९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

मिडिया साक्षरता

मिडियाबाट सम्प्रेषण भएका सामग्री वा सन्देश बुझ्ने, ग्रहण गर्ने र तिनको मूल्यांकन/विश्लेषण गर्ने क्षमतालाई मिडिया साक्षरता भनिन्छ। २०औं शताब्दी मध्येबाट विकसित मिडिया साक्षरता अवधारणा २१औं शताब्दीमा आइपुग्दा निकै चर्चाको विषय बनेको छ। यो अडियन्स (पाठक/स्रोता/दर्शक)को शैक्षिकस्तर र बुझाइमा पनि भरपर्छ। मिडियाप्रति बढ्दै गएको भरोसाले तिनले प्रस्तुत गर्ने सामग्रीको विश्लेषणलाई प्रभावित तुल्याउँछ। मिडियाकर्मीले सन्देश वा सूचना सामग्री बनाएर मात्र हुँदैन, सम्भावित अडियन्समा पर्ने प्रभावबारे पनि उत्तिकै मनन गर्न जरुरी हुन्छ।

नेपालमा मिडिया साक्षरता बढ्दो क्रममा छ। मिडियाले दिएको भन्दा पनि कुन मिडिया र कसले दिएको भनी विश्लेषण गर्ने क्षमता शिक्षित पाठक, दर्शक र स्रोतामा बढ्दै गएको छ। प्रतिक्रिया वा प्रतिसन्देश पस्कने क्रम बढेर गएको पाइन्छ। जति मात्रामा साक्षरता बढ्छ उति नै मात्रामा मिडिया सन्देशको मूल्यांकन गर्ने क्रम बढ्छ। मिडिया दुरूपयोग हुन सक्ने खतराबाटै मिडिया साक्षरताको सन्दर्भ उठेको हो। इन्टरनेट वा नयाँ माध्यमले समाजमा ल्याएको सकारात्मक भन्दा पनि नकारात्मक पाटालाई ध्यानमा राखेर नै विश्वका धेरै देशले साइबर कानुन कार्यान्वयनमा ल्याइसकेको तथ्य हामीले बिर्सनु हुँदैन।

युरोपियन चार्टर अफ मिडिया लिटरेसीले मिडिया साक्षरता मुख्यतया मिडिया प्रविधिको उपयोग, सन्देशको भाषा एवं प्रस्तुति, सुसूचित समाजको आधार, प्रजातान्त्रिक अधिकार र नागरिक जिम्मेवारीजस्ता पक्षसँग बढी सरोकार रहेको उल्लेख गरेको छ। मिडिया साक्षरताको ऐतिहासिक परिदृश्य नियाल्ने हो भने सबैभन्दा पहिले शास्त्रीय साक्षरताको कुरा आउँछ। जतिबेला पढ्ने, लेख्ने र बुझ्ने कुरा मात्र यसका आधार थिए। त्यसपछि श्रव्य–दृश्य साक्षरताको युग आयो। चलचित्र, रेडियोे, टेलिभिजन, जसमा आकृति (इमेज) र आवाजबारे बुझ्न जरुरी थियो।

डिजिटल साक्षरता, जसमा कम्प्युटर र डिजिटल एवं मल्टिमिडियाबारे बुझ्नुपर्ने जरुरत प-यो। युनेस्कोले चाहिँ मिडिया साक्षरतालाई मिडिया शिक्षाको बृहत् रूप ठानेको छ। विकसित देशमा अडियन्सलाई पर्न सक्ने असर वा नकारात्मक प्रभावबारे अध्ययन/मनन गरेर मात्र सूचना, सामग्री अर्थात् सन्देश प्रस्तुत गर्छन्। यो अभ्यास विकासोन्मुख देशमा राम्रा मिडियाले पनि अनुसरण गर्छन्। यसो गर्दा मिडिया साक्षरतालाई विशेष ध्यान दिने परिपाटी खासगरी मिडिया एउटा भीमकाय उद्योगका रूपमा विकास र विस्तार भएका देश, जहाँ साक्षरता बढी छ, मा व्यवहारमै देखिन्छ।

मिडिया साक्षरताका विज्ञद्वय थोमसन र जोल्सका अनुसार मिडिया साक्षरता मिडियाप्रतिको निश्चित मान्यता र दृष्टिकोणमा आधारित छ। मिडियाबाट दिइने सन्देश सबै निर्माण गरिने कुरा भएकाले यसलाई सिर्जनशील भाषामा बनाउने आफ्नै नियम छन्। सञ्चारको समाज वर्गीकरण सिद्धान्तअनुसार मिडियाका सन्देश फरक–फरक अडियन्सले फरक–फरक ढंगबाट बुझ्छन् किनकि उनीहरू फरक–फरक पृष्ठभूमि र संस्कृतिका हुन्छन्।

धेरेजसो मिडिया सन्देश फाइदा हुने मनसाय वा शक्तिका दृष्टिले बनाइन्छन्। मिडिया समाजको भलाइप्रति खोलिएका हुनाले सामाजिक हित सर्वोपरि हुन्छ। नागरिकका हक–अधिकार र कर्तव्य के–के हुन् अर्थात् समाजप्रति मिडिया उत्तरदायी र जवाफदेही रूपमा प्रस्तुत भएको छ कि छैन, त्यसको जानकारी मिडिया साक्षरताले दिन्छ। यसले सूचनाको अधिकारबारे बुझ्ने मात्र बनाउँदैन, आम मानिसलाई मिडियाप्रतिको भरोसा कम गराउँछ। पाठक, दर्शक वा स्रोतामा मिडियाका काम र यसले प्रदान गर्ने सूचना–सामग्रीलाई मापन गर्ने र मूल्यांकन गर्ने क्षमता र साहस बढाउँछ। त्यसैले पनि मिडिया साक्षरता आवश्यक छ।

मिडिया साक्षरता व्यक्तिको क्षमता, अध्ययन, तालिम, आर्थिक–सामाजिक पृष्ठभूमि, सांस्कृतिक प्रभाव आदिमा पनि निर्भर हुन्छ। व्यक्तिको सचेतना, ज्ञान, धारणा, व्यवहार पनि यसमा कारक तŒव रहन्छन्। मिडियाका विषयवस्तु पस्कने तरिकाले पनि यसको प्रभावस्तर मापनलाई प्रभावित तुल्याउँछ। यसैले सबै खाले मिडिया चाहे छापा वा अनालाइन हुन्, उत्पादित विषयवस्तु कुन स्वार्थ–समूहका रुचि र लक्ष्यका लागि प्रयोग हुन सक्छन्, त्यो मिडिया साक्षरता प्राप्त गर्ने जो कोहीले अनुमान गर्न सक्छ। नेपालमा राजनीतिक प्रभावले नछोएका ठाउँ छैनन्। यस अर्थमा मिडिया उद्योग पनि अछूतो रहन सक्दैन। त्यसो त सञ्चारविद्हरू बरान र डेविसले मिडिया साक्षरता मिडियाका विषयवस्तुको समीक्षा र आनन्द लिन सकिने क्षमता हो भनेका छन्। उनीहरूले समकालीन संस्कृति र समुदायको गहन जानकारी ग्रहण गर्ने तरिकाका रूपमा यसलाई अथ्र्याएका छन्।

नेपालमा पत्रकारिता तथा आमसञ्चार शिक्षाको दायरा बढ्दै गएको वर्तमान सन्दर्भमा मिडिया साक्षरता भने कोसेढुंगा साबित हुने गरी  विकास भइसकेको छैन। तर मिडियाले जे/जस्ता सामग्री वा सन्देश उत्पादन गरे पनि तिनलाई अन्धाधुन्ध पालना नगरी सोच्ने, विश्लेषण गर्ने क्रम बढेको छ। यस अर्थमा मिडिया साक्षरता बढेको महसुस हुन्छ। मिडियाको सामाजिक उत्तरदायित्व समृद्धि र विकासका खातिर वस्तुगत ढंगबाट प्रस्फुटन हुन आवश्यक छ। डिजिटल र इन्टरनेट माध्यमको विकास र सूचना क्रान्तिले ल्याएको परिवर्तन आत्मसात् गर्न जरुरी भइसकेको छ।

मिडिया साक्षरताको अर्थ निर्माण र व्याख्याभन्दा माथि हुनुपर्छ। सूचना, समाचार विषयपरक भन्दा वस्तुनिष्ठ हुन अनिवार्य हुन्छ। मिडियाले कुनै विषयवस्तु कुन रूपमा प्रस्तुत गरेको छ भन्ने जानकारी मिडिया साक्षरताले दिन्छ। प्रजातान्त्रिक परिपाटी भएका मुलुकमा मिडिया साक्षरता मिडियाप्रति शासक मात्र नभई आम मानिसको मिडियाप्रतिको मूल्यांकन र विश्वासको आधारभूमि पनि हो।

प्रकाशित: ३ चैत्र २०७६ ०३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App