७ वैशाख २०८१ शुक्रबार
विचार

प्रधानमन्त्रीलाई शुभकामना !

प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गाैला प्रत्यारोपण नेपालमै गर्ने निर्णय गरेर नेपालको चिकित्सा क्षेत्रलाई गुन लगाउनुभएको मात्र हैन, उहाँ आफैंले पनि ठूलै विजय प्राप्त गर्नुभएको छ। त्रिवि शिक्षण अस्पतालका साथीहरूको सीप, क्षमता र खटाइका कारण शल्यक्रिया सफल हुने कुरामा कुनै शंकै थिएन। तर त्यो ओहोदा, चिकित्सा सेवामा पहुँच, वरिपरि रहेका मानिसका आग्रह...यी सबैका बाबजुद यो निर्णय गर्नु एउटा असल राजनेताले देखाउने व्यवहार हो। केही समययता उहाँको उपचारमा संलग्न साथीहरूसँग कुरा गर्दा स्पष्ट हुन्छ– राजनीतिक आस्था÷आग्रह जेसुकै होस्, जतासुकै होस्, प्रमको सम्पर्कमा आएका धेरैजसो स्वास्थ्यकर्मी उहाँको साँच्चैका ‘फ्यान’ बनेका छन्। यसले धेरै कुरा बताउँछ।

जनताका विभिन्न तप्काबाट उहाँको सुस्वास्थ्यका निम्ति कामना गर्ने क्रम जारी छ। र, यो बेला सामाजिक सञ्जालमा विभिन्न मानिसका अनेक किसिमका मनोदशा देखापरेका छन्। कतिबाट साँच्चैको स्नेह, प्रेम, करुणा, मैत्रीजस्ता सद्भाव प्रकट भएका छन्। कतिले यही मौकामा नयाँ÷पुराना तस्बिर टाँसेर प्रधानमन्त्री ओलीसँग आफ्नो निकटता प्रदर्शन गरेका छन्। यथार्थमा प्रमको भूमिकामा केपी ओलीको विशिष्ट महŒवका कारण ‘लाख असहमति’बीच पनि, सबै आडम्बरबाट मुक्त भएर हृदयैदेखि सुस्वास्थ्यको कामना गर्ने सत्ताइतर असल मानिस पनि देखिएका छन्। अर्कातिर ‘खुच्चिङ’को हदसम्म तल झरेका द्वेषभावसम्म पनि सामाजिक सञ्जालमै देखापर्छन्। अनि चाकडीजस्ता लाग्ने अभिव्यक्तिदेखि ‘शुभकामना दिन किन यो तँछाडमछाड !’ खालका परपीडक निरर्थक प्रश्नसम्म पनि देखिन्छन्। लोकतान्त्रिक पद्धतिबाट छानिएर आएका, यतिबेलाको सबभन्दा ठूलो पार्टीका सर्वोच्च नेता र देशका शक्ति–सम्पन्न प्रधानमन्त्रीको दोस्रोपटकको मिर्गौला प्रत्यारोपणजस्तो काम सम्पन्न भएका बखत, अनि त्यो पनि प्रधानमन्त्री आफैंले नेपालमै प्रत्यारोपण गर्ने निर्णय गरेर स्वस्थ्य–लाभ गर्न थालिसकेका बेला यस्ता विभिन्न किसिमका अभिव्यक्ति सामाजिक सञ्जालजस्ता खुलामञ्चमा देखापर्नु अनौठो हैन। यो सिलसिला अझै केही समय चलिरहनेछ। तर प्रधानमन्त्रीकै स्वास्थ्यसित प्रत्यक्ष÷अप्रत्यक्ष जोडिएका अनेक घटनाक्रमको गर्भभित्र फेरि केही पुरानै प्रश्न नयाँ अवतारमा हुर्किंदै छन्। र, नयाँ किसिमले अवतरित हुनुअघि नै तिनका बारेमा चिन्तन गर्न थाल्नु बेसै हुन्छ। तीमध्येका केही सरल प्रश्न हुन्– नेता के हो ? जनता के हुन् ? र, लोकतन्त्र के हो ?

