८ वैशाख २०८१ शनिबार
विचार

प्रकृतिकी धनी पाँचपोखरी

सय पर्यटन गन्तव्यको सोह्रौंं सूचीमा परेपछि सिन्धुपाल्चोकस्थित पाँचपोखरीको चर्चा बढ्दो छ। पाँचपोखरी थाङपाल गाँउपालिका–३, भोताङको ४ हजार १ सय  मिटर उचाइमा रहेकोे यो पोखरी संसारकै उच्च स्थानमा रहेका नौवटा प्रमुख हिमतालमध्ये एक हो। यो इन्द्रावती नदीको उद्गम स्थल पनि हो। यहाँबाट गणेश, दोर्जे लाक्पा, जुगल, याङरी र गौरी शंकर हिमाल र मनोरम पहाडी सुन्दरता अवलोकन गर्न सकिन्छ।

सञ्चारमाध्यम, गीत, कविता आदिमा पाँचपोखरीको चर्चा बढ्दै गए पनि प्राकृतिक स्रोतको धनी भएर पनि आर्थिक हिसाबले पछि परेको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको जनजीवन, आर्थिक अवस्था, खेतीपाती, संस्कृती आदि विषयमा लेख्न धेरै बाँकी छ। सिन्धुपाल्चोकको उत्तर–पश्चिमी क्षेत्रमा अवस्थित यो गाउँपालिका केही वर्ष पहिलेसम्म भौगोलिक हिसाबले दुर्गम र विकट मानिन्थ्यो। अहिले सबै वडामा मोटर बाटो बनेका छन्। नदी किनाराको मूल सडकभन्दा डाँडातिरका बाटा कच्ची भए पनि राम्रा छन्। सबै घरमा बिजुली पुगिसेको छ। पालिकाको कूल क्षेत्रफल १८७.२९ वर्ग किमि छ। २०७५ सालमा गाउँपालिकाले गरेको सर्वेक्षणअनुसार कूल घरधुरी संख्या ७ हजार ८ सय ३ छ। महिला १६ हजार ९ सय ६४ र पुरुष १७ हजार ७ सय ३३ गरी कूल जनसंख्या ३४ हजार ६ सय ९७ छ। ६० प्रतिशत तामाङ समुदायको बसोबास छ। वन, उर्वर कृषि जमिन, नदीनाला, बहुमूल्य जडीबुटी र जैविक विविधता, दर्जनौं पर्यटकीय स्थल, धार्मिक महत्व बोकेका प्रसिद्ध स्थान, यस गाँउपालिकाको दिगो विकासका आधार हुन सक्छन्। साना–ठूला गरी यहाँ धेरै नदी तथा खोला छन्। मेलम्चीपछि दोस्रो चरणमा काठमाडौंमा पानी ल्याउने भनिएका याङ्री र लार्के दुवै खोला यही गाउँपालिकामा पर्छन्।

गाँउपालिकाको कूल क्षेत्रफलमध्ये ५४.४७ प्रतिशत भूभाग वन तथा चरन क्षेत्रले ढाकेको छ।  १२.६२ प्रतिशत भूभाग खेतीयोग्य छ। यसरी हेर्दा खेतीयोग्य जमिन अति कम छ भने वनजंगलले ढाकेको क्षेत्र अत्यधिक देखिन्छ।

९९ प्रतिशत परिवारसँग आफ्नै जमिन छ। बाँकी १ प्रतिशत गुठी र मोहीका रूपमा अरूका जग्गा कमाउँछन्। भूमिहिनता लगभग शून्य छ। अधिकतर परिवारको पेसा कृषि भए पनि ४३.३७ प्रतिशत घरपरिवारका मानिस वैदेशिक रोजगारीमा छन्।

मेलम्चीपछि दोस्रो चरणमा काठमाडौंमा पानी ल्याउने भनिएका याङ्री र लार्के दुवै खोला यही गाउँपालिकामा पर्छन्।

मंसिरको पहिलो साता पाँचपोखरी थाङ्पाल गाउँपालिकामा सञ्चालित जीविकोपार्जन कार्यक्रमबाट सिक्ने अभिप्रायले गाउँपालिकाका पदाधिकारी र सञ्चारकर्मीसँगै त्यस क्षेत्रमा जाने मौका मिलेको थियो। गाउँपालिकाले आफ्नो पालिकालाई अर्गानिक बनाउने योजना बनाएको छ। गाउँपालिकाका अध्यक्ष टासी लामा कृषिको कुरा गर्नासाथ खेतीपातीमा रासायनिक मल प्रयोग गरे÷नगरेको, बीउ स्थानीय वा हाइब्रिड के हो, विषादी प्रयोग भए÷नभएकामा बढी चासो राख्छन्। कृषिलाई उद्यमका रूपमा विकास गर्नमा उनको विशेष चाख छ। यसो हुँदा युवा जनशक्ति गाउँमै अटाउन सक्ने उनको विश्लेषण छ।

