२५ जेष्ठ २०७७ आइतबार
विचार

कण्टकारी क्यान्सरको औषधि

मेरो बाल्यकाल तनहुँको आँबु सत्रसयको मित्रता माविमा पढ्दै र यम्पा फाँटमा हुर्कंदै बित्यो। सानो हुँदा स्कुल, गाउँछेउछाउ जताततै बग्रेल्ती हुने अंगेरी खाने र खाएपछि कालो–कालो देखिने नीलो जिब्रो, आफ्ना गुच्चा खेल्ने दौंतरीलाई देखाउँदै हामी लज्जावती झार छुन जाने गथ्र्याैं। छोयो कि झार सुत्थ्यो। हामी निकै हर्षाेल्लाससाथ हा हा हा गर्दै हाँस्ने गथ्र्याैं। घरबाट ‘एई कान्छा खाजा खान अइजा’ भन्ने आमाको बोली सुनेपछि घर गयो, भुटेको मकै चपायो, दूध पियो अनि मोजा गोलो बनाएर तयार गरेको हाते भकुन्डो लिएर खेल्न जान्थ्यौं। जीवन रमाइलो थियो।

जीवनका ४ दशक पूरा गर्दैगर्दा कृषि प्रविधिमा संसारमै अब्बल कहलाएको क्यानडाको टोरन्टोमा रहेर सक्रिय रूपमा नयाँ औषधीय पदार्थ, हिलिङ फुड र फुड सप्लिमेन्ट उत्पादन गर्दैगर्दा पुनः त्यही अँगेरीले बाल्यकाल ताजा गराउँछ।
दैनिक कार्यतालिका अनुसार प्रयोगशालाबाट प्राप्त सबै सूचना पुनरवलोकन गर्नुपर्छ। भेटिएका मालाबाथ्रिन केमिकल ए, एफस नोबोटेनिन बी, जी, एच, जेस केम्पफेरोललगायत धेरै प्रोपराइटरी औषधीय गुण भएका केमिकलबारे सूचना संकलन गरिन्छ। बिरुवाको सार तत्वमा पाइने गुणअनुसार औषधि उत्पादनको योजना बनाइन्छ।

जस्तै अंगेरीको सारतत्वमा हुने केमिकल डायरिया, डिसेन्ट्रीको अब्बल ओखती हुन्छ। अल्सर, पायल्स र छालाको दाग निको हुने औषधिमा पनि यसमा पाइने केही केमिकल हुन्छन्। उक्त निचोडका आधारमा योजना तर्जुमा हुन्छ। जसमा अंगेरीका तिनै गुण व्यसायीकरण हुने गरी आयुर्वेदिक तरिकाको औषधीय फर्मुला बनायो, सप्लिमेन्ट बनायो अनि बजारमा जाने कानुनी अनुमतिका लागि आवश्यक प्रक्रिया पूरा गरी बजारमा पठाउने गतिविधि समेटिन्छ।

कण्टकारीमा पाइने लुपियोल, एपिजिनिन र सोलामार्जिन अल्कलोइड क्यान्सर भएको सेल मार्न सफल देखिएपछि यो क्यान्सरको औषधिका लागि खोजिने बिरुवा बनेको छ।

अंगेरीमा पाइने औषधीय गुणका सारतत्व, नीलो रङ, एन्टअक्सिडेन्टयुक्त पदार्थ र मानव परजीवी र ब्याक्टेरियाहरूसँग लड्न सक्ने गुणका विभिन्न सार तत्वसमेत रहेका कारण खानामा हिलिङ गुण निर्माण गर्न, खाना तथा औषधिमा जाने  फ्लेभर बनाउन र प्राकृतिक नीलो रङ बनाउन यो उचित कच्चा पदार्थ हो।

यस आधारमा प्रयोगशालामा अर्को समानान्तर योजना  तर्जुमा हुन्छन्। जसमा अंगेरीका तिनै गुणको सदुपयोग गरी नयाँ इनोभेटिब फ्लेभर, खानाको रङ, खानाको स्वाद, खानामा औषधीय वा हिलिङ गुण पिँधिने तत्व बनाउने योजना हुन्छ। अंगेरीमा एन्टिभाइरल गुणसमेत हुने भएकाले यसलाई भिटामिन सीको धनी अमलासँगै मिलाएर रुघा, मर्की आदि हुँदा आवश्यक पर्ने एन्टिभाइरल डोज दिने सप्लिमेन्ट बनाउन अर्कै टोली खटाइन्छ।