नेतामा हुनुपर्ने केही सद्गुण स्वास्थ्य–लाभ गरिरहेका हाम्रा प्रधानमन्त्रीमा देखिएका छन्। अस्पतालबाट निस्किने बेलासम्म अरू अत्यावश्यक सद्गुण पनि थपिँदै जाउन्।

धेरै नेपालीले मन पराएको एउटा गीतको बोल छ –एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा। कुनै सुयोग्य नेताको मायामा यसैगरी ‘एउटा नेताको कामले कति फरक पार्दछ सिंगो देशमा’ गीत गाउन नेपाली सधैं लालायित देखिन्छन्। संसारमा गहिरोसँग गडेको सामन्ती सोचका कारण आआफ्ना पार्टी तथा गुटका नेताबारे जतिसुकै तारिफ गरे पनि, यथार्थ के हो भने जनताका साझा नेताका रूपमा सर्वगुणसम्पन्न, सर्वप्रिय, सर्वमान्य, सर्वस्वीकार्य नेता पाउनु असम्भव हुन्छ। हामीकहाँ मात्रै हैन, हाम्रो समयमा मात्रै हैन, जुनसुकै कालखण्डमा, जुनसुकै देशमा कुनै नेताको स्वीकार्यता, लोकप्रियता, कार्यकुशलता कति धेरै वा थोरै छ भन्ने मात्र हुन्छ, शतप्रतिशत हुनै सक्दैन। कुनै एक कार्यकालमा प्रिय भएका नेता अर्को कार्यकालमा अप्रिय भएका उदाहरण प्रशस्त छन्। एउटा कार्यकालको एउटा कालखण्डमा असफल ठानिएका नेता केही समयपछि नै अत्यन्तै कुशल देखिएका उदाहरण पनि उत्तिकै छन्। सर्वगुणसम्पन्न नेताको चाहना जति स्वाभाविक छ, त्यति नै स्वाभाविक छ– खोजेकै जस्तो गरी त्यो नपाइने यथार्थ पनि। राज्यको आवश्यकता र उपस्थितिलाई नै ‘सामाजिक सम्झौता’का रूपमा स्वीकार गर्ने गरिएको छ। जब यो मान्यताको अवतरण लोकतन्त्रमा हुन्छ, जनता भन्छन्– हामीलाई थाहा छ, तिमी सर्वगुणसम्पन्न छैनौ। हामीले आफ्नै पंक्तिमा भेटेसम्मका नेतामा तिमीलाई छानेको हो, राम्रोसँग काम गर, हामी सघाउँला। गरेनौ भने अर्कोपटक अर्कोलाई छानौंला।

सम्झौता नै हो यो। तर ‘सम्झौता’ भन्नेबित्तिकै कम्तीमा दुईपक्ष त हुनै प¥यो। सम्झौता पालना गर्न दुवैको उत्तिकै जिम्मेवारी हुन्छ। झन् ‘नेता’को जनक नै जनता भएपछि त जनताको झनै ठूलो भूमिका हुने भयो। एउटा नेता छानेर पठाइदियो, अनि ‘लोक’ वा जनता आफूले केही गर्नै नपरोस् भनेर बस्ने हो भने त त्यो कसरी लोक, प्रजा वा जनताको ‘तन्त्र’ भयो ? कुनै देशमा जनताले जबसम्म आफ्ना जिम्मेवारी पूरा गर्दैनन् वा पूरा गर्ने परिस्थिति रहँदैन वा जनताले आफ्ना जिम्मेवारी पूरा गर्ने परिपक्वता हासिल गरेका हुँदैनन्, तबसम्म लोकतन्त्र कि त निर्वाचनको यान्त्रिकता वा कर्मकाण्डमा मात्रै सीमित हुन्छ र वास्तविक लोकतन्त्र अस्तित्वमा आएकै हुँदैन, कि भने त्यस्तो देशमा लोकतन्त्र अझै अपरिपक्व नै हुन्छ र त्यो देशलाई लोकतन्त्रोन्मुख मात्र भन्न सकिन्छ।

जनता र सत्ताबीचको सम्झौता न हो जीवन, झन्झन् सुन्दर बन्दै छ भनी विश्वास दिलाउन सक्ने नेतालाई जनताले यति माया गर्छन् कि उसका सानातिना कमजोरीलाई सजिलै माफ गरिदिन्छन्।

तर के हो जनता ? को, कस्ता मानिस हुन्छन्, जनताका पंक्तिमा ? निरपेक्ष प्राज्ञिक हिसाबले हेर्दा यसले निकै गहन विचार मन्थन माग गर्छ होला। तर हाम्रो युगको व्यावहारिक प्रयोजनका निम्ति जनताको यस्तो परिभाषा काम लाग्ने देख्छु– जहिले पनि वर्तमानमा भन्दा बढी खुसी र शान्तिको चाहना गर्ने मानिसको समूह। आफूले केही समयअघि चाहेका कुरा जब जनताले पाउँछ, तब ऊ मुस्कुराउँछ। तर तत्कालै नयाँ वर्तमानप्रति ऊ असन्तुष्ट हुन्छ र अझ बढी खुसी र शान्तिको चाहना गर्छ। जनताको यो सर्वकालिक असन्तुष्टिले नै अहिलेसम्म समाज विकासका निम्ति आवश्यक ऊर्जा दिइरहेको छ। सम्पूर्ण दर्शन, ज्ञान÷विज्ञान, नैतिकता, संस्कृतिको जनक यही असन्तुष्टि हो। यही असन्तुष्टिले जन्माउँछ– एकपछि अर्को सत्ता, शासन व्यवस्था, शासक, नेता...।

अनि को हुन् नेता ? जनताको यही असन्तुष्टिले जन्माएको र वर्तमानमा भन्दा बढी सुख र शान्तितर्फ जनतालाई डो¥याउने संकल्प गरेको संस्थाकृत जिम्मेवारी र शक्तिप्राप्त व्यक्ति। जनतामा रहने सर्वकालिक असन्तुष्टिलाई, समाज विकासको ऊर्जा बनेको जनताको त्यो यथास्थितिप्रतिको निषेध–भाव राम्रोसँग बुझेको र अस्तिभन्दा हिजो, हिजोभन्दा आज जीवनको परिस्थिति सहज बनाएर भोलि अझ राम्रा दिन आउनेछन् भनेर विश्वास दिलाउने नेता सफल हुन्छन्। जनता र सत्ताबीचको सम्झौता न हो जीवन, झन्झन् सुन्दर बन्दै छ भनी विश्वास दिलाउन सक्ने नेतालाई जनताले यति माया गर्छन् कि उसका सानातिना कमजोरीलाई सजिलै माफ गरिदिन्छन्। कति कमजोरी देखेको नदेख्यै गरिदिन सक्छन्। जुन नेता जनताबाट अलग भएर पहाडको टुप्पोमा बसेर शासन गर्ने सर्वशक्तिमान ‘ईश्वर’ बन्ने चाहना गर्दैन, बरू आफैं ऊर्जाको गतिशील स्रोत भएर जनताबीच चलायमान रहन्छ, ऊ जनताको प्यारो हुन्छ। 

देशको वर्तमान यथार्थ हेर्दा आफ्नो लोकतान्त्रिक यात्रामा रहेका जनता र राज्य दुवै आफ्नो अपरिपक्वतामै रमाइरहेको देखिन्छ। यस्तो लाग्छ– परिपक्वतातर्फ बढ्ने संकल्पबाट दुवै च्युत भएका छन् र लोकतन्त्र जम्माजम्मी दुई अर्थमा मात्र संकुचित हुन पुगेको छ। एक– आवधिक निर्वाचन ( मध्यावधिलगायत) र दुई– भएभरका नेतालाई आलोचना गर्न पाइने अधिकार। लोकतन्त्रका निम्ति यी दुवै नभई नहुने कुरा हुन्, तर लोकतन्त्र भनेकै यो भन्दा बढी केही हैन भन्ने मान्यता रहिरहने हो भने हाम्रो लोकतान्त्रिक चेत कहिल्यै परिपक्व हुने छैन। 

मानिसका धेरै चाहना प्राप्य ‘वस्तु’ नभएर दिशा हुन्छन्। तर व्यवहारमा दिशा–उन्मुख भएर गतिमा रहन हैन, कुनै स्थिर प्राप्य वस्तुमा चाहनाको पूर्ति खोजिरहेको हुन्छ। पूर्णता (पर्फेक्सन) जस्तै लोकतन्त्र पनि कुनै प्राप्य वस्तु हैन, मानिसको पूर्णतातर्फको यात्रा हो। त्यो यात्रामा कति परिपक्वता हासिल भएको छ भन्ने कुरा मात्र हुन्छ, ‘पूर्णता’ त कहिल्यै प्राप्त हुँदैन। यो पूर्णतातर्फको यात्रामा पथ–प्रदर्शकको भूमिका निर्वाह गर्ने कसले ? पक्कै पनि नेताले। सम्भवतः नेता र जनताबीच सेतुको काम गर्ने विचारकको पनि उत्तिकै आवश्यकता हुन्छ। त्यस्ता विचारक, जो राजनीतिका सामान्य दिनचर्यामा व्यस्त हुन नपरोस्। जो नेतालाई घचघच्याउने, झक्झक्याउने काम गरिरहुन्। बाटोअघिको खाल्डो र ढिस्काढिस्की देखाइरहन सकुन्।

नेतामा हुनुपर्ने केही सद्गुण स्वास्थ्य–लाभ गरिरहेका हाम्रा प्रधानमन्त्रीमा देखिएका छन्। अस्पतालबाट निस्किने बेलासम्म अरू अत्यावश्यक सद्गुण पनि थपिँदै जाउन्। जनताको साँच्चै नजिक भएर काम गरेको देख्न÷भोग्न पाइयोस्। अहिले भने आराम गर्नोस्, छिटो निको हुनोस्। हार्दिक शुभकामना !

प्रकाशित: २३ फाल्गुन २०७६ ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App