२५ जेष्ठ २०७७ आइतबार
विचार

विद्यार्थीलाई कस्तो गृहकार्य दिने ?

गृहकार्य कक्षाकोठामा गरिने क्रियाकलापको अभिन्न अंग हो। कक्षाकोठामा निर्माण भएको सैद्धान्तिक धरातलमा व्यावहारिक र यथार्थ संरचना निर्माण गर्ने वा छोटो समयको स्मृतिमा रहेका सैद्धान्तिक ज्ञान एवं सूचनालाई प्रयोगात्मक क्रियाकलापद्वारा लामो समयको स्मृतिमा सुरक्षित गर्ने काम गृहकार्य भएकाले यसलाई समग्र सिकाइ प्रक्रियाको परिपूरकसमेत मानिन्छ। शिक्षकको प्रत्यक्ष निर्देशनमा समूहमा रहेर गरेका कार्यको प्रभाव वैयक्तिक अनुभव र अनुभूतिमा ढाल्ने वा सैद्धान्तिक सिकाइलाई आफैंले प्रयोग गरेर पुनर्बल प्रदान गर्ने काम गृहकार्यले गर्ने भएकाले जहिले पनि यो मननयोग्य र सिर्जनात्मक हुनुपर्छ भनिन्छ।

नेपाली परिवेशमा गृहकार्यप्रतिको अवधारणा समान पाइँदैन। यसैले विद्यालयपिच्छे अझ शिक्षकपिच्छे गृहकार्यको उद्देश्यगत एवं प्रयोजनपरक बुझाइ फरक–फरक देखिन्छन्। गृहकार्यको प्रकृति निर्धारणमा वर्तमान सामाजिक परिवेश र अभिभावकहरूको व्यस्त जीवनशैलीको समेत प्रत्यक्ष÷अप्रत्यक्ष प्रभाव परेको देखिन्छ। शिक्षा– समाज परिवर्तन र व्यक्तिको सामाजिकीकरण दुवै प्रयोजनका लागि हुने भए पनि गृहकार्यको प्रभावकारिता, सिकाइ प्रक्रियामा पुग्ने सहयोग एवं बालबालिकाको सर्वाङ्गीण विकासका दृष्टिले अभिभावकभन्दा शिक्षक नै बढी जिम्मेवार देखिन्छन्। शिक्षकको शिक्षा वा सिकाइप्रतिको अवधारणा र आधुनिक शैक्षिक प्रविधिप्रतिको चेतनास्तरका आधारमा गृहकार्यको प्रयोजन र प्रकृतिगत भिन्नता स्पष्ट रूपमा देखिन्छ। काठमाडौंलाई आधार मानेर पंक्तिकारले गरेको अध्ययनअनुसार गृहकार्य दिनाका कारण, गृहकार्यको प्रकृति एवं उद्दश्यबीच तादात्म्य कमै पाइएको छ।

पाठ्यपुस्तक पढाउनु अनि पाठ्यपुस्तकमै रहेका अभ्यासमध्ये केही छानेर गृहकार्यका रूपमा दिनुमै आफ्नो पेसागत कर्तव्य पूरा भएको ठान्ने शिक्षकको संख्या निकै बढी देखिन्छ।

शिक्षक तालिम तथा शिक्षककेन्द्रित बिएड, एमएड कार्यक्रमबाट उत्पादित जनशक्ति यस क्षेत्रमा संलग्न भए पनि धेरै शिक्षक पाठ्यपुस्तक र पाठ्यक्रमबीचको अन्तर तथा पाठ्यक्रमका उद्देश्य पूरा गर्न साधनका रूपमा पाठ्यपुस्तक प्रयोग भइरहेको भन्ने विषयमा सचेत पाइँदैन। पाठ्यपुस्तक पढाउनु अनि पाठ्यपुस्तकमै रहेका अभ्यासमध्ये केही छानेर गृहकार्यका रूपमा दिनुमै आफ्नो पेसागत कर्तव्य पूरा भएको ठान्ने शिक्षकको संख्या निकै बढी देखिन्छ। पाठ्यपुस्तकमा मात्र केन्द्रित भइदिँदा पाठ्यक्रमको उद्देश्य र कक्षाकोठाका गतिविधि ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ महसुस हुन्छ। शिक्षक नै के, किन सिकाउँदै छु भन्ने विषयमा अस्पष्ट रहेपछि विद्यार्थी, गृहकार्य– शिक्षक र अभिभावकका लागि गरिदिने काम हो भन्नेमा ढुक्क हुने नै भए। कागको कुहिरो बनेका विद्यार्थी सिर्जनात्मक गृहकार्य गर्नुको साटो मात्र परीक्षामुखी भई तत्कालीन गर्जो टार्न वा शिक्षक र अभिभावकका आँखा छल्न सारेर गृहकार्य बुझाउने गरेको देखिन्छ। कक्षाकोठामा औपचारिक रूपमा गरिने पठनपाठन मात्र सिकाइ हो भन्ने भ्रमबाट मुक्त नभएसम्म वा नपारेसम्म विद्यार्थी गृहकार्यप्रति सकारात्मक हुन सक्दैनन्। यसैले सर्वप्रथम गृहकार्य थोपर्नुभन्दा बालबालिकाको मनोविज्ञान तथा सामाजिक विकास र पाठ्यक्रमको उद्देश्यप्रति शिक्षक स्पष्ट हुनुपर्छ। अनि यो कुरा विद्यार्थीलाई बुझाएर मात्र सिर्जनात्मक गृहकार्य दिँदा प्रभावकारी हुने कुरा अध्ययनहरूबाट स्पष्ट भइसकेको छ। हाम्रो सन्दर्भमा भने निम्न प्रकृतिको गृहकार्य दिने गरेको देखिन्छ:

