२९ श्रावण २०७७ बिहीबार
विचार

सागको उल्लास

दक्षिण एसियाली खेलकुद (साग) को परिकल्पनाकार नेपालले तेस्रो पटक दक्षिण एसियाको ओलम्पिकको रूपमा परिचित सागको आयोजना गर्दैछ।  पूर्वाधार विकासमा प्रतिकूलताका बाबजुद पनि नेपालले सागको १३औं संस्करण आयोजना गर्ने जिम्मा लिएर त्यसैअनुरूप जुन प्रतिबद्धता पूरा गर्दैछ, त्यो गौरवको विषय हो।  आइतबार औपचारिक रूपमा उद्घाटन हुने सो प्रतिस्पर्धामा विगतमा जस्तै सात देशले सहभागिता जनाउँदैछन्।  सन् १९८४ मा पहिलो पटक नेपालले सागको आयोजना गरी इतिहास कोरेको हो।  उतिबेला पाँचवटा मात्रै खेल समावेश भए पनि सहभागिताको हिसाबले भन्ने हो भने त्यो उल्लासमय थियो।  सन् १९९९ मा नेपाल दोस्रोपटक आठौं संस्करणको साग आयोजना गर्दा १२ खेल समावेश थिए, जसमा ३१ स्वर्ण, १० रजत र २४ कांस्य गरी कुल ६५ पदकका साथ दोस्रो भएको थियो।  यसले पनि नेपाली खेलकुदप्रेमीलाई उत्साहित बनाएको थियो।  अहिले पनि सागलाई उल्लासमय बनाउन नेपालले जेजस्तो तयारी गरिरहेको छ, त्यो प्रशंसनीय छ।  दुई÷दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित स्थापित साग पछिल्लो समय केही संस्करण समयमा हुन नसकेको यथार्थ हो।  यसपटक पनि धेरैपटक मिति घर्किंदै गए पनि अन्ततः नेपाल सागको आयोजना गर्न सफल भएको छ।  क्षेत्रीय संगठनको रूपमा रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सम्मेलन पटकपटक स्थगित भइरहेको बेला नेपाल जुन हिसाबले साग आयोजना गर्न सफल भएको छ, त्यसलाई कम उपलब्धिको रूपमा मान्न सकिन्न।  दक्षिण एसियाली मुलुकमा देखा परेको आपसी तिक्तताका कारण सार्क सम्मेलन रोकिएका बेला हुन लागेको यसले नयाँ खाले उत्साह थपिदिएको छ।  सागको यो आयोजनाबाट यस क्षेत्रका मुलुकबीच आपसी सद्भाव वृद्धि हुने मात्र होइन, कला, संस्कृति आदानप्रदान गर्ने उपयुक्त मञ्चसमेत बन्न सक्छ, साग आयोजना।  र, सातै देशका खेलकर्मी आआफ्नो देशको प्रतिनिधित्व गर्दै नेपाल आइसकेका छन्।  

सागमा नेपालबाट सर्वाधिक ५ सय ९४ खेलाडीले सहभागिता जनाउँदैछन्।  सहभागिताका हिसाबले मात्र होइन, घरेलु मैदानमा हुन लागेको यो खेल प्रतिस्पर्धामा समेत नेपालले उत्साहजनक सफलता हासिल गर्न सकोस्।  

सागको १३औं संस्करण आयोजना गर्ने जिम्मा पाउँदा खेल क्षेत्रमा नेपालको पूर्वाधार कमजोर थियो।  त्यसमाथि २०७२ सालको भूकम्पले थलिएको रंगशालालाई निर्माण सम्पन्न गराउनु नेपालका लागि प्रमुख चुनौती बनिदियो।  त्यसबाहेक अन्य पूर्वाधार तयार पार्ने कार्य पनि नेपालका लागि कम्ती चुनौतीपूर्ण थिएन।  त्यसयता युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व नै तीनपटक फेरियो।  यसरी एकातिर बारम्बार मन्त्रीहरू फेरिए भने अर्कातिर खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका मन्त्रीले पूर्वाधार निर्माणमा खासै चासो देखाएनन्।  उनीहरूले तत्परता नदेखाएकै कारण खेलकुदको पूर्वाधार कमजोर नै रह्यो।  प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि भने पूर्वाधार निर्माणले बामे सर्न थाल्यो भने समय घर्किंदै गएपछि मात्रै गति लियो।  र, त्यसैको परिणामस्वरूप साग आयोजना गर्न सक्ने अवस्था आइपुगेको हो।  त्यसो त पूर्वाधार निमार्णका काममा खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलुकद परिषद्ले तत्परता देखाउनुपर्ने हो तर त्यस्तो पाइएन।  त्यसैले खेल उद्घाटन हुने दिनसम्म पनि सागको पूर्वाधार विकासको तयारी जारी छ।

यसपटक काठमाडौं, पोखरा र जनकपुर गरी तीन सहरमा आयोजना हुन लागेको सागमा २६ खेल समावेश छन्।  प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ७ राष्ट्रका खेलाडीले ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ कांस्य गरी कुल १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।  सागमा खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी कुल ३ हजार ७ सय ९ जना सहभागी हँुदैछन्।  जसअन्तर्गत सातै देशका सहभागी खेलाडीको संख्या २ हजार ९ सय र ७ सय ६९ अफिसियल रहेका छन्।  सागमा नेपालबाट सर्वाधिक ५ सय ९४ खेलाडीले सहभागिता जनाउँदैछन्।  सहभागिताका हिसाबले मात्र होइन, घरेलु मैदानमा हुन लागेको यो खेल प्रतिस्पर्धामा समेत नेपालले उत्साहजनक सफलता हासिल गर्न सकोस्।

प्रकाशित: १५ मंसिर २०७६ ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App