यहाँको कृषि जमिन कम भए पनि जमिन उब्जाउशील छ। केही ठाउँबाहेक सबैतिर पानीका स्रोत प्रशस्त छन्। वनक्षेत्र ठूलो भएकाले पशुपालनबाट मनग्गे आम्दानी गर्न सकिने सम्भावना छ। केही युवाले यस्तो उद्यम सुरु गरिसकेका पनि छन्। उदाहरणका लागि वडा नं. ८, लागर्चे कोटगाउँका दीपेन्द्र र दीपक धितालले दुईजना मिलेर व्यवस्थित खोर बनाई बाख्रापालन गरेका छन्।

कोटगाउँ सम्मटोलका प्रत्येक परिवारले तरकारी खेती गरेका छन्। सुधारिएको गोठले सुविधा बढेको स्थानीयको भनाइ छ। वस्तुभाउ पाल्ने किसानलाई भकारो सोहोर्ने काम सजिलो छैन। तर ८–१० हजार रुपैयाँ लगानीमा सुधारिएको गोठ बनाउँदा यो काम गर्न सजिलो भयो। पिसाब जम्मा गर्न सकिने भएकाले त्यो तरकारी बालीमा प्रयोग गर्न सकियो। साबेलले सजिलै सोहोर्न सकिने, हात लगाउनुनपर्ने अनि पानी भएको ठाउँमा तुरुन्त पखाल्न सकिने भएकाले पनि गोबर सोहोर्ने काम धेरै सजिलो भएको किसानले बताए। कोदो कुट्ने काम हप्तौं लाग्थ्यो। अहिले मेसिनले एकै दिनमा सकिन्छ।

तराईतिर हाटबजार जनजीवनसँग अभिन्न रूपमा जोडिएको छ। तर सिन्धुपाल्चोकका लागि हाटबजार अलि नौलो हो। वडा नं. ३, भोताङमा २ वर्षदेखि हरेक शनिबार हाटबजार लाग्ने गरेको छ। हाटबजारका लागि व्यवस्थित टहरा बनाइएको रहेछ। बिक्रीका लागि ल्याइएका चिज यति स्वस्थ देखिन्थे कि काँचै खाउँजस्ता। सिस्नु, जिम्बु, सुकाएका वनच्याउ, रूखमा फल्ने गोलभेंडालगायत जहाँ पायो त्यहीं नपाइने दर्जनौं वस्तु त्यहाँ थिए। उत्पादन भएर खाइनसकेका वस्तु बिक्रीबाट राम्रै आम्दानी हुन थालेको हाटबजारका बिक्रेताले बताए।

चिसो ठाउँ भएकाले हुन सक्छ– जिरो इनर्जीको शीत भण्डारले राम्रो नतिजा दिइरहेको छ। कम लागतमा स्थानीय सामाग्री उपयोग गरेर बनाइने यस्ता रस्टिक स्टोरमा पहिलो वर्ष कमैले आलु भण्डारण गरे। त्यसबाट लगाएको बीउले उत्पादन राम्रो दिएपछि दोस्रो वर्ष शीत भण्डारमा आलु भण्डारण गर्ने धेरै भए। सानो भएकाले सबैलाई पुगेन। आलु प्रशस्त उत्पादन हुने भोताङमा वडा कार्यालयले अन्य टोलमा पनि यस्तो घर निर्माण गर्ने योजना बनाएको छ। यस्तो भण्डारमा बीउका लागि मात्र नभएर खाने र बिक्री गर्ने दुवै खालका आलु राख्न सकियो बिग्रिन पाउँदैन। 

बाँसखर्कका अगुवा किसान रेक्पा तामाङ केही वर्ष पहिले साह्रै चिन्तित थिए। बाली लगायो कि बाँदरले केही बाँकी नराख्ने समस्याले दिक्क भएर खेती गर्न छाडे। जमिन बाँझो रहन थाल्यो। धेरैपछि उनले चिया लगाउन पाए हुथ्यो कि भन्ने सोचेर छलफल थाले। अहिले उनी र समुदायका ३७ परिवार मिलेर रोपेका ७० हजार बिरुवाले उत्पादन दिन सुरु गरेका छन्। पहिलो चरणमा २ सय रोपनीमा खेती भइरहेको छ। यसलाई विस्तार गर्ने योजनामा उनीहरूले यस वर्षबाट नर्सरी स्थापना गरेका छन्।

व्यवस्थित योजना बनाएर कृषि र पशुपालनलाई विस्तार गर्ने ठूलो अवसर छ। भएका जमिनमा खाद्यान्नका साथै अन्य नगदे बाली– तरकारी, फलपूmल, तोरी, मसला तथा जडीबुटी र पशुजन्य उत्पादन वृद्धि गर्न सकिने प्रशस्त सम्भावना छन् । परम्परागत कुलो मर्मत सुधार गरी १२ महिनै उत्पादन गर्न सकिने अवसर छ। ठूलो क्षेत्रमा वन फैलिएको हुँदा पशुपालनबाट दूध र मासु उत्पादन गर्न सकिने देखिन्छ। यातायात सेवालाई कृषकको पहुँच र उत्पादनसँग जोड्ने रणनीति लिइनुपर्छ। गाउँमै रोजगारी सिर्जना गरेर अहिलेको सहरी क्षेत्र र विदेश पलायन कम गर्न सकिन्छ। पर्यटन, कृषि तथा पशु उद्योगको प्रचुर सम्भावना रहेको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भविष्य उज्ज्वल देखिन्छ।

प्रकाशित: १६ मंसिर २०७६ ०३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App