१. कक्षामा पढाइएका पाठसँग सम्बन्धित अभ्यास
२. कक्षामा पढाउन नभ्याएका कुरा
३. कक्षामा पढाएका कुराको पुनरावृत्ति हुने अभ्यास
४. कक्षामा पढाएको भन्दा सजिलो अभ्यास जो उनीहरू स्वयं गर्न सकुन्
५. कक्षामा पढाएको भन्दा अप्ठ्यारो अभ्यास जसका बारेमा उनीहरू घोत्लिन सकुन्
६. विद्यार्थीलाई व्यस्त राख्न विषयवस्तुसम्बद्ध कुनै पनि काम

यीमध्ये सुरुका ४ किसिमका गृहकार्य दिने शिक्षक– शिक्षाको तहगत तथा पाठ्यक्रमको मर्मसँग अनभिज्ञ तथा पाठ्यपुस्तकलाई नै सबै थोक ठान्ने प्रवृत्तिका ठहर्छन्। जसरी हुन्छ पाठ्यपुस्तक पढाएर कोर्स पूरा गर्ने र पढाएका पाठका अभ्यासबाट प्रश्न सोधी तह पार गराउने मात्र उद्देश्य रहेकाले यस्ता शिक्षकबाट शिक्षित विद्यार्थीले अघिल्लो वर्ष पढेका कुरासँग सम्बद्ध प्रश्नमा ‘यो त पोहोर साल पढेको हो, बिर्सिएँ, अहिलेको अभ्यास सोध्नुहोस् न’ भन्ने जवाफ दिन्छन्। अर्को शब्दमा– वर्षदिनका उसका शैक्षिक गतिविधि मात्र विद्यार्थीलाई व्यस्त राख्न तथा परीक्षा पास गर्न गरिएका थिए, जुन अर्को कक्षामा पुग्नासाथ अर्थहीन ठहरिन्छन्। यस्तो मानसिकता हामीले निर्माण गरिदिने हो भने विद्यार्थीको पठन संस्कृति र अध्ययनप्रति रुचि कसरी जाग्न सक्ला ? सोचनीय विषय हो।

५ र ६ नम्बरमा उल्लेख गरिएका गृहकार्यको प्रकृति केही सिर्जनात्मक भए पनि पहिलो अभिभावकलाई ट्युसन टिचरको आवश्यकता महसुस गराउने किसिमको देखिन्छ भने दोस्रो अभिभावकको प्रभावले प्रेरित प्रकृतिको छ। विद्यार्थीको मनोविज्ञानलाई पूर्णतः बेवास्ता गरिएको यस प्रकारका गृहकार्यले विद्यार्थीलाई सहयोग गर्नेभन्दा उसको मनोबल कमजोर पारी ‘म पढ्न÷लेख्न सक्दिनँ’ भन्ने इन्फेरियर कम्प्लेक्सको सिर्जना गराई पढाइबाट हतोत्साहित गर्ने सम्भावन बढी रहन्छ। कक्षाकोठा विद्यार्थीलाई नियन्त्रण गरेर राख्ने ठाउँ होइन, उनीहरूको सिकाइलाई सहजीकरण गर्ने ठाउँ हो। तर यस्ता गृहकार्यले विषयवस्तुप्रति अरुचि मात्र होइन, शिक्षकसँग एक किसिमको अस्वाभाविक दूरी र भय सिर्जना गर्न सक्छन्। जसका कारण अभ्यासमा घोत्लिनुको सट्टा पढाइलेखाइप्रति नै वितृष्णा हुन्छ।

