१६ चैत्र २०८० शुक्रबार
विचार

कडा सवारी कानुन

सडक भन्ने शब्दले नै स्पष्ट पार्छ कि यो सबैको साझा हो। र, हुनु पनि पर्छ। तर नेपालका सडकमा भने पछिल्ला दिनहरूमा सवारी साधनवालाको हैकम चल्दै आएको छ। मानौँ, सडक उनीहरूका लागिमात्र बनेको हो। अनि उनीहरू गुडेपछि वा अघि बढेपछि ठाउँ बाँकी रहेमात्र त्यो यात्रुका लागि हो। यही सोचाइको दुष्परिणाम हो कि पछिल्ला दिनहरू नेपालका सडक नेपालीहरूकै लागि कालका पर्याय बन्न थालेका छन्। प्रत्येक दिन बढ्दो दुर्घटना र त्यसले पु-याउँदै आएको जन÷धनको क्षतिले यो वास्तविकता पुष्टि गरिरहेको छ।अझ सडकमा पनि जेब्राक्रस त्यस्तो महत्वपूर्ण ठाउँ हो जुन नितान्त यात्रुकै लागि भनेर तयार गरिएको हुन्छ। यात्रुले खासगरी सडक वारपार गर्दा यस्तो जेब्राक्रस अपनाउनुपर्ने र यसरी जेब्राक्रस प्रयोगकर्ताको उचित सम्मान सवारीचालकले गर्नुपर्ने नियम विश्वव्यापी हो। यात्रुले पनि सोच्छ कि म जेब्राक्रस प्रयोग गरिरहेको छु त्यसैले सुरक्षित छु। जुन स्वाभाविक पनि हो।तर विडम्बना, हाम्रा सडकमा भने चालकहरूले सडकका अन्य भाग, पैदलयात्रुका लागि छुट्याइएका मार्ग (फुटपाथ) आदिमा त लापरबाही गर्दै आएका थिए नै, हुँदाहुँदा जेब्राक्रसको पनि ख्याल राख्न छाडेको पाइएको छ। पूरै सडकलाई आफ्नोमात्र भोगाधिकार ठान्ने र यात्रुको ज्यानलाई शून्य ख्याल पनि नगर्ने मनोदशाबाट चालकहरू निर्देशित देखिँदै आएका छन्। पछिल्लोपटक जेब्राक्रसबाट सडक पार गर्दै गर्दा गाडीले ठक्कर दिएर ज्यानै गुमाउन पुगेका वरिष्ठ चिकित्सक प्रभु जोशी यसका ज्वलन्त उदाहरण हुन्। र, यसअघि पनि थुप्रै मान्यजनको यसैगरी अकालमा मृत्यु भइसकेको सर्वविदितै छ।

पहिलो कुरा त हाम्रो सवारी ऐनले सवारी साधन चालकका कारण मानिसको मृत्यु भयो भने त्यसलाई ‘ज्यानमारा’ ठान्दैन। भनाइको मतलव मानिस मार्नेलाई भन्दा कम सजायको व्यवस्था गरेको छ। अर्कोतर्फ जेब्राक्रसमा पुगेर मानिसको ज्यान लिनेलाई पनि उत्तिकै सजाय हुन्छ। जबकि जेब्राक्रस मानिस वारपार गर्नकै लागि बनाइएको हुँदा मानिस रहेसम्म यो ‘सवारी निषेधित क्षेत्र’ हुने विश्वव्यापी प्रचलन हुन्छ। यस्तो प्रचलनविरुद्ध मानिस देख्दादेख्दै अघि बढेर ज्यानैसमेत लिने हर्कत गर्नेलाई बढी सजायको आवश्यकता नदेख्नु हाम्रा नीति निर्माताहरूको पनि लापरबाही मान्न सकिन्छ। मुख्य कुरा सवारी चालकलाई प्रशिक्षण पुगेको छैन। दिनहुँ भइरहेका सडक दुर्घटनाले पनि यो कुरा प्रस्ट पार्छ। दोस्रो कुरा अवैधतवरबाट चालक अनुमतिपत्र लिनेलाई यस्ता विषय थाहै हुँदैन। त्यसैले अवैधतवरबाट चालक अनुमतिपत्र दिने प्रक्रिया ठ्याम्मै रोकिनुपर्छ। ताकि यस्ता दुर्घटना न्यूनीकरणमा सहयोग पुगोस्। तेस्रो कुरा कानुनमा कडा सजाय व्यवस्था गर्नुपर्छ। त्यसमा पनि जेब्राक्रसमा दुर्घटना गराउनेलाई गरिने कारबाहीको आकार थप फराकिलो बनाउन जरुरी छ। यसो भयो भनेमात्र बल्ल सवारी चालकले जेब्राक्रस ख्याल गर्ने र सचेत बन्ने अवस्था सिर्जना हुने गर्छ।

अझ महत्वपूर्ण पक्ष त अन्य शहरको कुरै छाडौँ, महानगर नाम दिइएका शहरका सडकमा समेत आवश्यक ठाउँमा जेब्राक्रस व्यवस्था भएका छैनन्। जेब्राक्रस भएका ठाउँमा पनि मेटिइसकेका छन् र आवश्यक समयमा त्यसलाई प्रस्ट बनाउन सकिएको छैन। यस्तो अवस्थामा दुर्घटना गराउने सवारी चालक माथि पर्ने सम्भावना रहन्छ। अर्थात अपराध गर्नेको मनाबेल बढ्न सक्छ। त्यसैले सवारी चालकलाई कारबाही गर्ने, कानुन कडा बनाउने त छँदैछ, त्यसअघि सरकारले आफूले गर्नुपर्ने कामचाहिँ समयमै सम्पन्न गर्नुपर्छ। जसले दुर्घटना अल्पीकरणमा सघाउँछ। सवारी साधनले ठक्कर दिएर कुनै व्यक्तिको मृत्यु भएमा ५ देखि १५ वर्षसम्म कारागार सजायको व्यवस्था छ कानुनमा। अनि ५ लाख रुपियाँ जरिवाना तिर्नुपर्छ। एकातिर ५ लाख रुपियाँ कि बिमा सेवाप्रदायकले तिरिदिन्छ कि त ऊ आफैँ आबद्ध बस व्यवसायी समितिले तिरिदिन्छ। जहाँसम्म कारागार सजायको कुरा हो, त्यो कानुनका ‘लुप होल’ प्रयोग गरेर सकेसम्म घटाउने प्रयत्न हुँदै आएको देखिएको छ। यस्तो अवस्थामा ‘देखि’, ‘सम्म’, ‘वा’, ‘तर’ जस्ता खेल्न सक्ने ठाउँ नराखी स्पष्ट सजाय उल्लेख हुने हो भनेमात्र पक्कै पनि सामान्य नागरिकले सवारी साधनलाई कालका रूपमा भोग्नुपर्ने बाध्यता अन्त्य हुन सक्छ।

प्रकाशित: १६ मंसिर २०७६ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App