५ आश्विन २०७७ सोमबार
विचार

कक्षाकोठाको सूक्ष्म व्यवस्थापन

सिकाइ जीवनपर्यन्त चलिरहने प्रक्रिया हो। जिउनका लागि आफ्नो वातावरणसँग समायोजन हुन सिक्नुदेखि नवीन आविष्कार तथा काम सहज पार्न लगाइने जुक्तिसमेत सिकाइ प्रक्रियाबाट प्राप्त हुने कुरा हुन्। व्यवहार, चिन्तन र दृष्टिकोणमा परिवर्तन ल्याउने काम सिकाइले गर्ने भएकाले सिकारुको मनोभावना, इच्छा र आवश्यकता सिकाइको पहिलो सर्त हो भने वातावरण वा परिस्थिति व्यक्तिलाई सिक्न उद्यत पार्ने महत्वपूर्ण घटक। औपचारिक शिक्षण क्रियाकलापमा भने सिकारु, शिक्षक र शिक्षणस्थल तीनै पक्षको महत्वपूर्ण भूमिका हुन्छ। सिकारुको रुचि, शिक्षकको शिक्षण सीप तथा उपयुक्त सिकाइस्थल नभए प्रभावकारी सिकाइ हुन सक्दैन। यी तीनै पक्षको प्रभावकारिता कक्षाकोठा व्यवस्थापन सीपमा निर्भर हुन्छ। खासगरी कक्षाकोठा व्यवस्थापनमा विद्यार्थी संख्या, भौतिक व्यवस्थापन, सिकाइ सामग्री संयोजन, उपयुक्त वातावरणलगायतमा जोड दिइएको पाइन्छ, तर यी सम्पूर्ण कुरा हुँदाहुँदै पनि कक्षाकोठाको सूक्ष्म (माइक्रो) व्यवस्थापन फितलो भएमा सिकाइ क्रियाकलाप उपलब्धिहीन हुन्छन्। यसैले स्थूल वा बाह्य, स्पश्र्य र दर्शनीय विषयको व्यवस्थापनले मात्र कक्षाकोठा प्रभावकारी बन्न सक्दैन, कक्षाका अमूर्त एवं मनोविज्ञानसम्बद्ध पक्षको सूक्ष्म व्यवस्थापनमा हरेक शिक्षण संस्था तथा शिक्षकले ध्यान पु-याउन आवश्यक छ।

शिक्षककेन्द्रित शिक्षण–पद्धतिमा कक्षाकोठाको सूक्ष्म व्यवस्थापनलाई महत्व दिइएको हुँदैन, यसैले अहिले संसारभर सिकारुकेन्द्रित शिक्षण प्रविधि आत्मसात् गर्न थालिएको छ। विद्यार्थीको रुचि, उत्प्रेरणा, जिज्ञासा, सहभागिता र संवाद कक्षाकोठाका सूक्ष्म व्यवस्थापनका विषय हुन्, जसले कक्षाकोठालाई सजीव र ऊर्जावान् बनाइरहेका हुन्छन्। पाठ्यक्रम जानकारी पाएको तथा पाठ्यवस्तुमा राम्रो दक्खल भएकै भरमा असल शिक्षक बन्न सकिँदैन। प्रभावकारी सञ्चार–सीप नभए विषयवस्तुगत दक्षता जति नै भए पनि सिकारुको उपलब्धि शून्य हुन्छ। अझ कक्षाकोठामा गएर पाठ्यपुस्तक पढाई निर्दिष्ट अभ्यास गर्न सिकाउने व्यक्ति त शिक्षक हुँदै होइन, बरु विद्यार्थीको जिज्ञासा र प्रगतिको बाधक हो। किताबमा भएका विषयवस्तु यो एक्काइसौं शताब्दीमा नयाँ कुरा हुँदै होइनन्, अनि त्यही विषयवस्तुसम्बद्ध सूचनाले विद्यार्थीलाई सम्पन्न बनाउनुलाई सिकाइ भन्न सकिँदैन। समसामयिक विषयवस्तु मात्र नभएर इतिहास र वर्तमान जोड्ने सेतु मात्र पाठ्यपुस्तक बन्न सक्छन्। जीवनका व्यावहारिक पक्षसँग नजोडिएका सूचना अर्थहीन हुन्छन्। यसैले शिक्षक समाज, दर्शन, प्रविधि र मनोविज्ञानसँग परिचित हुनुपर्छ, अनि विद्यार्थीलाई नयाँ सूचना दिने उद्देश्यले मात्र नभई विद्यार्थीलाई नयाँ–नयाँ विषयमा उत्सुक बनाउने ध्येयसाथ कक्षाकोठामा पस्नुपवर्छ।

शिक्षककेन्द्रित शिक्षण–पद्धतिमा कक्षाकोठाको सूक्ष्म व्यवस्थापनलाई महत्व दिइएको हुँदैन, यसैले अहिले संसारभर सिकारुकेन्द्रित शिक्षण प्रविधि आत्मसात् गर्न थालिएको छ।

