९ आश्विन २०७८ शनिबार
विचार

किन बढ्दैछ बाल आत्महत्या ?

सामान्यतया परिपक्व हुनुभन्दा अगाडिको अवस्थालाई बाल्यावस्था भनिन्छ। नेपालको मौजुदा कानुनअनुसार १८ वर्ष नपुगेका नाबालिगलाई बालबालिका भनिन्छ। पूर्ण रूपमा शारीरिक र मानसिक विकास भइनसक्ने यो उमेरमा दुरगामी प्रभाव पार्ने निर्णय गर्न असमर्थ हुने भएकाले उनीहरूसँग सम्बन्धित कामका लागि संरक्षकको निर्णयलाई मात्र मान्यता दिने गरिन्छ भने उनीहरूबाट भएका गल्ती वा अपराधमा पनि वयस्क नागरिकलाई जस्तो दण्डसजाय गरिँदैन। यसो गर्नाको कारण उनीहरूको अपरिपक्व मानसिक अवस्था नै हो।

अपराधका मुख्य तत्व आपराधिक मानसिकता र अपराध हुने काममध्ये आपराधिक मानसिकता नहुने भएकाले उनीहरूलाई कानुनी दायित्व वहन गर्न नपर्ने व्यवस्था गरिएको हुन्छ। सामान्यतया १०–११ वर्षमा बालबालिकामा हुने शारीरिक वृद्धि र विकास तथा हर्मोनको तीव्र परिवर्तनले उनीहरूलाई अस्थिर र चिन्तित तुल्याएको हुन्छ। यस समयमा अभिभावकको सही मार्गदर्शन आवश्यक हुन्छ। उनीहरूको मनमा नकारात्मक प्रभाव पर्न नदिई भावनात्मक रूपमा सहयोग गर्दै उनीहरूलाई समाजस्वीकार्य कार्य गर्न अभिप्रेरित गर्नु आम अभिभावक तथा राज्यको कर्तव्य  हो।

आवेशप्रेरित आत्महत्या बाल आत्महत्याको प्रमुख कारण भएकाले उनीहरूलाई कडा सजाय तथा त्रासबाट मुक्त राखी हरेक घटनाका कारण र असरबारे अभिभावक तथा संरक्षकले परामर्श दिनुपर्छ।

अचेल यिनै कलिला बालबालिका चरम निराशाका कारण अकालमै मृत्यु रोज्न पुगेका समाचार आउन थालेका छन्। अमेरिकामा २००७ देखि २०१७ सम्म एक दशकमा १० देखि २४ वर्षसम्मका व्यक्तिको आत्महत्या दर ५६ प्रतिशत वृद्धि भएको तथ्य रोग नियन्त्रण तथा सुरक्षण गणना (सिडिसी २०१९)ले देखाएको छ। डब्ल्युएचओको १०१५ को रिपोर्टअनुसार बढी आत्महत्या गर्ने मुलुकमध्ये नेपाल १२६औं स्थानमा छ भने डब्ल्युएचओले नै सन् २०१६ मा १० देखि १४ वर्षका बालबालिकामा गरेको अध्ययनमा त्यस वर्ष ९ हजार ३६८ बालबालिकाले आत्महत्या गरेकामा बालक ५ हजार १३० र बालिका ४ हजार २३८ जना थिए। नेपालका सन्दर्भमा त्यसबारे विस्तृत अनुसन्धान हुन सकेको छैन।

नेपाल प्रहरीले गरेको अनुसन्धानअनुसार आर्थिक वर्ष २०७५÷७६ मा भएका आत्महत्याका ५ हजार ७५४ घटनामा ५१८ जना अर्थात् ९ प्रतिशत १८ वर्षमुनिका थिए। दिनानुदिन बढ्दै गएको आत्महत्याको पृष्ठभूमि अध्ययन तथा रोकथामका लागि राज्यस्तरबाट तदारुकता नदेखाउने हो भने स्थिति अझ भयावह बन्ने खतरा देखिन्छ। कल्पनासम्म गर्न नसकिने १०–११ वर्षका बालबालिकाले आत्महत्या गर्ने कारणबारे सबै पक्ष सजग हुनुपर्ने अवस्था आएको छ। आत्महत्याका विभिन्न कारण हुन सक्छन्। नेपालमा यस विषयमा अनुसन्धान हुन सकेको छैन, तर बाह्य अध्ययन तथा प्रकाशमा आएका घटनाका आधारमा आत्महत्याका प्रमुख कारण यस्ता छन् :

१.तत्कालीन आवेश

बालबालिकाले जानेर वा नजानेर कुनै काम बिगार्दा उनीहरूलाई शारीरिक दण्ड दिने तथा हप्काइदप्काइ गर्नुलाई हाम्रो समाजमा सामान्य नै मानिन्छ। खासगरी अभिभावकसँग खुलेर कुरा गर्न नसकेका तथा अन्तर्मुखी स्वभावका बालबालिका आफूलाई मन नपर्ने काम तथा व्यवहारविरुद्ध खुलेर प्रतिवाद÷विरोध गर्न सक्दैनन्। उनीहरू आफ्नो आक्रोश स्थानान्तरण गर्ने वा दबाएर राख्नेमध्ये एउटा विकल्प रोज्न विवश हुन्छन्। आफ्ना इच्छा निरन्तर दमन गर्दै जाँदा त्यसले कुण्ठाको रूप लिन पुग्छ। बुलिङ, शारीरिक तथा मानसिक शोषणमा परेका वा ट्रमामा परेका बालबालिका आफ्ना सबैभन्दा आत्मीय ठानिएका व्यक्तिबाट तिरस्कृत हुँदा संसारै अन्धकार देख्न थाल्छन्। आफू समस्याको ठूलो आहालमा फसेको र कुनै पनि उपाय नदेखेपछि उनीहरू स्वपीडक कार्यमा उद्यत हुन्छन्।

यस्तो अवस्थामा केही बच्चा घर छाडेर हिँड्छन् भने अर्काथरी बालबालिका आवेगवश आत्महत्यासमेत गर्न पुग्छन्। तत्कालीन आवेश थाम्न नसकेर गर्ने आत्महत्यामा पनि साथीभाइ वा अभिभावकलाई कुनै न कुनै संकेत गर्न सक्ने सम्भावना रहे पनि निराशा वा उदासीपनामा जस्तो बारम्बार आत्महत्या प्रयास वा निराशावादी कुरा गर्ने अवसर उनीहरूलाई मिल्दैन। अझ केही बालबालिका त परिणाम विचारै नगरी आत्महत्या प्रयास गर्ने गरेकोसमेत पाइन्छ। आवेशप्रेरित आत्महत्या बाल आत्महत्याको प्रमुख कारण भएकाले उनीहरूलाई कडा सजाय तथा त्रासबाट मुक्त राखी हरेक घटनाका कारण र असरबारे अभिभावक तथा संरक्षकले परामर्श दिनुपर्छ। आत्महत्या रोकथाम हटलाइन सेवा प्रभावकारी रूपमा सञ्चालन गरेर र उद्धार संयन्त्र सक्रिय पारेर पनि आवेशप्रेरित आत्महत्या कम गर्न सकिने विकसित राष्ट्रका अभ्यासबाट प्रमाणित भएका छन्। 

२. निराशा

निराशा वा उदासीपन समग्र आत्महत्याको प्रमुख कारण हो। बालबालिका दूरदर्शी नहुने भएकाले सामान्य समस्या पर्दा पनि समाधानका सबै ढोका बन्द भएको अथवा मुक्तिका सबै उपाय समाप्त भएको ठान्न सक्छन्। अकस्मात् अनपेक्षित नतिजा आएका खण्डमा सबै बर्बाद भयो भनेर जीवनबाट बिदा लिन खोज्ने एकथरीको सम्भावना रहन्छ भने अर्काथरी बालबालिकामा निराशाले मन्द विषको काम गरिरहेको हुन्छ। घरमा अभिभावकले उनीहरूकै स्तरमा राखेर मूल्यांकन नगरेर आफूले दिएका सुविधा र आफूले बाल्यकालमा भोगेका दुःखसँग तुलना गर्दै उत्कृष्ट नतिजा अपेक्षा गर्ने तथा समान उमेरका अन्य बालबालिकाका गुण र आफ्ना बच्चाका अवगुण तुलना गरी दिक्दारी व्यक्त गर्दा बालबालिकामा निराशा भरिन पुग्छ।

यस्तै विद्यालयमा कडा दण्ड दिने, काममा उत्प्रेरित गर्नुको सट्टा उपेक्षा गर्ने र हीनताबोध गराउने काम भएमा बालबालिकामा बेखुसीपन बढ्दै जान्छ। यस्तो स्थितिमा परिस्थितिलाई फरक वा अर्कै किसिमले सोचेर समस्या समाधान गर्ने क्षमता नहुने कारण पूर्णतः निराश (होपलेस) भई बालबालिकाले आत्महत्या प्रयास गरेको देखिन्छ। निराशाको मुख्य कारण मनोसामाजिक भए पनि केही बालबालिकामा मष्तिस्कीय समस्याका कारण डोपामाइन र सेराटोनिनजस्ता संवेगात्मक सन्तुलन र खुसी बढाउने रसायन उत्पादन कम भएको हुन सक्छ। जसले गर्दा बालबालिकामा निराशा बढ्दै जान्छ। निराशाका कारण पत्ता लगाई उपचार नगरेमा बालबालिकाले आत्महत्या गर्ने सम्भावना बढ्छ।

३. असहाय/अनाथ महसुस गर्नु

बालबालिका आफूलाई परेका ससाना समस्या पनि अभिभावकलाई सुनाउन खोज्छन्– संवेगात्मक र भावनात्मक समर्थन एवं बल प्राप्त गर्ने उद्देश्यले। तर बालबालिकाका समस्यालाई उनीहरूकै आँखाबाट नहेरी त्यति सानो र बेकारको कुरा किन गर्नुप¥यो भनेर कुराकानी गर्न निरुत्साहन गरेमा उनीहरूका अनुभव दमित हुन पुग्छन् र तिनै दमित भावनाले कुण्ठाको रूप लिन्छन्। अभिभावकसँग खेल्न, बोल्न र अनुभव साटासाट गर्नसमेत नदिने र अनुशासनका नाममा कडाइ गर्ने परिवारका बालबालिका आफूलाई झनै एक्लो र अनाथ अनुभव गर्न थाल्छन्। उनीहरूको मनको वह पोख्ने कुनै ठाउँ हुँदैन र सानै कारणले पनि बढी चिन्तित हुने र अताल्लिने बानी विकास हुन्छ।

सामाजिक सम्बन्धको आधार कमजोर भएका कारण घरभित्रै व्यक्त गर्न नसकेका कुरा वा घरमै प्राप्त गर्न नसकेको ममता र सम्बन्ध बाहिर प्राप्त गर्ने सम्भावना रहँदैन। बालबालिकाका अगाडि अभिभावकले आर्थिक अभाव, घरेलु समस्या तथा पारिवारिक बेमेलका कामकुरा गर्दा उनीहरूमा नकारात्मक असर पर्छ। लागुपदार्थ, मादक पदार्थ खाने तथा भ्रष्टाचार, घुसखोरी र षड्यन्त्रकारी गतिविधिमा आमाबाबुको संलग्नता भएको थाहा पाएमा बालबालिकामा अभिभावकप्रतिको आस्थाको डोरी चुँडिन्छ। पारिवारिक कारण नैतिक एवं मानसिक द्वन्द्वमा फसेका बालबालिकाको सोच सकारात्मक बन्न सक्दैन, जसका कारण सहाराविहीन र अनाथ महसुस गरी बालबालिकाले आत्महत्याको बाटो रोज्ने प्रबल सम्भावना हुन्छ। यौन दुराचारमा परेका बालबालिकाको मनस्थिति सामान्य बालबालिकाको जस्तो हुँदैन। उनीहरू आफूलाई झनै निरीह र असहाय ठान्छन्।

नेपालमा विभिन्न बाहनामा बालबालिकालाई आफूप्रति आकर्षण गरी यौन दुराचार गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ। दुराचारमा परेका बालबालिका आत्महत्या गर्ने उच्च जोखिममा हुन्छन्। नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा बाल यौन दुराचारका २१९ घटना प्रहरी कार्यालयमा दर्ता भएका छन्। यस्ता घटनामा असहाय र गरिब बालबालिका पीडितमा परेका छन् भने पीडक समाजसेवाका नाममा सक्रिय विदेशी तथा स्वदेशी नागरिक छन्। त्यसो त जबर्जस्ती करणीका पीडितमध्ये ६० प्रतिशतभन्दा बढी बालबालिका नै छन्। नेपाल प्रहरीको सिआइडी रिपोर्ट २०७६ का अनुसार जबर्जस्ती करणीका पीडितमध्ये १३ प्रतिशत १० वर्षमुनिका छन् भने पीडितमध्ये ४० प्रतिशत ११–१६ वर्षबीचका बालबालिका छन्। १७ र १८ वर्षका बालबालिका १० प्रतिशतसमेत गर्दा समग्रमा पीडितमध्ये ६३ प्रतिशत बालबालिका देखिन्छन्। यसरी पीडित भएका बालबालिकामा आफूलाई असुरक्षित, निरीह÷असहाय अनुभव गर्ने, जीवनप्रति निराश हुने तथा विक्षिप्तता बढ्दै जाने भएकाले कुनै पनि बेला आत्महत्या गर्ने सम्भावना रहन्छ। 

