१० कार्तिक २०७७ सोमबार
विचार

जन्मदिनमा काटिने केक

‘जन्मदिनमा केक काट्ने, बत्ती निभाउने हाम्रो संस्कृति होइन।’ गत साता अष्टलक्ष्मी शाक्यले यो कुरा गन्यमान्य नेताहरूकै सामु उठाउँदा कसैबाट प्रतिवाद भएन। हुन सक्ने कुरो पनि थिएन। जन्मदिनमा त अष्टचिरञ्जीवी, मार्कण्डेय, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र अश्वत्थामा) को पूजा गर्ने र धूप/दीप/नैवद्य चढाउने चलन हाम्रो हो। सेलरोटी, माल्पुवाजस्ता पक्वान्न अवसरअनुसारका परिकार हुन्।

आधुनिक चलनमा लहसिएकाले बेकरीका परिकार रोज्ने गरेको देखिन्छ। अचेल केक यसै कोटिको खाद्यवस्तुमा परेको पाइन्छ। आधुनिकमा पनि अझउत्तर–आधुनिक प्रवृत्ति हावी भइरहेको छ। यसले हामी नेपालीलाई कता डो-याउँदै छ, त्यो बेग्लै चिन्तनको विषय हो। यसबारे विद्वान् बुद्धिजीवीका राय–सुझाउ त आउँछन्, तर सुनवाइ भएको पाइन्न।

जे होस्, प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा काटिएको केकले विशेष चर्चा पायो। र, चर्चा केकलाई हेलिकप्टरको महँगो ढुवानीमा पारिएकाले मात्र भएको होइन। यथार्थमा ढुवानी गौण पक्ष हो। मुख्य पाटो त केकको आकार थियो। केकको बन्दोबस्त गर्नेहरूले केकलाई नेपालको नक्साको आकार दिने चाँजो मिलाएका रहेछन्। ‘नेपाल आमा’को मान्यतामा हुर्केका आमाका सन्तानलाई यो चित्तबुझ्ने कुरा थिएन। आमालाई काट्नु, चिरा पार्नुलाई अकल्पनीय मानिनु र आपत्ति जनाइनु सर्वथा स्वाभाविक हो। अष्टलक्ष्मी शाक्यले त्यही उकुसमुकुस जनसमक्ष पु-याएकोसम्म हो। 

प्रधानमन्त्री ओलीको जन्मदिनमा काटिएको केकले विशेष चर्चा पायो। र, चर्चा केकलाई हेलिकप्टरको महँगो ढुवानीमा पारिएकाले मात्र भएको होइन। मुख्य पाटो त त्यसको आकार थियो।     

नेपालमा पो नक्सा आकारको केक काटेकामा प्रधानमन्त्रीको चर्को आलोचना भयो, अन्यत्र त यो सामान्य चलन हो भनेर बचाउ गर्ने स्वर पनि यसबीच सुनिएका छन्। ‘अन्यत्र’ भनेर पक्कै पश्चिमी गोलाद्र्धमा पर्ने बेलायत, अमेरिकातिर औंल्याइएको होला। तर त्यतातिर पुगे पनि पूर्वीय मान्यता र प्रचलनमा हुर्के/बढेकाले पश्चिमा चलन अपनाउन संकोचैमान्दारहेछन्। नेपालमा भारतका राजदूत भएर काम गरेका (सन् १९९५–२०००) कूटनीतिज्ञ के.भी. राजन नै यस सन्दर्भका एक दृष्टान्त हुन्। प्रसंग पनि केकसँगै सम्बन्धित छ।

