६ वैशाख २०८१ बिहीबार
विचार

सिरिया शान्तिमा फेरि बादल

सिरियाको गृहयुद्ध अब अन्तिम चरणमा पुगेको छ। अरब स्प्रिङ नामबाट लोकतन्त्रको माग राख्दै सिरियामा आन्दोलन सुरु भएको थियो। आन्दोलनकारीलाई निर्ममतापूर्वक दमन गरिएपछि सेनाबाट विद्रोह गरेको समूहले आन्दोलनकारीको समर्थन गर्दै फ्रि सिरियन आर्मी गठन गरेपछि सिरिया गृहयुद्धमा फसेको हो। त्यसपछि आइसिसलगायत धेरै समूहले एकआपस र सरकारविरुद्ध लडाइँ जारी राखे। आइसिस अब इराक र सिरियाबाट पराजित भइसकेको छ भने फ्रि सिरियन आर्मी र केही जिहादी समूहले सिरियाको इड्लिब प्रान्त अहिलेसम्म कब्जा गरिरहेका त छन्, तर अब उनीहरू हारनजिक पुगिसकेका छन्। राष्ट्रपति आसादले जित्नै लागेका बेला यो युद्ध टर्कीतिर मोडिएको छ।

सन् २०११ मा ट्युनिसियाबाट सुरु आन्दोलन मध्यपूर्व र उत्तर अफ्रिकी मुलुकहरू लिबिया, इजिप्ट, यमन, सिरिया र बहराइनलगायत धेरै देशमा फैलियो। अरब स्प्रिङ आन्दोलनका कारण लिबिया, इजिप्ट र यमनका तानाशाह ढल्न पुगे भने बहराइन, कुबेत, मोरक्को, अल्जेरिया, लेबनन, जोर्डनलगायत देशका आन्दोलन दबाइयो र मत्थर हुन पुग्यो। सिरिया र यमनमा भने सोही आन्दोलन परिवर्तन हुँदै गृहयुद्धमा परिणत भयो र जुन आजसम्म जारी छ।

सिरियाको गृहयुद्धमा विश्वका शक्तिसम्पन्न राष्ट्र पनि प्रत्यक्ष रूपमा सामेल हुन पुगे। पेट्रोलिय पदार्थको प्रचुर भण्डार मात्र होइन, रणनीतिक भौगोलिक अवस्थाका कारण सिरिया, विश्व शक्ति–राष्ट्रहरूका लागि निकै महत्वपूर्ण छ। अर्कातर्फ सुन्नी र सिया मुस्लिम राष्ट्रहरूको शक्ति प्रदर्शन गर्ने भूमि बनेको छ–सिरिया।

सिरियामा नौ वर्षदेखिको गृहयुद्ध अन्त्य हुने र शान्ति छाउने आशामा फेरि कालो बादल देखिन थालेको छ।

लामो समयसम्म अप्रत्यक्ष रूपमा संलग्न पश्चिमा मुलुकमध्ये अमेरिका, बेलायत र फ्रान्सले गत वर्ष सिरियाका निश्चित सैनिक अखडाहरूमा आक्रमण गरेर आफूहरूलाई प्रत्यक्ष रूपमा सिरियाको युद्धमा संलग्न गराएका थिए। कारण थियो– आसदका सेनाले रासायनिक हतियार प्रयोग गरेर विद्रोही दबायो भन्ने। तर उनीहरूको भित्री मनसाय आसादलाई युद्धमा हराएर सत्ताबाट अपदस्थै थियो। अर्कातर्फ रसिया र इरानले सुरुदेखि नै राष्ट्रपति बसर अल आसादलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गरिरहेका छन्।

राष्ट्रपति आसादले विद्रोहीले कब्जा गरेका स्थानमा रसिया, इरान र लेबनानी हेज्बुल्लाहको सहयोगमा भीषण आक्रमण जारी राख्दै बर्बरतापूर्वक हत्या गर्ने क्रम जारी राखे। आसादका सेनाले विद्रोहीको कब्जामा रहेका सहरमा लगातार हवाई र जमिनबाट भीषण आक्रमण गर्दा लाखौं निर्दोषले ज्यान गुमाए भने करोडभन्दा धेरै जनता आफ्नो थातथलो छाडेर शरणार्थी बन्न बाध्य भए। अहिलेसम्म सिरिया युद्धमा ५ लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्् भने १ करोड ३० लाख जनता आन्तरिक र बाह्य शरणार्थी बनेका छन्।

