२३ जेष्ठ २०७७ शुक्रबार
विचार

ऊ मानव कसरी हुन्छ ?

राजनीतिशास्त्रका प्रकाण्ड विद्वान् जे.एस. मिलको कथन छ– ‘सन्तुष्ट सुँगुर हुनुभन्दा असन्तुष्ट सोक्रेटस हुनु राम्रो।’ अर्थात् सोक्रेटस सचेत मानवको विम्ब हो भने पेट भरेपछि सुतिरहने ‘सन्तुष्ट सुँगुर’ कर्तव्यहीन मानिसको प्रतीक। राष्ट्र जलिरहँदा पनि म र मेरो मात्र भनिरहने सन्तुष्ट सुँगुरहरू अल्पविकसित राष्ट्रका बहुसंख्यक नेताजस्तै हुन्। चेतनाशून्य व्यक्ति र समूहका निर्णय पनि विवेकशून्य हुन्छन्। ५१ प्रतिशतलाई बहुमत मानिन्छ, प्रजातन्त्रमा। सन्तुष्टहरू ५१ प्रतिशत छन् भने ४९ प्रतिशत सोक्रेटस निरीह बन्छन्। अर्थात् सुँगरतन्त्र प्रबल बन्छ, त्यसबेला।

‘सोक्रेटस र सुँगुर’ युरोपमा थेगोजस्तै भयो। प्रशस्त चल–अचल सम्पत्ति छ, तर नागरिक–कर्तव्यबाट विमुख हुन्छ भने ऊ सुँगुर हो। बराह अवतार होइन, ऊ; जसरी ‘ज्ञानीराम’ नाम राख्दैमा मानिस ज्ञानी हुँदैन, ‘धनीराम’हरू सबै धनी छैनन्, त्यसैगरी मानवकुलमा जन्मिँदैमा सबै ‘मान्छे’ हुँदैनन्। दया, क्षमा, करुणा, परोपकार र राजधर्म÷राष्ट्रधर्म पालना गर्दैन भने ऊ कसरी मानव ? तसर्थ सोक्रेटस र सुँगुर दुवै फरक देखिए पनि चेतनाले सिमाना छुट्याउँछ।

इतिहासकार नरहरिनाथले ‘इतिहास प्रकाश’ ग्रन्थमा लेखेका छन्– ‘भीमसेन थापाले तराईको सिमाना वर्षको दुईपल्ट जाँच्ने, चाहिनेजति आम बाटो मात्र राख्ने र अरू बन्द गर्ने, आफ्ना लागि मात्र चोरबाटो तयार गर्ने कार्यहरूद्वारा पनि सैनिक व्यवस्थापन सुदृढ गरेका थिए।’ (पृष्ठ १४८–१४९)।

राजनीति विकृत रहेसम्म कुनै पनि क्षेत्र सुसंस्कृत बन्न सक्दैन। तीन सहरको फोहोर टुँडिखेलमा थुपारेर स्वच्छ, सफा र हराभरा काठमाडौंको कल्पना गर्न सकिँदैन।

भीमसेन थापा राष्ट्रियताका पक्षमा अडिग थिए, तर उनकै हठले अंग्रेजसँग युद्ध गर्दा नेपालले नालापानी युद्धमा ठूलो क्षति बेहोर्नुपरेको इतिहासकारको मत पाइन्छ। ‘लाइफ अफ ब्रायन हज्सन’ पुस्तकमा तत्कालीन ब्रिटिस दूत हज्सनले भीमसेन थापाले आत्महत्या गर्ने प्रयास गरेपछि उनको अर्धमृत शरीर नदीकिनारमा फ्याँकिएको र ९ दिनसम्म गिद्ध र कुकुरहरूले लुछिरहेको आफूले देखेको उल्लेख गरेका छन्। उनैले भीमसेनको टाउको लन्डनको संग्रहालयमा पु¥याएको इतिहासकारले बताएका छन्। २९÷३० वर्ष प्रधानमन्त्री भएको र सेनापति (कमान्डर–इन–चिफ हुने प्रथम नेपाली) समेत त्यसरी मारिएपछि पाँडे र थापा गुटनिकट इतिहासकारले आफ्नै ढंगले भीमसेन थापाको मूल्यांकन गरेका छन्। तर थापा सुँगुर थिएनन्, सोक्रेटसकित्ताकै थिए। कार्ल माक्र्सका रचनामा उनलाई साम्राज्यवाद र विस्तारवादविरोधी देशभक्त भनिएको छ।

अठोट, साहस, स्वाभिमान र सचेतना भएपछि मान्छे सुँगुर हुँदैन, ऊ सोक्रेटसकै बाटो हिँड्छ। प्रशस्त भूल गरेको छ भने ऊ कायर हुन्छ। गुमेको अस्तित्व फर्काउने यत्न गर्दैन। बरु ईश्वरको शरण परेको अभिनय गर्दै शंख–घण्ट खेलाएर बस्छ। इतिहास र मर्यादा डुबे पनि कम्परमा रुपैयाँका मुठा बाँधेर ऊ सन्तुष्ट देखिन्छ। त्यस्ता मानिसमा सोक्रेटसको सुगन्ध होइन, सुँगुरको दुर्गन्ध हुन्छ। जति तर्क गरे पनि ऊ सुँगरकै दर्जामा हुन्छ।

राजा पृथ्वीवीरविक्रम शाह र उनका पिता त्रैलोक्यले श्री ३ मा निहीत अधिकार कटौती गराएर सर्वसत्तावाद अन्त्य गर्ने प्रयत्न गरे। दुवैलाई मन्दविष प्रयोग गरेर मारिएको इतिहासकारहरूको धारणा छ। राष्ट्रलाई सुदृढ बनाउने परिकल्पना गरेर महŒवपूर्ण योजना बनाउँदै गर्दा राजा वीरेन्द्र मारिए। मदन भण्डारीको रहस्यमय मृत्युमा पनि यस्तै कारण भएको विश्लेषण गर्ने धेरै पाइन्छन्।

देवशमशेरलाई पदच्युत गरेर चन्द्रशमशेरले प्रधानमन्त्री र प्रधानसेनापति पद लिए। मध्यरातमा षड्यन्त्र गरेर सत्ता लिए पनि सुरुमा सेनाले समर्थन गरेको पाइँदैन। चन्द्रशमशेरलाई १९ तोपको सलामी र सम्मान दिनू भन्ने राजाको हुकुम पाएपछि मात्र सेनाले वैधानिकता दियो। तर देवलाई किन अपदस्थ गरियो भन्नेबारे इतिहासकार नै स्पष्ट भएनन्। उनीहरूको तर्क विवेकपूर्ण देखिएन।

यङ हस्वेन्डको नेतृत्वमा नेपालको बाटो हुँदै चीनतर्फ जान खोजेको ब्रिटिस प्रतिनिधि मण्डललाई देवशमशेरले अनुमति दिएनन्। यसले अंग्रेज क्रुद्ध भए। त्यसपछि चन्द्रशमशेरलाई प्रयोग गरेर श्री ३ देवशमशेरलाई अपदस्थ गरियो। त्यति मात्र होइन, राजा भिक्षाखोरीमा सिकार खेल्न गएका बखत भारतमा बसेका देवबाट खतरा हुन सक्छ भन्ने त्रास देखाएर उनलाई बनारसमा कैद गरियो। होमनाथ उपाध्यायलगायत सहयोगीसहितलाई मुद्दा लगाइयो।

रामजीप्रसाद उपाध्यायले चन्द्रशमशेरले अन्तर्राष्ट्रिय कानुनविरुद्ध सरदार अजित सिंह र सुफी अम्बाप्रसादलाई पक्रेर भारतमा बुझाएको जनाएका छन्। अंग्रेज शासनविरुद्ध आवाज बुलन्द गर्ने अम्बा र अजित सुँगुर थिएनन्। उनीहरू चेतनाको पथमा थिए। तसर्थ हरेक कालखण्डमा सोक्रेटस र सुँगुरहरूको द्वन्द्व भइरहन्छ। बहुमतमा हुनेबित्तिकै सुँगुरहरू सोक्रेटस हुँदैनन्। सोक्रेटसहरू अल्पमतमा पर्छन्, तर बहुमत जुटाउन उनीहरू सुँगुर बन्दैनन्।

पद, पैसा र प्रतिष्ठामा हुरुक्क हुने प्रवृत्तिले दल र गुटका नायक जन्माउँछ। जो राष्ट्रनायक हुँदैनन्। तसर्थ सोक्रेटस र सुँगुरको बथानबीच अन्तर नदेख्नेहरू सुँगुरकै पछिपछि दौडिन्छन्। तर सोक्रेटसहरू सुँगुरको म्याराथन दौडमा जाँदैनन्। बरु एक्लै उभिन्छन्, एउटा किनारामा।

हरेक मानिसमा सोक्रेटस र सुँगुरको अंश हुन्छ। सत्ता, सुख, सम्पत्ति र स्वार्थमा वशीभूत हुँदै सुँगुर प्रवृत्ति मात्र प्रबल बन्छ। समाज र राष्ट्रको अभ्युत्थानका निम्ति मन, वचन र कर्मले समर्पित मान्छे सोक्रेटस पथमा हिँड्छ। तसर्थ देवासुर–संग्रामजस्तो हरेक मनमा द्वन्द्व हुन्छ। राजधर्मले भन्छ– ‘राष्ट्रलाई सर्वोच्च ठान्नेहरू सुँगुरभन्दा फरक हुन्छन्।’ खानु, लाउनु र निदाउनु मात्र जीवन होइन भन्छन्, दार्शनिकहरू। जे.एस. मिल महोदयले सन्तुष्ट सुँगुर हुनुभन्दा असन्तुुष्ट सोक्रेटस उत्तम भनेको त्यसै होइन। राष्ट्र धुजाधुजा वा चूर्ण हुँदा पनि जो मस्त छन्, ती सुँगुर नै हुन्। राष्ट्र र जनताको हितमा नागरिक दायिŒव पूरा नगर्ने, तर आफ्नै स्वार्थ मात्र हेर्ने प्रवृत्तिले समस्या ल्याउँछ। राजनीति विकृत रहेसम्म कुनै पनि क्षेत्र सुसंस्कृत बन्न सक्दैन। तीन सहरको फोहोर टुँडिखेलमा थुपारेर स्वच्छ, सफा र हराभरा काठमाडौंको कल्पना गर्न सकिँदैन। सोक्रेटसहरू निर्णायक बन्नुपर्नेमा सुँगुरहरूको दुर्गन्धले सबैलाई आतंकित बनाएको छ। यसले राज्यसत्ता हाँक्नेहरू मात्र होइन, विपक्षी दल र बुद्धिजीवी सबैलाई प्रश्नैप्रश्नको कठघरामा उभ्याएको छ।

वैशाली राज्यकी सबैभन्दा राम्री मानिन्थिन्– आम्रपाली। नगरवधू थिइन्, उनी। वचन, व्यवहार, सौन्दर्य र शिष्टाचारले सहरका सभ्य मानिसलाई मोहित पार्थिन्, उनी। भगवान् बुद्धका चेला आनन्द सहर घुम्दै जाँदा आम्रपालीको घर पुगे। उनले युवा भन्ते आनन्दको स्वागत गरिन्। अंगअंगमा कामवासना, चित्ताकर्षक रूप, मधुर स्वर रम्भा–मेनका जस्तो हाउभाउ सबैले आकर्षण गर्न खोजे पनि आनन्द अविचलित देखिए। रात प¥यो, खानपिन गरेर उनी त्यहीं बसे। साँझमा आम्रपालीले आनन्दलाई आनन्दित बनाउने प्रयत्न गरिन्। आनन्दले सत्य, न्याय, ज्ञान र भक्तिमार्गमा हिँड्ने मानिसलाई अरू कुनै कुराले अलमल्याउन सक्दैन भन्ने जवाफ दिए। अन्त्यमा, आनन्दको वाणीले आम्रपालीको हृदय परिवर्तन भयो। उनी भिक्षुणी भइन्।

हाम्रा प्राचीन धर्मग्रन्थ र त्यसबेलाका विद्वान्–विदुषीले ‘नय’ र ‘अनय’ शब्द प्रयोग गरेको पाइन्छ। सकारात्मक सोचको शक्तिले दैवअनुकूल भएको अवस्था (नय) सिर्जना हुन्छ। त्यस्तै दुष्ट, क्रोधी, लोभी र उल्टो प्रवृत्तिका मानिसको व्यवहारले ‘अनय’ उत्पन्न हुन्छ भनेर कौटल्य (कौटिल्य) उल्लेख गर्छन्।

पृथ्वीनारायण शाहका पालामा आमसञ्चारका माध्यम थिएनन्, तर अंग्रेजले भारतमा शासन गरिरहेकाले कुनै पनि बखत उनीहरूले नेपालमा हस्तक्षेप गर्न सक्छन् भन्ने शंका थियो। राष्ट्रको स्वतन्त्रता, अखण्डता र अस्तित्वप्रति अहर्निश सचेत राजा पृथ्वीनारायणले सेना तथा जनताको मन जितेर शत्रुलाई धपाउने उपाय निकालेका थिए।

राजधानी काठमाडौं प्रवेश गर्ने सिन्धुली, मकवानपुरलगायत गौंडामा फौज तैनाथ राखे, पृथ्वीनारायणले। आफ्नै मात्र हित हेरेको भए सुखमय जीवन व्यतीत गर्न सक्थे उनले। उनी पेट भरिँदा मात्र सन्तुष्ट हुने व्यक्ति थिएनन्। दिव्य–उपदेशमा उनले रक्षा, गृह, परराष्ट्र, अर्थ, धर्म–संस्कृति सबैको हितमा मूलनीति बोलेका छन्। राष्ट्र बलियो बनाउने अठोट, मार्गचित्र, उत्साह र सत्कर्मले पृथ्वीनारायण शाह, राजा महेन्द्र र वीरेन्द्रलाई इतिहासले उच्च मूल्यांकन गरेको पाइन्छ। धन कमाउने र जोगाउने यत्नमा मात्र कतिपय शासक फर्निनान्ड मार्कोस वा दुभालियरझैं बदनाम छन्। आफैंलाई काँधमा बोकेर हिँड्नेहरूलाई पनि तिमीलाई भोक–तिर्खा लागेको होला भनेर सोध्दैनन्, त्यस्ता प्रवृत्ति भएकाहरू। ययाति, राजा बेन वा निरोजस्ता आत्मकेन्द्रित शासकहरू दरबारमै जन्मे पनि उनीहरूको व्यवहारले मित्र घटाउँदै शत्रु मात्र बढायो।

कतिपय गुणदोष रगतमै आउँछन्। कतिपय चरित्रपछि विकास हुन्छन्। विदेशीको चारो खाएर हुर्केका सुँगुरहरू अस्तित्वबेगरको व्यक्तित्व, नैतिकताबेगर आर्जित समृद्धि र सुखसयलमा सुँगुरझैं सन्तुष्ट देखिन्छन्। समाज र राष्ट्रका लागि चिन्तन गर्ने सोक्रेटस पथका मानिसका निम्ति व्यक्तिगत कुरा अर्थहीन हुन्छन्। पद, पैसा र प्रतिष्ठामा हुरुक्क हुने प्रवृत्तिले दल र गुटका नायक जन्माउँछ। जो राष्ट्रनायक हुँदैनन्। तसर्थ सोक्रेटस र सुँगुरको बथानबीच अन्तर नदेख्नेहरू सुँगुरकै पछिपछि दौडिन्छन्। तर सोक्रेटसहरू सुँगुरको म्याराथन दौडमा जाँदैनन्। बरु एक्लै उभिन्छन्, एउटा किनारामा।

प्रकाशित: ११ पुस २०७६ १०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल