पुस १४ गते राजा वीरेन्द्र शाहको जन्मदिन हो। देशभक्त राजा अहिले हामीबीच छैनन्। जसले नेपाललाई विश्वमा एक समृद्ध, स्वतन्त्र राष्ट्रका रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। पिता महेन्द्रको देहवसानपछि राजगद्दी सम्हालेका राजा वीरेन्द्रले चीन, भारतसँग सन्तुलित सम्बन्ध स्थापना तथा पञ्चायतविरोधी शक्तिसँग पनि सहकार्य गर्न चाहेका थिए। देश समृद्ध बनाउन उनले देशभर उत्पादनमूलक कार्यक्रम गर्न निर्देशन दिँदै देशका कुनाकुना पुगे। राजा महेन्द्रले अनेकौं उद्योगधन्दा, बाटो, सिँचाइलगायत व्यवस्था गरेकाले तराई एक समृद्ध क्षेत्रका रूपमा विकसित भइसकेको थियो। महेन्द्रपछि राजा वीरेन्द्रले तराईमा अन्न उत्पादन, हिमाली क्षेत्रमा जडीबुटी, स्याउ खेती, पशुपालन तथा पहाडी क्षेत्रमा अनेकौं कार्यक्रम लागू गराएका थिए।
२०५८ जेठ १९ गते राति वीरेन्द्रको वंशै नाश हुने गरी हत्या भएपछि देशभर कोलाहाल मच्चियो। यो दुःखद खबर तुरुन्तै विश्वभर फैलियो। दरबार हत्याकाण्डका अनेक अड्कलबाजी गरिए पनि यो अहिलेसम्म रहस्यमै छ। राजा वीरेन्द्रको देहवसानपछि विदेशीले नेपालमा खेल्ने मौका पाएका छन्। दरबार हत्याकाण्डपछि पनि नेपालका तत्कालीन सत्तासीन पार्टीका नेताले राष्ट्रिय राजनीतिलाई आत्मसात् गरेर राजनीतिक व्यवस्था देशको हितमा सञ्चालन गरेका भए देश यस्तो संकटमा फस्ने थिएन। नेपाली कांग्रेस, बिपी कोइरालाको सिद्धान्तबाट अभिपे्ररित प्रजातान्त्रिक पार्टी थियो। तर नेपाली कांग्रेसलेले बिपीको वैचारिक धार छाड्यो। उता एमाले, मनमोहन अधिकारी र मदन भण्डारीको वैचारिक धरालतमा निर्मित पार्टी थियो। यी दुई पार्टीले २०४६ सालको जनआन्दोलनपछि संसदीय प्रजातन्त्र, मानव अधिकार, संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यलाई अपरिवर्तनीय बुँदाका रूपमा अंगीकार गर्दै सबै पक्षको सहमतिमा २०४७ सालको संविधान राजाबाट घोषणा गराएका थिए। जसबाट नेपाल विश्वमा प्रतिष्ठित मुलुकका रूपमा परिचित भएको थियो। तर ती अपरिवर्तनीय विचार बिर्सिएकै कारण देशले राजनीतिक स्थिरता प्राप्त गर्न सकिरहेको छैन।
राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रलाई मिलाएर अगाडि बढ्न सकिन्छ भन्ने धारणा राख्ने राजा वीरेन्द्रप्रति सबै राजनीतिक नेता आस्था राख्थे। राजा वीरेन्द्रले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह तथा एमालेका अध्यक्ष मनमोहन अधिकारी र मदन भण्डारीसँग राम्रो समझदारी कायम गरेका थिए।
राजा वीरेन्द्र, पृथ्वीनारायण शाहका दिव्य–उपदेशबाट प्रभावित थिए। पृथ्वीनारायण शाहले भनेका थिए– ‘यो राज्य दुई ढुंगाको तरुल हो। चीनका बादशाहसँग ठूलो घाहा (राम्रो सम्बन्ध) राख्नु, दक्खिनको समुद्रको बादशाहसित घाहा त राख्नु, तर त्यो महाचतुर छ। देशका महाजनहरू हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरिछाड्छन्।’ यो कुरा राजा वीरेन्द्रले राम्ररी बुझेका थिए। देशभक्त राजा वीरेन्द्रले कहिले राष्ट्रियताविरुद्ध सम्झोैता गरेनन्। राष्ट्रिय सहमतिको विचारसाथ २०३३ पुसमा भारत निर्वासनबाट नेपाल आएका बिपी कोइरालालाई उनले राजदरबारमा झिकाएर सम्मानपूर्वक औषधोपचारका लागि अमेरिका पठाएका थिए। बिपीको राष्ट्रिय मेलमिलाप नीतिलाई साकार बनाउन राजा वीरेन्द्रले २०३६ सालमा राष्ट्रिय जनमत संग्र्रह घोषणा गरेर सबै पक्षलाई राष्ट्रिय राजनीतिमा समावेश गराउन खोजेका थिए। बिपी कोइरालाको देहवसानपछि भारतको चर्को दबाबबाट २०४६ सालको जनआन्दोलन भए तापनि राजा वीरेन्द्रले बहुुदलीय व्यवस्था पुनस्र्थापना गर्दै सहमतिको बाटो अवलम्बन गरेका थिए।
नेपाली कांग्रेसका अध्यक्ष कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बनेपछि उनले राजा, राष्ट्रवादीलगायत सबै पक्षका वामपन्थीलाई मिलाएर देशलाई निकास दिएका थिए। जनआन्दोलनको मार्गदर्शनअनुसार नयाँ संविधान बनाउनु अत्यावश्यक थियो। २०४७ कात्तिक २३ गते नयाँ संविधान घोषणा भएको थियो। जुन संविधानलाई कांग्रेसलगायत सबै पार्टीका नेताले विश्वको उत्कृष्ट भनेका थिए। २०४७ सालको अन्तरिम मन्त्रिपरिषद्ले जे–जस्तो अवस्था खेपेर आमनिर्वाचन गराए तापनि निर्वाचित नेपाली कांग्रेसको सत्ताले राजनीतिक निकास दिन नसक्दा नेपाल अधोगतिको बाटोमा फस्न पुग्यो।
राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रलाई मिलाएर अगाडि बढ्न सकिन्छ भन्ने धारणा राख्ने राजा वीरेन्द्रप्रति सबै राजनीतिक नेता आस्था राख्थे। राजा वीरेन्द्रले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह तथा एमालेका अध्यक्ष मनमोहन अधिकारी र मदन भण्डारीसँग राम्रो समझदारी कायम गरेका थिए। राजा वीरेन्द्रको राज्याभिषेकका बेला २०३१ फागुन १२ गते नेपाललाई शान्तिक्षेत्र घोषणा गरिएको थियो र भारतबाहेक १ सय १६ राष्ट्रले बौद्धभूमि नेपाल शान्त्रिक्षेत्र घोषणा भएकामा स्वागत गरेका थिए। तर भारतीय कांग्रेस, नेपाललाई शान्तिक्षेत्र घोषणा गरिएकामा सन्तुष्ट थिएन। कारण अहिलेसम्म खुल्न सकेको छैन।
राजा वीरेन्द्रकै शासनकालमा कांग्रेस, एमाले, राप्रपा र सद्भावना पार्टीको शासनविरुद्ध माओवादी विद्रोहले उग्र रूप लिएको थियो। २०५६ सालभन्दा अगाडि माओवादीले सहकार्य गर्न राजासँग प्रस्ताव राखेका थिए। तर राजाले सकारात्मक संकेत नदिएपछि माओवादीका नेताले भारतमा आश्रय लिएर नेपालमा थप आतंक मच्चाएका थिए। पछि राजदरबार हत्याकाण्डपछि कांग्रेसका माओवादीसँग गिरिजाप्रसाद कोइराला र एमालेका माधव नेपालहरूसँग मिलेर माओवादीले २०६२ मंसिर ७ गते दिल्लीमा १२ बुँदे सहमति ग¥यो। त्यसैका आधारमा २०६३÷६३ सालमा माओवादीको समेत सहभागितामा जनआन्दोलन भयो। त्यसपछि नेपालमा के–कस्ता घटना भए ती सबै हामी सबैका अगाडि छर्लङ्ग छन्। २०६३ सालदेखि व्याप्त भ्रष्टाचारले यतिबेला देश कंगाल भएको छ। देशप्रति अलिकता पनि संवेदनशील हुन नचाहेका कांगे्रस र कम्युनिस्टहरू लुट मच्चाउन व्यस्त छन्। यो क्रम जारी रहेसम्म नेपाल कहिले उँभो लाग्दैन। त्यसैले राष्ट्र बचाउन र देशलाई भ्रष्टाचारमुक्त गराउन ठूलो परिवर्तन आवश्यक छ।
विश्वमा धेरै पुरानो सार्वभौम राष्ट्र हो– नेपाल। विशाल नेपाल एकीकरणमा पृथ्वीनारायण शाह र उनीपछि उनका कान्छा छोरा बहादुर शाहले देश निर्माणमा योगदान दिए भने जनतालाई भावनात्मक रूपमा एकताबद्ध पार्ने काम राजा महेन्द्रले गरे। ती महान् सपुतहरूको योगदान बिर्सेर नेपालको राष्ट्रियता बाँच्न सक्तैन। भावनात्मक एकता मात्र नभएर नेपाल र नेपालीको पहिचान र प्रतिष्ठा बचाउन राजा वीरेन्द्र सधैँ सचेत भएकाले उनी विश्व राजनीतिक रंगमञ्चमा लोकप्रिय थिए। नेपालको राष्ट्रियतालाई कतैबाट कमजोर बनाउन उनले दिएनन्। राजा वीरेन्द्रको योगदानबारे संक्षिप्तमा लेख्न सम्भव हुँदैन। नेपालीलाई एकसूत्रमा आबद्ध गर्न सक्षम देशभक्त राजा वीरेन्द्रप्रति श्रद्धाञ्जलि अर्पण गरौं।
प्रकाशित: १४ पुस २०७६ ०३:४९ सोमबार