१५ जेष्ठ २०७७ बिहीबार
विचार

हामी जनता कहाँ जाने ?

धनराज प्रसिद्ध पण्डितका छोरा थिए। सानैमा काशीमा संस्कृत पढ्न गए। ऊबेला सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय नामी थियो। पण्डित पुत्रले त्यहाँबाट शास्त्री उत्तीर्ण गरे। जगतगन्ज र चौकाघाट मात्र होइन, बनारस (काशी) सहरका कुनाकुना घुमे, उनी। उमेरछँदा रमाइलो गरे।

बालविवाह गरेका धनराजलाई एकदिन घरबाट पत्नीको पत्र आयो। गाउँकै मास्टरले लेखिदिएछन्, चिठी। ‘मलाई पनि मगमग बास्ना आउने तेल घस्ने रहर थियो’– पत्नीले लेखिछन्। त्यसपछि अमलाको तेलको सिसी किनेर खामभित्र राखेर पत्नीको ठेगानामा पठाएछन्, धनराजले। चौकाघाटनजिकै ‘पोस्टबक्स’मा खसाल्दारहेछन्। पाँच बोतल पठाउँदा पनि घरमा तेल नपुगेपछि उनी हुलाक कार्यालय पुगे, झगडा गर्न। सबै गुनासो सुनेपछि पोस्ट मास्टरले प्रहरी बोलायो। धनराज थुनामा परे। पोस्टबक्समा पाँच बोतल तेल खसाल्दा सिसी फुटेर सयौं चिठी भिजाएको आरोपमा तीन÷चार दिनसम्म थुनेर उनलाई रिहा गरियो। राहु–केतुले दशा लाग्यो भन्थे, पण्डित।

नेपाल आएर न्वारान, विवाह, काजक्रिया आदि गर्दै दुई÷चार हजार रुपैयाँ कमाउन थाले, धनराजले। बोली तोते र लठेब्रो थियो। मान्छे ‘लास्टै’ ढिला भएकाले जजमानहरूले उनलाई रुचाएनन्। उनको आम्दानी घट्दै गयो। पहाडबाट आएर काठमाडौंमा दुःखले बसेका धनराजलाई वृद्ध आमा, पत्नी, चार छोराछोरी पालनपोषण गर्न मुस्किल भयो। विकल्प खोज्न थाले, उनले। दोबाटोमा तरकारी बेच्न बसे, व्यापार भएन। चिया बेचे, त्यो पनि पार लागेन। ठेलागाडामा फलफूल बेचे, आधा खेर जान्थ्यो। दुईछाक खान पनि धौधौ भयो। यत्तिकैमा आमा बितिन्, अर्को संकट आइलाग्यो। एक वर्षपछि बाजेले ‘क्रान्तिकारी’ निर्णय गरे– सेकुवा बेचेर धनी हुने।

बिपी कोइरालाले राजतन्त्र र प्रजातन्त्र संयोजन गरेर कांग्रेस नामको ‘दुकान’ चलाए। त्यो चलेन भनेर गिरिजाप्रसाद कोइरालाले राजतन्त्रको सेकुवा बेचे।

‘हे भगवान्, के भन्या त्यस्तो ? छिःछिःछिः पण्डितले सेकुवा बेच्ने ?’ श्रीमती रिसले आगो भइन्। पण्डितले सम्झाए– ‘मासु खान्नँ। तँलाई पनि खा भन्दिनँ। भुराभुरीले खाँदैनन्। मुखाँ मास्क लाएर बेच्छु। बेलुका–बिहान मज्जाले दालभात त खान पाइन्छ नि लाटी ! यी केटाकेटीको फिस तिर्न पाइयो। नयाँ लुगा लाउन दसैं कुर्नुपरेन। तँ मान्दिनस् भने नमान्, म त सेकुवा बेच्छु बेच्छु।’ धनराजले जिद्दी गरे।

स्कुलमा जाडो बिदा भएका बेला धनराजकी पत्नी माइत गइन्, केटाकेटी लिएर। जिरीभन्दा अलि पर छ भन्थिन्, उनको माइती। पन्ध्र÷बीस दिनपछि उनी फर्किइन्। यता धनराज पण्डित ‘सेकुवा बाजे’ भइसकेका थिए, सहरमा। माइतीबाट फर्केकी पत्नीलाई उनले जीवनमै पहिलोपल्ट २५ हजार रुपैयाँ हातमा राखिदिए। पत्नी गद्गद् भइन्। भाषा नै फेरियो, उनको। ‘हजुर कति दुःख गरिसिन्छ है हाम्रा लागि ?’ पण्डितनी लाडिँदै बोलिन्।

पण्डितले व्यंग्यवाण हाने– ‘धनराज होइन, तिमी भिखारीराज हौ भन्थिस्। माया जोड्ने सुपरग्लु त यही पैसो त रहेछ नि ! दशौं पुस्ता पण्डित भएर नाम कमाएका मेरा पुर्खाले कति सरापे होलान्, वैकुन्ठधामबाट। हे अभागी धने...! तेरो पीडा कसले बुझिदिने ?’

नेपाली राजनीति र कूटनीतिमा पनि सिद्धान्तको सेकुवा बेच्ने धनेहरू धेरै छन्। बिपी कोइरालाले राजतन्त्र र प्रजातन्त्र संयोजन गरेर कांग्रेस नामको ‘दुकान’ चलाए। त्यो चलेन भनेर गिरिजाप्रसाद कोइरालाले राजतन्त्रको सेकुवा बेचे। साम्राज्यवाद–विस्तारवादविरोधी पसल थिए, कम्युनिस्ट दलहरू। ती गोराका गीतमा ताल दिने मादल भए। संघीय गणतन्त्र मान्दिनँ भन्ने राप्रपा पनि धनराजले सेकुवा बेचेझैं गणतन्त्रको होटल चलाउन गयो। साहू अरू नै थिए, राप्रपा निम्छरो कामदार भयो। तराईका फाँटमा उम्रेका दलहरू त्यस्तै देखिए। पखाला चल्दा पनि ‘नुन–चिनी–पानी’ खोज्दै दिल्ली जान थाले।

संयुक्त राष्ट्रसंघलाई दबाब दिन अमेरिकाले नेपाल आतंकवादीको गढ र ‘हब’ बन्दै छ भनेर प्रतिवेदनमै भनेको छ। कृत्रिम संकट उत्पन्न गराएर कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र जागृत वर्गको विश्वसनीयता समाप्त पार्न थप षड्यन्त्र भएमा आश्चर्य हुने छैन।

उत्तर कोरिया होस् कि अमेरिका, भारत होस् वा चीन, बोलिभिया होस् कि भेनेजुयला, जताततै राष्ट्रवादको चर्चा भइरहेको छ। संसारमै ‘आफ्नोपन’ देशभक्तिको आधार भएको छ। राष्ट्रवादको सरल अर्थ– आफ्नो राष्ट्रको नैतिक, भौतिक, सांस्कृतिक, धार्मिक, भौगोलिक र ऐतिहासिक आधार सुदृढ बनाएर राष्ट्रप्रति गर्व गर्ने अवस्था हो। नेपालमा भने स्वदेशको होइन, आफूलाई विदेशी पैसा दिएर पाल्ने राष्ट्रको मात्र कल्याण चाहने ‘राष्ट्रवादी’ नेता धेरै देखिए।

एउटा व्यक्ति इमान्दार, सक्षम र दृढ निश्चयी भएमा पद्धति नै परिष्कृत हुन सक्छ। विग्रह, बेथिति, अराजकता र धाँधलीको पर्याय बनेको भारतको निर्वाचन प्रणालीलाई धेरै शुद्ध बनाए, टिएन सेसनले। सन् १९५५ (२०१२ सालतिर) भारतको सरकारी सेवामा पसेका सेसनले त्यहाँको प्रमुख निर्वाचन आयुक्त हुँदा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका गलत निर्णयलाई पनि चुनौती दिँदै एक्लै उभिए, सत्यका पक्षमा। २०४८ सालदेखि ६ वर्षसम्म उनले चुनाव प्रणाली सुधारमै आफूलाई केन्द्रित गरे। त्यसपछिका वर्षहरूमा चुनाव प्रणाली धेरै सुध्रियो जसलाई ‘सेसन इफेक्ट’ भनिन्छ।

‘एक्सिडेन्टल प्राइम मिनिस्टर’ पुस्तकका लेखक सञ्जय बारु लेखक र पत्रकारका रूपमा चर्चित छन्। मनमोहन सिंह भारतको प्रधानमन्त्री छँदा उनी प्रधानमन्त्रीका प्रेस सल्लाहकार थिए। पृथ्वीराज चौहान राजनीतिक सल्लाहकारका रूपमा बिनाविभागीय मन्त्री थिए। बारुले मनमोहनको कथन उद्धृत गर्दै लेखेका छन्– ‘तपाईं मेरा कान र आँखा बन्नुपर्छ। कुनै भय र पक्षपातबेगर मलाई यथार्थ कुरा भन्नुहोला। सल्लाहकारहरूको भूमिका त्यही हुनुपर्छ।’ सञ्जय बारुको गुनासो छ– ‘भन्न त भने मनमोहनजीले तर उनी सोनिया गान्धीका आज्ञाकारी मात्र भए, हाम्रा कुरा सुनेनन्।

दक्षिण एसियाको राजनीतिमा बिस्तारै ‘भूराजनीति’ प्रबल हुन थालेको छ भने व्यक्तिवाद र अवसरवाद बढ्दै गएको छ। श्रीलंकामा ‘राष्ट्रवादी’ मानिएका राजापाक्ष दाजुभाइ नै राष्ट्रपति र प्रधानमन्त्री भएका छन्। ‘पश्चिमाकी कठपुतली’ भन्दै आङ–सान–सुचीको आलोचना भइरहेको छ, म्यानमारमा। माल्दिभ्सका ठूला दल भारत र चीनको स्वार्थमा बाँडिएका छन्। जनताले वचन होइन, कर्म हेर्न थालेका छन्। धनराज बाजेले पेट पाल्नकै लागि ‘टिचर’बाट ‘बुचर’ भएझैं अब सिद्धान्त, दर्शन र आदर्शलाई सेकुवा बनाउनेहरू बिस्तारै हराउने सम्भावना बढेको छ।

भारतीय गुप्तचर विभागका डिआइजी रविन्दर सिंहले आफूलाई प्राप्त सबै महत्वपूर्ण सूचना अमेरिकालाई बेच्दारहेछन्। सन् २००७ फेब्रुअरी २ तारिखमा सिबिआइले सरकारलाई रिपोर्ट दिँदै नेपालको विमानस्थलबाट उनी पत्नी परमिन्दरका साथ भागेर अमेरिका पुगेको बतायो। आफ्नो देशको गुप्तचर अधिकृत दिल्ली, लखनउ, नेपालगन्ज हुँदै त्रिभुवन विमानस्थलबाट अमेरिकातर्फ उडेको पूर्वसूचना नपाउनेहरूले ‘मेरो कम्मरको खुकुरी कुन हुस्सुले लग्यो हँ’ भनेझैं अनेकौं शंका गरे। रविन्दरले झैं राष्ट्रका गुप्त सूचनाको सेकुवा बेच्नेहरू नेपालमा पनि कैयन् होलान्। दूतावासहरूलाई सेवा पु¥याएर अवाञ्छित र अनैतिक ढंगले फाइदा लिने राजनीतिज्ञ, सरकारी तलबजीवी कर्मचारी, पत्रकार, विश्लेषक आदिका बारेमा गहिरो अनुसन्धान भएमा को, कहाँबाट कसरी सञ्चालित छन् भन्ने बुझ्न गाह्रो पर्दैन।

बंगलादेशको दल ‘अवामी लिग’ बंगलादेश (तत्कालीन पूर्वी पाकिस्तान) भित्रभन्दा दिल्लीका गुप्चतरहरूका लागि प्रिय छ भनेर ढाकाका एकजना पत्रकारले सुनाएका थिए। एसबिआई मुन्सीले ‘इन्डिया डक्ट्रिन’ पुस्तकमा यसको चर्चा गरेका छन्। सन् १९७०÷०७१ मा भारतद्वारा सञ्चालित क्रान्तिका बेला अवामी लिगले प्रत्येक जिल्ला, मोहल्ला (टोल), थाना, सब–डिभिजन (उपक्षेत्र) र क्षेत्र (युनियन)भित्र क्रान्तिकारी परिषद् खोल्ने निर्णय गरेको थियो। लड्ने–भिड्ने भारतीय सैनिक थिए, सादा पोसाकमा। साइनबोर्ड मात्र अवामी लिगको थियो। राष्ट्रवादको बर्को ओढेर राष्ट्र टुक्र्याउने खेलमा संलग्न हुन्छन् भने उनीहरूको त ‘जीउ–धन गरिलियाको पनि पाप छैन।’

स्वादिला नारा प्रचार गरेर जनतालाई लठ्ठ पार्छन्, विदेशी शक्ति। नेपाललाई मुठीमा पार्न २००७ सालपछि अनेक प्रयत्न भए। दिल्ली धाउँदा भाग्यशाली ठान्नेहरू धेरै देखिए। अहिले पनि विदेशीकै भरोसामा सत्ताको सुखभोग गर्न पाइन्छ र जनता भनेका मतदान गर्ने यन्त्र मात्रै हुन् भन्ने सोच बदलिएको छैन।

सन् १९७५ अप्रिल १४ तारिखमा सिक्किम भारतमा विलय भयो। ५९ हजार ६ सय ३७ जनाले राष्ट्रिय स्वतन्त्रता दिल्लीमा बुझाउन मतदान गरे। सिक्किम स्वतन्त्र देश हो र यो सदैव स्वाधीन रहनुपर्छ भन्ने राष्ट्रवादी मतदाताको संख्या १ हजार ४ सय ९६ मात्र थियो भन्ने कुरा भारतीय पत्रकार सुनन्दाकुमार दत्तले लेखेका छन्। यसको अर्थ हो– बहुमत बहुलाउन पनि सक्छ। बहुमतले गलत मात्र होइन, राष्ट्रको अस्तित्व मेट्ने अपराध पनि गर्न सक्छ। नेपालमा पनि संसद्बाट कुनै विदेशी झण्डामुनि बस्ने निर्णय गरियो भने त्यसलाई चुनौती दिँदै निर्णय उल्टाउने शक्ति कहाँ छ ?

अमेरिकी संस्था ‘थिंक ट्यांक फन्ड फर पिस’ले केन्द्रको सरकार कमजोर भएपछि राष्ट्र पतनतिर लाग्छ भनेको छ। ससाना कुरामा जनताले सास्ती खेप्नुपर्ने र करको बोझ थपिँदै जाँदा जनता असन्तुष्ट भएमा प्रणाली (सिस्टम) असफल हुन सक्ने संस्थाको तर्क छ। मानव अधिकारको संकुचन, बेरोजगारी, बुद्धिजीवीको गुटबन्दी, कमजोर राष्ट्रिय सुरक्षा, आर्थिक विषमता, भ्रष्टाचार, नातावाद, जातीय, धार्मिक र साम्प्रदायिक विद्वेष, बाह्य राष्ट्रको हस्तक्षेप आदि ‘असफल’ राष्ट्रका संकेत हुन्। नेपालमा प्रायः सबै ‘इन्डेक्स’ मिल्दाजुल्दा छन्। संयुक्त राष्ट्रसंघलाई दबाब दिन अमेरिकाले नेपाल आतंकवादीको गढ र ‘हब’ बन्दै छ भनेर प्रतिवेदनमै भनेको छ। कृत्रिम संकट उत्पन्न गराएर कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र जागृत वर्गको विश्वसनीयता समाप्त पार्न थप षड्यन्त्र भएमा आश्चर्य हुने छैन।

तसर्थ विकल्प खोज्दै पण्डित धनराजले सेकुवा बेचेझैं कुनै दिन नेपाल ‘फेल्ड स्टेट’ घोषणा भएमा जनताले घोर संकट भोग्नुपर्नेछ। विदेशी शक्तिलाई सहयोग गर्नेहरू त जेट चढेर मालिकहरूसँगै जालान्। हामी जनता कहाँ जाने ?

प्रकाशित: १३ मंसिर २०७६ १०:२८ शुक्रबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल