९ आश्विन २०७७ शुक्रबार
विचार

राष्ट्रघातीलाई सलाम !

जापानका सत्ताइसौं प्रधानमन्त्री हिदेकी तोजो राष्ट्रघाती थिएनन्। तर अमेरिकाले उनलाई ‘अपराधी’ भन्यो। अगस्टो पिनोचे (पिनोसे) राष्ट्रघाती थिएनन्। कम्युनिस्टहरूले राष्ट्र डुबाउन लाग्दा उनले सैनिक विद्रोह गरे। त्यसबेला राष्ट्रपति एलेन्डेले ‘आत्महत्या’ गरेको खबर फैलियो। चिलीको राष्ट्रिय अस्तित्व बचाउन एलेन्डेलगायत हजारौंको वध गर्नुपर्ने अवस्था आयो। सेनाले साहस देखाएर राष्ट्र बचायो। पिनोचेले ‘राष्ट्र सर्वोच्च हुन्छ’ भनिदिए। जनताले उनको समर्थन गरे।

स्लोभोदान मिलोसेभिच अपराधी र राष्ट्रघाती थिए। ‘बुचर अफ बोस्निया’ भनिन्छ, उनलाई। सर्बियाका रादोभान काराद्जिक त्यस्तै आततायी थिए। सन् २००८ जुलाइ २१ मा पक्राउ परेपछि उनलाई युद्ध अपराधका ११ मुद्दा लगाइयो। हजारौं निर्दोष मानिसको प्राण लिएर पनि भाषण गर्दै हिँड्न पाइँदैन, सबै राष्ट्रमा। राष्ट्रको सुरक्षा गछौं भनेर शपथ लिनेहरूले राष्ट्रघातीलाई सलाम गरेको दृश्य नेपालमा सहज मानिन्छ। अरू देशमा त्यस्तो हुँदैन।

पाेलपोटले कम्युनिस्ट शासन चलाउन कम्बोडियामा १० लाखभन्दा धेरै मानिस मारे। सन् १९९८ मा एउटा जंगलमा छाप्रोभित्र ती मरे। सन् १९५५ देखि २० वर्षसम्म चलेको युद्धले हो–चि मिन्हजस्ता राष्ट्रवादी नेता उदाए, भियतनाममा। मिन्ह राष्ट्रघाती थिएनन्, पक्का कम्युनिस्ट थिए। धेरै विश्लेषकले कम्युनिस्ट मुलुकका सभ्य र सच्चा नेतामध्ये अधिकतर राष्ट्रवादी भएको टिप्पणी गरेका छन् भने नेपालमा पछिल्ला ३०/३५ वर्षयता कम्युनिस्टहरूलाई विभिन्न राष्ट्रले दुरुपयोग गरिरहेको पनि उनीहरूको टिप्पणी छ।

राष्ट्रको अस्तित्व बचाउनेजस्तो जिम्मेवारीमा बसेका व्यक्तिहरू नै पथभ्रष्ट, लोभी, चरित्रहीन र विदेशीका गुलाम बन्दै गए भने त्यो राष्ट्र विश्व मानचित्रबाटै लोप हुन सक्छ।

नेपालमा कम्युनिस्टको आवरणमा राष्ट्रघाती आचरण गर्नेहरू धेरै छन्। चित्र र चरित्र फरक छन्। पात्र र प्रवृत्ति अध्ययन गर्दा उनीहरू हथौडा–हँसिया देखाएर पहिले चीन–रसियाका प्रिय बन्थे। अहिले राष्ट्रवादको ‘कलर’ दलेर डलरमा रमाएका छन्।

सन् १९८० को दशकपछि श्रीलंका टुक्र्याउन विदेशी शक्तिले ठूलो प्रयत्न ग-यो। तर सेना एकढिक्का बनेर उभियो। भारत–पाकिस्तान ब्रिटेनबाट स्वाधीन भएपछि पाकिस्तानी सेनाले पटकपटक गम्भीर संकटबाट बचायो, राष्ट्रलाई। भारतले पूर्वी–पाकिस्तान टुक्र्याएर बंगलादेश बनाउँदा ठूलो क्षति भोग्यो, पाकिस्तानले। त्यसपछिका हरेक घटनामा त्यहाँको सेनाले राष्ट्रहितलाई सर्वोपरि मानेर यदाकदा राजनीतिक अगुवालाई पनि राष्ट्रवादमा सम्झौता नगर्न चेतावनी दिने गरेको छ। 

सन् २०११ पछि सिरियालाई अशान्त बनाउने खेलमा पश्चिमा शक्ति–राष्ट्र खुलेरै लागे। यस्तै इजिप्ट र यमनको घटनामा पनि पश्चिमी राष्ट्रको चर्को दबाब देखियो। ‘मेरोनाइट’ क्रिस्चियन नै लेबनानका राष्ट्रपति हुनुपर्छ भनेर फ्रान्सले दबाब दिँदा सेना जुरुक्क उठेको भए विदेशी षड्यन्त्रकारी लुरुक्क पर्थे। ऐनमौकामा बोल्न नसक्नेले दुर्भाग्य त भोग्नैपर्छ। संविधानमै फलानो धर्मावलम्बीले मात्रै राष्ट्रपतिलगायत विभिन्न पद पाउने छन् भनेर धार्मिक कोटामा पद बाँडियो, लेबनानमा। संविधानमा कुन धर्मले कुन पद पाउने भन्ने लेखियो। नेपालमा लिंग, जात, धर्मका आधारमा राजनीति गर्ने क्रम २०६२/०६३ सालपछि झन् बढ्दै गयो।

जातीय र साम्प्रदायिक द्वन्द्वले लामो गृहयुद्धमा फस्यो, लेबनान। यमन र इजिप्टमा लोभी नेता र मानव अधिकारका दुकान चलाउनेहरूले राष्ट्र क्षतविक्षत बनाए। इथियोपिया टुक्रेर इरिट्रिया बन्दा रमाउने राष्ट्रघातीलाई पनि सेनाले सलाम ठोकेर ठूलो भूल ग-यो। सुडान टुक्र्याएर दुईफ्याक पार्दा नेता, पत्रकार, कर्मचारी सबै रमाए। धेरैले धन कमाए। राष्ट्रमाताको मासु बेचेर धनी हुने रहरले नेपालका कैयन् नेता, बुद्धिजीवी आदिलाई आज शैतान बनाइरहेको छ।

आज रणनीति, कूटनीति, राजनीतिलगायत विभिन्न क्षेत्रमा देखिएका द्विविधाले नेपाललाई निकै ठूलो दुर्घटनामा पार्छ कि भन्ने शंका झन् बढ्न थालेको छ। तर राष्ट्रघातीलाई सलाम गर्नेहरूले इतिहासप्रतिको जिम्मेवारी बिर्सेनन् भने नेपाल अझै पनि सुरक्षित रहने सम्भावना बाँकी नै छ।

डिल्लीबजारको ‘भोजन गृह’ भनिने पुरानो दरबारमा दमननाथ ढुंगान र पद्मरत्न तुलाधरले ‘नेपाल ट्रान्जिसन टु पिस (एनटिटिपी)’ भन्ने संस्था चलाएका रहेछन्। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका विचारबाट उत्प्रेरित लेखक, पत्रकार, व्यवसायी, कलाकर्मी, कानुन–व्यवसायीको छुट्टै चौतारी पनि थियो, त्यहाँ। ढुंगाना र तुलाधर कूटनीतिक नम्बरका गाडी चढेर कार्यालय आउँथे। ‘हरेक महिना करोडौं रुपैयाँको बजेट आउँछ’ भन्थे, एनटिटिपीका कर्मचारी। ‘जातीय राज्य’ बनाउने प्रमुख मिसनमा सो संस्था सक्रिय रहेको भन्दै नेपाल पत्रिकाका तत्कालीन सम्पादक प्रशान्त अर्यालले खुलासा गरेका थिए। त्यसपछि त्यहाँबाट कुन्नि कता बसाइँ सरे, तुलाधर र ढुंगानाहरू।

१० वर्षे द्वन्द्वका बेला प्रत्यक्ष/परोक्ष द्वन्द्वमा नलागेका हजारौं निर्दोष नेपाली मारिए। अहिले पीडकहरूले नै सरकार चलाएका छन्। उनीहरू विगतका जघन्य अपराधबाट मुक्ति खोजिरहेका छन्। कल्याण श्रेष्ठ, चोलेन्द्रशमशेर र वैद्यनाथ उपाध्यायको इजलासले द्वन्द्वकालीन मुद्दामा कसैले पनि उन्मुक्ति नपाउने प्रवृत्तिको ‘सत्य निरूपण’सम्बन्धी कानुन बनाउन सरकारलाई निर्देशन दिए पनि त्यो पालना भएन। आफू सत्तामा भएको र संसद्मा प्रभाव रहेको अवस्थामा राष्ट्रघाती र जनघातीहरू शक्तिशाली हुन्छन् तर साँझ  परेपछि सूर्य पनि अस्ताउनुपर्छ भन्ने कुरा अभिमानीहरूले बुझ्नै बाँकी छ।

‘कु डेताँ’ फ्रेन्च शब्द हो। जसले सैनिक विद्रोह वा बगावतको अर्थ दिन्छ। केही दल मिलेर दलतन्त्र चलाउन विद्रोह गर्छन् र ‘जनआन्दोलन’ भन्ने जामा लगाइदिन्छन्। यस्तै, यदाकदा विदेशीले स्वार्थपूर्ति गर्न दल, प्रेस, चेतनशील वर्ग आदिलाई आर्थिक सहायता गर्छन्। तर सैनिक विद्रोह अन्तिम हतियार मात्रै हो। राजनीतिक शक्तिहरूले राष्ट्रलाई क्षतविक्षत बनाइरहे भने त्यस्तो परिदृश्य सजीव सेनाले टुलुटुलु हेरेर बस्दैन। तसर्थ राष्ट्र संकटमा पर्ने अवस्थामा विभिन्न देशमा सैनिक विद्रोह हुँदा बुद्धिजीवीहरूले समेत त्यसमा प्रश्न उठाउनुको सट्टा राष्ट्र बचेकामा खुसी मनाउने गरेका छन्।

२०६२/६३ सालको विद्रोहका बेला प्रेस जगत्को नेतृत्व गरेका नेपाल पत्रकार महासंघका तत्कालीन सभापति विष्णु निष्ठुरी– नेपाली राष्ट्रवाद कमजोर भएकामा चिन्तित छन्, आज। लोकतन्त्र वा गणतन्त्रका नाममा राष्ट्रको अस्तित्वलाई दलहरूले खेलाँची गरिरहेको उनको टिप्पणी उनकै संयोजकत्वमा चलिरहेको ‘सरल पत्रिका’ बोलिरहेको छ। ऊबेला वकिलहरूको नेतृत्व गर्दै गणतन्त्रका पक्षमा उभिएका वरिष्ठ अधिवक्ता शम्भु थापा ‘कम्युनिस्ट’ पृष्ठभूमिको भन्न पनि लजाएझैं गर्छन्। नेपाल बार एसोसिएसनमा महारथी थिए, उनी। थापाका विचार सुन्दा अरूले नेपाली बुद्धिजीवीहरूलाई आन्दोलनमा ‘इस्तेमाल’ गरेछन् भन्ने पीडा झल्कन्छ।

सैनिक विद्रोहमा पनि यदाकदा विदेशी शक्तिको भरथेग हुने गरेको इतिहासले देखाएको छ। तर धेरैजसो राष्ट्रमा राष्ट्रियता, इतिहास, राष्ट्रिय एकता, स्वाभिमान र अस्तित्वको रक्षा गर्न सेना अघि सर्ने गरेको पाइन्छ। राष्ट्रघातीलाई सलाम ठोक्दै आमाप्रतिको अत्याचार हरेरे  बस्दैन, सेना। सरकारको आदेश होइन, राष्ट्रको अस्तित्व सर्वोपरि हुनुपर्छ, सेनाको ग्रन्थीमा। आदेश दिनेहरू राष्ट्रघाती पनि हुन सक्छन्। तसर्थ, सेना– उनीहरूको हतियार र मतियार भइरहेमा राष्ट्र जीवित रहँदैन। भुइँमा लुखुरलुखुर हिँड्ने र अहोरात्र मेहनत गरेर खाने नेपाली जनताले बुझेको पनि यही हो।

राष्ट्रको खर्बौं रुपैयाँको सम्पत्तिमा राष्ट्रघातीकै ढलीमली भइरहँदा राष्ट्र र जनता बलियो हुने अवस्था रहँदैन। ‘चौबीस महिनासम्म हामी सत्तामा बस्नु पनि गणतन्त्रको उपलब्धि हो’ भन्न लाज नमान्नेहरूले खोक्रो पारेका छन्, राष्ट्रलाई। विदेशीलाई रिझाउने र जनतालाई कज्याएर अकण्टक शासन गर्ने दुराशय, आत्मश्लाघा, स्तुति र आत्मप्रचार हेर्दा शक्ति पृथकीकरणको सिद्धान्त, न्याय, मानव अधिकार, प्रगति, धर्म, संस्कृति सबै राष्ट्रघातीकै इच्छाअनुसार मासिँदै जाने सम्भावना देखिन्छ। सत्ता र त्यसकै वरपर प्रदक्षिणा गर्न चाहने दलहरूले त बुझेनन् तर आज्ञाकारी दलसेवक बनेका ‘राष्ट्रसेवक’ (?) र जनताले पनि सत्य र असत्यको पहिचान गर्न अबेर गरिरहेको हो कि जस्तो लाग्न थालेको छ।

एउटा आलेखमा विनोद सिजापतीले बहुदलीय व्यवस्थाका कट्टर विरोधी कार्ल माक्र्सलाई गुरु मान्नेहरू अहिले नेपालको राज्यसत्तामा भएकाले प्रजातन्त्रमै खतरा उत्पन्न भएको विश्लेषण गरेका छन्। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा प्रतिबद्ध २०४७ सालको संविधान मासेर उग्रवामपन्थीहरूसँग सहकार्य गर्ने नेपालका ठूला दलले विगतमा भन्दा बढी अहिले राष्ट्रियता र प्रजातन्त्र संकटमा परेको स्वीकारिरहेका छन्। तर जबसम्म राष्ट्रघातीहरूलाई उनीहरूको अपराधअनुसार दण्ड दिन सकिँदैन तबसम्म विधिको शासन र प्रजातन्त्रको प्रत्याभूति सम्भव हुँदैन।

चरम भ्रष्टाचारमा डुबेको सरकारविरुद्ध थाइल्यान्डको सेनाले सन् २०१४ मा विद्रोह ग-यो। त्यो राष्ट्रघातीहरूलाई थप्पड होइन, जोर लात्ती नै थियो। जनताले सेनालाई धन्यवाद दिए। जिम्बाब्वेमा सन् २०१७ मा सेनाले सत्ता लियो। रबर्ट गाब्रियल मुगाबेले प्रारम्भिक कालमा राम्रा काम गरे पनि पछि उनले निरंकुश शैलीमा भ्रष्टाचार गर्न थालेपछि सेनाले उनलाई थुन्यो। कैयन् नेता गिरफ्तार भए।

बुर्किनाफासो, नाइजेरिया, लाइबेरिया, कंगो, बेनिन, माली, म्यान्मार, होन्डुरस, सुडान, क्युबा आदि देशका सैनिकद्रोहका कथा नेपालमा पनि अनुकरणीय हुन सक्छन् भन्ने यो आलेखको आशय होइन। हजार गिद्ध, ब्वाँसा र स्यालहरू मिलेर नेपाल आमालाई लुछिलुछी मार्न लागेको देख्दा देशभक्त र मातृभक्त सन्तानको मन रुन्छ। त्यस्तो अवस्थामा राष्ट्रहितका लागि एउटा बन्दुक पड्किए पनि आमाको मासु लुछ्नेहरू भयभीत हुने थिए। किनभने राष्ट्र लुटिएको दृश्य हामी टुलुटुलु हेरिरहेका छौं।

‘बर्थ अफ रोमन क्याथोलिक नेसन’ ग्रन्थमा हरेक समाजमा इज्जत र धनका लागि हुरुक्क हुने अलग वर्ग हुन्छन् भनिएको छ। इज्जत सुरक्षित राख्न चाहनेहरू परम्परा, धर्म, संस्कृति, आचरण, इमान र इतिहास बचाउन सके मात्र राष्ट्र र आफ्नो इज्जत रहन्छ भन्छन्। उनीहरूका लागि धन नै प्रधान विषय होइन। आधुनिक समाजशास्त्रीहरूले समाजलाई भाँड्न कम्युनिस्ट, आतंककारी, लोभीपापी र ‘म नै सबैथोक हुँ’ भन्ने अभिमानीहरूलाई प्रयोग गरिन्छ भन्ने तर्क गरेका छन्। रोमको इतिहास पढ्दा प्लेबियन (सर्वसाधारण) र पेट्रिसियन (विशिष्ट वर्ग) जस्ता शब्द पाइन्छन्। पेट्रिसियन हतपति बहकिँदैनन् तर प्लेबियनहरू पेट आगो निभाउन बहकिन सक्छन्। ‘माई वार विथ द सिआइए’ ग्रन्थमा कम्बोडियाका बौद्ध धर्मावलम्बी राजा नरोदम सिंहानुकले लोननोल (सेनापति) र पोलपोटजस्ता राष्ट्रघातीलाई अमेरिकाले प्रयोग गरेका लेखेका छन्। राजाको तर्क छ– उनीहरूलाई इज्जतसँग मतलब थिएन, धनसँग मात्र मतलब थियो। तसर्थ पैसामा बिकेर राष्ट्रप्रति नै गद्दारी गरे।

राष्ट्रको अस्तित्व बचाउनेजस्तो जिम्मेवारीमा बसेका व्यक्तिहरू नै पथभ्रष्ट, लोभी, चरित्रहीन र विदेशीका गुलाम बन्दै गए भने त्यो राष्ट्र विश्व मानचित्रबाटै लोप हुन सक्छ। तसर्थ आज रणनीति, कूटनीति, राजनीतिलगायत विभिन्न क्षेत्रमा देखिएका द्विविधाले नेपाललाई निकै ठूलो दुर्घटनामा पार्छ कि भन्ने शंका झन् बढ्न थालेको छ। तर राष्ट्रघातीलाई सलाम गर्नेहरूले इतिहासप्रतिको जिम्मेवारी बिर्सेनन् भने नेपाल अझै पनि सुरक्षित रहने सम्भावना बाँकी नै छ।

प्रकाशित: ९ फाल्गुन २०७६ ११:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App