६ वैशाख २०८१ बिहीबार
विचार

लोकतन्त्रका नयाँ चुनौती

भर्खरै सम्पन्न दक्षिण एसियाली खेलकुद ‘साग’ले आम नेपालीमा एउटा नयाँ उत्साह र आत्मविश्वास जगाएको छ। खेलाडीले त इज्जत बढाए नै, उनीहरूप्रति हामी सबै आभारी हुनैपर्छ; अनेक सीमाभित्र रहेर सम्बन्धित अधिकारीले जति गर्न सके, त्यसको पनि कदर गर्नुपर्छ। केही समयअघि मात्र उपत्यकामै दक्षिण एसियाली चलचित्र महोत्सव सम्पन्न भएको थियो। त्यसले ‘साग’ले जत्तिकै व्यापक रूपमा देखिने गरी आम जनसमुदायमा प्रभाव नपारे तापनि अतिथिका अभिव्यक्तिले एउटा भिन्दै सन्तुष्टि प्रदान गरेको थियो। उनीहरूका कुराबाट बुझिन्थ्यो– यतिबेला अनेक कारण दक्षिण एसियाका मुलुकमध्ये नेपाल सबभन्दा लोकतान्त्रिक बन्न पुगेको छ। सिर्जनात्मक अभिव्यक्तिमा नेपाली सर्जकले पाएको स्वतन्त्रता अन्य दक्षिण एसियाली मुलुककाले भन्दा साँच्चै बढी रहेछ। यसमा हामी खुसी किन नहुने ?

हो, यसपालिको दक्षिण एसियाली खेलकुदमा प्राप्त उपलब्धिको यो खुसीकै बीच पनि के–के पुगेन, के–के गलत भए, के–के गर्न सकेको भए हुन्थ्यो भनेर हामी भनिरहेका छौं। हामी जनता हौं। दक्षिण एसियामै हाम्रो लोकतन्त्रको स्थिति राम्रो हुँदाहुँदै पनि हामी के–के पुगेको छैन भन्दै छौं। हामी नागरिक हौं। हाम्रा साना–ठूला उपलब्धि अनेक छन्। तर यी उपलब्धिकै बीच पनि ‘यतिले पुगेन, अझै अँधेरै छ, योभन्दा अलि बढी उज्यालो चाहियो’ भनिरहेकै हुन्छौं। हामी लोकतान्त्रिक यात्रामा हिँडेका यात्री हौं। जुनसुकै पार्टीको सरकार होस्, स्वाभाविक रूपमा यस्ता कुरा सत्ताधारीलाई मन पर्दैन। यो जनताले पाएको स्वतन्त्रता हो, नागरिकले विकास गर्नसकेको आलोचनात्मक सिर्जनाको चेत हो, अनेक पुस्ताले लगातार लडेरै प्राप्त गरेको लोकतान्त्रिक अधिकारको प्राकट्य हो भन्ने कुरा उनीहरू बिर्सिरहेका हुन्छन्। यो कुनै पार्टी विशेषको होइन, सत्ताको स्वभाव हो।

सामाजिक न्यायसँग नजोडिएको व्यवस्था लोकतन्त्रको बुख्याँचा मात्र हुन सक्छ।

सत्ताले के बुझ्न चाहँदैन भने लोकतन्त्र यस्तो यात्रा हो जुन जति हिँड्यो उति नै लामो हुँदै जान्छ। हिजो निर्धारित लक्ष्यको ठाउँ अझै उच्च तहको नयाँ लक्ष्यले लिँदै जान्छ। जति भए पुग्छ भनेर यात्राको सुरुआत गरिन्छ, प्राप्त गरेपछि त्यतिले पुग्दैन। लोकतन्त्रको ‘सौन्दर्य’ मात्रै होइन, लोकतन्त्रको स्वत्व नै यही हो। लोकतन्त्रलाई एकचोटि ‘ल्याएर आउने’ चिज वा एकचोटि ‘गएर पुगिने’ गन्तव्यजस्तो ठान्ने होइन, मानिसको पूर्णतातर्फको अविरल यात्रा हो भनी बुझ्नुपर्छ। सामाजिक न्यायको अवधारणा पनि त्यस्तै हो। कुनै एक कालखण्डमा निर्धारण गरिएका सामाजिक न्यायका मापक अर्को कालखण्डमा पुग्दा अपुग भइसकेका हुन्छन्। सामाजिक न्यायका निम्ति जति लड्दै गयो, उति नै अन्यायविरुद्ध संवेदनशीलता पनि बढ्दै जान्छ। 

तर पनि प्राप्त हरेक उपलब्धिमा खुसी हुनैपर्छ। अनि मात्र अझ अघि बढ्ने ऊर्जा प्राप्त हुन सक्छ। लोकतन्त्र र सामाजिक न्यायको दिशामा हाम्रो यात्रा अझै काँचै छ। प्राप्त उपलब्धिमै दंग पर्दै खुट्टा हल्लाएर बस्न भने कदापि मिल्दैन। यथास्थितिप्रति असन्तुष्टि व्यक्त गर्दै नगर्ने हो भने त जनता नागरिक होइन, फेरि हिजोकै जस्तो रैती बनिहाल्छन् नि ! त्यसो भयो भने मानिसको पूर्णतातर्फको यात्रा नै अवरुद्ध हुन्छ। लोकतन्त्रको यात्रामा मात्र त्यो पुल्ठो बाल्न पाइन्छ जसले भिर÷पहरा, बाघभालु, सर्प–बिच्छी देखिन्छ र तिनलाई पन्छाउँदै, जित्दै अगाडि बढ्न सकिन्छ। त्यो उज्यालो, आलोचनात्मक चेत नै मिल्काइदिने हो भने लोकतान्त्रको यात्रामा अघि बढ्नै सकिन्न। कहाँ भिरबाट खुर्मुरिन्छ, थाहा हुँदैन। त्यस्तै, हातमा उज्यालो छ, खुट्टामा बल छ भनेर कहाँ टेक्दै छु भन्ने नै नहेरी बुरुकबुरुक उफ्रिँदै हिँड्न थाल्ने हो भने पनि उसैगरी लडिन सक्छ। स्वतन्त्रताको अभीष्ट बोकेरै थालिएका कतिपय आन्दोलनले कसरी विपत्ति निम्त्याएका छन्, मध्यपूर्वलगायत देशमा हेर्ने हो भने सजिलै देखिन्छ। 

लोकतन्त्रको हाम्रो यात्रामा हामी जहाँसम्म आइपुगेका छौं, त्यत्तिकै आइपुगेका होइनौं। धेरैको त्याग, तपस्या र बलिदानका कारण लोकतन्त्रको हाम्रो यो सम्भव भएको हो। लोकतन्त्रका सबै योद्धा देखिने ठाउँमा छैनन्। तीमध्ये कोही–कोही मात्र यतिबेला राज्यका उच्च स्थानमा पदासीन छन्। धेरैजसो (सम्भवतः सबभन्दा असल योद्धा) भने जनताको विशाल पंक्तिमै घुलेर अदृश्य भई बाँचिरहेका छन्। ती यसै पनि राज्यको कुनै उच्च पदमा पुग्नाकै निम्ति आन्दोलनमा लागेका थिएनन्। त्यो अदृश्य पंक्तिबाट यथास्थितिप्रति असन्तुष्टिको सचेत आवाज बेलाबेलामा अहिले पनि सुनिन्छ। लोकतन्त्रको आलोचनात्मक चेतको मसाल बालिरहने काम जनताकै पंक्तिमा रहेर ती अझै गर्दै छन्।

स्थूल रूपमै देखापर्न थालेका दुई प्रवृत्तिसँग जुझ्नुपर्ने आवश्यकता लोकतन्त्रका यात्रीसामु आइपरेको छ। एउटा प्रवृत्ति हो– आलोचना सुन्नै नचाहने सत्ताको श्रवणशक्तिविहीनता। अर्को हो– नागरिकको कर्तव्यको कुनै पर्वाह नाराखी जेको पनि विरोध गर्ने अराजकतावाद।

तिनका ती जायज अभिव्यक्तिमा आफ्नो योगदानको कदर नभएको गुनासो पनि कुनै बेला नमिसिने होइन। सत्ताका दरबार वरिपरि छुनुमुनु गर्ने र हिजोको कठिन परिस्थितिमा कुनै योगदान नगरेका मानिसको हालीमुहाली भएको देखाउँदै शुभेच्छुकहरू पनि भनिदिन्छन्– ‘तपाईंले त्यत्रो दुःख गरेका बेला यी सबै कहाँ थिए ? खै तपाईंको हिजोको योगदान र आजको योग्यताको कदर ?’ यस्तो बेला दरबारतिर हेर्दा देखिने दृश्यले सिर्जना गर्ने असन्तुष्टि र कुण्ठा पनि अस्वाभाविक होइनन्। तर ती अदृश्य योद्धाका मिहिनेत, त्याग, बलिदान खेर भने गएका छैनन्। आफूसँग जे छ, त्यसमा बानी परिसकेपछि त्यसको महत्वबारे त्यति हेक्का राखिँदैन। जब त्यो गुम्छ, अनि मात्रै थाहा हुन्छ– त्यसको महŒव। अहिले हामी आफ्नो लोकतान्त्रिक अधिकारमा यति अभ्यस्त भइसक्यौं– ऊबेलाको उकुसमुकुसको सम्झना हत्पति आउँदैन। आएछ भने पनि पन्छाउन खोज्छौं। आज उपभोग गरिरहेका लोकतान्त्रिक अधिकार कुनै बेला असम्भवजस्तै लाग्थ्यो। 