सन् २०१२ मा प्रकाशित संस्मरणात्मक आलेखमा राजदूत राजनले लन्डन बसाइको अन्त्यतिरको त्यस प्रसंगलाई ससन्दर्भ उल्लेख गरेका छन्। उनी लेख्छन् ः लन्डनमा मेरो कार्यकाल सकिँदै थियो र युरोपकै अर्को कुनै देशमा राजदूतका रूपमा खटिने चर्चामा परेको थिएँ। तर एकदिन एकाएक दिल्लीबाट बजेका फोनका घण्टीले मलाई के जनाउ दिए भने मेरो अर्को कार्यस्थल नेपाल पो हुँदै छ। सामान्यतः राजनीतिक पृष्ठभूमिका व्यक्ति नियुक्ति गरिने परम्परा भएको देशका लागि मजस्तो कर्मचारीवृत्तको मानिसलाई किन ‘संवेदनशील र कठिन’ मानिने जिम्मेवारी बोकाएर पठाउन लागिएको होला भन्ने लाग्यो। आफू नेपालबारे जानकार थिइनँ, अनुभव त झन् छँदै थिएन। तर सम्भवतः मेरो छनोट गर्नेहरूको विचारमा भारत–नेपाल सम्बन्ध जेजस्तो अवस्थामा थियो, त्यस परिवेशमा म नै उपयुक्त व्यक्ति ठहरिएँ !

राजदूत राजन सम्झिन्छन् ः व्यवस्थित ढंगले लन्डनबाट बिदाइ लिने समय मैले पाइनँ। प्रधानमन्त्री पिभी नरसिंह रावको निर्देशनअनुसार मैले सकेसम्म छिटो काठमाडौं पुगेर राजदूतको कार्यभार सम्हाल्नुपर्ने भयो। मैले हतारहतारमै बिदाइ–भेट र बिदाइ–भोजहरू भ्याउनुपर्ने अवस्था आइप¥यो। काठमाडौं प्रस्थान गर्ने अघिल्लो दिन रातिको ‘रात्रिभोज’ संयोगवश मेरो ५४औं जन्मदिनमा पर्नगयो। त्यसैले होला, भोज आयोजना गर्ने आतिथेयी महिलाले विशेष मिहिनेतका साथ ‘जन्मदिनको केक’ तयार पारेकी रहिछन्– नेपालको नक्साआकारको। नेपाल जाने राजदूतलाई नेपालको नक्सा आकारको केक ! तर मैले ‘केक काट्ने कामचाहिँ नगरौं’ भनेर अनुरोध गरें। काटिनँ पनि। एकछिनपछि ज्योतिष ज्ञान भएका एक पत्रकार पाहुनाले मेरोनजिकै आएर कानेखुसीको स्वरमा भनेका थिए ः केक काट्ने कामबाट पन्छिने तपाईंको निर्णय सर्वथा उचित हो। यस्ता कुरामा नेपालका मानिस अति संवेदनशील हुन्छन्।

आआफ्नो हेराइ हो। मैले देख्दा राजदूत राजन आफैं सजग रहेछन्– पत्रकार–ज्योतिषीले त उनको कार्यशैलीको तारिफ पछि आएर गरेका हुन्। राजनकै सामान्य समझले उनलाई सरासर अनर्थ देखिने त्यो काम गर्नबाट जोगाएको हो। हुन पनि हो, जुन देशका लागि राजदूत भएर जान लागिएको छ, त्यसै देशको नक्सा काट्ने/चिर्ने काम कसरी गर्नु !

तर आज नेपालको स्थिति बेग्लै छ। जुन काम शक्तिशाली छिमेकी/राष्ट्रका राजदूतले २५ वर्ष पहिले गर्ने हिम्मत गरेका थिएनन् आज यसै देशका प्रधानमन्त्रीबाट भयो/गराइयो। अब यसलाई नेपालीको ‘बहादुरी’ भनिदिने हो भने भिन्दै कुरो। होइन भने कसैले उक्साए नै पनि प्रधानमन्त्रीले बहकिनु हुने थिएन, आफ्नो बुद्धि÷विवेक प्रयोग गर्नैपर्ने थियो। तर भएन, दुःखलाग्दो पक्ष यही हो।

प्रकाशित: २१ फाल्गुन २०७६ १०:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App