७ वैशाख २०८१ शुक्रबार
विचार

अर्थतन्त्रमा कोरोना असर

चीन हाम्रो छिमेकी भए पनि अहिलेसम्म नेपालमा कोरोनाबाट संक्रमित हुने एक जनामात्र फेला परेका छन्। उनी पनि उपचारपछि घर फर्केका छन्। यसैका कारण अहिलेसम्म नेपालमा कसैको मृत्यु भएको छैन। तर जनमानसमा भने डर छ। अति आवश्यक परे भन्दा सर्वसाधारण घरबाट बाहिर निस्कन छाडेका छन्। सवारी साधनमा यात्रु पातलिएका छन्। रेस्टुरेन्ट र खाजा घर रित्तो हुन थालेका छन्। चौरमा सर्वसाधारणको उपस्थिति कम छ। राजधानीसहित मुलुकको साना÷ठूला सहरमा कोरोनाको सन्त्रास फैलिएको छ। विश्व अर्थतन्त्रको आकार यसैका कारण १.५ प्रतिशतमा खुम्चने अनुमान गरिएको छ। कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा देखा परेको असरले नेपालको आर्थिक वृद्धि दर झनै खस्कने संभावना बढाएको छ। हुन त नेपालको अर्थतन्त्रको आकार सानो छ तर चीन, भारतलगायत अन्य मुलुकसँगको व्यापारिक, आर्थिक र सामाजिक सम्बन्धका कारण हामी अछूतो बस्न सम्भव छैन।  सरकारले चालु आर्थिक वर्ष साँढे आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। कोरोनाको समस्या आउनुअगाडि नै आर्थिक वृद्धि  ६ प्रतिशत हाराहारीमा खुम्चने अनुमान गरिएको थियो। कोरोनाका कारण वृद्धि दरमा थप संकुचन आउनेछ। कोरोनाले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ७३ प्रतिशत हिस्सा भएको गैरकृषि क्षेत्रमा बढी प्रभाव पार्नेछ। यसको सुरुवात सेवा क्षेत्रबाट भइसकेको छ।

कोरोनाले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ७३ प्रतिशत हिस्सा भएको गैरकृषि क्षेत्रमा बढी प्रभाव पार्नेछ। यसको सुरुवात सेवा क्षेत्रबाट भइसकेको छ।

अहिले पर्यटक आगमन र यातायातमा असर देखिएको छ। ठूला÷साना सबैखालका होटल सुनसान भएका छन्। आन्तरिक वायुसेवा कम्पनीहरूले कोरोनाका कारण यो वर्ष मात्र ४ अर्ब रुपियाँ आम्दानी गुम्ने बताएका छन्। आन्तरिक हवाई उडानमा ४० प्रतिशतले पर्यटक घटेको उनीहरूको भनाइ छ। अहिलेसम्म कोरोनाले सबैभन्दा बढी असर गरेको क्षेत्र नै पर्यटन हो। चीनलगायत तेस्रो मुलुकबाट आउने पर्यटक उल्लेखनीयरूपमा घटेका छन्। कोरोनाकै कारण सरकारले नेपाल भ्रमण वर्ष २०२० पनि स्थगित गरिसकेको छ। सरकारले कोरोनाबाट बढी प्रभावित भएका जापान, कोरिया, इटाली, इरानजस्ता मुलुकका नागरिकलाई अनएराइभल भिसा नदिने भनेको छ। नेपाली नागरिकलाई पनि अति आवश्यकबाहेकमा वैदेशिक भ्रमणमा नजान भनेको छ। यसअघि नै सरकारले चीनसँगका सबै व्यापारिक नाका बन्द गरेको छ। चीनसँगको आयात÷निर्यात व्यापार पनि बन्द जस्तै छ। पछिल्ला वर्षमा मुलुकको अर्थतन्त्रको मेरुदण्ड रेमिटेन्स बनेको छ। यसैको आयबाट मुलुक चलेको छ। कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको संख्या ७५ प्रतिशतले घट्न पुगेको छ। चालु आवमा पनि रेमिटेन्स आयको वृद्धि दर अघिल्ला वर्षहरूमा जस्तै बढ्न सकेको छैन। अहिले नै जापान, दक्षिण कोरिया र केही खाडी मुलुकमा कोरोनाको संक्रमण फैलिएपछि रेमिटेन्स आयमा फरक पर्ने बताइएको छ। त्यसमा वैदेशिक रोजगारीमा जानेको संख्यामा ७५ प्रतिशतले कमी आउँदा भविष्यका लागि यो पक्कै शुभसंकेत हुने छैन।

 
कोरोनाका कारण अहिले केही आयोजनामा कामदार अभाव हुन थालेको छ। खासगरी चिनियाँ ठेकेदारले निर्माण गरिरहेका ठूला आयोजनामा कामदार अभाव भइसकेको छ। यो विस्तारै अन्य आयोजनामा पनि पर्ने व्यवसायीहरूको चिन्ता छ। चिनियाँ मेसिनरी, प्राविधिक र परामर्शदाताहरू प्रयोग गर्ने अन्य कम्पनीलाई  पनि बिस्तारै यस्ता सेवाको अभाव हुनेछ। आयोजनासँगै मुलुकमा सुस्त रहेको औद्योगिक क्षेत्रमा पनि कोरोनाले प्रभाव पार्न सुरु गरेको छ। चीनलगायत मुलुकबाट उद्योगका लागि आवश्यक कच्चा पदार्थको आपूर्तिमा समस्या सुरु भइसकेको छ। नेपालको व्यापार, पर्यटन, हवाई यातायात, श्रम बजार, विदेशी सहायता, वैदेशिक लगानी, आयोजनालगायत सबै क्षेत्रमा कोरोनाको असर पर्नेछ। विश्वलाई नै त्रासमय बनाएको कोरोनाबाट नेपालको अर्थतन्त्रलाई बचाउन सरकारले तत्काल उद्योगी÷व्यवसायी लक्षित प्याकेजका कार्यक्रम घोषणा गर्नुपर्छ। मास्क र सेनिटाइजर आयातमा भन्सार छूट दिने तयारी सरकारले गरिसकेको छ। औषधि आपूर्तिमा पनि विशेष ध्यान जान जरुरी छ। विशेष सहुलियत दिन नसके पनि ब्याज तिर्ने समयमात्र केही पर सार्ने व्यवस्था गरे पनि उद्योगी÷व्यवसायीलाई ठूलो राहत मिल्छ। यससँगै अन्यत्र जस्तै सरकार र सम्बन्धित संघ÷संस्थाले पनि कोरोनाविरुद्ध लड्न ल्याकतअनुसारको बजेट विनियोजन गर्नु उपयुक्त हुन्छ।

प्रकाशित: २५ फाल्गुन २०७६ ०५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App