अब यो युद्ध जित्ने पालो बाँकी विश्वको ।

प्रकाशित: १३ चैत्र २०७६ ०४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App