१६ चैत्र २०८० शुक्रबार
विचार

तत्काल पूर्ण ‘लकडाउन’ गर

विश्व यति बेला कहिल्यै नभोगेको कहरबाट गुज्रिरहेको छ। समकालीन विश्व व्यवस्थाबाट हामी अछुत छैनौं। यस्तो बेला सरकारले असाधारण उपाय अवलम्बन गर्नु आवश्यक छ। अहिलेसम्म हामी कोभिड १९ को प्रभावबाट जोगिएका छौं भन्ने भ्रम पनि टुटिसकेको छ। एक १९ वर्षीयामा कोभिड १९ (कोरोना भाइरस) पोजेटिभ देखिएपछि यसको सन्त्रास हामीबीच फैलिइसकेको छ। चैत ४ गते कतार एयरवेजबाट यात्रा गर्दै घर आएकी ती महिलाको सम्पर्कमा रहेका व्यक्तिमा संक्रमण भएन भन्ने अवस्था छैन।

कोरोना भाइरस सिर्जित यो विपत्ति सामना गर्न समुदायलाई अलग राखी उपचार गर्ने बाहेक अहिलेसम्म अर्को भरपर्दो विधि फेला परेको छैन। बेलैमा यस्तो संक्रमणमा रहेकाको पहिचान गरी उपचार गरिएन भने दुईको चार र चारको सोह्र हुँदै विरामी संख्या फैलिन्छ। यसकारण कतार एयरवेजको उक्त उडानबाट नेपाल आएका सबै यात्रुको पहिचान आवश्यक छ। ती यात्रु कहाँकहाँ गएका छन्, तिनको कोकोसँग सम्पर्क भएको छ, ती सबैको पहिचान हुन सकेन भने यसको भयावह अवस्थाले हामीलाई छिन्नभिन्न पार्न सक्छ। त्यसैले यी सबै व्यक्तिको पहिचान अहिलेको पहिलो प्राथमिकता हुनुपर्छ।

सरकारले अत्यावश्यकबाहेकका अन्य निजी क्षेत्र र सरकारी कार्यालय बन्द गर्न दिएको आदेशको अर्थ निरन्तर सडकमा निस्किनु भन्ने होइन। बरु यो अवसर उपयोग गरी आफूलाई अन्य व्यक्तिभन्दा अलग्गै राखेर कोरोना संक्रमण फैलिन नदिनु बुद्धिमानी हुन्छ। त्यसका लागि अनावश्यक आवतजावत पूर्ण रूपमा रोकिनुपर्छ।

सरकारले अत्यावश्यकबाहेकका अन्य निजी क्षेत्र र सरकारी कार्यालय बन्द गर्न दिएको आदेशको अर्थ निरन्तर सडकमा निस्किनु भन्ने होइन। बरु यो अवसर उपयोग गरी आफूलाई अन्य व्यक्तिभन्दा अलग्गै राखेर कोरोना संक्रमण फैलिन नदिनु बुद्धिमानी हुन्छ। त्यसका लागि अनावश्यक आवतजावत पूर्ण रूपमा रोकिनुपर्छ।

यति बेला कोरोना संक्रमणको केन्द्रका रूपमा इटाली छ। उसले आफूलाई पूर्ण ‘लकडाउन’को अवस्थामा राखेको छ। सुरुमा इटालीले अर्ध ‘लकडाउन’लाई मात्र कार्यान्वयन गरेको अवस्थामा सर्वसाधारणले आफ्नो दिनचर्यालाई यथावत् राख्दा कोभिड १९ले संक्रामक रूप लिनु पुगेको तथ्य सञ्चारमाध्यमले पस्किरहेका छन्। त्यहाँका नेताहरूले समेत अस्पष्ट किसिमका सन्देश प्रवाहित गरेका थिए। त्यही स्थिति यति बेला हामीले महसुस गरिरहेका छौं।

हाम्रो स्थिति विकसित मुलुकको जस्तो छैन। हाम्रो स्वास्थ्य पूर्वाधारको अवस्था त्यति उम्दा छैन। यो बेलामा हामीले उपचारभन्दा रोकथामलाई बढ्ता जोड दिनुको विकल्प छैन। हामीसँग पर्याप्त स्वास्थ्य उपकरण, स्वास्थ्यकर्मी र यस्तो ठूलो विपत्ति सामना गर्ने क्षमता नभएको तथ्यबाट कोही पनि अनभिज्ञ छैनौं। त्यसका लागि हाम्रो सबैभन्दा उत्तम रणनीति कोरोना विषाणुको संक्रमण हुनबाट रोक्ने नै हो।

सरकारले आफ्नो घरमा बसेका नागरिकलाई बाहिर ननिस्कन प्रेरित गर्नुपर्छ। यो चाडबाडको बेला होइन। यसलाई रामरमिताका रूपमा भन्दा पनि कसरी संक्रमण फैलिन नदिने भनी व्यक्तिले समेत जिम्मेवारी महसुस गर्ने बेला हो। वास्तवमा चीनले यो संक्रमण रोक्न जसरी ‘लकडाउन’ ग¥यो, त्यो आफैंमा प्रशंसनीय र अनुकरणीय पनि छ। यस्तो संक्रमणबाट जोगाउन अपनाउने उपायबाट नागरिकको स्वतन्त्र हिँडडुलमा रोक लाग्दा पनि कुनै किसिमको मानव अधिकार उल्लंघन हुँदैन। हामीलाई जोगाउन अपनाइने यस्तो सशक्त उपायको सबैले स्वागत गर्नुपर्छ। हामी अर्को इटाली, स्पेन वा अमेरिका बन्न सक्दैनौं। यति बेला अमेरिकालाई समेत आफ्ना नागरिकको स्वास्थ्य परीक्षण गर्न कठिनाइ भइरहेको छ। त्यसै कारण अहिले यो फैलिएर अमेरिकाका ५० राज्यमा पुगिसकेको छैन। हाम्रो अवस्थाले त्यस्तो स्थितिको प्रतीक्षा गर्नु बुद्धिमानी हुँदैन। बुद्धिमान त्यही हो, जो अरूका संकटबाट सिकेर आफूलाई जोगाउँछ। हाम्रा पुर्खाले भनेकै छन्– हूलचालमा जिउ जोगाउनू, अनिकालमा बीऊ जोगाउनू। यो संक्रमणबाट हामीले आफ्नो, परिवार, समाज र देशलाई बचाऔं।

हामीले यो संक्रमणबाट जोगिन परीक्षण क्षमता बढाउनुको विकल्प छैन। सबै सातै प्रदेशमा यसको जाँचको व्यवस्था हुनुपर्छ। सरकारले चीन र भारततर्फका सीमा बन्द गरेकोमा प्रशंसा गर्छौं। सरकारलाई हामी कोभिड १९ संक्रमणको स्थितिप्रति पारदर्शी हुन आग्रह गर्छौं। नागरिकमा सत्यतथ्य जानकारी लैजान पाइयोस् भन्ने पनि हाम्रो आग्रह छ। यसका लागि तत्काल १५ दिनको पूर्ण ‘लकडाउन’ गरियोस्। यसबाट मात्र हाम्रो मुलुक र अर्थतन्त्र जोगाउन सकिनेछ।

 

प्रकाशित: १० चैत्र २०७६ १२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App