coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

देशलाई दूधमा आत्मनिर्भर बनाउन

डा. रामराज पन्थी
सरकारले दूधमा आत्मनिर्भर हुन प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध उत्पादन हुनपर्ने लक्ष्य  राखेको छ। उक्त हिसाब हरेक नेपालीले हरेक दिन सेवन गर्न आवश्यक लगभग २५० मिलि वा एक गिलास दूधको परिणामबाट आएको बुझिएको छ। यस अवधिमा २/४ जिल्ला दूधमा आत्मनिर्भर भइसकेका समाचार पनि आएका छन्। निर्धारण गरिएको लक्ष्यका आधारमा सरकारले प्रतिवर्ष लगभग २ हजार ६ सय मेट्रिक टन दूध उत्पादन भयो भने दूधमा देश आत्मनिर्भर भयो भनेर घोषणा गर्ने सम्भावना देखिन्छ। आर्थिक वर्ष ०७३/७४ मा मात्र १ हजार ९ सय ११ मेट्रिक टन दूध उत्पादन भएको तथ्यांक कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रतिवेदनमा छ।

तर देशमा निर्वाहमुखी गाईभैंसी पालन, खुला दूध तथा दुग्ध पदार्थको  बिक्रीजस्ता कार्यले दूधको वास्तविक उत्पादन तथा खपत कति छ भनेर यकिनसाथ भन्न सकिने अवस्था छैन। नेपालमा दूध उत्पादन तथा उपभोगसम्बन्धी तथ्यांक प्रायः अनुमानका भरमा बनाइन्छ। जसले वास्तविक अवस्थाको प्रतिनिधित्व गर्न मुस्किल पर्छ। दूधमा आत्मनिर्भर हुन दूध तथा सम्पूर्ण दुग्ध पदार्थको मागबमोजिम गुणस्तरीय कच्चा दूध आपूर्ति हुन आवश्यक हुन्छ। दूधको वास्तविक माग देशभर तथा प्रमुख सहरहरूमा कति छ, त्यसका  आधारमा दूध उत्पादनसम्बन्धी तथ्यांक उपलब्ध हुनुपर्ने देखिन्छ।

देशलाई दीर्घकालीन रूपमा दूधमा आत्मनिर्भर बनाउन कम उत्पादन लागतमा गुणस्तरीय दूध उत्पादन अहिलेको आवश्यकता हो भन्ने कुरा नीति निर्माता, दूध व्यवसायी तथा किसान सबैले बुझ्न जरुरी छ।

नेपालमा दूध  तथा  दुग्ध पदार्थको  माग  गर्मी  मौसममा बढी हुन्छ। विशेषगरी दही, आइसक्रिमको माग बढ्ने हुनाले दुग्ध कम्पनीहरूलाई उक्त समयमा दूध तथा पाउडर दूधको निकै आवश्यकता पर्छ। तर किसानका गोठमा दूधको उत्पादन जाडो मौसममा बढी हुन्छ। दूधको बजार पर्याप्त नहुनु, दुग्ध पदार्थको विविधीकरणमा सीमितताका कारण प्रायः मंसिरपश्चात् किसान ‘मिल्क होलिडे’ समस्या भोग्न बाध्य हुन्छन्। देशमा ‘मिल्क होलिडे’ अन्त्यका लागि भनेर पाउडर दूध उत्पादन गर्ने कारखाना सञ्चालन भइरहेका छन् र थप नयाँ कम्पनी स्थापना हुने खबर पनि आएका छन्।

देशमा व्याप्त मौसमी दूध उत्पादनका कारण गर्मी मौसममा पाउडर दूध उत्पादनका लागि दूधको माग झनै बढ्ने र जाडो मौसममा  पाउडर कम्पनीलाई नै प्राप्त दूधको प्रशोधन गर्न भ्याईनभ्याई हुने सम्भावना छ। जाडो महिनामा मात्र कम्पनीलाई पाउडर दूध उत्पादन गर भन्न त्यति व्यावहारिक देखिँदैन। त्यसैले मिल्क होलिडे अन्त्यका लागि जाडो महिनामा पाउडर दूध बनाएर गर्मी महिनामा प्रयोग गर्न मिल्ने भन्ने सोचले दूध उत्पादन तथा खपत अन्तर कम गर्न खासै मद्दत हुने देखिन्न। देशलाई दूधमा आत्मनिर्भर बनाउन मिल्क होलिडे अन्त्यका उपाय जरैदेखि खोज्नुपर्ने हुन्छ। यसका लागि सरकारले वर्ष भरि नै एकनासले दूध उत्पादन गर्न किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि सँगसँगै लान आवश्यक छ।

दीर्घकालिन डेरी विकासका लागि सरकारले दूधको गुणस्तर परीक्षणसम्बन्धी विशेष ध्यान दिनुपर्ने पंक्तिकारको ठम्याइ छ। हालसम्म नेपालमा गरिने दूधको परीक्षण मूल्य भुक्तानी गर्नका लागि मात्र उपयोगी छ। किसानले दूध कलेक्सन वा चिलिङ सेन्टर लिएर जान्छन्। त्यसपछि उक्त दूधको परिमाण, दूधमा भएको चिल्लो तथा चिल्लोबाहेक ठोसको मापन गरिन्छ। जसका आधारमा दूधको मूल्य भुक्तानी हुन्छ। देशमा गुणस्तरीय दूध उत्पादन भएको छ भनेर ढुक्क हुन यसका अतिरिक्त अन्य परीक्षण पनि गर्न आवश्यक छ।  यस सन्दर्भमा तल प्रकाश पारिएको छ।

दूधमा आँखाले देख्न नसकिने सूक्ष्म जीवाणु तथा सोम्याटिक सेल हुन्छन्। गुणस्तरीय दूध उत्पादनका लागि प्रतिएमएल दूधमा भएको सोम्याटिक सेल तथा सूक्ष्म जीवाणुको संख्या मापन गर्नुपर्छ। सामान्यतया प्रतिएमएल दूधमा २ लाखभन्दा कम सोम्याटिक सेल संख्या तथा ५० हजारभन्दा कम सूक्ष्म जीवाणु भएको दूधलाई राम्रो गुणस्तरको मानिन्छ। दूधसम्बन्धी अन्तर्राष्ट्रिय व्यापार गर्दा सोम्याटिक सेलको संख्या अधिकतम ४ लाख प्रतिएमएलभन्दा कम हुनुपर्छ। कतिपय देशले पिउने दूधका लागि बढीमा ४ लाख र दुग्ध पदार्थ उत्पादन गर्न ५ लाख प्रतिएमएल मापदण्ड तोकेका छन्। धेरै सोम्याटिक सेल संख्या भएको दूधमा धेरै सूक्ष्म जीवाणुको संक्रमण पनि भएको हुन्छ।

अहिलेसम्म नेपालमा किसानको तहमा दूधको यस किसिमको परीक्षण गर्ने प्रचलन छैन। सोम्याटिक सेल संख्याको मापन गर्ने गरी दूध संकलन गर्नाले खराब दूधलाई संकलन गर्ने  बेलामै अलग राख्न सकिन्छ र अन्य गुणस्तरीय दूधमा संक्रमण हुनबाट बचाउन सकिन्छ। डेरी व्यवसायीहरूले खरिद गरेको दूधमा कम सेल संख्या भएबापत किसान वा सहकारीलाई प्रतिलिटर निश्चित रकम थप गरी प्रोत्साहन गर्न पनि सम्भव हुन्छ। त्यसैले दीर्घकालीन डेरी विकासका लागि दूधको गुणस्तर परीक्षण अनिवार्य हुन्छ। विकसित देशहरूमा प्रायः प्रत्येक गाईको थुनबाट दूधको नमुना लिएर परीक्षण गरिन्छ। गाईभैंसी बिरामी भएको वा तोकिएको मापदण्डभन्दा फरक दूध दिएको छ भने उक्त  दूध अन्य दूधसँग मिसाइँदैन।

नेपालमा प्रत्येक किसानका गोठमा दूधको गुणस्तर परीक्षण हाल असम्भवजस्तै छ। दूध परीक्षण गर्ने आधुनिक यन्त्र तथा प्रविधि सामान्यतया महँगो हुन्छ। कम लगानीमा दूध परीक्षण गर्न सरकारले प्रत्येक प्रदेश वा जिल्लामा दुग्ध परीक्षण केन्द्र स्थापना गर्नुपर्ने देखिन्छ। र, आवश्यक यन्त्र तथा उपकरण जडान गरी तालिमप्राप्त व्यक्तिले परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ। तसर्थ दूधको नमुना (स्याम्पल)लाई  सुरक्षित किसिमले ढुवानी गर्ने प्रविधि अपनाएर नजिकको केन्द्रमा परीक्षण गर्ने प्रणाली विकास गर्न जरुरी छ। यसो गर्नाले धेरै दूधका स्याम्पल एकै स्थानमा ल्याएर परीक्षण गर्दा यन्त्र तथा प्रविधि वा परीक्षणमा हुने लागत कम गर्न सकिन्छ। पहिले–पहिले सवारीसाधन तथा सडक असुविधाका कारण दूधको स्याम्पल ढुवानी गर्न सम्भव थिएन। सहकारी तथा दुग्ध संकलन केन्द्रमा गरिने मूल्य भुक्तानीसम्बन्धी दूध परीक्षण पनि यस्ता केन्द्रमा गर्ने हो भने भरपर्दो र विश्वासिलो हुन सक्छ।

यस्ता परीक्षण केन्द्रबाट सरकारलाई हुने अर्को फाइदा के हो भने यहाँ प्रदेशका किसान तथा संकलन केन्द्रको दूध उत्पादन तथा गुणस्तरको तथ्यांक संकलन गर्न सहज हुन्छ। अनि किसानले कम्प्युटरका माध्यमबाट घरमै बसी आफ्नो दूधको गुणस्तरबारे जानकारी प्राप्त गर्ने अवस्था सिर्जना गर्न सकिन्छ। जसबाट आएका विवरणले राज्यलाई पनि डेरी विकाससम्बन्धी नीति तथा योजना तर्जुमा गर्न मद्दत पु¥याउँछन्। प्रदेश सरकारअन्तर्गत राष्ट्रिय डेरी विकास बोर्डको कार्यालय प्रदेशमा खोल्ने निर्णय सरकारले गरेको छ। प्रदेशस्तरीय यस्ता बोर्डमा दुग्ध परीक्षण केन्द्र सञ्चालन गर्न सकिने सम्भावना निकै देखिन्छ।

अन्ततः सरकारले दुग्ध क्षेत्र विस्तारका लागि तय गरेको बाटो अझ अगाडि  बढाई तथ्यांक संकलन तथा गुणस्तर परीक्षणमा जोड दिनुपर्ने देखिन्छ। सँगै सीमा जोडिएको चीनको बजार पाउडर दूध खपतका लागि ठूलो बजार हो। नेपालमा उत्पादन भएका गुणस्तरीय दूग्ध पदार्थ चीन निर्यात गर्न असम्भव छैन। तर देशलाई दीर्घकालीन रूपमा दूधमा आत्मनिर्भर बनाउन कम उत्पादन लागतमा गुणस्तरीय दूध उत्पादन अहिलेको आवश्यकता हो भन्ने कुरा नीति निर्माता, दूध व्यवसायी तथा किसान सबैले बुझ्न जरुरी छ।

 

प्रकाशित: ३ मंसिर २०७६ ०२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App