कक्षाकोठाको माइक्रो म्यानेजमेन्टको महत्वपूर्ण पक्ष विद्यार्थीलाई दिइने सूचनाभन्दा विद्यार्थीबारे शिक्षक कति सुसूचित छ भन्ने हो। शिक्षकका लागि वास्तवमै कक्षाकोठा एउटा पुस्तक हो भने हरेक विद्यार्थी त्यसका पाना हुन्। पाना–पानाको अध्ययनबिना पुस्तकको सार बुझ्न नसकिएझैं हरेक विद्यार्थीका वैयक्तिक रुचि र मानसिक अवस्थाको सूक्ष्म विश्लेषणबिना शिक्षण प्रभावकारी बन्नै सक्दैन। कक्षामा उपस्थित सबै व्यक्तिलाई विद्यार्थीका रूपमा मात्र बुझेर शिक्षण  थाल्ने हो भने शिक्षकको श्रम बोतलको बिर्को नै नखोली पानी भर्ने प्रयासजस्तो हुन्छ। यसैले सिकारुको रुचिबारे शिक्षक जानकार हुनुपर्छ, अनि मात्र रुचि जगाउने सीपको खोजी र प्रयोग सम्भव हुन्छ।

विद्यार्थी अनुशासित, सभ्य र मर्यादित हुनुपर्छ भन्ने आग्रह राखिन्छ, तर सिकाइ क्रममा तिनले राम्रा, मर्यादित र सम्भव कुरा मात्र सोच्छन् र सोध्छन् भन्ने हुँदैन। कहिलेकाहीं अर्थहीन, अव्यावहारिक, असान्दर्भिक र अनुपयुक्त कुरा पनि सोध्न सक्छन्। यस्तै बेकारका कुरामा तर्क गर्न थाल्दा रिसाएर शिक्षकले विद्यार्थीलाई निरुत्साहन गर्न सक्छन्। यसो भएमा सिकारुको सिकाइमा बाधा हुन्छ। कक्षा छाड्नु वा पढाइरहेका बेला अन्य कुरा सोचेर बस्नु उसको बाध्यता बन्न जान्छ। अतः अनैतिक, गैरकानुनी र अर्थहीन कुरामा विद्यार्थीले तर्क गर्न खोजेमा शिक्षकले उसलाई सोझै निरुत्साहन होइन, उत्प्रेरणासहित सकारात्मक र समाज–स्वीकार्य गतिविधिमा ढाल्ने काम गर्नुपर्छ।

सहभागिता कक्षाकोठाको सूक्ष्म व्यवस्थापनको अर्को महत्वपूर्ण तत्व हो। कक्षामा शिक्षक मात्र सक्रिय हुने वा केही विद्यार्थी र शिक्षक सक्रिय हुने परम्परा धेरैतिर देखिन्छ, तर सम्पूर्ण विद्यार्थीको सहभागिताबिना गरिने शिक्षण अर्थपूर्ण बन्न सक्दैन। यसैले कक्षाभित्र गर्भकक्षा वा समूह निर्माण गरेर सामूहिक कार्य तथा व्यक्तिगत प्रस्तुतिको प्रवद्र्धन गर्नुपर्छ। सहभागिता र संवाद वा सञ्चार प्रणाली, सँगसँगै उपस्थित हुने सूक्ष्म तत्व हुन्। सामान्यतया शिक्षकले विद्यार्थीलाई प्रश्न गरेर र कुनै विषयमा बोल्न लगाएर दोहोरो सञ्चार प्रणाली विकास गर्न खोजिए पनि शिक्षकको आशय तथा विद्यार्थीको मनोविज्ञानको ज्ञानबिना गरिने प्रश्नले झनै प्रतिकूल प्रभाव पार्न सक्ने सम्भावना हुन्छ। शिक्षकले आफ्नो शिक्षण प्रक्रियाको प्रभावकारिता जाँच्न प्रश्न गर्नु राम्रो हो, जसले गर्दा पृष्ठपोषण प्राप्त भई आफ्नो शिक्षण कलामा निखारता ल्याउन वा शिक्षण–विधि परिवर्तन गर्न सहयोग पुग्छ, तर विद्यार्थीले शिक्षकको आशय नबुझी आफूलाई अड्काउन वा सबैसामु लज्जित पार्न प्रश्न सोधिएको हो भन्ने धारणा बनायो भने प्रश्नोत्तर शिक्षण सिकाइ प्रक्रियामा बाधक तत्व सिद्ध हुन्छ। कमजोर विद्यार्थीलाई प्रश्न गरेर, उसले कुरा नबुझेको प्रमाणित गराई लज्जित तुल्याउने ध्येयले कहिल्यै प्रश्न गर्नु हुँदैन, साथै त्यस उद्देश्यका लागि प्रश्न गरिएको होइन भन्ने विश्वास सिकारुलाई दिलाउन सक्नुपर्छ।

शिक्षकका तर्फबाट प्रश्नोत्तर प्रक्रिया अघि बढाउने सन्दर्भमा विद्यार्थीका धारणा, रुचि र मनोविज्ञानको महत्व भएझैं विद्यार्थीबाट सोधिएका प्रश्नले कक्षामा के–कस्ता मान्यता पाउँछन् भन्ने विषय कक्षाकोठाको सूक्ष्म व्यवस्थापनको अति महत्वपूर्ण पक्ष हो। विद्यार्थी सामान्यतया कक्षामा प्रश्न गर्न चाहँदैनन्, कारण सहपाठीको प्रतिक्रिया, आफू मात्र नजान्ने ठहर्ने डर र शिक्षकको उपेक्षाभावले काम गरेका हुन्छन्। कुशल शिक्षकले विद्यार्थीमा प्रश्न गर्न थाल्दा लागेका धक फुकाइदिएर नडराई जिज्ञासा राख्न सक्ने वातावरण बनाइदिनुपर्छ। विद्यार्थीले जस्तो कुरा सोधे पनि महत्व दिएर छलफल गर्न शिक्षक तयार हुनुपर्छ। अनि मात्र विद्यार्थीमा प्रश्न गर्नु कमजोरी पत्ता लगाउन मात्र हो भन्ने भ्रम हटेर जान्छ र कक्षाकोठाको वातावरण सिकाइ क्रियाकलापका लागि अनुकूल बन्छ। सूचना र तथ्य प्रस्तुति गर्ने खालका मात्र प्रश्न गर्ने गर्दा विद्यार्थीले ध्यान दिएर सुन्यो÷सुनेन वा सम्झन सक्यो/सकेन भन्ने जान्न खोजिएको बुझिन्छ। यस्तोमा उत्तर दिन नसक्ने विद्यार्थीमा हीनता उत्पन्न हुन सक्छ। ‘म सम्झिन सक्दिनँ वा ध्यान दिन सक्दिनँ’ भन्ने भाव विकास भएमा विद्यार्थी इन्फेरियर कम्प्लेक्सको सिकार बन्न पुग्छ। यसैले शिक्षकले सूचना वा तथ्यपरक प्रश्नभन्दा खुला वा विषयगत प्रश्न गरी विद्यार्थीको धारणा र पठनबोध क्षमताको जानकारी प्राप्त गर्न सक्छन्। कक्षामा के, कति र कहिले मात्र नभनेर किन र कसरीजस्ता प्रश्नले प्रश्रय पाउनुपर्छ। जसले गर्दा विद्यार्थीलाई आफ्नो धारणा प्रस्तुत गर्न सहज वातावरण सिर्जना हुन्छ र आफ्नो उत्तर गलत हुने भयबाट मुक्त राख्छ। विद्यार्थीका फरक–फरक विचारको प्रस्तुतिपछि निष्कर्षमा पुग्न सहयोग गर्नु शिक्षकको कर्तव्य हो, तर विद्यार्थीका धारणाको अभिव्यक्तिबिना समाधानका विधि बताइदिनु विद्यार्थीलाई चिन्तनगत गहन आकाशबाट साँघुरो कोठामा ठिँगु-याइदिनु हो। यसैले असल शिक्षक त्यो हो, जसले अघाइसकेका विद्यार्थीमा भोक जगाइदिन सक्छ, तर भोका विद्यार्थीलाई अघाउन्जेल पढाउने वा सूचना दिने व्यक्ति शिक्षक नभएर परनिर्भरता सिर्जना गरिदिने भाइरस हुन्। विद्यालयमा भ्रम र भयपूर्ण वातावरण सिर्जना गरी अति नियन्त्रित कक्षाकोठामा सबै विद्यार्थीलाई समान रूपले पढाउन खोज्नु वास्तवमै बालबालिकाको वृद्धि र विकासमा अवरोध सिर्जना गर्नु भएकाले हरेक विद्यार्थीको वैयक्तिक विशेषता बुझी तदनुकूल शिक्षण गर्ने वातावरण सिर्जना गर्नु कक्षाकोठाको सूक्ष्म व्यवस्थापनको उद्देश्य हो।

सिकारुको रुचि पहिचान गरी उत्प्रेरणा र पुनर्बल दिँदै विद्यार्थीलाई जिज्ञासा राख्न सक्ने बनाउनु शिक्षण सिकाइ क्रियाकलापका पूर्वसर्त हुन्। कक्षाकोठाका हरेक गतिविधिमा विद्यार्थीलाई सक्रिय रूपमा सहभागी गराई भयमुक्त वातावरणमा छलफल एवं विचार आदानप्रदान गर्न सक्ने वातावरण निर्माण गर्नु कक्षाकोठाको सूक्ष्म व्यवस्थापनको महत्वपूर्ण पक्ष भएकाले यस प्रकारको सूक्ष्म व्यवस्थापनबिना जतिसुकै राम्रा शिक्षण सामग्री, शिक्षक र भौतिक संरचना भए पनि सिकाइ प्रभावकारी हुन सक्दैन। यसैले हरेक शिक्षक कक्षाकोठाको सूक्ष्म व्यवस्थापनका विषयमा सचेत हुनुपर्छ।

प्रकाशित: १५ माघ २०७६ १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App