विद्यालयबाट घरमा आएपछि चकचक मात्र गर्ने, ग्याजेटमा मात्र रमाउने भएकाले एकथरी अभिभावक धेरै किताब र धेरै गृहकार्य नदिने स्कुललाई स्तरहीन स्कुल मान्छन्। यसैले घर आएपछि सरासर गृहकार्य गरोस्, त्यतिन्जेलमा सुत्ने बेला भइहाले टन्टा नै खतम भन्ठान्ने अभिभावक बच्चालाई महँगो स्कुल पठाउन पाएकामा दंग छन्। तर उसको स्तरअनुकूलको सिकाइ तथा संवेगात्मक विकासमा बेखबर नै रहन्छन्। भुल्ने र भुलाउने कामका रूपमा गृहकार्य दिने भएपछि विद्यार्थीको सिकाइस्तरमा सकारात्मक प्रभाव नपर्नु स्वाभाविकै हो। सामान्यतया प्राइमरी तहका विद्यार्थीलाई संरचनात्मक गृहकार्य दिनु उपयुक्त हुँदैन। आफ्ना परिवार, समाज, व्यक्ति र कामबारे वर्णन गर्न भने लगाउन सकिन्छ। ५ कक्षाभन्दा माथि मात्र तहअनुरूपका गृहकार्य दिनु उपयुक्त हुन्छ।

वास्तवमा गृहकार्य सैद्धान्तिक कुराको प्रयोगात्मक वा व्यावहारिक पाटोसँग सम्बन्धित हुनुपर्छ। बन्द प्रयोगशालामा गरेको परीक्षण दैनन्दिनी व्यवहार र प्राकृतिक क्रियामा कहाँ प्रयोग भएको छ, हेर्ने र अनुभव गर्ने तथा त्यस परीक्षणको नतिजा दैनिक सामाजिक कुन क्षेत्रमा प्रयोग गर्न सकिएला भन्ने जिज्ञासा राख्न सक्ने र समाधानका लागि क्रियाशील हुन प्रेरित गर्ने गृहकार्य आजको  माग हो। आफूले सिकेका कुरासँग सम्बन्धित सीप कहाँ प्रयोग भएको छ ? त्यसको प्रयोग कसरी र किन भइरहेको छ ? यसले समाज तथा समुदायलाई के सहयोग पु¥याएको छ ? कहिलेदेखि समाजले उक्त प्रविधिलाई आत्मसात् ग¥यो र यसलाई अझ प्रभावकारी कसरी बनाउन सकिएला भन्ने जिज्ञासा राख्न सक्ने बनाउने गृहकार्यले विद्यार्थीलाई खोजमुखी तथा सिर्जनशील बनाउँछ।

कक्षाकोठाबाट बाहिर आउँदा विद्यार्थी अघाएको होइन, खुलदुलीले भरिएको हुनुपर्छ। परम्परागत पढाइलेखाइमा जस्तो गुरुले समस्या समाधान गरिदिने होइन, समाधानका लागि बाटो देखाइदिने र सिकाइप्रति भोक जगाइदिने हो। सामाजिक शिक्षा पढेपछि विद्यार्थी तथ्यांक कण्ठ गर्ने होइन, आफ्नो समाजका सदस्यका पेसा, आर्थिक स्थिति, शिक्षा र स्वास्थ्य अवस्था बुझ्ने र विश्लेषण गर्न सक्ने हुनुपर्छ। फोहोर व्यवस्थापन, वर्गीकरण र पुनः प्रयोग उसले किताबका चित्रबाट बुझ्ने होइन, व्यावहारिक रूपमा बुझ्नुपर्छ। सामान्य मेसिन पढेपछि पहिलो, दोस्रो र तेस्रो क्लास लिभर दैनिक जीवनमा कसरी सहयोगी बनेका छन् र व्यवहारका कठिनाइमध्ये कुन–कुन क्षेत्रमा लिभरको प्रयोग गर्न सकिन्छ ? गृहकार्य यस्ता विषयमा केन्द्रित हुनुपर्छ। पानीको शुद्धीकरण पढेपछि घरमा त्यसको प्रयोग गर्न सक्ने, भाषिक सीप सिकेपछि त्यसको वास्तविक प्रयोग गर्न सक्ने र परम्परागत ज्ञान एवं प्रविधिका राम्रा पक्षलाई आत्मसात् गर्ने र अन्य पक्षमा सुधार ल्याउन सक्ने दृष्टिकोण विकास गर्ने प्रकृतिका गृहकार्य दिने हो भने न यो विद्यार्थीको भार बन्छ न त टाइमपास गर्ने साधन मात्र। यसैले सिकाइसम्बन्धी धारणामा परिवर्तनका लागि ढिलो नगरी सम्बन्धित क्षेत्रमा क्रियाशील सबै तयार हुनैपर्ने बेला भएको छ।

प्रकाशित: १३ फाल्गुन २०७६ १०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल