३० असार २०७७ मंगलबार
विचार

नाममात्रको अपांग दिवस

विक्रम संवत् २०६२/६३पछि नेपालमा व्यापक परिपर्वन भयो। देशबाट राजतन्त्र गयो। गणतन्त्रका नाउँमा नेतातन्त्र आयो। सर्वसाधारण जनतामा अबचाहि केही हुन्छ भन्ने ठूलो आशा थियो। तर विडम्वना,उनीहरूलाई केही भएन। जबकि नेताहरूको भने परिवर्तन भयो। गरिब धनी भए। हिन्दुहरूक्रिस्चियन भए। चप्पल लगाउनेहरू रिबक र एडिडास लगाउने भए। परिवर्तन यतिमात्र भयो। अर्थात जनताले देख्ने/भोग्ने परिवर्तन आजसम्म देखिएको छैन।

यही चपेटामा अपांगता भएका व्यक्ति पनि पर्दै आएका छन्।यतिसम्म कि नेपालमा रहेका कुुनै संरचना अपांगमैत्री छैनन्।मठमन्दिरमात्र हैन, शिक्षा आर्जन गर्ने पाठशालादेखि स्वास्थ्य उपचार गर्ने स्वास्थ्य चौकी/केन्द्रसमेत अपांगता भएका व्यक्ति जान मिल्नेखालका बनेका छैनन्।यस्तो अवस्थामा अपांगता भएकाको उन्नति प्रगति कसरी सम्भव हुन्छ ? उनीहरूले कसरी अरुसमान जीवन बिताउन पाउँछन् ? त्यसैले स्वतः पछि पर्ने नै भए।

अपांगता भएकालाई कसैले रोजगारीका लागि पत्याउँदैन। समाजले पनि तिरस्कार गर्छ। हुँदाहुँदा आफ्नै परिवारका सदस्यले समेत अपहेलना गर्छन्। आफन्त त झन् झन् टाढा हुँदै जान्छन्। यस्तो अवस्थामा उनीहरू पीडित जीवन बाँच्नुको विकल्प हुँदैन। दसैँ जस्तो पवित्र चाड होस् वा ससाना पारम्पारिक शुभकार्य, उनीहरू मनाउनै सक्दैनन्। अरु प्रगति गर्ने, कमाउने, समाजसेवा गर्ने र सुखी जीवन बिताउने सपना यही कारण तुहिन पुग्छन् उनीहरूको।

यस्तै सन्दर्भमा हरेक डिसेम्बर ३ तारिखका दिन अपांग दिवस मनाइँदै आइएको छ। यो दिन नेपालमा पनि दिवस मनाइन्छ। यस्तो दिवसमा सभा, सम्मेलन, -याली, गोष्ठी, प्रवचन आदि आयोजना गरिँदै आएका पनि छन्। तर ती सबै कर्मकाण्डीमात्र सावित भएका छन्। हैन भने वर्षौँदेखि अपांग दिवस मनाउँदा पनि किन अपांगता भएका व्यक्तिको जीवनमा सुधार आउँदैन ? किन उनीहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदैनन् ? किन उनीहरू दुःख र वेदनामा मात्र तड्पिरहनुपर्छ ? यिनका उत्तर आजका मितिसम्म प्राप्त हुन सकेका छैनन्।

सरकार सबैको अभिभावक हो। यो सक्ने र सपांगको मात्र हुँदै होइन। र, हुनु पनि हुँदैन। तर नेपालका सन्दर्भमा सरकार अपांगता भएकाको हुनै सकेन। त्यसैले उसले जहिले पनि यो वर्गका मानिसलाई सौतेनी व्यवहार गर्दै आएको छ। एकातिर अपांगता भएकाका लागि बनाइएका नीति नियम नै पर्याप्त छैनन्, अर्कोतर्फ भएका पनि कार्यान्वयन अभावमा आफैँ तिल्मिलाइरहेका छन्।राज्यप्रदत्त केही सुविधासमेत मनासिब छैन। अनि सबैले पाएका पनि छैनन्। जसको शक्ति र पहुँच छ, उसले मात्र पाउने अवस्था छ। तर पनि न सरकार न त समाज, कोही पनि यसतर्फ गम्भीर हुन आवश्यक ठानिरहेका छैनन्।

यस्तो परिवेशमा दिवसहरूलाई कसरी प्रभावकारी बनाउने भनेर छलफल हुनुपथ्र्यो। कम्तीमा पनि यस्तो दिन अपांगता भएकाका लागि कोशेढुंगो सावित हुनेखालका केही नीति ल्याउन सक्नुपथ्र्यो। केही सुविधाहरू घोषणा गर्न सकिन्थ्यो। तवमात्र यो सार्थक हुन सक्थ्यो। यस्तो अवस्थाले मात्र अपांगता भएकाहरूले आफ्नै नाममा आएको दिवस मनाउनुको अर्थ हुन्थ्यो। तर नेपालमा यस्तो दिन कहिल्यै आएन। त्यसैले यो वर्षको अपांग दिवस पनि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ भन्दा पृथक हुने देखिन्न।

प्रकाशित: १७ मंसिर २०७६ १०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App