७ वैशाख २०८१ शुक्रबार
विचार

नारी दिवसको सार्थकता

आइतबार नेपालमा पनि अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रमसाथ मनाइयो। मोफलसलको तुलनामा विशेषगरी राजधानी काठमाडौँमा यो दिवसले अघिल्ला वर्षहरूजस्तै बढ्ता महत्व पायो। पढालेखा महिलाको बस्ती बढी भएकाले र मुलुकको मुख्य प्रशासनिक केन्द्र भएकाले पनि राजधानीमा कुनै पनि दिवसबारे बढी नै चासो हुनु स्वाभाविकै हो। यस अर्थमा नारी दिवस पनि अपवाद रहेन। यो दिवस मनाउन थालिएको एघार दशक बितेको छ। विशेषगरी अमेरिकाका कारखानामा काम गर्ने महिलाले समान ज्यालाका लागि गरेका आन्दोलनले मार्च ८ लाई दिवसमा रूपान्तरण गरेको थियो। र, यही दिन महिलाले आफ्नो अधिकारका लागि आवाज बुलन्द पार्न गरेका साहसलाई चिरस्मरणीय बनाउन दिवस मनाइँदै आइएको हो। त्यसैले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले भोजभतेर र जुलुस/-याली अनि ज्ञापनपत्र र भाषणसँग मात्र सम्बन्ध राख्दैन। विभेदमा परेका कारखानाका महिलाले उठाएका विषयवस्तु र त्यसको भण्डाफोरका लागि गरेको आँट स्मरण गर्नेमात्र हैन, त्यसलाई सार्थक तुल्याउने प्रण गर्नु यो दिवस मनाउनुको औचित्य हुनुपर्छ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले भोजभतेर र जुलुस/-याली अनि ज्ञापनपत्र र भाषणसँग मात्र सम्बन्ध राख्दैन । विभेदमा परेका कारखानाका महिलाले उठाएका विषयवस्तु र त्यसको भण्डाफोरका लागि गरेको आँट स्मरण गर्नेमात्र हैन, त्यसलाई सार्थक तुल्याउने प्रण गर्नु यो दिवस मनाउनुको औचित्य हुनुपर्छ । 

छोटकरीमा नारी दिवस भनिए पनि यो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो। त्यसैले यो दिवसले श्रमिक महिलाको हक÷अधिकारबारे बढी वकालत गर्छ। उनीहरूका न्याय स्थापित गर्न घच्घच्याउँछ। नेपालमा अनौपचारिक क्षेत्रको श्रम शक्ति बढ्दो छ। जसमा महिलाको संख्या बढी छ। अनौपचारिक क्षेत्रमा संलग्न महिलाको खास तथ्यांक पाउन नसकिए पनि यो क्षेत्र करिब करिब महिलाकै कब्जामा रहेको अनुमान सहजै गर्न सकिन्छ। तर पनि श्रमिक महिलाका लागि आवश्यक प्रबन्ध न सरकारी न त गैरसरकारी कुनै पनि निकायले गर्न सकेका छैनन्। साथी र होमनेट साउथ एसिया नामक संस्थाद्वारा प्रकाशित ‘गृह श्रमिक र राज्यको दायित्व, संवाद पुस्तिका’ का अनुसार नेपालमा २२ लाख गृह श्रमिक छन्। जसमा ७८ प्रतिशत महिला छन्। यसैगरी नेपाल लेबर एकेडेमीको सन् २००८ को प्रतिवेदन अनुसार काठमाडौँ उपत्यकामा मात्रै ३ लाख २० हजार गृहश्रमिक छन्। यीमध्ये पनि ३ चौथाइ महिला छन्। अर्को एक तथ्यांकअनुसार मुलुकभित्रै रोजगारीको अवसर पाएका श्रम शक्तिमध्ये ९६ प्रतिशत औपचारिक क्षेत्रमा छन्। यसबाट सहजै अनुमान लगाउन सकिन्छ कि पहिलो कुरा त नेपालको सन्दर्भमा रोजगारीको माध्यम भनेकै अनौपचारिक क्षेत्र हो। अनि दोस्रो कुराचाहिँ अनौपचारिक क्षेत्रमा कार्यरत भनेकै करिब करिब सबै नै महिला नै हुन्।

एकातिर यति ठूलो महिला संख्या अनौपचारिक क्षेत्रमा संलग्न छ। अर्कोतर्फ यिनीहरूलाई लक्षित गरेर ल्याइएका कानुन, नीति कि अधुरा छन् कि त कार्यान्वयनमै छैनन्। जसले उनीहरूको पेशागत तथा सामाजिक सुरक्षासमेत संकटोन्मुख अवस्थामा छन्। सोझो अर्थमा भन्दा हामी जसको नाममा दिवस मनाउँदैछौँ उनीहरूकै अधिकार संकटमा परेकोबारे भने आवाज उठाइरहेका छैनौँ। जसले यस्ता दिवसलाई सार्थक तुल्याउन अवरोधकको काम गर्छन्। नेपालको महिला श्रम शक्ति सहभागिता दर दक्षिण एसियाका राष्ट्रमध्ये उच्च (८० प्रतिशत) स्थानमा छ। जो पहिचानका लागिसमेत संघर्षरत छन्। तर नारी दिवसहरू भने सहरका सुकिलामुकिला महिलाले भाषण गर्ने, फेसन सो गर्ने तथा शक्ति प्रदर्शनको विषय बनिरहेको छ। जबसम्म वास्तविक महिला श्रमिक, त्यो पनि अनौपचारिक क्षेत्रमा संलग्न महिलालाई केन्द्रमा राखेर गतिविधि गरिन्न, उनीहरूका हक/अधिकार सुनिश्चित गर्ने हिसावले दबाब दिइन्न तबसम्म नारी दिवस त मनाइएला तर यो दिवस मनाउनुको खास तात्पर्य भने कुनै हालतमा पुस्टि हुने छैन। श्रम ऐन २०७४ ले रोजगारदाताले श्रमिकलाई प्रतिदिन ८ घण्टा र १ हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा लगाउन नपाइने व्यवस्था गरेको छ। तर अनौपचारिक क्षेत्रमा काम गर्ने महिला आफ्नै नाम जोडिएको दिवसमा जानसमेत पाउने स्थिति छैन। अर्कोतर्फ सरकारले हाल सामाजिक सुरक्षाका लागि लागत चालु खर्चको १५ प्रतिशत र कुल बजेट खर्चको १० प्रतिशत खर्च गर्छ। तर नेपालको कुल श्रमशक्तिमा ९० प्रतिशतभन्दा बढी स्थान ओगट्ने असंगठित तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक तथा कर्मचारीका लागि भने कुनै पनि किसिमको सामाजिक सुरक्षा योजना उपलब्ध छैन। यस्ता वास्तविकतालाई यथावत राखिन्जेल नारी दिवस जति चर्को स्वरमा मनाए पनि श्रमिक महिलाको प्रगति हुनेवाला छैन।

प्रकाशित: २६ फाल्गुन २०७६ ०३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App