२५ जेष्ठ २०७७ आइतबार
विचार

गणतन्त्रमा भ्रष्टाचार

हिंसा र तोडफोडपछि सहरमा कफ्र्यु लागेको थियो। २०४६ फागुनमा सुरु आन्दोलन उत्कर्षमा पुगेको थियो। गोर्खापत्रबाहेक ‘ठूला’ अखबार थिएनन्। त्यसबेला पंक्तिकार गोर्खापत्रमा उप–सम्पादक थियो भने नेपाल टेलिभिजन (एनटिभी)मा ‘पार्ट टाइम’ समाचार सम्पादक। कम्प्युटर थिएन, हातले लेख्नुपथ्र्यो– समाचार।

एनटिभीका महाप्रबन्धक नीर शाहको निर्देशन आयो– ‘आन्दोलन शान्त नभएसम्म सम्पादक र प्राविधिक अफिसमै सुत्नुहोस्। कफ्र्युमा घर ओहोरदोहोर गर्न गाह्रो पर्छ। खाना, खाजा, ब्रस, टुथपेस्ट, ओछ्यान आदिको प्रबन्ध भयो। ‘विजयलाल श्रेष्ठ, प्रकाशजंग कार्की, राजेन्द्र आचार्य, राजु सिलवाल, युवराज गौतम, रवीन्द्र पाण्डे आदि केही दिन अफिसमै बस्नू’ भन्ने निर्देशन पालना गर्दै हामी २४ घण्टाजस्तो काममा खट्यौं। समय मिलाएर म साँझपख गोर्खापत्रको कार्यालय पुग्थें, प्रहरीको गाडीमा।

एक वृद्धले सिंहदरबार परिसरमा क्यान्टिन चलाएका थिए। उनका बाजे सिंहदरबारमा चन्द्रशमशेरका सेवक थिए रे। उनी भन्थे– राति यहाँ युवती चिच्याउँछन्। सिंहदरबारमा कति मरे, पत्तो छैन। तिनको प्रोतात्मा अझै घुम्दै छ। २९/३० वर्षको थिएँ म। राति ११ बजेतिर एकजना साथीलाई भनें– ‘लौ, किचकन्नी खोज्न जाऊँ।’ उसले डराउँदै भन्यो– ‘हैट्, च्याप्प समातेर लगे भने त मरिन्छ यार।’

अत्यन्त भ्रष्ट १५ देशमा सबै गणतन्त्रवादी पर्छन्। त्यहाँका नेता पनि समृद्ध देश, सुखी जनता भन्ने नारा लगाइरहेका छन्।

मैले ढिपी गरेपछि अन्ततः ऊ हिँड्यो। एकजना ‘गार्ड’ पनि पछि लागे। कुनाकाप्चा, पटांगिनी, छत सबैतिर घुम्दा पनि प्रेतात्मासँग साक्षात्कार भएन। निरास भयौं। भोलिपल्ट चियावाला वृद्धले भने– ‘ती युवती औंसी–पूर्णेमा मात्र आउँछन्।’ ‘प्रेमिकाले भेटघाट गर्न दुई÷चार दिन ढिला गरे भने त पर्खेर नबस्ने उमेरमा कहाँ औंसी–पूर्णेसम्म, किचकन्नीलाई पर्खिनु।’ मेरा कुरा सुनेपछि उनी हाँसे।

प्रेतात्माले दुःख दिएपछि घर, समाज, राष्ट्र सबैतिर त्रास फैलिन्छ। अशुभ हुन्छ। एसियामा मात्र होइन, युरोप, अमेरिकातिर पनि ‘प्रेतात्मा’ हुन्छ भन्ने विश्वास छ। जर्मन भन्छन्– ‘दाहिनेतिरबाट कालो बिरालो देब्रेतिर लाग्यो भने अशुभ हुन्छ।’ त्यो एक किसिमको प्रेतात्माको प्रतिनिधि हो। घरछेउमा काग कराउँदा अशुभ हुन्छ भन्छन्, जापानी। २२ जातका काला बिरालामध्ये भारतीय (बम्बई क्याट) साह्रै अशुभ मानिन्छ।