त्यसबेला निरंकुशताविरुद्ध जो लडे, ती त लोकतन्त्र र सामाजिक न्यायकै निम्ति लडेका थिए। कतिपय क्षेत्रमा त्यस बेलाका परिवर्तनकामी शक्तिले देखेका सपनाभन्दा बढी उपलब्धिसमेत प्राप्त भएका छन्। उदाहरणका लागि– केही दशकयता नेपालीले शिक्षा र स्वास्थ्यमा गर्नसकेको प्रगति संसारमै राम्रोमध्ये एक मानिन्छ। त्यस्तै, नेपालीको सिर्जनशीलताले नयाँ गति लिएको छ। भलै, यी सबैका निम्ति स्याब्बासी लिन प्रायः एकपछि अर्को सरकार तँछाडमछाड गरेर लागिरहेका हुन्छन्। तर यी उपलब्धिपछाडि अनेक कारण छन्, जसको सत्ता र सत्ताको प्रकृतिसँग प्रत्यक्ष सम्बन्ध नहुन पनि सक्छ। यी अनेकन कारणमध्ये एउटा महत्वपूर्ण कारण हो– लोकतन्त्र र सामाजिक न्यायका निम्ति विभिन्न झण्डामुनि रहेर हिजोका परिवर्तनकामीले गरेका आन्दोलन।

लोकतन्त्रको यो सुन्दर यात्रामा आजसम्म प्राप्त उपलब्धि हाम्रा निम्ति अति महत्वपूर्ण कुरा हुन्। यिनलाई रक्षा गर्नु त छ नै, निरन्तर बदलिइरहेको परिस्थितिमा लोकतन्त्रकै अझै परिष्कृत परिभाषा पनि खोज्नुपर्ने चुनौती देखापर्न थालेका छन्। लोकतन्त्र भनेको निर्वाचनका बेला हुने बहुमतको शक्ति प्रदर्शनभन्दा धेरै गहन, बहुआयामिक र समृद्ध कुरा हो भन्ने सत्य स्थापना गर्ने चुनौती हो यो। सामाजिक न्यायसँग नजोडिएको व्यवस्था लोकतन्त्रको बुख्याँचा मात्र हुन सक्छ। लोकतन्त्रलाई छाडा बजारसँग अलग पारेर हेर्नै नसक्ने परम्परागत सोंचबाट मुक्त गरेर लोकतन्त्र र सामाजिक न्यायको लगनगाँठो बलियो पार्ने चुनौती हो यो। लोकतन्त्रका पथप्रदर्शक संगठित दलीय ‘फ्रेम’भित्र मात्र हुँदैनन्, जनताका पंक्तिमा विलय भएका अदृश्य शीलपालक सम्यक अभियन्ताको झन् ठूलो भूमिका हुन्छ भनी प्रमाणित गर्ने चुनौती हो यो।

यी चुनौती सामना गर्न स्थूल रूपमै देखापर्न थालेका दुई प्रवृत्तिसँग जुझ्नुपर्ने आवश्यकता लोकतन्त्रका यात्रीसामु आइपरेको छ। एउटा प्रवृत्ति हो– आलोचना सुन्नै नचाहने सत्ताको श्रवणशक्तिविहीनता। अर्को हो– नागरिकको कर्तव्यको कुनै पर्वाह नाराखी जेको पनि विरोध गर्ने अराजकतावाद। यी दुईबाहेक हाम्रो सीमाभित्र लघुराष्ट्रवाद निर्यात गर्दै आफू भने अन्धराष्ट्रवादको अभ्यास गर्ने छिमेकी र विश्व शक्तिसँग जुझिरहनुपर्ने आवश्यकता त सधैं छँदै छ।       
 

प्रकाशित: २७ मंसिर २०७६ ०४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App