९ आश्विन २०७८ शनिबार
विचार

स्कुल पठाउने उमेर?

नेपालमा सामान्यतया श्रीपञ्चमीदेखि वैशाखसम्म बालबालिका प्रिस्कुल भर्ना गर्ने चलन छ। अचेल राम्रो र स्तरीय स्कुलमा भर्ना गरिदिएर राम्रो शिक्षा दिने आकांक्षालेबच्चाको मानसिक विकासमा ध्यान नदिई जन्मेको ११ महिनादेखि नै स्कुलभर्ना गर्ने लहरचलेको छ। एकात्मक पारिवार, कामकाजी अभिभावक र सानै उमेरमा बच्चालाई स्कुल हालिदिए सभ्य र आधुनिक बनिने भ्रमले प्रिस्कुुलकोे खेती अब्बल बन्दै गएको छ।

प्रिस्कुलको अवधारण विकसित देशबाटै आएको हो तर पढाउने, घोकाउने र लेखाउने ठाउँ प्रिस्कुल होइन, यो त विद्यालय जान मानसिक रूपमा तयार पार्ने थलो मात्र हो। आफूलाई गरिएका व्यवहार, दिइएका खाना र वातावरणबारे कुनै प्रतिक्रिया दिन नसक्ने उमेरका बालबालिकाका आवश्यकता र मनोविज्ञान मातृहृदय भएका व्यक्तिले मात्र बुझ्न सक्छन्। यसर्थ कलिला बालबालिका राख्ने स्याहार केन्द्र र प्रिस्कुलमा कति योग्य, दक्ष र तालिमप्राप्त व्यक्तिरहन्छन्, सोचनीय विषय छ।

कलिलो उमेरमा स्कुल पठाएका बालबालिकाभन्दा कम्तीमा ६ वर्ष पुगेर किन्डरगार्टेनमा भर्ना भएकाको उपलब्धि दर उनीहरू७ र ११ वर्षमा पुग्दा उत्कृष्ट भएको अध्ययनले देखाएको छ। स्ट्यान्डफोर्डयुनिभर्सिटीका थोमस डी र ह्यान्स हेनरिक रिभड्र्सनले ‘डेनिस नेसनल बर्थ कोहार्ट (डिएनबिसी)अन्तर्गत ९०,१४३ नमुनामा गरेको अध्ययनले उपर्युक्ततथ्य पुष्टि गर्दै ढिला स्कुल जान थालेका बच्चा ७ र ११ वर्ष पुग्दा उनीहरूको नतिजा र आत्म–नियन्त्रण क्षमता चाँडै स्कुल जानेका तुलनामा निकै राम्रो भएको देखाएको छ। नेसनल सेन्टर फर एजुकेसन स्टाटिक्टिस–२०१९ ले अमेरिकामा ८६ प्रतिशत बालबालिका ५ वर्ष पुगेपछि मात्र किन्डरगार्टेन भर्ना हुने गरेको रिपोर्ट प्रकाशन गरेको छ।

बच्चा ५ वर्ष पुग्नुअगाडि प्रिप्राइमरी स्कुलमा भर्ना गर्दा सुरूमा राम्रो प्रभाव देखिए पनि दीर्घकालमा सिकाइमा नकारात्मक असर पर्ने गरेको अध्ययनले देखाएका छन्।

अमेरिकाको व्यवस्थाअनुसार किन्डरगार्टेन अनिवार्य छैन भने बच्चा औपचारिक कक्षामा भर्ना हुन उसको उमेर ६ वर्ष हुनुपर्छ। जापानमा १ कक्षा भर्ना हुन बच्चाको उमेर ६ वर्ष पूरा भएको हुनुपर्ने प्रावधान छ भने कम्तीमा ३ वर्ष पूरा भएपछिमात्र प्रिस्कुलमा राख्न सकिने व्यवस्था गरिएको छ। जापानको शिक्षा नीतिअनुसार बालबालिकाले अनिवार्यरूपमा ९ वर्षे विद्यालय शिक्षा लिनुपर्छ। यसरी जापानमा ६ वर्षदेखि १५ वर्षसम्मका बालबालिकाको शिक्षा अनिवार्य तर प्रिस्कुल ऐच्छिक गरिएको छ।

बेलायतमा ३–४ वर्षमा नर्सरीमा भर्ना भई ५–६ वर्षमा १ कक्षाको औपचारिक अध्ययन सुरू गर्ने पद्धति छ। यस्तै अस्ट्रेलियामा ६ वर्ष पुगेपछि मात्र औपचारिक अध्ययन सुरू गराइन्छ। त्यहाँ पनि कम्तीमा ३ वर्ष पूरा भएका बच्चा किन्डरगार्टेन जान सक्ने व्यवस्था छ। भारतमा पहिलोपटक दिल्ली सरकारले ‘डाइरेक्टोरेक्ट अफ एजुकेसन (डिओई) २०१९ जारी गरी नर्सरीका लागि कम्तीमा ३ वर्ष, किन्डरगार्टेनका लागि ४ वर्ष  र १ कक्षाका लागि ५ वर्ष पूरा गरेको हुनुपर्ने व्यवस्था गरेको छ।

नेपालका सन्दर्भमा एसइई परीक्षामा सहभागी हुन १४ वर्ष पूरा भएको हुनुपर्ने भन्ने व्यवस्थाबाहेक अन्यत्र कुनै पनि तहका लागि न्यूनतम उमेरहद तोकिएको छैन। १४ वर्ष पूरा भएपछि मात्र एसइई दिन पाइने भएकाले ५ वर्षमा १ कक्षा भर्ना हुनुपर्ने देखिन्छ। तर प्रिप्राइमरी स्कुलमा कुन उमेरदेखि राख्न सकिने र बालबालिकालाई कसरी, के सिकाउने भन्नेबारे कुनै व्यवस्था भएको देखिँदैन। यही अस्पष्टतालाई आधार बनाएर धेरै प्रिस्कुलले १ कक्षामा आउनुपूर्व प्लेग्रुप, नर्सरी, एलकेजी  युकेजी गरी ४ तह बनाएर१ वर्षकै बच्चामा समेत व्यापार गर्ने गरेका छन्।

यसरी कलिलो अवस्थामा मोटरकोर्डिनेसन र न्युरोमस्कुलर डेभलपमेन्ट राम्रोसँग हुन नपाउँदै लेख्न र घोक्न सिकाउँदा बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पर्छ। बच्चा ५ वर्ष पुग्नुअगाडि प्रिप्राइमरी स्कुलमा भर्ना गर्दा सुरूमा राम्रो प्रभाव देखिए पनि दीर्घकालमा सिकाइमा नकारात्मक असर पर्ने गरेको अध्ययनले देखाएका छन्। यसैले सम्भव भएसम्म ५ वर्षसम्म स्वतन्त्रतापूर्वक घरपरिवार तथा छरछिमेकबाट सिक्ने वातावरण बनाउने र कामकाजी परिवारमा यस्तो व्यवस्था मिलाउन नसकिए बच्चा कम्तीमा ३ वर्षको भएपछि मात्र समान उमेरका र सानो समूहका बालबालिकालाई खेल्ने वातावरण भएको स्याहार केन्द्र वा प्रिस्कुलमा भर्ना गर्नु उपयुक्त देखिन्छ।

यस्ता स्कुलमा उमेरअनुसार कलर गर्ने तथा नाच्ने गाउने एवं उमेरअनुकूलका सीप सिकाउन दक्ष र तालिमप्राप्त जनशक्तिको व्यवस्था भने हुनुपर्छ। चाँडै र कम उमेरमै स्कुल राखिदिएर धेरै पढाउने भ्रम पालेका अभिभावकले कलिला बच्चालाई स्कुल पठाउनु उसको वृद्धि र विकासमा अवरोध सिर्जना गर्नु हो भन्ने बुझ्न आवश्यक छ।सिकाइ सिद्धान्तअनुसार पनि सुनाइ, बोलाइको विकासपछि मात्र पढाइ र लेखाइको थालनी गर्नु वैज्ञानिक र व्यावहारिक मानिन्छ। मनोवैज्ञानिक पियाजेको सामाजिक संज्ञानात्मक विकाससम्बन्धी अध्ययनले पनि ४÷५ वर्षसम्मको अवधि सेन्ससरिमोटर विकास तथा प्रिअपरेसनल विकासको चरण भएकाले उनीहरूको अमूर्त चिन्तन बनिनसक्ने भएकाले यस समयमा बच्चालाई धेरैभन्दा धेरै कुरा स्वयं अनुभव गरेर सिक्न दिनुपर्छ। यस उमेरमा बालुवा र माटोमा खेल्ने बच्चाको कुण्ठाजन्य संवेग उत्सर्जन भई शरीरमा ऊर्जा थपिने भएकाले वास्तविक जमिनमा शारीरिक श्रम पर्ने खेलका माध्यमबाट संज्ञानात्मक विकासका लागि सहयोग पु-याउनुपर्छ।

मनोविज्ञानका क्षेत्रमा निकै प्रसिद्ध ‘स्यान्ड प्ले थेरापी’ले यस्ता खेलबाट अवाचिक रूपमा संवेग अभिव्यक्ति भई मानसिक स्वास्थ्य तथा बौद्धिक क्षमताविकास हुने प्रमाणित गरिसकेको छ।हतारिएर कलिला बच्चालाई स्कुल भर्ना गर्दा दीर्घकालीन रूपमा उनीहरूमा पढाइलेखाइप्रति नै वितृष्णा पैदा हुने सम्भावना बढ्छ।
(मनोवैज्ञानिक परामर्शदाता)

प्रकाशित: ११ चैत्र २०७६ १०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App