४. प्रविधिको कुप्रभाव

अहिलेका बालबालिका मोबाइललगायत साधनमा निकै रमाउने गरेका छन्। अभिभावक नै ग्याजेटमा झुन्डिरहेपछि बालबालिका पनि त्यस्तै हुनु स्वाभाविकै हो। भिडियो गेममा तल्लीन भइरहँदा अहिले गेमिङ डिसअर्डरसमेत देखापर्न थालेको छ। डब्ल्युएचओका अनुसार गेमकै कारण खानपान, निद्रा र सामान्य व्यवहारमा समस्या आउनु गेमिङ डिसअर्डर हो। गेम मात्र नभएर हत्या÷हिंसायुक्त कार्यक्रम हेर्ने प्रवृत्तिसमेत बालबालिकामा देखिन्छ। यस्ता कार्यक्रम हेर्दा त्यसमा  सकारात्मक भूमिका खेल्ने पात्रको भन्दा नकारात्मक अर्थात् खलनायकको प्रभाव बालबालिकामा पर्ने सम्भावना बढी हुन्छ। खेलका रूपमा भर्चुअल हतियार प्रयोगले बालबालिका मात्र नभएर प्रौढसमेत रमाएको पाइन्छ। तर बालबालिकामा वास्तविक जीवनका घटना र गेम वा विभिन्न सोमा भएका गतिविधिबीचको अन्तर छुट्याउने क्षमता पूरै विकास भएको हुँदैन। यसैले उनीहरू आफ्नो जीवनलाई गेमकै एक अंगका रूपमा लिन थाल्छन्। खेलमै अभ्यस्त हुँदै जाँदा उनीहरूले जीवनको मूल्य नै बिर्सिन्छन्। सञ्चारका अन्य माध्यममा आउने समाचार र घटनाको प्रतिछाया वा कुप्रभाव बालबालिकामा छिट्टै पर्छ। यसले उनीहरूलाई रिसाहा र प्रतिशोधी बनाइदिन्छ। फलतः आफ्नो इच्छा पूरा नभए तुरून्तै खेलमा झैं आत्महत्या गर्न उक्सिन्छन्।

क्षणिक आवेश, निराशा, असहाय अनुभव र प्रविधिको कुप्रभाव नै आम बालबालिकाको आत्महत्या र अस्वाभाविक गतिविधि (बलात्कार/दुव्र्यसन)का मुख्य कारण हुन्। यसैले हरेक परिवारमा बालबालिकाका कुरा सुनिदिने र विद्यालयहरूलाई बालमैत्री बनाउने तथा आधुनिकताका नाममा प्रविधिको छाडा प्रयोग नियन्त्रण गर्ने काम गर्नुपर्ने भएको छ। बालबालिकालाई नैतिक मूल्य सिकाउने तथा परीक्षामुखी, घोकन्ते शिक्षाको सट्टा गुणात्मक शिक्षा (भ्यालु एजुकेसन)लाई प्रवद्र्धन गर्ने काममा सम्बन्धित निकाय आजैदेखि लाग्नुपर्ने देखिन्छ। छाडातन्त्र, अराजकता र नैतिक मूल्यमा आएको ह्रासका कारण बाल आत्महत्या दर अझै बढ्ने सम्भावना छ। यसलाई रोक्न घरपरिवार, समाज, विद्यालय सबैतिर बालमैत्री वातावरण सिर्जना गर्न ढिलाइ गर्नु हुँदैन।

मनोवैज्ञानिक परामर्शदाता

 

प्रकाशित: १६ पुस २०७६ १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App