लज्जावती झारको सन्दर्भ पनि लगभग उस्तै छ। अनुसन्धान र प्रयोगात्मक परीक्षणले यसमा मिमोसिने, २–हाइड्रोक्सी–मिथाएल–क्रोमन–४–ओनलगायत केमिकल हुने देखाएको छ।  यसमा हुने सारतत्वले डिप्रेसन कम गर्छ। निद्रा नलाग्दा दिइने औषधिमा पाइने तत्वअन्तर्गत यी तत्व पनि पर्छन्। नाक, पायल्स, खुट्टा सुन्निँदा दिइने मलममा समेत यसका सारतŒव उपयोगमा आउँछ। नरिवलको तेलसँग मिसाएर बनाएको लेपनले अल्सरमा आराम दिलाउँछ। अथाह गुणको धनी लज्जावती झारको उपयोग क्रिम बनाउन, औषधि बनाउन, हिलिङ फुडको इन्ग्रिडियन्टको फर्मुला बनाएर आयआर्जन गर्ने पेसा विकास गर्न सकिन्छ।

कुनै पनि वस्तु टुक्र्याएर हेर्दा केही हदसम्म त्यसको आन्तरिक बनावट बुझ्न सकिन्छ। तर त्यसले कसरी कार्य सम्पन्न गरिरहेछ भन्ने बुझ्न समग्रतामा जानुपर्छ। हिजो विज्ञानले वस्तुलाई टुक्र्याएर त्यसको आंशिक जानकारी लिने र त्यसको संश्लेषणबाट समग्र जानकारी लिने कोसिस गथ्र्याे। आज त्यही विज्ञानले संसार बुझ्न आयुर्विज्ञानको समग्रमा प्राप्त हुने ज्ञानको संयोजनबाट निचोड निकाल्ने विधाको उपयोग गर्न थालेको छ। विज्ञानको आंशिक  जानकारीको संश्लेषण र आयुर्विज्ञानको समग्रमा प्राप्त हुने ज्ञान दुवै मिसाउँदा आज मानिसलाई संसार बुझ्न र प्रगति पथमा लम्किन सहज हुँदै छ।

हाम्रा कृषि–विज्ञलाई घाँडो बनेको कण्टकारीले कहिल्यै गुणकारी औषधि बन्ने अवसर पाएन। मेरो सरकार ! १२ वर्षमा खोलो पनि फर्कन्छ भन्थे। ५० वर्ष भइसक्यो। अब त यसतर्फ अलि दरिलै मुटु गरेर लाग्ने कि ?

संसार नयाँ सिराबाट अगाडि बढिरहँदा हामी भने मिति गुज्रिसकेका र असफल सिद्ध भइसकेका सिद्धान्तवादी विधामा विज्ञता हासिल गरेका भुइँफुट्टावादी विज्ञको दर्शन बोकेर ठेलागाडामा बसी रकेटसँग प्रतिस्पर्धा गर्दै दंग परिरहेका छौं। प्रकृतिले उपलब्ध गराएको अवसरहरूलाई नजरअन्दाज गरिरहेका छौं। प्रकृतिको वरदानका रूपमा रहेको मुलुकमा सजिलै हुने औषधियुक्त र सुगन्धित हर्बलका खेती र उद्यमको सम्भावनालाई हामी हेला गरिरहेका छौं। जसले देशको समृद्धिमै टेवा पु¥याउने गरी अथाह आय गराउँछ भन्ने वास्तविकतालाई हामी बेवास्ता गरिरहेका छौं।

नेपालमा कृषि विज्ञहरूले सबैभन्दा कवाडी ठानी फाँडेर कोदो वा घैया लगाउन जनतालाई सल्लाह दिने कण्टकारीबारे यहाँ केही चर्चा गरौं। कण्टकारीको पात अन्य बिरुवाको पातभन्दा गाढा हरियो मात्र हुन्न, उद्योगमा यसको पातबाट अरू बिरुवाका पातबाट भन्दा सजिलै निकै धेरै क्लोरोफिल निकाल्न सकिन्छ। पानी जमिरहने घना बस्तीमा औलो, डेंगु, फाइलेरियासिसजस्ता रोगको प्रकोप– लामखुट्टे र शंखेकीराबाट फैलिन्छ। कण्टकारीको पातको एक्सट्रेक्ट जमेको पानीमा रहेका लामखुट्टे र शंखेकीराका लार्भा फैलिन सक्दैन÷नियन्त्रण हुन्छ।

