७ कार्तिक २०७८ आइतबार
विचार

के चाहन्छन् बालबालिका ?

बाल्यकाल जीवनको प्रारम्भिक चरण हो। व्यक्तित्व विकासको आधारभूमि भएकाले बाल्यकालीन अनुभव र अनुभूतिले जीवनभर प्रभाव पार्छन्। राम्रो उत्पादनका लागि उत्कृष्ट कच्चा पदार्थ वा धाराको पानी सफा हुन मुहान् नै सफा हुनुपरेझैं जीवनभर शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनाका लागि बाल्यकाल राम्रो हुनुपर्छ। विश्लेषणात्मक मनोवैज्ञानिकहरू त जीवनको अति उर्वर क्षण बाल्यकालमै व्यक्तित्व निर्माणका आधार बन्ने भएकाले बाँकी जीवन बाल्यकालीन अनुभवकै प्रकटीकरण मात्र भएको बताउँछन्।

परिवेश र परिस्थितिले केही कुरा पछि सिक्न सकिए पनि मूलतः व्यक्तित्व विकासको आधार बाल्यकालका अनुभूति मात्र हुन् भन्ने दृष्टिकोण मनोवैज्ञानिकहरूको देखिन्छ। पूर्वीय संस्कारमा बालबालिका निष्कपटताका प्रतीक मात्र नभएर दैवी गुणसम्पन्न ईश्वरीय सिर्जनासमेत मानिने भएकाले उनीहरूको पूजन तथा उनीहरूको वाणी (बोली)मा देवताको बास हुने विश्वास गरिन्छ। सामान्य जनजीवनमा पनि बालबालिकालाई भाँडाबर्तन बनाउन तयार पारेको काँचो माटोका रूपमा हेर्ने गरिन्छ, जुन माटोबाट चाहेअनुसार आकृति र रूपका भाँडा बनाउन सकिन्छ। तर पाकिसकेको भाँडोलाई पुनः अर्को आकृति दिन सकिँदैन। जे होस् नानीदेखि लागेको बानी हत्तपत्त नहट्ने भएकाले बाल्यकालमै असल आदत विकास गराउनुपर्नेमा मनोवैज्ञानिक तथा आध्यात्मिक दार्शनिक सबैको सहमति देखिन्छ।

जीवनको महत्वपूर्ण क्षण बाल्यकाल भएकाले यसबेला बालबालिकाका मनोभावना कुण्ठित हुनु हुँदैन। जन्मिँदै स्वतन्त्र मानवलाई जात, धर्म, वर्ग आदिका आधारमा संकुचित पार्नु कदापि उचित होइन। बालबालिकालाई भौतिक सुख÷सुविधाका साथसाथै ममता र असल पथप्रदर्शनको आवश्यकता पर्ने कुरामा पनि कसैको दुईमत हुन सक्दैन। बालबालिका वास्तवमै अभिभावकबाट के चाहन्छन् त भन्ने विषयमा मनोवैज्ञानिक अध्ययन पनि भएका छन्। मनोवैज्ञानिक दृष्टिमा बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि अभिभावकले निम्न कुरामा ध्यान पु-याउन आवश्यक छ ः

यसरी घरपरिवारबाट स्वीकार्यता, आत्मीयता र सम्बन्धन प्राप्त गरेमा मात्र बालबालिकाको सर्वाङ्गीण विकास सम्भव हुन्छ । आत्मविश्वास र उच्च मनोकांक्षासमेत हुने भएकाले यस्ता बालबालिका साहसी, आँटिलो र यथार्थवादी हुन्छन् । उनीहरूमा सहयोग, सहकार्य, दया र प्रेमको भावना विकास हुन्छ ।

१. स्वीकार्यता
बालबच्चाले आफूलाई अरूसँग तुलना गरेर गुनासो गरेको मन पराउँदैनन् न उनीहरू यो भएन, त्यो भएन भनेर गनगन गरेकै मन पराउँछन्। कसैकसैमा राम्रा मानिएका अरूका बच्चाको प्रशंसा आफ्ना छोराछोरीसामु गरेमा उनीहरू पनि राम्रा काम गर्न उत्सुक हुन्छन् भन्ने सोच हुन्छ र सोझै वा घुमाउरो पारामा आफ्ना सन्तानप्रति असन्तुष्टि प्रकट गर्छन्। यसले बालबालिकाको मनमा असल बन्ने भावना विकास हुनुको साटो आफूलाई स्वीकार नगरेको महसुस हुन्छ।

फलतः मनोबल कमजोर बन्नुका साथै घरपरिवारलाई अविश्वास गर्ने, असन्तोषी, विद्रोही र उपद्र्याहा स्वभाव बालबालिकामा विकास हुन्छ। यसैले बालबच्चाको रूप, स्वभाव र व्यवहार परिवारबाट निसर्त स्वीकार गरिनुपर्छ। जस्तोसुकै काम गरे वा उपलब्धि ल्याए पनि त्यसलाई स्वीकार गरेर मात्र सन्तानलाई खुसी राख्दै उनीहरूको विश्वास जितेर सत्मार्गमा लाग्न प्रेरित गर्न सकिन्छ। यसैले बच्चालाई ऊ जस्तो छ, त्यस्तै रूपमा स्वीकार गर्ने गुणको विकास हरेक अभिभावकले गर्नैपर्ने हुन्छ।

२. ममता वा आत्मीयता
 बालबालिका खेलौना वा यस्तै अन्य चिज नपाएमा वा उनीहरूको क्षणिक आवश्यकता पूर्ति नगरिदिएमा रिसाउँछन्, तर त्यो रिस दीर्घकालीन हुँदैन। उनीहरूले झगडा गर्दा वा काम बिगार्दा अभिभावकले झपार्दैमा वा दण्ड दिँदैमा बिग्रिसकेको काम बन्ने होइन। त्यतिखेर केही सबक सिकाउन सके फेरि–फेरि त्यस्ता काम गर्दैनन् भन्ने विचारले धेरैजसो अभिभावक बच्चाप्रति कठोर व्यवहार देखाउने वा धेरै रिसाएको अभिनय गर्ने गर्छन्। यस्तो व्यवहारले अभिभावकलाई त मैले केही डर देखाएँ, अब बच्चाले त्यसो नगर्ला भन्ने लाग्ला, तर बच्चा आफ्ना अभिभावक आफूप्रति निकै क्रूर छन्, आपत्विपत्मा संरक्षण गर्दैनन् भन्ने धारणा बनाउँछन्। यसले बच्चामा एकांकीपन, ध्वंसात्मक प्रवृत्ति एवं निर्दयी भावना विकास हुन्छ।

यसैले हरेक अभिभावकले आफ्ना बच्चालाई हपार्ने वा डर देखाउने गर्नुको सट्टा आफूलाई नियन्त्रण गरी बच्चाले गरेका कामको नकारात्मक असरबारे राम्रोसँग बुझाइ, उसका त्यस प्रकारका कामले आफूलाई दुःखी बनाउने कुरा प्रस्ट पारिदिनुपर्छ। यसबाट बच्चाले आफूले गरेका काम र व्यवहार मात्र राम्रा– नराम्रा हुन सक्छन्, आफू नराम्रो हुन्नँ भन्ने शिक्षा प्राप्त गर्छन्। काम र बच्चालाई अलग गरेर मूल्यांकन गर्दा बच्चा काम बिगारेपछि पश्चात्ताप गर्नेभन्दा राम्रा काम गर्न प्रेरित हुन्छ। आफ्ना कामले अभिभावकलाई खुसी वा दुःखी बनाउने, तर आफूले जतिखेर पनि अभिभावकबाट ममता पाइरहने कुरा बुझेपछि ऊ आफ्ना कामको प्रशंसा र आलोचना सुन्न मात्र तयार हुँदैन, खराब आदत र काम छाडी आफैं राम्रा काम गर्न अग्रसर हुन थाल्छ।

३. सम्बन्धन
बालबालिका आफूलाई परिवारको अभिन्न र महत्वपूर्ण अंगका रूपमा स्वीकार गरियोस् भन्ने चाहन्छन्। धेरैजसो अभिभावक बालबच्चाले काम बिगार्दा वा भनेको नमान्दा कतै लगेर एक्लै छाडिदिने, होस्टलमा राखिदिने वा आफू नै कतै टाढा गएर घर नफर्कने’ धम्की दिन थाल्छन्। यस्ता धम्कीले सुरुसुरुमा राम्रो प्रभाव परेकोजस्तो देखिए पनि वास्तवमा बालबालिकामा दूरगामी कुप्रभाव पार्छन्। बच्चाले आफूलाई निरीह, असहाय र अभागी महसुस गर्ने, आज्ञाकारी नबन्ने, अनुशासन पालना नगर्ने, झर्किने, भाइबहिनी वा साथीसँग आक्रामक व्यवहार देखाउने प्रवृत्ति अभिभावकको सम्बन्धन प्राप्त गर्न नसक्दा देखाउँछन्।

जतिसुकै कष्टकर अवस्था सिर्जना भए पनि वा मबाट जतिसुकै खराब काम भए पनि अभिभावक र मबीचको सम्बन्ध टुट्नै सक्दैन भन्ने दृढ विश्वास बालबच्चामा पार्न सक्नुपर्छ। शरीरबाट मुटु–कलेजो अलग गर्न नसकेझैं परिवारबाट म वा अभिभावक अलग्गिन सक्नुहुन्न भन्ने धारणा विकास गराउन अभिभावकले बच्चालाई एक्लै छाड्ने, आफूले माया नगर्नेजस्ता कामै गर्नु हुँदैन। घरमा कोही पाहुना आउँदा बच्चाले बोलेका वा अभिव्यक्त गरेका विचारलाई महत्व दिने, घरका अन्य क्रियाकलापमा पनि बच्चालाई एक सदस्यका रूपमा सहभागी गराउने गर्दा उसमा घरका सम्पूर्ण कार्यप्रति अपनत्व बढ्छ। घरभित्र र बाहिर पालना गर्नुपर्ने नियम बच्चालाई नै बनाउन र अभिलेख राख्न लगाउनाले उसमा नेतृत्वदायी सीप विकास हुनाका साथै आत्मानुशासन पालना गर्ने आदत बस्छ। बालबच्चाले गरेका कामको स्वामित्व परिवारले लिँदै असल काममा प्रेरणा दिने गरेमा बच्चामा कामप्रति लगाव तथा परिवारप्रति विश्वास बढ्न जान्छ। फलतः ऊ आज्ञाकारी, निडर, सहिष्णु र सदाचारी बन्छ।

यसरी घरपरिवारबाट स्वीकार्यता, आत्मीयता र सम्बन्धन प्राप्त गरेमा मात्र बालबालिकाको सर्वाङ्गीण विकास सम्भव हुन्छ। आत्मविश्वास र उच्च मनोकांक्षासमेत हुने भएकाले यस्ता बालबालिका साहसी, आँटिलो र यथार्थवादी हुन्छन्। उनीहरूमा सहयोग, सहकार्य, दया र प्रेमको भावना विकास हुन्छ। दया, माया, र करुणाजस्ता मानवीय गुणको विकासका कारण अहिंस्रक एवं समस्या समाधानमा तत्परता देखाउने प्रवृत्ति उनीहरूमा बढ्छ।

उपर्युक्त तीन तत्वको संयोजन भएको परिवारमा हुर्केका बच्चा हरेक क्षेत्रमा नेतृत्व लिन तत्पर र सफल पनि देखिएकाले बच्चालाई उनीहरूको मनोभावनाअनुरूपकै व्यवहारबाट सत्मार्गमा ल्याउन सकिन्छ। अतः यस्तो काम गरे ‘मेरो छोरो वा छोरी नै होइनौ, यस्तो गरे घरमै नआउनू वा यसै गर्ने हो भने म नै घर छाडेर कतै टाढा जान्छु’ भनेर बच्चालाई तर्साउने वा घुर्की लगाउने भुल कुनै अभिभावकले गर्नु हुँदैन। यस्ता व्यवहार बच्चालाई सबैभन्दा अप्रिय लाग्ने र दीर्घकालीन असर पर्ने भएकाले आम अभिभावक यस विषयमा सचेत हुनुपर्छ।

 

प्रकाशित: २९ पुस २०७६ १०:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App