संयुक्त राष्ट्र संघको अग्रसरतामा सन् २०१२ र २०१५ मा शान्ति वार्ता गराउने प्रयासस्वरूप सरकार र विद्रोही पक्षबीच युद्धविराम नभएका पनि होइनन्। तर त्यो केही दिनभन्दा टिक्न सकेन। दुवैपटक सिरियन सरकारले विद्रोहीले कब्जा जमाएका क्षेत्रमा नरसंहार गरेको आरोप लगाउँदै युद्धविराम तोडिएका थिए। सुरुका केही वर्ष विद्रोही समूह फ्रि सिरियन आर्मी (जसलाई आइसिसविरुद्ध लड्न भन्दै अमेरिका र पश्चिमी देशले हतियार सहयोग गरिरहेका थिए) ले लगातार एकमाथि अर्को जित हासिल गर्दै सिरियाका धेरै सहरमा कब्जा जमाउन सफल पनि भएको थियो।

सिरिया अहिले मुख्य रूपमा ४ समूहको कब्जामा छ। देशका अधिकांश भूभाग आसदका सेनाको पकडमा छ भने अफ्रिन सहर तथा त्यसवरपरका क्षेत्र टर्कीका सेना र टर्कीद्वारा समर्थित विद्रोहीको कब्जामा छ। टर्कीकै सिमानामा पर्ने उत्तरी सिरियाको धेरैजसो भाग कुर्दिस लडाकुले कब्जामा राखेका छन् भने इडलिब प्रान्त फ्रि सिरियन आर्मी र जिहादी विद्रोहीको कब्जामा छ। अहिले इडलिबबाट आसादका सेनाले रसिया, इरान र हेजबुल्लाहको सहयोगमा विद्रोही लेखेट्ने प्रयास जारी राखेको छ र सफल पनि हुँदै छ। विद्रोही फ्रि सिरियन आर्मीको यो नै अन्तिम अखडा हो।

गृहयुद्धबाट निस्किएको सिरिया, टर्कीसँगको युद्धमा फस्दै फेरि गृहयुद्धमा फर्किने सम्भावना धेरै देखिन्छ।

अहिले विकसित नयाँ घटनाक्रमले विश्व जगत्लाई फेरि सिरियातर्फ आकर्षण गरेको छ र फ्रि सिरियन आर्मीको लगातारको पराजयसँगै आसादका सेनाद्वारा सिरियाको भूमिमा रहेका टर्कीका सैनिकविरुद्ध आक्रमण गरेपछि टर्कीले सिरियाभित्र छिरेर सिरियन आर्मीविरुद्ध हमला सुरु गरेको छ। रसियाको सोचीमा गरिएको सम्झौताअनुसार टर्कीले सिरियाको भूभागभित्र आफ्ना सैनिक पोस्ट राखेको हो। मुख्यगरी कुर्दको विस्तार रोक्न टर्कीले यस्तो गरेको थियो। टर्की सिरियाको उत्तरी सिमानामा ३० किलोमिटरको बफरजोन बनाउन चाहन्छ, जसले गर्दा टर्कीका विद्रोही समूह पिकेकेका सहयोगी कुर्द नियन्त्रण गर्न सकियोस्। अब टर्कीले सोची सम्झौता नमान्ने र हवाई वा स्थल जुनसुकै तरिकाबाट सिरियाविरुद्ध आक्रमण गर्ने चेतावनी दिएको छ।

इडलिब र अफ्रिन जोडिएका प्रान्त हुन्, यी क्षेत्रमा टर्किस सेना जमेर बसेको छ। हालसालै आसादका सेनाले केही टर्किस विद्रोही र सेनाको हत्या ग-यो। तर अब आसादका सेना जितनजिक पुग्दा आफ्नो पकडमा रहेको भूभाग फुत्किन्छ कि भन्ने डरले टर्कीले सिरियामा आक्रमण सुरु गरिसकेको छ, जसले गर्दा सिरियाको युद्ध अब अर्को मोडमा पुग्ने हो के भन्ने चिन्ता छाएको छ।

सिरियाको गृहयुद्धमा आसादको विजय हुनु भनेको मध्यपूर्वमा इरान र रसियाको पकड बलियो हुनु पनि हो भने उदाउँदो शक्ति टर्कीको दबदबामा अवरोध आउनु पनि हो र टर्कीले यस्तो चाहँदैन। अब इजरायलले थप दबाब महसुस गर्नेछ भने लेबनानी हेज्बुल्लाहले आफ्नो पकड कडा बनाउनेछन्। टर्की र रसियाको सम्बन्ध यही कारण चिसिन सुरु भइसकेको छ।

आफ्ना सेना हताहती भएको र आफूले सहयोग गरिरहेका विद्रोही समूह पराजित अवस्थामा पुगेपछि टर्कीले सिरियासँगको सिमाना खुला गर्दै शरणार्थीलाई टर्की हुँदै युरोप छिर्न दिन सुरु गरिसकेको छ, यो नै युरोपका लागि मुख्य चुनौती हो। टर्की र ग्रिसको सिमाना एक नदीले छुट्याउँछ, जसबाट सिरियाबाट आएका शरणार्थी डुंगा प्रयोग गर्दै वा पौडी खेल्दै ग्रिस प्रवेश गर्छन् र त्यहाँबाट खुला सीमाको फाइदा उठाउँदै युरोपभरि फैलिन्छन्। यसले  सिंगो युरोपको सुरक्षामा ठूलो चुनौती खडा गरेको छ।

सिरियाको गृहयुद्धका कारण लाखौं सिरियाली युरोप पुगिसकेका छन्। त्यही भिडमा मिसिएर सयौं आइसिस युरोपको भूमि पुगेर आतंक मच्चाउन सफल पनि भए। अहिले आइसिस पराजित अवस्थामा भए पनि उसका हजारांै समर्थक अझै सिरियाभित्र छन्। उनीहरू टर्की हुँदै शरणार्थीका रूपमा युरोप पुग्ने हुन् कि भन्ने चिन्ता एकातिर छ भने अर्कातिर नाटोको सदस्य राष्ट्र र रसियाबीच तनाव सिर्जना हुँदा समग्र युरोपको शान्ति खलबलिने सम्भावना देखिन्छ।

अहिले आफ्नो सदस्य राष्ट्र टर्कीलाई नाटोले नैतिक समर्थन मात्र गरेको छ, सैनिक सहायता गरेको छैन। रसियाका लडाकु विमान र सैनिक सहायताका कारणम आसादका सैनिकको मनोबल उच्च छ। नाटोले टर्कीलाई सैनिक सहयोग ग¥यो भने युद्धले भयावह रूप लिन सक्ने सम्भावना हुन्छ, त्यसैकारण पनि नाटो पछि हटेको हो। टर्कीले रसियालाई सिरियाबाट पछि हट्न आग्रह त गरेको छ, तर त्यो सम्भव छैन। किनकि रसिया, सिरियामार्फत मध्यपूर्वमा जुन पकड बढाइरहेको छ, त्यो गुमाउन चाहँदैन। अर्कातर्फ इरानको पूर्ण सहयोग सिरियालाई भइँरहदा अब त्यो क्षेत्रको युद्ध नयाँँ मोडमा जान सक्ने सम्भावना छ।

टर्की रसियासँग भिड्न चाहँदैन भने रसिया सिरियालाई गरिरहेको सहयोग रोक्न चाहँदैन। अर्कातर्फ नाटो टर्की र रसियाबीच सीधा भिडन्त नहोस् भन्ने चाहन्छ। इरान र लेबनानी हेज्बुल्लाहले सिरियासँगको बलियो साथ छाड्ने छैनन्। यसो हुँदा सिरिया युद्ध टुंगिहाल्छ भन्ने परिस्थिति छैन। यो अवस्थामा टर्कीका पिकेके गुरिल्ला र उत्तरी सिरियाका कुर्दले आफ्नो पकड बढाउन थप प्रयास गर्नेछन्।

सिरियामा ९ वर्षदेखिको गृहयुद्ध अन्त हुने र शान्ति छाउने आशामा फेरि कालो बादल देखिन थालेको। कुर्द, आसादप्रति त्यति  नकरात्मक छैनन्, तर अन्य विद्रोही समूह अहिले पराजितजस्तो देखिए पनि भित्री रूपमा हारेका छैनन्। अहिले आसादको जित भए तापनि हतियारले ल्याएको शान्ति दिगो पक्कै हुने छैन। यो जितले आसादलाई झन् क्रूर हुन मनोबल बढाउने पक्का छ। लोकतन्त्रको मार्गमा देश जाने सम्भावना छैन। यो जितले केही समय त देशमा मुर्दा शान्ति आउला, तर केही वर्षमा फेरि जनअक्रोश सुरु हुँदैन भन्ने निश्चित छैन। गृहयुद्धबाट निस्किएको सिरिया, टर्कीसँगको युद्धमा फस्दै फेरि गृहयुद्धमा फर्किने सम्भावना धेरै देखिन्छ।

प्रकाशित: २२ फाल्गुन २०७६ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App