कण्टकारीमा पाइने लुपियोल, एपिजिनिन र सोलामार्जिन अल्कलोइड क्यान्सर भएको सेल हेप–३ बी, मात्र २ घण्टामा पुनः जीवित नहुने गरी मार्न सफल देखिएपछि यो क्यान्सरको औषधिका लागि खोजिने बिरुवा बनेको छ। अहिले बजारमा महिलाका लागि गर्भ–निरोधक चक्की भेटिने भए पनि पुरुषका लागि वीर्य–निरोधक औषधि बनिसकेको छैन। कण्टकारीमा हुने सोलासोडिन नामक अल्कलोइडले पुरुषको अण्डकोषमा एसिड फसफेटेज इन्जाइमको गतिविधि घटाउने र वीर्य उत्पादन कम गराउँदै लान सहयोग गर्छ। कालान्तरमा यो पुरुषको वीर्य–निरोधक चक्की बनाउन सहयोगी हुन सक्ने देखिएको छ।

मानिसमा कलेजो बिग्रिने विकृति रोक्न जरुरी हुने एन्टी–अक्सिडेन्ट गुण भएको फ्रि–रेडिकल हटाउने युनानी प्रविधिको अति ख्याति–प्राप्त ओखती हो– जिग्रिन। १४ वटा मेडिसिनल हर्बबाट बन्ने जिग्रिन कण्टकारीबिना बन्दैन। त्यसैले युनानी ओखती बनाउनेहरू कण्टकारीको एक्सट्रेक्टलाई ठूलो मूल्य तिर्न तयार हुने गरेका छन्।

आयुर्वेद– प्रायः धेरै जडीबुटी मिलाएर औषधि बनाउने विधि हो। पाँचवटा बृहत् मूल्य भएका रूखका जराको मिश्रण (जसलाई विराट पञ्चमोला भनिन्छ) र पाँचवटा बृहत् औषधीय मूल्य भएका हर्बका जराको मिश्रण (जसलाई लघुपञ्चमोला भनिन्छ) मिलाएर बन्ने ‘दसमोला’ आयुर्वेदमा धेरै रोगका लागि बनाइने ओखतीको आधार सामग्री हुने गर्छ। कण्टकारी– त्यो दसमोलाको एक भाग भएकाले अति मूल्यवान् आयुर्वेदिक हर्बल हो।

कण्टकारी हाल प्रायजसो खोकी, दम, ज्वरो आदिका लागि बन्ने आयुर्वेदिक ओखतीमा निकै धेरै प्रयोग हुने गरेको छ। यसबाहेक दुखाइ कम गर्ने, पसिना निकाल्ने, ज्वरो नियन्त्रण गर्ने, भोक जगाउने, खाना पचाउने, कब्जियत हटाउने, रगत सफा गर्ने, जुका/चुर्ना मार्ने औषधि तथा यौनवद्र्धक टनिक आदिमा प्रयोग हुने गरेको छ।

सांसददेखि प्रधानमन्त्रीसम्मले हामीले किन कण्टकारी तथा कण्टकारीजस्ता हजारौं जडीबुटीको फाइदा लिन सकेनौ भनी तिनै क्षेत्रमा काम गर्ने सरकारी क्षेत्रका गनिएका विज्ञसँग प्रश्न गर्ने गरेका भेटिन्छन्। भित्ताले सुन्ला मितले सुन्दैन भनेजस्तै हाम्रो कर्मचारीतन्त्रलाई यी र यस्ता कुराको कुनै महत्वै नरहेको पाइन्छ।

आधुनिक खेती प्रणालीका नाममा एडिबीबाट ऋण लिईलिई गाउँघरमा आफैं उम्रेका कण्टकारिको झ्याङ फाँडेर हु¥याइदिने र त्यो कण्टकारीले भन्दा १ सय ५० गुणा कम आम्दानी दिने घैया र कोदो लगाउन लगाउने र सुधारिएको कृषिअन्तर्गत ‘प्रगति विवरण’ प्रस्तुत गर्दै मन्त्रालयमा ताली ठोक्ने क्रम कहिल्यै रोकिएन।

हाम्रा कृषि–विज्ञलाई घाँडो बनेको कण्टकारीले कहिल्यै गुणकारी औषधि बन्ने अवसर पाएन। मेरो सरकार ! १२ वर्षमा खोलो पनि फर्कन्छ भन्थे। ५० वर्ष भइसक्यो। अब त यसतर्फ अलि दरिलै मुटु गरेर लाग्ने कि ? नेपालको जय होस !
(लेखक नेपालीमूलका क्यानेडियन खाद्य तथा औषधि–विज्ञ हुन्।)

प्रकाशित: २९ फाल्गुन २०७६ ०९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल