१९ जेष्ठ २०७७ सोमबार
विचार

‘गो ब्याक’ साथी

मित्रराष्ट्र (?) भनिएको छिमेकीलाई ‘फर्केर जाऊ’ (गो ब्याक) भन्दैछन् नेपाली जनता र सरकार। सुगौली सन्धिमा नेपालले झन्डै चालीस प्रतिशत भूभाग गुमायो, कसरी ? नेपाल–अंग्रेज युद्ध (नालापानीको लडाइँ) अवश्यम्भावी थियो कि अदूरदर्शी सोच र कच्चा कूटनीतिको परिणति ? इतिहासले स्पष्ट उत्तर नदिएका यस्ता प्रश्नले हामीलाई बारम्बार घोचिरहन्छन्।

अमरसिंह थापाले राजालाई लिखित अर्जी पठाएर अंग्रेजसँग युद्ध नगर्दा बुद्धिमानी हुन्छ भन्ने सुझाव दिएका थिए। बुटवल– स्युराज (हालको रूपन्देही, नवलपरासी र त्यसवरको क्षेत्र) ब्रिटेनका शासकलाई जिम्मा दिएर युद्ध टार्न सकिन्छ भन्ने पक्षमा रहेका बम शाह र हस्तिदल शाहले पनि अमरसिंहकै कुरा मनासिव हो भनेका थिए। अधिकांश सैनिक अफिसर, भारदार तथा कूटनीतिज्ञ पनि युद्ध गर्दा ठूलो क्षति बेहोर्नुपर्छ भनिरहेका थिए। तर प्रधानमन्त्री तथा प्रधानसेनापति भीमसेन थापा युद्धका पक्षमा उभिए। ‘विनास काले विपरीत वुद्धि’ भनेझैँ भयो त्यो अडान। राजालाई उकास्दै भीमसेनले भने– ‘हजुर र हजुरका पुर्खाको सौभाग्यले कसैले आजसम्म नेपालसँग जोरी खोज्न सकेको छैन। अंग्रेजहरू कसरी पहाडभित्र पस्न सक्लान् ?, हजुरका प्रतापले हामी ५२ लाख सिपाही (जनता) उनीहरूसँग लडाइँ गर्नेछौँ र उनीहरूलाई निकाली छाड्नेछौं।’ तर ५२ लाख जनता (प्रजा) मध्ये युद्धमा ५२ सय पनि भएनन्। सिपाही, महिला र बालबालिकासमेत मुस्किलले ६ सय जति नेपाली नालापानी युद्धमा संलग्न भए। अंग्रेजतर्फ तीन हजार पाँचसय भन्दा धेरै थिए।

राष्ट्रवादको चर्को आक्रोश र शब्दजडित भावना मुखरित गर्दै फेसबुक र ट्विटरमा उम्लिनु सजिलो छ तर अत्यन्त जटिल अवस्था आएमा धेरैजना लुक्न र भाग्न सक्छन्। पूर्वी पाकिस्तानबाट ‘बंगलादेश’ टुक्रिँदा पंक्तिकार दश÷एघार वर्षको थियो। हजाराँै पूर्वी पाकिस्तानी हिन्दु र कतिपय मुसलमानसमेत शरणार्थी भएर नेपाल आएको सम्झना छ। झापातिर श्रम गरेर बसेका उनीहरूमध्येका एक थिए, राधेश्याम सरकार। उनी कार्पेन्टर (सिकर्मी) थिए। हामीलाई युद्धका कथा सुनाउँथे। बंगालीले मुक्तिजुद्धो (मुक्ति युद्ध) भने पनि त्यसको डिजाइन भारतीय गुप्तचरले गरेका थिए। नेपाली कांग्रेस पनि भारतका तर्फबाट युद्धमा सशस्त्र सरिक भएको बिपी कोइरालाले लेखेका छन्।

भारतीय फौजले भेष बदलेर ‘प्रोक्सी वार’ (छद्मयुद्ध) ग¥यो। त्यस्तो युद्धमा भाग लिने कैयन् नेपाली अहिले पनि भेटिन्छन्। स्थानीय बंगालीलाई युद्धमा लगिएको थियो ‘क्रान्तिकारी’ बनाएर। जनतामा जोश आओस् भनेर चर्काचर्का नारा लगाइन्थ्यो। राधेश्याम भन्थे– ‘प्राण दिबो, रक्त दिबो, किन्तु आगे बढ्बो ना’ भन्ने नारा पनि लाग्यो। त्यसको अर्थ हो– ‘प्राण दिन्छौँ, रगत दिन्छौँ तर अघि बढ्दैनौँ।’ ओठे देशभक्तिको नजीर थियो त्यो तर भारतीय गुप्तचर संस्था रअको बेनजिर षडयन्त्र।

नाकाबन्दीको पछिल्लो नाटकपछि घाउमा खाटा बस्न थालेको अवस्थामा भारतले नेपालमाथि पुनः कुठाराघात (बन्चरो प्रहार) गरेको छ।

सिक्किमलाई भारतमा मिसाइँदैछ भन्ने बुझेपछि सन् १९७५ मा गान्तोकमा पनि ‘गो ब्याक इन्डिया’ नारा लाग्यो। दमनचक्रमा परेर धेरै युवाले प्रताडना भोग्नुप¥यो। क्राइमिया (क्रिमिया), फिजी, माल्टा, यमन, सिरिया, लेबनान, सुडान, इथियोपिया, नाइजेरिया, भियतनाम, श्रीलंकालगायतका धेरै देशमा ‘विदेशी फर्केर जाऊ’ नारा लागेको छ। हालै श्रीलंकाका राष्ट्रपति चुनिएपछि त्यहाँ भारत विरोधी सरकार बनेको टिप्पणी हुन थालेको छ। राष्ट्र टुक्र्याउन खोज्ने र श्रीलंकामा प्रत्यक्ष र परोक्ष हस्तक्षेप गर्ने एवं श्रीलंकालाई कमजोर बनाएर आफ्नो प्रभाव बढाउन खोज्ने भारतीय षडयन्त्र त्यहाँ पर्दाफास भएको छ।

कश्मीर, मणिपुर, तेलंगानालगायतका क्षेत्रमा भारत विरोधी नारा लाग्यो। क्रियापछि प्रतिक्रिया हुन्छ नै। ह्याकुलाले मिचेर पनि कूटनीति चल्छ भन्ने हठका कारण दक्षिण एसियामा भारतले छिमकीको विश्वास र प्रेम गुमाउँदैछ भनेर युरोप–अमेरिकाका सञ्चारमाध्यमले उल्लेख गरेका छन्। कतिपय विश्लेषकले त हिमालयदेखि कन्न्याकुमारीसम्मको विशाल क्षेत्रमा विस्तारवादको छाता ओढाएर भारतले ‘गे्रटर इन्डिया’ बनाउन चाहेको विश्लेषण गरेका छन्। उनीहरूको तर्क छ– ‘बर्मा, भुटान, नेपाल, माल्दिभ्स, बंगलादेश, श्रीलंका र पाकिस्तानलाई सुरक्षा छातामा राख्न चाहन्छ भारत।’ राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) भनिने भाजपाको मातृसंगठनको दस्तावेजमा त्यो मनसाय झल्कन्छ। त्यसैले छिमेकमा आगो सल्काएर फाइदा लिने धूर्त कूटनीतिको निरन्तरता देखिरहेका छौँ हामी।

ब्रिटेनका राजा एडवर्ड युवराज छँदा चितवन आएका थिए सिकार खेल्न।  यो सन् १९२१ को हिउँदको कुरा हो। सोही अवसर पारेर प्रधानमन्त्री चन्द्रशमशेरले सुगौली सन्धिको तितोपना हटाउन मीठो सन्धि गरौँ भन्ने प्रस्ताव राखे। नेपालका श्री ५ (राजा) भारतीय राजा–रजौटा बराबरकै हुन् भन्ने सोचिरहेका बेला (ब्रिटेन) सरकारले सन् १९२३ मा नेपालका राजालाई ‘हिज म्याजेस्टी’ सम्बोधन गर्दै स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दियो। यो नेपालको ठूलो कूटनीतिक सफलता र चातुर्य थियो।

जंगलमा बघिनीको ओढारमा कतैबाट स्यालको छाउरो आइपुगेछ। हेर्दै मायालाग्दो देखेपछि बघिनीले लुकाएर आफ्नै दूध खुवाउन थाली। स्याल अलि ठूलो र बलियो भयो। बाघका सबै सन्तान सिकारमा जाने बेलामा स्यालले बघिनीसँग भनेछ– ‘आमा, म पनि सिकारमा जान्छु।’ बघिनीले भनिछ– सिकारमा जान खानदान चाहिन्छ बाबु। तँ कुखुरा चोरको सन्तानले के सिकार खेल्छस् ?

नेपालको भूभाग मिच्ने, नेता र कर्मचारीतन्त्रको दिमागमै अतिक्रमण गर्ने, राष्ट्रिय एकता टुक्र्याउन चाहने र नेपाललाई प्रयोग गरेर जासुसहरूको रंगशाला बनाउन षडयन्त्र गर्नेहरूको प्रभाव राष्ट्रका धेरै संयन्त्रमा देख्न पाइन्छ। त्यस्तालाई नख्खुस्थित सरकारी धर्मशालामा राख्ने हो भने आधा समस्या समाधान हुन सक्छ।

