१५ चैत्र २०८० बिहीबार
विचार

शिक्षण पेसा किन तिरस्कृत ?

भीमप्रसाद सापकोटा
करिब ४/५ वर्षको शिक्षण अवधिमा मैले शिक्षक साथीहरूबाटै सबैभन्दा बढी सामना गरिराखेका प्रश्न हुन्– तपाईं आइइएलटिएस गरेर राम्रो देश नगएर किन यो शिक्षणमा भुलेको ? लोकसेवातिर लाग्नुपर्ने मान्छे किन यता ? आदि।

यस्ता प्रश्नको जवाफ मसँग हुँदाहँुदै पनि प्रश्नकर्ताहरूलाई सन्तुष्ट पार्न सक्दिनँ। कारण हो– शिक्षण पेसाप्रतिको आम दृष्किोण। विगतमा जति सम्मानजनक पेसाका रूपमा अपनाइए पनि अहिले यो (शिक्षण) पेसालाई हेर्ने र बुझ्ने तरिका निकै भिन्न भएको छ। यसरी शिक्षण पेसालाई अपहेलित बनाइनुमा को कति जिम्मेवार छौं भन्ने बहस यतिबेला निकै सान्दर्भिक बनेको छ।

हालसम्मको अनुभवबाट शिक्षण पेसालाई कम महŒवसाथ हेरिनाका पछाडि दुई कारण देखेको छु ः आन्तरिक र बाह्य। आन्तरिक कारण हामी स्वयं शिक्षकहरूको व्यवहार, प्रवृति तथा धारणा हुन् भने बाह्य कारणमा विभेदकारी ऐन, नियम साथै सामाजिक, आर्थिक तथा राजनीतिक मान्यता पर्छन्।

वास्तवमै शिक्षण पेसालाई मर्यादित बनाउने हो भने सबैभन्दा पहिले हामी शिक्षकहरू नै सुध्रिनुपर्छ।

आम शिक्षक साथीलाई अन्यथा नहोस्, हाम्रा क्रियाकलाप नै शिक्षण पेसालाई नकारात्मक नजरले हेर्ने आधार बनिरहेका छन्। शिक्षाशास्त्र संकाय जुन शुद्ध प्राविधिक क्षेत्र हो, अध्ययन गर्छौं, स्नातक तथा स्नाकोत्तरको अवधिमा शिक्षण पेसासँग सम्बन्धित थुप्रै व्यावहारिक ज्ञान र सीप हासिल गर्छौं। तर अपसोच !

आफूसँग भएका ती सारा ज्ञान–सीप थन्क्याएर हामी आफूलाई कुनै ज्ञानै नभएका निजामती, बैंक तथा संस्थानमा कर्मचारी, व्यापार–व्यवसाय आदि इत्यादि पेसा रोज्दै र खोज्दै हिँड्छौं र कुनै विकल्प नभएपछि मात्र शिक्षणतिर निराश मानसिकतासाथ लाग्ने गर्छाैं। हाम्रो यस्तो  व्यवहारका कारण पनि शिक्षण पेसा अपहेलित हुन पुगेको हो। हामी शिक्षाका विद्यार्थी नै शिक्षणलाइ अन्तिम विकल्प मान्छौं भने अरूबाट मूल्यांकनको आशा कसरी गर्ने ?

शिक्षण पेसामा प्रवेश गरिसकेपछि पनि हामी शिक्षकले प्रस्तुत गर्ने व्यवहार तथा प्रतिक्रयाले पनि शिक्षण पेसा उपयुक्त नभएको सन्देश प्रवाह गरिरहेका छन्। विद्यार्थी, छोराछोरी, साथीभाइ  जो कोहीसँग पेसागत कुरा हुँदा हामी अरू जे गरे पनि ‘मास्टर’ नहुनु, के दिनमा शिक्षण पेसामा प्रवेश गरिएछ, जिन्दगी बर्बाद भयो जस्ता निशारावादी कुरा गर्छौं। जसले भावी पुस्तामा यो पेसाप्रति नकारात्मक मनोविज्ञान विकास गराइरहेको छ। हामी शिक्षक पेसागत विकासका बहस विरलै गर्छौं तर घरायसी क्रण, धन, खेती, पशु आदिबारे निकै छलफल गर्छाैं चाहे विद्यालय समय नै किन नहोस्।

यसबाट शिक्षकहरू शिक्षणमा भन्दा अन्य क्षेत्रतिर बढी ध्यान दिन्छन् भन्ने तर्कले दह्रो आड पाएको छ। पेसागत मर्यादालाई हामी कमै महŒव दिन्छौं। विद्यालयभित्र होस्् वा बाहिर नगन्य शिक्षक साथीले देखाउने पेसागत मर्यादाभन्दा बाहिरका व्यवहारले यी मास्टरहरू यस्तै हुन् भन्ने धारणालाई बल पु¥याएको छ। अझ हाम्रो एक यस्तो पुस्ता शिक्षणमा छ जसले यो पेसाको मर्यादा नै बुझेको छैन। आफ्नो शिक्षक पोसाक कहाँ लगाउनहुन्छ, कहाँ लगाउन हुँदैन भन्ने समेत विचार पु¥याउन सक्दैनौं हामी। अनि जन्ती, मलामी, हाटबजार जहाँ जाँदा पनि त्यही पोसाक लगाउँछौं।

कुनै साथीको बिहेमा मेरा अग्रज शिक्षकले शिक्षक पोसाकको कोट–पाइन्ट लगाएको देखेर एक अपरिचित महिलाले ‘विचरा ! मास्टरसँग अरू सफा र राम्रो ड्रेस नै हुँदैन होला’ भनेको मैले नै सुनेको छु। यस्ता व्यवहारले हाम्रो समग्र शिक्षण पेसा तथा शिक्षक व्यक्तित्वमा कति दूरगामी नकारात्मक असर पर्छ भन्ने कुराको मनन हामीबाट हुन सकेन र त सधैं पेसागत दरिद्रता कायम रही रहेको हो।

शिक्षण पेसालाई कसरी समय सान्दर्भिक बनाउने भनेर सहकर्मीहरूसँग सहकार्यको वातावरण प्रायः शिक्षक साथीले बनाएनौं, बरु विभिन्न लाञ्छना लगाँउदै राम्रा काम गर्नेहरूलाई पनि निरुत्साहित बनाएका छौं। योग्यता, क्षमता, शिक्षण सीप आदिलाई बेवास्ता गरी स्थानीय, विद्यालयका व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि, सहायक प्रधानाध्यापक, चन्दादाताका नातेदार आदि भएकै आधारमा आफूलाई वरिष्ठ सम्झिँदा कनिष्ठ शिक्षकहरूले राम्रा काम गर्दासमेत राम्रो भनेर अनुसरण गर्न सक्दैनौं जसको सिकार म आफैं भएको छु। गत वर्ष शिक्षा विकास तथा समन्वय एकाइ(बागलुङ)ले कक्षाकोठामा सबैभन्दा बढी समय बिताउने तथा रचनात्मक काम गर्ने शिक्षकलाई उत्कृष्ट शिक्षकका रूपमा पुरस्कृत गर्ने गरी प्रस्तावना आह्वान गरेकामा मैले पेस गरेर पुरस्कारका लागि छनोट भएको थिएँ।

पुस्कार वितरण गर्ने जिम्मा विद्यालयलाई दिई नगद पुरस्कार विद्यालयको खातामा पठाएको थियो तर विद्यालयका सहायक प्रधानाध्यापकलगायत अन्य शिक्षक साथीको विरोधका कारण मलाई त्यो पुरस्कार प्रदान गरिएन। यस कुराले मलाई निकै दुःखी र निरुत्साहित बनायो। यसैकारण विद्यालय नै छाडेर म काठमाडौं सरुवा हुन बाध्य भएँ। म मात्र होइन, मजस्ता सयौं साथी जो शिक्षणमा केही नवीनता ल्याउन चाहन्छन्, उनीहरूलाई यसैगरी हामी शिक्षकहरूबाटै निरुत्साहित पार्ने गरिएको छ। अनि कसरी नयाँ पुस्तालाई शिक्षण सम्मानित पेसा हो भनेर आकर्षण गर्न सक्छौं त ?

शिक्षण पेसा अपहेलनामा पर्नुमा विद्यमान शैक्षिक नीति–नियम र बाह्य परिवेश पनि उत्तिकै जिम्मेवार छन्। राज्यबाट शिक्षकभित्रै र अन्य कर्मचारीबीच समानताको व्यवहार भइरहेको छैन। विभिन्न थरीका शिक्षकको नियुक्ति भएका छन् अनि सेवा–सुविधा शिक्षकपिच्छे फरक–फरक दिने गर्नाले आम जनमानसमा शिक्षण पेसामा विभेद छ भन्ने परेको छ। जस्तै ः सरकारी नीति–नियमकै परिधिमा रही नियुक्ति पाएका केही शिक्षकले पोसाक–भत्ता पाँउछन् भने कसैले पाँउदैनन्।

अति न्यून तलब स्केलमा काम गरिरहेका बाल विकासका शिक्षकहरूको अवस्था हेर्दा त शिक्षक हुनभन्दा त अन्य केही पेसा तथा व्यवसाय गर्नु नै ठीक हो भन्ने पुष्टि गर्छ। अनि कसरी नयाँ पुस्ता शिक्षणमा आकर्षित हुन सक्छ ?

अन्य कर्मचारीलाई राज्यले घर बिदा, दैनिक भ्रमण भत्ता, बैठक भत्ता, प्रोत्साहन भत्ता आदि सेवा–सुविधा दिन्छ तर शिक्षकलाई दिँदैन। फलस्वरूप माध्यमिक तहका स्थायी शिक्षकहरू धमाधम शिक्षण पेसा छाडेर खरिदार पदमै भए पनि निजामती तथा संस्थानमा हामफालिरहेका छन्। यही आर्थिक वर्षमा सरकारले सबै सरकारी कर्मचारीको तलब वृद्धि ग¥यो तर अर्थ मन्त्रालयले तलब स्केल सार्वजनिक गर्ने बेला अन्य निजामती कर्मचारीहरूको अन्तिम ग्रेड १० सम्म बनायो भने शिक्षकहरूको ८ बनायो। जसले नयाँ पुस्तामा शिक्षणभन्दा निजामती सेवा नै राम्रो भन्ने परेको छ।

वास्तवमै शिक्षण पेसालाई मर्यादित बनाउने हो भने पहिले हामी शिक्षकहरू नै सुध्रिनुपर्छ भने दोस्रोमा राज्यले पनि शिक्षकविरुद्ध बनाएका विभेदकारी नीति–नियम सच्याउनुपर्छ। विष्णुदेवी मावि, चन्द्रागिरि–१५, काठमाडौं

प्रकाशित: ६ कार्तिक २०७६ ०५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App