coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

प्याजको पिरलो

हाम्रो भान्छाको अपरिहार्य अंग बनेको प्याजको यतिबेला निकै अभाव भएको छ । खासमा प्याज काट्दा होइन, यसको मूल्य सुन्दै सर्वसाधारणलाई आँशु आउने अवस्था छ । तीन महिनाअघिसम्म यसको मूल्य अहिलेजस्तो उच्च थिएन । अहिले यसको मूल्य किलोकै २ सय २५ रुपैयाँ पुगेको छ । छिमेकी मुलुक भारतले प्याज निर्यात रोकेपछि त्यसको प्रभाव नेपाली बजारमा समेत परेको हो । र, यही अभावबीच अवसर पनि नभएका होइनन् । हामीकहाँ कृषि उत्पादनमा जोड दिइएको भए यतिबेला किसानका निम्ति यो सुन्दर अवसर बन्न सक्थ्यो । त्यति मात्र होइन, अन्य देशमा प्याज अभाव भएका बेला निकासी गरेर समेत फाइदा उठाउन सकिन्थ्यो । अत्यधिक मूल्य वृद्धिका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले त आफ्नो भान्छामा प्याज नभित्र्याउने घोषणै  गरिसकेकी छन् । यसबाट प्रस्ट हुन्छ– कुनै पनि कृषिजन्य वस्तुको उत्पादन र आपूर्ति सहज भएन भने जनजीवनमै असर पर्छ । अचेल खाद्य सुरक्षालाई समेत सुरक्षाकै एउटा महत्वपूर्ण अंगका रूपमा ग्रहण गरिन्छ । तर यसतर्फ राज्यको ध्यान जान सकेको देखिएन । बरु भारतले बन्द गरेको प्याज निर्यात सुरु हुनासाथ आफ्नो समस्या हल हुन्छ भनी ठान्ने प्रवृत्ति छ, जसले यस्तो विपत्ति निम्त्याइरहन्छ । दीर्घकालीन रूपमा समस्या समाधान गर्ने गरी कृषि रणनीति बनाउने काम विगतमा नगरेका कारण यो अवस्था आएको हो ।

हाम्रो मुलुकमा १० वर्षअघि अत्यन्तै आवश्यक ‘प्याज मिसन’ सुरु भएको थियो । तर त्यो मिसन पूरा नहुँदै ५ वर्षमा बन्द भयो । जसका लागि १५ करोड रुपैयाँ खर्च मात्र भयो । त्यसलाई सफलतामा पुर्‍याउन सकेको भए अहिले प्याज सहजै आपूर्ति हुन सक्ने थियो । आफूले सुरु गरेका कार्यक्रम अनायासै बन्द हुनाका कारणबारे सरकारले समीक्षा गर्न आवश्यक छ । कार्यक्रम योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा पृष्ठपोषण र आवश्यक परे मध्यावधि मूल्यांकन गरेर कार्यक्रमको रणनीति सुधार गर्न सकिन्छ । तर हामीकहाँ ‘प्याज मिसन’ असफल हुँदा पनि त्यसो गरिएन । आखिर यो के भएको रहेछ भनेर पनि अहिलेका कृषिमन्त्री घनश्याम भुसालले अनुसन्धान गराउन सक्छन् । हाम्रा आयोजनाको असफलताबाट अत्यावश्यक आपूर्तिमा मात्र असर पर्दैन, महँगीसमेत बढाउँछ । नेपाली किसानकै खेतबारीमा उत्पादन हुने कृषिजन्य वस्तु आपूर्तिका निम्ति देशले खर्च गर्नुपर्ने अवस्था यसले पैदा गर्छ ।

नेपालीका भान्छामा प्रिय बनेको प्याजको उत्पादनको दुर्दशा सुखद संकेत होइन । प्याजको मूल्य चाडबाडका बेला बढ्यो र महँगै भए पनि आम उपभोक्ता किन्न बाध्य भए । अहिले सरदरमा प्याजको मूल्य प्रतिकिलो २ सय रुपैयाँभन्दा माथि पुग्नु ज्यादै दुःखद हो । यो स्थिति कसरी आयो, समीक्षा जरुरी छ । ‘मिसन प्याज’ मा रहेका त्रुटि र कमजोरी सच्याएर परिष्कृत रूपमा परियोजना सञ्चालन गर्नुपर्ने थियो, अकस्मात बन्द गर्न हुन्थेन । सरकारले ‘समृद्ध नेपाल : सुखी नेपाली’ नारा ल्याएको छ । यसलाई १५औं योजनामा पूरा गर्न विभिन्न योजनासमेत प्रस्ताव गरिएका छन् । १५औं योजनाले तोकेका समृद्धिका ४ सूचकमा एउटा– उच्च र दिगो उत्पादन तथा उत्पादकत्व छ । कृषि क्षेत्रको व्यवसायीकरणले मात्र यो सम्भव छ तर कृषि क्षेत्रमा ध्यान दिएको देखिँदैन । कृषिमा आश्रित जनताको संख्या ६८ प्रतिशत छ । कृषिमा आश्रित जनताको संख्या ठूलो भए पनि कूल गार्हस्थ्य उत्पादनमा यसको योगदान घटिरहेको छ । त्यसमा पनि कृषिजन्य वस्तुको आयातमा मुलुकको ठूलो हिस्सा अहिले पनि खर्च भइरहेको छ । कृषि उत्पादनमा जोड दिएर यसमा आश्रित नागरिकको स्तर सुधार गर्न यो महत्वपूर्ण क्षेत्र हो । विगतका असफलताबाट सिकेर अघि बढ्न ‘मिसन प्याज’ले पनि मद्दत गर्नेछ ।

 

प्रकाशित: २५ मंसिर २०७६ ०४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App