हाम्रो कूटनीति आज स्यालको छाउराले सिकारमा जाने रहर गरेजस्तो अवस्थामा देखिएको छ। न इतिहासप्रतिको सम्मान छ न विगतको ज्ञान नै। न त भविष्यको सही विश्लेषण नै देखिन्छ। कहिले दिल्लीमा लम्पसार, कहिले विरोधको स्वर अपरम्पार। अंग्रेजले भारतलाई स्वतन्त्र गराउनुअघि ‘गो ब्याक गोरा’ भन्थे भारतीयहरू। अंगे्रज त गए तर हिन्दुस्तान–पाकिस्तान टुक्र्याएर गए। त्यसैबाट शिक्षा र प्रेरणा लिएर पूर्वी पाकिस्तानलाई पाकिस्तानबाट अलग गराइदियो भारतले। भारतकै कैयन् लेखकले छिमेकीलाई भारतले सताइरहेको छ र सताइरहनेछ भनेका छन्। राष्ट्र बलियो छ भने स्वतः इज्जत पाउँछ। सन् १९२१ मा ब्रिटेनले अफगानिस्तानलाई ‘स्वतन्त्र राष्ट्र’ मान्ने सन्धि ग-यो। किनभने त्यो रणनीतिक महत्वको भूमि थियो। सन् १९७३ पछि त्यहाँ ‘लाल’ बहादुरहरू सत्तामा आए। ती अमेरिका र सोभियत संघको दानापानी खान्थे।

सुन्दर राष्ट्र अफगानिस्तानमा विदेशीको प्रभाव बढ्दै गयो। राजा जाहिर शाह अपदस्थ भएपछि जनता र नेता विभिन्न राष्ट्रको स्वार्थमा लागे। उदार थिए राजा जाहिर शाह। जनतालाई प्रजातान्त्रिक हक दिएकै थिए। कट्टरपन शान्ति र विकासको बाधक बन्छ भने उनको मान्यता थियो। नेपाल आउँदा केही दिन सिकार खेल्न चितवन पनि गएका रहेछन् उनी। राजा महेन्द्रका घनिष्ट साथी थिए शाह। नेपालमा रहँदा आफ्नो सेवा गर्ने दरवारका कर्मचारी र सिकारमा मद्दत गर्नेहरूलाई सुनको घडी उपहार दिएका थिए उनले।

विदेशी शक्तिले राष्ट्र क्षत्विक्षत् बनाउन खोज्छन् भने धपाउनुपर्छ। नेपालको भूभाग मिच्ने, नेता र कर्मचारीतन्त्रको दिमागमै अतिक्रमण गर्ने, राष्ट्रिय एकता टुक्र्याउन चाहने र नेपाललाई प्रयोग गरेर जासुसहरूको रंगशाला बनाउन षडयन्त्र गर्नेहरूको प्रभाव राष्ट्रका धेरै संयन्त्रमा देख्न पाइन्छ। उनीहरू विदेशीका मतियार र हतियार हुन्। त्यस्ता व्यक्तिहरूलाई नख्खुस्थित सरकारी धर्मशालामा राख्ने हो भने आधा समस्या समाधान हुन सक्छ।

कालापानी र सुस्तालगायतका क्षेत्रमा झण्डै सत्तरी हजार हेक्टर जमिन मिचिएको कुरा युवा पुस्ताले राम्ररी थाहा पाएका छन्। त्यसैले ‘मित्रराष्ट्र’ आलंकारिक शब्द जस्तो बनेको छ। नाकाबन्दीको पछिल्लो नाटकपछि घाउमा खाटा बस्न थालेको अवस्थामा भारतले नेपालमाथि पुनः कुठाराघात (बन्चरो प्रहार) गरेको छ। हरेक वर्ष तराईलगायत पहाडी क्षेत्र (मेची र महाकाली क्षेत्र) भारतबाट अतिक्रमण भएका समाचारले स्कुल पढिरहेका बालबालिकसमेत ‘गो ब्याक साथी’ भन्न थालेका छन्। यसले नेपाल र भारतको जनस्तरको सम्बन्धमा कति क्षति गरिरहेको छ भन्ने कुरा दिल्लीका नीतिनिर्माताले बुझेका देखिँदैन।

भारतीय लेखक तथा पत्रकार जग सुरैयाले एउटा लेखमा ‘नेपाललाई भारत र चीन मिलेर क्वाप्प खानुपर्छ’ भनेका छन् (टाइम्स अफ इन्डिया, २००६ मे १९)। यो भारतका सबै बुद्धिजीवी, विद्वान्–विदुषीको साझा धारणा होइन तर भारतले कसरी परीक्षण गरिरहेको छ भन्ने बुझ्न यस्ता अभिव्यक्ति अर्थपूर्ण मानिन्छ। हामीसँग केही बाध्यतापूर्ण विकल्प छन्। राष्ट्र हाँक्ने प्रवल, इमानदार र राष्ट्रवादी शक्ति रोज्ने कि विदेशीको संयन्त्र ? राष्ट्र पतनतिर गयो भनेर मौन बस्ने कि पुनर्जागरणका लागि उठ्ने ? होइन भने विदेशी सेना हाम्रै राजधानीसम्म पनि आउन सक्छन्। त्यो बेला जनता जागेर केही हुने स्थिति रहँदैन।

प्रकाशित: ६ मंसिर २०७६ ०८:५१ शुक्रबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल