३१ असार २०७७ बुधबार
विचार

ढाकरमा राजाको फोटो

साहित्यकार क्षेत्रप्रताप अधिकारीले पोखरा तालबाराही चोकमा राजा वीरेन्द्र र रानी ऐश्वर्यलाई भेटेपछि सोही दिन साँझ गीत लेख्नुभयो– चौतारीमा राजा भेटियो, चौतारीमा रानी भेटियो।

पोखरामै क्षेत्रप्रताप दाइसँग भेट हुँदा मैले भनेँ– ‘दाइले राजालाई चौतारीमा भेट्नुभएछ। मैले त ढाकरमा राजा देखेको छु।’ उहाँले सोध्नुभयो– कुरो रमाइलो जस्तो छ। कहाँको कुरा हो यो ?

मैले बेलिविस्तार लगाएँ– २०३८ सालमा दार्जिलिङबाट इलामको पशुपतिनगर सिमाना पुग्दा एकजना दरिद्र सुकुमवासी भेटिए भन्सारमा। झन्डै साठी वर्षका थिए उनी। सानैमा बा–आमा मरेपछि दाजुले पैतृक सम्पत्ति खाइदिएछन्। दुःख गरेर हुर्काएका छोराछोरीले पनि हेलाँ गरे। त्यसपछि मानबहादुरले ज्याला–मजदूरी गरेर पेट पाले। अन्त्यमा, बूढाबूढीले दार्जिलिङको चिया बगानमा काम गरेर उतै बस्ने निधो गरेछन्। नेपाल–भारत सिमानामा उनको ढाकरको जाँच भयो। खुट्टामा जुत्ता–चप्पल थिएन। फाटेका थोत्रा कपडा लगाएका थिए बूढाबूढीले नै।

पाँचथरबाट झरेर इलाममा केही महिना मजदूरी गरेका ती दम्पतीको कुनै सम्पत्ति थिएन। कर्मचारीले ढाकरका सवै सामान बाहिर निकाले। पुरानो राडी, केही भाँडाकुँडा, बूढाबूढीका दुई/चारवटा लुगा, पाँच/सात माना चामल, थोत्रो छाता, बोझो, चिराइतो जस्ता घरेलु ओखती, अलिकति नून, तेल गुन्द्रुक यस्तै भेटियो। अन्त्यमा, बूढीको मजेत्रोले बाँधिएको एउटा पुरानो फोटो, फ्रेम गरिएको अवस्थामा भेटियो। त्यही थियो– राजा वीरेन्द्र र रानी ऐश्वर्यको फोटो।

मेरो कुरा सुनेर क्षेत्रप्रताप दाइ रुनुभो। उहाँका आँखामा आँसु दखेर म पनि भावुक भएँ। उहाँले आँसु पुछ्दै भन्नुभयो– ‘देश त्यागेर परदेश जाँदा पनि ढाकरमा राजाको फोटो...!’ वाक्य पूरा गर्न नपाउँदै उहाँका आँखाबाट पुनः बरर्र आँसु झरे। झ्यालबाट अन्नपूर्ण र माछापुच्छ्रे हेर्दै उहाँले चुरोट सल्काउनुभयो। हामी दुवै स्तब्ध थियौँ। उहाँले भन्नुभो–‘देशको माया लागे पनि लाखौँ नेपाली परदेश गएर पेट पाल्न बाध्य छन् है...।

‘काठमाडौँमा कवि गोष्ठी हुँदैछ, यसमै एउटा कविता लेख्नुहोस् है भाइ।’ क्षेत्रप्रताप दाइको आग्रहमा कविता लेखेर मैले रसियन कल्चरल सेन्टरको सभाकक्षमा वाचन गरेँ। केही साथीले प्रशंसा गरे। ‘भावना र यथार्थको सुन्दर संयोजन’ भन्नुभो क्षेत्रप्रताप दाजुले।

नुवाकोटको तारुका चन्दनीमा हरेक साल माघे संक्रान्तिमा गोरु जुधाउने मेला आयोजना गरिएझैँ सत्तारुढ दलका नेताहरूलाई नै विदेशीले जुधाइरहेका देखिन्छ। यो ‘बुल फाइट’ चीन र अमेरिकाको स्वार्थमा केन्द्रित छ भन्ने सात/आठ पढिरहेकाले समेत चाल पाइसकेका छन्।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत भएपछि २०५२ सालदेखि मलाई साथीहरूले ‘मौसमी कवि’ भन्दै ठट्टा गर्थे। पेसाले पत्रकार र यदाकदा कविता लेख्ने भएकाले मौसमी (सिजनल) कवि भएँ म। ढाकरमा राजाको फोटो देखेपछि मलाई धेरै दिन झंकृत बनायो, त्यो घटनाले।  भित्रभित्रै बेचैन भएँ म।

राजतन्त्र नै नमान्ने धेरैले राजा वीरेन्द्रको प्रशंसा गरेका छन्। राष्ट्रवादी र प्रजातन्त्रवादी राजा वीरेन्द्रको हत्या हुँदा लाखौँ नेपाली रोए। राष्ट्र सभ्य, सुसंस्कृत, समुन्नत र शान्त बनिरहोस् भन्ने उनको चाहना थियो। ‘भाग्यले खुसी खोसेर लग्यो बदला लिएर’ भन्ने गीतझैँ २०५८ साल जेठ १९ गते भएको राजदरवार काण्डले राजा वीरेन्द्र सदाका लागि टाढा भए र त्यसपछि नेपालीका खुसी पनि खोसियो।

पुस २७ गते नेपालीहरू हरेक साल पृथ्वी जयन्ती मनाउँछन्। यस वर्ष पनि धूमधामसँग मनाइयो। आफूसँग आत्मनिर्णयको अधिकार, इतिहासचेत र राष्ट्रिय सोच भएको भए सरकारले नै भव्यरूपमा राष्ट्रिय एकता दिवस मानेर पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्ने थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको जन्मदिनलाई ‘राष्ट्रिय एकता दिवस’ मानेकामा सञ्चारमाध्यमहरुले धन्यवाद दिए। सरकारले पृथ्वीनारायणप्रति आधिकारिकरूपमा सम्मान व्यक्त गरेका भए सुखद सन्देश प्रवाह हुन थियो। सरकार विदेशी शक्तिको घेरामा छ भन्नेहरू नाजवाफ हुने थिए।

करोडौँ नेपालीले मात्र होइन, विदेशी विद्वान्–विदुषीले पनि राजा पृथ्वीनारायणको प्रशंसा गरेका छन्। राजा, जनता र सेनाको त्रिशक्ति मिलेर निर्माण गरेको नेपालमा स्थायी शक्तिहरू समाप्त तुल्याउने खेल भइरहेको छ। यो अवस्थामा एकमात्र स्थायी शक्ति नेपाली सेनालाई कमजोर बनाउने गम्भीर षडयन्त्र भइरहेको छनक पाएर होला, राष्ट्र निर्माता पृथ्वीनारायण हिँडेको बाटोलाई ‘मार्गचित्र’ बनाउन सेनाले गृहकार्य गरिरहेको बुझिन्छ।

सरकारले पृथ्वीनारायणप्रति आधिकारिकरूपमा सम्मान व्यक्त गरेका भए सुखद सन्देश प्रवाह हुन थियो। सरकार विदेशी शक्तिको घेरामा छ भन्नेहरू नाजवाफ हुने थिए।

विष वृक्ष रोपेपछि अमृत फल फल्छ ? असम्भव। झण्डै दुई सय राष्ट्रको इतिहासमा चीन, जापान, ब्रिटेन, फ्रान्स, इथियोपिया, नेपाल, इजिप्ट, डेनमार्क, इटली आदि पुराना राष्ट्रले परम्परासँगै कूटनीति, राजनीति, संस्कृति, धर्म र मूल्य/मान्यता बचाउन अथक मेहनत गरे। तर हाम्रा पूर्वजले गरेको अहर्निश संघर्षबारे हामी किन अध्ययन गर्दैनौँ ? किन हामी सस्तो कुरामा रमाइरहेका छाैँ ? किन सत्य बोल्ने साहस गर्दैनाँै ? बुद्धिजीवीहरूको बुद्धि, विवेकीहरूको विवेक र क्षमतावानहरूको क्षमता जब ससाना पिँजरामा कैद हुन्छ, तब असभ्यहरू राष्ट्रका ‘हर्ताकर्ता’ बन्छन्। उनीहरू विष वृक्षको बगैँचा बनाउँछन्। त्यसको फल नै ‘महान् उपलब्धि’ भन्ने प्रचार गर्छन्। आज नेपालमा त्यही भइरहेको छ।

रोमानोभ राज वंशले रसियामा, हब्सवर्ग वंशले अस्ट्रो–हंगेरियन सभ्यतामा, होयनजोलर्न वंशले जर्मनीमा वा लिच्छवि, मल्ल र शाहवंशका राजाले नेपालमा जुन योगदान गरे, त्यो छोप्न सकिँदैन। इशापूर्व ६३ मा रोमन साम्राज्यको परिकल्पना गर्ने अगस्टसलाई इटलीका सभ्य जनताले आज पनि सम्मान गर्छन्। चीनका एकीकरणकर्ता छिन सि ह्वाङ्तीलाई चिनियाहरू आदर गर्छन्। तर राष्ट्र निर्माता पृथ्वीनारायणको सालिक भत्काउने असभ्य व्यक्तिलाई प्रधानमन्त्री स्वीकार गर्ने र सलाम ठोक्ने हामी नेपाली इतिहासप्रति कति इमानदार छौँ ? प्रश्न गम्भीर छ।

आधुनिक प्रविधि, ज्ञान, विज्ञान र युवा पुस्ताको क्षमता सदुपयोग गरेर धेरै राष्ट्र समुन्नत भएका छन् तर परम्परावादी शक्तिहरूलाई हेला गरेका छैनन्। सन् १९६० (२०१६ साल) सम्म नेपालकै अवस्थामा रहेका मलेसिया, सिंगापुर, दक्षिण कोरिया यसका उदाहरण हुन्। महाथिर मोहमदको नेतृत्वमा मलेसिया र लि क्वान युको नेतृत्वमा सिंगापुरले ठूलो प्रगति गरे। दार्शनिक राजनीतिज्ञ निकोलो मेकियाभेलीले भनेका छन्– राष्ट्रिय हितमात्र हेर्ने राजनेता छन् भने कुनै पनि राष्ट्र दरिद्र हुँदैन तर व्यक्तिगत स्वार्थमा केन्द्रित हुनेहरू राजनीतिमा आए भने जतिसुकै स्रोत–साधन भए पनि त्यो राष्ट्र कंगाल बन्न सक्छ।

नेपालमा त्यही भइरहेको छ। वडा तहसम्म भ्रष्टाचारले जरो गाडेको छ भनेर संवैधानिक अंगहरूले नै स्वीकार गरेका छन्। डा. विमल कोइरालाको नेतृत्वमा बनेको आयोगले स्थानीय तहमा विकास बजेटको चालीस प्रतिशत रकम दुरुपयोग हुने गरेको ठहर ग-यो। सबैको रहर भ्रष्टाचार नै हुन्छ भने भ्रष्टाचार विरोधीहरूको ठहर कमिला कुद्ने नहर जस्तो, विषाक्त जहर जस्तो र शीतलहर जस्तो हुँदै जान्छ। यो कहर राष्ट्र र जनताले भोग्नुपरेको छ। राष्ट्र, राष्ट्रिय सुरक्षा, जनता र राष्ट्रको इतिहासको घाँटी चिथेर भए पनि गणतन्त्र बचाउन ठूला दल कसरत गरिरहेका छन्। राष्ट्र, राष्ट्रनायक र जन्मथलोको माया भए पनि पाँचथरका मानबहादुर दाजुले रुँदैरुँदै सिमाना तरेझैँ पचासौँ लाख युवाले बाँच्नकै लागि परदेशमा पसिना बगाइरहेका छन्। उनीहरूको रगत–पसिनाले हजारौँ नेता पाल्नुपरेको छ, गणतन्त्र बचाउन। तसर्थ, अभिशापमय बन्दैछ, गणतन्त्र।

ब्रिटेनमा लेबर पार्टीबाट प्रधानमन्त्री हुने प्रथम राजनेता राम्से म्याकडोनाल्डले सन् १९२४ मा नौ महिना सरकार चलाए। रबर्ट वालपोल, लर्डग्रे, विलियम पीट र अन्य उदारवादी राजनेताले सन् १६८० देखि १८५० सम्म जुन प्रणाली, मान्यता र संस्कारमा राजनीति डो-याए, त्यो बुझ्न सकेनन् राम्सेले। ह्विग भनिने कन्जरभेटिभ दलले ब्रिटेन भनेकै स्थायी परम्परावादी शक्तिको धरातलमा धर्म, संस्कृति, इतिहास र सभ्यता बचाएको राष्ट्र हो भन्ने मान्यता राख्यो। त्यो मान्यता कायमै छ। मौसमअनुसारको पोशाक बदलेझैँ भीडतन्त्रका पछिपछि राजनेताहरू दौडिँदैनन्। सत्यका पक्षमा एक्लै भए पनि उभिन्छन्। राष्ट्रिय  एकता र अखण्डता बचाउन जाति, व्यक्ति र दलको स्वार्थ त्याग्नुपर्छ भन्छ, राष्ट्रवादले।

नेपालको राष्ट्रिय मूलनीतिमा राष्ट्रवाद छँदै छैन किनभने मूलनीति नै छैन। अन्तर्राष्ट्रवादको सुरुवाल र समाजवादको दौरा लगाएर त्यसमाथि कम्युनिस्टको टाइ झुण्ड्याएका छन् सिंहदरवारका शासकहरूले। विगतमा हजारौँको हत्या गरेर आएका पीडकहरूले सरकार चलाएका छन्। हालै दश वर्षे द्वन्द्वका खलनायकले आफूले पाँच हजार मानिस मारेको स्वीकार गरे। बाँकी १२ हजार त्यसबेलाको राज्यसत्ताले जिम्मा लिनुपर्छ भन्ने उनको कुतर्क छ। तसर्थ, यस्ता व्यक्तिबाट प्रजातन्त्र, स्वतन्त्रता, मानव अधिकार एवं राष्ट्रिय स्वाभिमानको रक्षा हुन्छ भनेर भ्रममा पर्नु मूर्खता ठहरिन्छ। प्रजातन्त्रवादी, उदारवादी र राष्ट्रवादी शक्तिहरू निकम्मा, विभाजित र कमजोर भएपछि अधिनायकवादले टाउको उठाउँछ। जननिर्वाचितहरू तनाशाह हुँदैनन् भन्नेहरूले इतिहास पढे हुन्छ।

हिटलर, मुसोलिनी, स्टालिन आदि जनताकै भीडबाट उठेका नेता हुन्। पत्रिकामा रिपोर्टरको जागिर खान उन्नाइस वर्षकै उमेरमा सूचना संकलन गर्दै हिँडेका बेनिटो मुसोलिनी तानाशाह बन्छन् र फासिस्ट नायक होलान् भन्ने इटलीका जनताले कल्पना गरेकै थिएनन्। समयले उनलाई तानाशाह (डिक्टेटर) बनायो।

विश्वको सबैभन्दा पुरानो राजनीतिक संस्था राजसंस्थाको दुरुपयोग गरेर प्रलोभन, स्वार्थ, अहंकार एवं कुत्सित षडयन्त्रमा फस्दा कैयन् राष्ट्रको सयौँ वर्ष पुरानो राजतन्त्र निर्मूल भयो। जनविद्रोहको नाममा विदेशी शक्तिहरूले प्रायोजित पात्रहरूलाई सडकमा ल्याएर विप्लव गराएका थुप्रै उदाहरण एसिया, अफ्रिका र दक्षिण अमेरिकासम्म पाइन्छन्। ग्वाटेमाला, अंगोला, मोजाम्बिक, सुडान, अफगानिस्तान, इरान, इराक आदि राष्ट्रमा मात्र होइन, नेपालमा पनि त्यस्तो प्रयोग भयो। भइरहेकै छ।

नुवाकोटको तारुका चन्दनीमा हरेक साल माघे संक्रान्तिमा गोरु जुधाउने मेला आयोजना गरिएझैँ सत्तारुढ दलका नेताहरूलाई नै विदेशीले जुधाइरहेका देखिन्छ। यो ‘बुल फाइट’ चीन र अमेरिकाको स्वार्थमा केन्द्रित छ भन्ने कुरा कक्षा सात/आठमा पढिरहेका किशोर–किशोरीले समेत चाल पाइसकेका छन्।

फरक यही हो, पहिले राजा, सेना र जनता मिलेर राष्ट्र चलाए। अहिले विदेशी शक्तिले साम्राज्यवाद र विस्तारवाद चलाउन नेपाललाई अञ्चलमा रूपान्तरण गरेर आआफ्ना मान्छेलाई अञ्चलाधीश बनाइरहेका देखिन्छ। स्वाधीन राष्ट्रमा पराधीन शासकहरू भएपछि यस्तै हुन्छ।

प्रकाशित: ३ माघ २०७६ ०९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App