८ वैशाख २०८१ शनिबार
विचार

ठेकेदारको ठेगाना

सार्वजनिक निर्माणको ठेक्का लिएर समयमै पूरा नगर्नेप्रति राज्य संयन्त्रले कारबाही नगरेपछि आक्रोश जनस्तरमा फैलिन थालेको छ । त्यसको पछिल्लो उदाहरण बनेका छन्– ठेकेदार शारदाप्रसाद अधिकारी । अधिकारी सरकारी ठेक्का लिएर काम नगरेका कारणमात्र चर्चित छैनन् । उनी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटीसमेत हुन् । राजनीतिक संरक्षण प्राप्त शक्तिशाली ठेकेदार अधिकारीले सार्वजनिक सडक निर्माणको काम आफ्नो हातमा लिए पनि त्यसलाई समयमै पूरा गर्नुपर्ने बाध्यता छैन । सरकारी कामको ठेक्का लिएर पनि समयमा पूरा नगर्ने ठेकेदारमाथि कारबाही गर्न भौतिक योजना तथा निर्माण मन्त्रालय, गृह मन्त्रालयलगायतले तत्परता देखाएका भए पनि त्यो यथार्थमा परिणत भएन । सत्तारुढ दलभन्दा टाढा रहेका केही ठेकेदारमाथि कारबाही भएको देखिए पनि कामले गति लिन सकेको छैन । यो गतिहीनताले सेवाग्राही सर्वसाधारणलाई सबैभन्दा बढी आक्रोशित तुल्याएको छ । यस्ता ठेकेदारलाई बल पु¥याउने काम भने सत्तारुढ दलकै नेताहरूबाट भइरहेका छन् । यस्तो संलग्नताबारे खुलेआम चर्चा हुने गरे पनि कुनै लज्जा भने महसुस गरेको देखिँदैन । ‘स्वार्थको द्वन्द्व’ हुन्छ भन्नेमा राजनीतिक नेतृत्वले समेत ध्यान दिएको छैन । जो सत्ताको नजिक भयो त्यसैले राज्यकोषमा लुट मच्चाउन पाउने र सार्वजनिक काम ढिला गरे पनि हुने स्थिति सिर्जना भएको छ ।

नेकपा अध्यक्ष दाहालका घरबेटी शारदाप्रसादले राजधानी उपयत्यकामा करिब दर्जन सडकको ठेक्का लिएका छन् । तिनले ठेक्कामात्र लिएका छैनन्, निर्माणपूर्व ‘मोबिलाइजेसन’ का लागि भनी करोडौँ रुपियाँसमेत हातपारेका छन् । तर त्यसअनुसार सडक निर्माणको काम भने अघिबढेन । पर्यटकीय स्थल नगरकोट जाने सडक एउटा उदाहरण हो ।जसमा निर्माण समयमा पूरा नगरेर ठेकेदार अधिकारीले राज्यकै हुर्मत लिएका छन् । त्यही कारण स्थानीयले उनको तस्बिरलाई पोस्टरका रूपमा ठाउँठाउँमा टाँस्दै व्यंग्य गरिरहेका छन् । भक्तपुर–नगरकोट सडक निर्माणकार्य पूरा नगरेपछि यस्तो रचनात्मक शैली स्थानीयले अपनाएका हुन् । बिजुलीका खम्बादेखि त्यस रुटमा चल्ने सवारी साधनमा समेत ठेकेदार अधिकारीको तस्बिरसहितका पोस्टर छन् । यति हुँदा पनि चेतेर निर्माण कार्य अघि नबढाउने हो भने सर्वसाधारणले विरोधका अन्य कार्यक्रम ल्याउनुपर्ने बाध्यता सिर्जना हुन सक्छ ।

ठेकेदार अधिकारीजस्तै केही व्यक्तिले जिम्मा लिएका निर्माण कार्य पूरा हुन सकेका छैनन् । राजधानी काठमाडौँमा उनले ठेक्का लिएका प्रायः सबैजसो सडकको अवस्था त्यही छ । नगरकोट जाने सडकको दूरवस्था देखेर सर्वसाधारणले विरोध गरेका छन् । यस्तै अवस्था अन्य सडकको पनि छ । यसरी नबनेका केही सडकमा प्रभावशाली व्यक्तिहरूले दबाब दिँदामात्र धेरथोर काम भएको देखिन्छ । कोटेश्वरमा वाग्मती करिडोरतर्फको सडकसमेत त्यस्तै जीर्ण अवस्थामा लामो समय रहेको थियो । त्यो सडक पनि उनै अधिकारीको जिम्मामा रहेको थाहा पाएपछि समयमै पूरा गर्न नेकपाकै वरिष्ठ नेताहरूले ताकेता गरेपछि केही काम भएको थियो । ठेकेदारलाई सिधै भन्न सक्ने नेताहरू भए पनि त्यसबाट थोरै भए पनि काम हुन्छ भन्ने यो उदाहरण हो । ठेकेदार अधिकारीले जिम्मा लिएर पूरा नगरेको कामको समय निकै लामो भएको छ । नगरकोटकै सडक दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लिएका हुन् । १६ किलोमिटर सडकको निर्माण पूरा गर्न ६ वर्ष बित्दा पनि काम हुन नसक्नु आफैँमा लज्जास्पद हो । आफूले जिम्मा लिएको सडकको निर्माण कार्य पूरा नगर्दा पनि नयाँ नयाँ ठेक्का पाइरहने क्षमता देखेर आश्चर्य मान्नुपर्ने हुन्छ । हुन त राजनीतिक नेतृत्वको आशीर्वाद प्राप्त भएपछि यो असम्भव छैन । यसमा सम्बन्धित ठेकेदारले लाज पचाए पनि उनी निकट रहेका राजनीतिक नेताले समेत कम्तीमा तिनलाई प्रेरित गर्न सक्छन् । तिनका कारण आफ्नोसमेत जनस्तरमा सम्मान घटिरहेको छ भन्ने किन बुझ्न नसकेका होलान् ?

प्रकाशित: २९ कार्तिक २०७६ ०४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App