सन् २०१८ जुलाइ १३ मा ‘द सन’ पत्रिकाले प्राचीन इजिप्टमा बोक्सी र कालो बिरालो पूज्य मानिन्थ्यो भन्ने लेख छाप्यो। अन्धविश्वास नगर्ने सभ्य राष्ट्र ब्रिटेनमा पनि ‘१३ नम्बर’ अपशकुन मानिन्छ। ऐना फुट्नु र सिँढीमुनि उभिनु नराम्रो मान्छन्, बेलायती। तर घोडाको टाप भेटे उनीहरू  खुसी हुन्छन्।

नेपाल, भारत, जापान, दक्षिण कोरिया र बर्माजस्ता देशमा ‘राति नङ नकाट्नू’ भन्ने चलन छ। नर्बे, स्विडेनतिर सुसेल्न हुँदैन, देउता रिसाउँछन्, भनिन्छ। फिलिपिन्समा पैसा राख्ने थैलो (पर्स) भुइँमा खसे दरिद्र भइन्छ भन्ने मान्यता छ। ‘जुलियस सिजर’ नाटकमा सेक्सपियरले ‘हत्केला चिलाए राम्रो हुन्छ’ भनेका छन्। यस्ता मान्यता जताततै पाइन्छ। पृथ्वीनारायण शाह जन्मिनुअघि नरभूपाल शाहकी महारानीले ‘सूर्य निलेको’ सपना देखेको कथा प्रसिद्ध छ भने बुद्धकी माताले पनि त्यस्तै सपना देखेको बौद्धग्रन्थमा पाइन्छ।

‘१३’ अंकलाई अशुभ मान्ने अमेरिकाले १३ ब्रिटिस कोलोनीको विम्ब झल्काउन राष्ट्रिय झण्डामै १३ धर्सा राखेको छ। त्यो ‘बाध्यता’ र ऐतिहासिक सत्य अपसगुनभित्र परेन। होटल, लिफ्ट, घर र अपार्टमेन्टमा ‘१३ तला’ र १३ नम्बर कोठा बर्जित छन्, धेरै राष्ट्रमा। सुन्दा उदेक लाग्ने कुरा। अफ्रिका, एसिया, युरोप, अमेरिका, अस्ट्रेलिया जताततै पाइन्छ– अन्धविश्वासप्रतिको विश्वास।

गोर्खापत्रको प्रधान सम्पादक छँदा मासिक २० हजार रुपैयाँ तलबले व्यवहार चलाउन गाह्रो भो। दुर्गानाथ शर्मा नेपाल टेलिभिजनका महाप्रबन्धक थिए। एउटा कार्यक्रम (परिसंवाद) साप्ताहिक रूपमा चलाउने मेरो प्रस्ताव स्वीकृत भयो। त्यसले गर्दा दुःख पाएका साथीभाइ र काठमाडौंमा पढिरहका एक÷दुई छात्र–छात्रालाई आर्थिक सहयोग गर्न सकियो। एकदिन प्रदीप ज्ञवाली आए, मेरो कार्यक्रममा। पहिले गोरखापत्रमा नियमित कलम चलाउँथे, उनी। टेलिभिजन पर्दामा उनले घाँटी कन्याएर हात फुकेको दृश्य प्रसारण भयो। गाउँघरमा घाँटी सुम्सुम्याएर हात फुकेन भने गलगाँड आउँछ भन्ने मान्यता छ। पूर्व झापा÷इलाम होस् वा पश्चिम गुल्मी÷अर्घाखाँची, सबैतिर यस्तो अन्धविश्वास व्याप्त छ।

राजतन्त्रात्मक प्रजातन्त्र भएका कुनै पनि राष्ट्रलाई ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाले भ्रष्ट देशको सूचीमा राखेका छैनन्। अत्यन्त भ्रष्ट १५ मुलुक सबै गणतन्त्रवादी छन्।

प्रदीप ज्ञवालीका एक कार्यकर्ताले फोन गरेर मलाई भने– ‘घाँटी कन्याएर हात फुकेको दृश्य काट्नुपथ्र्यो नि तपाईंले।’ मैले भनें– ‘जानीजानी राख्या हुँ, त्यो दृश्य। घरपरिवारमा सिकेका त्यस्ता कतिपय रूढिवाद कति गहिरो हुन्छ भन्ने सन्देश दिन खोजेको मैले।’

माओका पनि कतिपय आनीबानीको चर्चा हुन्छ। बाजे–बज्यैले देउताको नाम लिएको सुनेर हुर्केका कतिपय भौतिकवादी (कम्युनिस्ट) ईश्वरको अस्तित्व स्वीकार्दैनन्, तर आपत् पर्दा सम्झन्छन्। मिर्गौला प्रत्यारोपण गर्न अस्पताल पस्नै लाग्दा प्रधानमन्त्री केपी ओलीले ढोकामा पुगेर ‘हे शिव !’ भनेको कुरा खबरमा आयो। क्रान्तिकारी (?) पुस्तकको भारीले शिवलाई थिच्न सक्दैन।

बिएफस्किनरले सन् १९४८ मा रूढिवाद, अन्धविश्वास, जे भने पनि त्यो मनोवैज्ञानिक समस्या हो भनेका छन्। देवीदेवताको अस्तित्व स्वीकार नगर्ने व्यक्ति पनि कताकता आस्तिक भइरहेका हुन्छन् भन्ने उनको धारणा छ। संस्कृतिको अभिन्न अंग बनेका धार्मिक मान्यता निर्मूल गर्न सकिँदैन। उदाहरणका लागि इन्डोनेसियाको सनातन धर्म–संस्कृतिप्रति मुसलमानले गर्ने सम्मानलाई लिन सकिन्छ। बालीलगायत धेरै ठाउँमा सनातन (हिन्दू) सभ्यताका केन्द्र छन्। पाठ्यक्रम, विज्ञापन, चलचित्र, पुस्तक आदिमा राम, सीता, कृष्ण, महादेव, हनुमानलगायतका उपमा प्रस्तुत गरेर शिक्षा दिइन्छ, त्यहाँ।

पाकिस्तानका सांसद जाकर्ता गएका बेला इन्डोनेसिया सरकारले रामायण प्रदर्शन गरेछ, हाम्रो संस्कृति भनेर।  पाकिस्तानी मुसलमान नेता छक्क परे। राष्ट्रपति सुकार्नोले जवाफ दिएछन्– मेरा पुर्खा हिन्दू थिए। म धर्म परिवर्तन गरेर मुसलमान भएँ, तर संस्कृति परिवर्तन गरेनौं, हामीले।

अमेरिकी राष्ट्रपति बाराक हुसेन ओबाका बाबु मुसलमान र आमा क्रिस्चियन हुन्। उनले दुवै धर्म बुझेका छन्। इन्डोनेसियामा बाल्यकाल बिताएका ओबामाले हनुमान र शंकर भगवान्प्रति आफ्नो गहिरो आस्था रहेको बताएका छन्। धर्म जे भए पनि मानवता सबैभन्दा ठूलो कुरा हो भन्ने उनको धारणाको धेरैले प्रशंसा गरेका छन्। तसर्थ शासकमा संस्कार बलियो भयो भने राष्ट्रमा विदेशी प्रेतात्मा पनि घुम्न पाउँदैनन्।

राष्ट्र र समाजले सहज रूपमा सम्मान गरेका मान्यता एवं परम्परा मास्न सकिँदैन। किलागलमा एउटा सानो मन्दिर छ। जहाँ, दाँत दुख्दा पैसा ठोक्यो भने बिसेक हुन्छ, भन्छन्। अंग्रेजी साहित्यमा एमए गरेकी एउटी रैथाने युवतीले मलाई त्यहाँ लगेर भित्तामा पैसा ठोक्न लगाएकी थिइन्। काठमाडौं उपत्यकामा हजारौं मन्दिर छन्, जुन हजारौं साल पुराना हुन्। ती हरेक मन्दिरमा स्थानीयको मन÷मुटु गाँसिएको छ। बाबुराम भटट्राई प्रधानमन्त्री छँदा राजाले मानेको कुमारी प्रथा किन मान्ने भन्दै बजेट रोकेछन्। सहरमा रोष फैलियो। जुजु (राजा) सँग गाँसिएको परम्परा ‘राजनीति’ नै हुँदैन, संस्कृति पनि हुन्छ भन्ने कुरा वाम बुख्याँचाहरूले बुझेनन्। त्यसैले धर्म–संस्कृतिप्रति कुदृष्टि राख्ने उनीहरू जनताबाट टाढिँदै गएका छन्।

रुआन्डाका महिला, ‘बोकेदारी’ भएका खसी÷बोकाको मासु खाँदैनन्। त्यस्तो मासु खायो भने महिलाका गालामा दाह्री आउँछ, भन्छन्। दाहिने हत्केला चिलाउँदा पैसा आउँछ भन्छन्, केन्याका मानिस पनि। सन् २००४ मा बुजुम्बुरा सहरमा केन्याबाट शान्ति सेनामा आएका एक युवकले पंक्तिकारलाई सुनाएका थिए, यस्ता प्रसंग। भारत र नेपालमा पनि साँझ परेपछि नुन किनबेच नगर्ने र पैंचो लेनदेन नगर्ने चलन छ। यी सबै कुरा प्रेतात्मा र मिथकसँग गाँसिएका छन्।

घरबाहिर जाने बेला सगुनका रूपमा दही खानु हाम्रो संस्कृति हो। पसलमा सातवटा खुर्सानी र एउटा कागतीको दाना झुन्ड्याएका दृश्य पनि नेपाल–भारत आदि देशमा देखिन्छ। भनिन्छ– लोभको कुनै सीमा हुँदैन। तसर्थ राष्ट्रको करोडौं सम्पत्ति मुठीमा पार्नेहरू सबैभन्दा ठूला प्रेतात्मा हुन्। अमेरिकाको लकहिड विमान कम्पनीबाट हवाईजहाज किन्दा जापानका प्रधानमन्त्री काकुई तानाका र अर्थमन्त्री सातोलगायत धेरै जना भ्रष्टाचारमा मुछिए। सन् १९७६ जुलाइ २७ मा तानाका पक्राउ परे। उनी ४ वर्ष थुनिए।

फर्डिनान्ड मार्कोस २१ वर्षसम्म राष्ट्रपति भए, फिलिपिन्समा। उनकी भ्रष्ट पत्नीले अवैध रूपमा अर्बौं डलर कमाइन्। हाम्रा प्रधानमन्त्री केपी ओलीझैं ‘म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ’ भन्थे, मार्कोस पनि। अहोरात्र भ्रष्ट प्रेतात्माको घेरामा थिए, उनी। पछि जनताले लखेटे। संसारका धेरै भ्रष्टलाई शरण दिने अमेरिकाले मार्कोसलाई पनि दियो।

प्रा. मिखायल म्यान्डलबम ठट्टा गर्दै लेख्छन्– बाइबलमा पनि घुस नखानू भनिएको छ। त्यसो भए क्रिस्चियनले घुस नखानुपथ्र्यो। हिजोआज भ्रष्टाचार नयाँ साम्यवाद भइसक्यो। विश्वका अत्यन्त भ्रष्ट १५ राष्ट्रमा इरिट्रिया सर्वोपरि छ। त्यसपछि सिरिया र तुर्कमेनिस्तान पर्छन्। यमन, हाइटी र गिनी–बिसाउ त्यस्तै भ्रष्ट देश हुन्। भेनेजुएला, इराक, लिबिया, अंगोला, साउथ सुडान, सुडान, अफगानिस्तान, उत्तर कोरिया र सोमालिया भ्रष्टाचारमा अग्रणी छन्। सौभाग्य भन्ने कि दुर्भाग्य, राजतन्त्रात्मक प्रजातन्त्र भएका कुनै पनि मुलुकलाई ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाले भ्रष्ट राष्ट्रको सूचीमा राखेका छैनन्। अत्यन्त भ्रष्ट १५ देशमा सबै गणतन्त्रवादी पर्छन्। त्यहाँका नेता पनि समृद्ध देश, सुखी जनता भन्ने नारा लगाइरहेका छन्।

प्रेतात्माको घेरामा बस्नेको भविष्य सुरक्षित हुँदैन। प्रेत भनेको पे्रतै हो। जसबाट प्रीत (माया) पाइँदैन। विशाल बंगलाका सेनापति मिर जाफर र नर्बेका प्रधानमन्त्री क्विजलिङदेखि सिक्किमका नेता लेन्डुप दोर्जेसम्म सबै प्रेत हुन्। जसले जीवित छँदा गद्दारी गरे। मरेपछि पनि विदेशी प्रेत बोलाएर देश र जनतालाई दुःख दिए। सिंहदरबारका प्रेतले राष्ट्र डुबाइरहेका छन्, दिनप्रतिदिन र राष्ट्र डुबे पनि गणतन्त्र बाँचे पुग्छ भन्ने लागेको छ, नेताहरूलाई। किनभने पराधीन मुलुकमा पनि भ्रष्टाचारको अवसर प्राप्त भइरहन्छ र घुमिरहन्छन्, प्रेतात्मा।

प्रकाशित: ७ चैत्र २०७६ ०८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल