८ आश्विन २०७७ बिहीबार
विचार

विमान सेवाको बिजोग !

दुर्गानाथ शर्मा
विमानस्थलभरि ध्वजावाहक जहाज लाम लागेर बसेको देखेपछि एकपटक प्रधानमन्त्रीले सहयात्री साथीसँग भन्नुभएछ– नेपाल वायु सेवासँग निकै धेरै जहाज पो रहेछन् ! साथीले जवाफ दिएछ– तपाईंले भन्नुभएको कुरा ठीक हो प्रधानमन्त्रीज्यू, नेपालमा जहाज थुप्रै छन्, तर प्राय उड्दैनन् । त्यसैले जमिनमा देखिएका हुन् । विमानहरू त आकाशमा देखिनुपर्ने हो । यहाँ ‘वाइडबडी’ जहाज पनि छन्, तर जमिनमा छन्,  आकाशमा छैनन् ।

प्रधानमन्त्री ओलीले निगम दिवसका दिन काठमाडौंमा आयोजित कार्यक्रममा यो प्रसंग कोट्याउँदा निगमका कर्मचारीले हलै थर्कने गरी ताली बजाएछन् । त्यो भनेको पनि ३ महिना बितिसक्यो । जहाज उडेनन्, बरु उडिरहेका अरू जहाज पनि थन्किए । ‘निगमसित १४ जहाज छन्, तर उड्छन् ६ वटा मात्र । बाँकी जमिनमा छन् ।’ एउटा स्थानीय दैनिकमा छापिएको एउटा मूल समाचार हो यो । पाठकलाई खबर पढ्दा अचम्म लाग्यो होला अवश्य । कस्तो दुर्भाग्य ! हाम्रो राष्ट्रले गर्ने व्यापार पनि यस्तो हुन्छ र ?

निजी क्षेत्रले चलाउने हो भने नेपाल वायुसेवा निगम पनि लोभलाग्दा अन्य विमान सेवाजस्तै बन्न सक्छ ।

नेपाल राष्ट्रिय ध्वजावाहक तथा नेपालको एउटै विमान सेवाको छोटो र यथार्थ चित्रण हो यो । उक्त समाचारले सबैथोक भनिदिएको छ । प्रधानमन्त्रीले सोध्नु पनि भएछ– ‘जहाज किनेर के  लडाउन ल्याएको ? वा ओगट्न ?’ निगमका जहाजको हालत यही हो । पहिले पनि यस्तै थियो, अझै कतिन्जेल यस्तै रहन्छ, पशुपतिनाथ नै जान्छन् ।

निगम सँगसँगै जस्तो सेवा सुरु गरेको ‘थाइ इन्टरनेसनल’ को विमान सेवासँग हजारवटा जहाज छन्, अहिले तिनले विश्वभरि नै आफ्नो सेवा सञ्चालन गरिरहेका छन् । हाम्रो मात्रै किन यस्तो ? निगमसित भएका जहाज गन्ने हो भने थुप्रै छन्, कुनै इन्जिन खराब भएका छन् र ग्राउन्डेड भएका छन्, फोकटमै मिल्यो भने ‘अलकत्रै पनि खाउँ भन्ने हाम्रो नेपाली प्रवृत्तिका कारण नेपाललाई कामै नलाग्ने चिनियाँ जहाज एम–६० ल्याइयो । एउटा चलाइन्छ, अर्काे थन्क्याइन्छ । होइन भने एउटाको सामान झिकी अर्कोमा हालेर चलाइन्छ । यिनले दैनिक दुई उडान मात्र गर्छन् ।

एउटा वाइडबडी ए–३३०, इन्जिन खराब भएको भनेर ग्राउन्डमै राखिएकाले खिया पर्ने अवस्थामा छ । यसैगरी बोइङ ७५७ न्यारोबडी ए–२२० र केही ट्विन अटर तर खासै काम लाग्ने छैनन् । ‘वाइडबडी’ को खरिद विवाद टुंगिएको छैन, तेल बढी खाएपछि अहिले ग्राउन्डेड छ । नेपालका प्रायः विमान काम नलाग्ने भएर ग्राउन्डेड भएपछि विदेशी विमान सेवाको भरमार छ । बाहिरका विमान कम्पनीलाई खुदो भएको छ ।

तपाईंहरूलाई थाहै होला– नेपालमा विमान किन्नु भनेको सबैलाई र खासगरी विभागीय मन्त्रीजस्ता ठूला ठालुलाई चासो हुन्छ । चाहे प्रधानमन्त्री होस्, चाहे मन्त्री, विमान किन्दा पाइने ‘ठूलो कमिसन’ ले आफ्नो राजनीतिक जीवन नै सुन्दर हुन्छ भन्ने सोच आउन सक्छ । यो कुरा अहिले मात्र होइन, पहिल्यै पनि सुनिएको हो ।

भारतमै कति विमान छन्, तर ती विमान किन्न प्रधानमन्त्रीकै सन्तान मुछिएका कथा छैनन्, तर नेपालमा ‘वाइडबडी’ किन्दा ठूलठूला मानिस मुछिएको सुनिन्छ । तर सुनिन्छ मात्र, किनभने हल्ला चल्छ फेरि हराउँछ । फेरि अर्को विमान र कमिसनका कुरा सुरु भइहाल्छन् । बरु विमान किन्ने संस्थाको विकासका लागि कमिसनचाहिँ लिने भनेर निर्णय गरिदिए त यति हल्ला त हुने थिएन नि ! कम्पनीसँग उसैदिन कमिसन यति भनेर हिसाबमै खुलाइदिए त हुने नि ! कमिसन कमसेकम संस्थाले त पाउँथ्यो ।  

धेरै पहिला २०२६÷२७ तिर गोरखापत्रमा काम गर्दा यो पंक्तिकार पनि निगमको प्रेस सल्लाहकार भएको थियो । प्रेस सल्लाहकार हुनु भनेको– मासिक ३ हजार र वर्षमा दुईवटा टिकट पाउनु हुन्थ्यो । मेरा एकजना मित्र आई. के. प्रधान निगमका प्रेस अफिसर थिए ।

उनी त्यहाँको प्रचार विभाग प्रमुख थिए । उनैका कृपाबाट मैले यो सुविधा पाएको थिएँ । तर मैले सुविधा लिएबापत निगमबारे थुप्रै लेख लेखेर छापी पनि दिएको छु । आई.के.स्वयं एक लेखक थिए, तिनका लेख पनि कुन पत्रिकामा छाप्नु उपयुक्त हुन्छ भनेर सल्लाह पनि दिन्थें । उनी बढी अंग्रेजी भाषामा कलम चलाउँथे । नेपालीमा म तयार पार्थें ।  

हाम्रा विमानस्थल पनि विमानस्थलजस्ता छैनन् । त्यहींबाट ३३ किलो सुन बाहिरिन्छ । कसले ल्याएको, कहाँ लग्यो, कसको हो, कसैलाई थाहा हँुदैन ।

आई.के. एक राम्रा अफिसर थिए । उनकै सक्रियतामा हामीले नेपालमा पर्यटनसम्बन्धी लेखकको समूह नै गठन गरेका थियौं । बेला–बेला गोष्ठी पनि हुन्थ्यो । उनकै सम्पादनमा ‘निगम’ को ‘इन–फ्लाइट’ म्यागेजिन पनि प्रकाशन हुन्थ्यो, जुन विमान चढ्नासाथ पढ्न पाइन्थ्यो । यो अन्तर्राष्ट्रिय इन्फ्लाइट म्यागेजिनभन्दा कुनै हिसाबले कम थिएन । नेपालको पर्यटनसम्बन्धी राम्रा–राम्रा लेखहरूको यो संगालोले निगमको इज्जत राम्रोसँग धानेको थियो ।

मलाई त्यसबेला न्युरोडस्थित निगमको कार्यालय जान खुब मन पथ्र्याे । एक प्रकारको लघुताभास हुने गरे पनि मित्र आई.के.सित भेट गर्न र मैले केही सहयोग गर्ने काम छ कि भनेर पनि जाने गर्थें । मलाई त्यहाँ जान किन पनि मन पथ्र्याे भने राम्रो र ठूलो वातानुकूलित(एसीयुक्त)कोठा । रातो कार्पेटमाथि हिँडेर आई.के.को कोठामा पुग्दा म आफूलाई निकै भाग्यशाली ठान्थें । किनभने मैले काम गर्ने ‘गोरखापत्र’को कार्यालय त्यही न्युरोडको अर्को छेउमा थियो । जुन डिल्लीबजारको चारखाल अड्डाजस्तो लाग्थ्यो । ठूला हाकिमका आआफ्नै कोठा थिए, तर कार्पेट हुँदैनथ्यो । हामी सम्पादकहरू चार÷पाँचवटा टेबल जोडेर त्यसमै काम गथ्र्यौं ।

निगममा त पुगेपछि गर्मी छ भने पहिले कोकाकोला र चिसो छ भने तातो कफीले स्वागत हुन्थ्यो । कुनै बेला त प्रधानले नयाँ कुनै उपहार आएको रहेछ भने त्यो पनि दिन्थे । मलाई कता–कता लाग्थ्यो– हाम्रो अफिस पनि यस्तै भइदिए ! आफ्नो आफ्नो भाग्यको कुरा हो भनेर आफ्नो मनलाई बुझाउँदै आई.के.ले दिएका केही उपहार लिएर फर्किन्थें ।

अहिले त निगमको कार्यालय नगएको धेरै भइसक्यो । सुन्छु, त्यसबेलाजस्तो छैन, निगम । त्यसबेला निगमका जहाज टोकियो जान्थे, जर्मन पनि जान्थे र राजाको भ्रमणमा जहाँ पनि जान्थे ।  राजाहरू– असंलग्न आन्दोलन होस्, सार्क शिखर सम्मेलन होस्, जता जाँदा पनि आफ्नै विमानमा जान्थे र त्यसबेला निगमको शान नै बेग्लै थियो ।

त्यस्तो राम्रो हवाई सेवा अहिले बन्दै हुने स्थितिमा पुग्नु हामी नेपालीको दुर्भाग्य नै मान्नुपर्छ । दुइटा वाइडबडी आएपछि हाम्रो गन्तव्य पनि बढ्छ भनिन्थ्यो, तर अहिले पेट्रोल नभएर ग्राउन्डेड भएका खबर आउँछन् । हाम्रा विमान सिट क्षमताको १९ प्रतिशत मात्र भए पनि ओसाका उड्नुपरेको नमीठो समाचार पढ्नु परिरहेको छ ।

हाम्रा विमानस्थल पनि विमानस्थलजस्ता छैनन् । त्यहींबाट ३३ किलो सुन बाहिरिन्छ । कसले ल्याएको, कहाँ लग्यो, कसको हो, कसैलाई थाहा हँुदैन । त्यहाँका पसलहरूमा मिनरल वाटर(पिउने पानी) प्रतिबोतल(आधा लिटर) २५० रुपैयाँमा किन्नुपर्छ, त्यही पानी विमानस्थलबाहिर २०–३० रुपैयाँमा पाइन्छ । एयरपोर्टबाट घर जानुप¥यो भने ट्याक्सीले सुनिनसक्नु भाडा भन्छन्, बसको व्यवस्था छैन । यस्तो पनि हुन्छ, विमानस्थल ! सबैलाई कमाउने धुन छ । हुन त सुनिन्छ– त्यहाँ पसल पनि हाकिमहरूलाई राम्रै खुवाउन सके मात्र पाइन्छ रे । त्यसैले हुनुपर्छ– पानीको पनि त्यस्तो अचाक्ली भाउ । अरू देशका अन्तर्राष्ट्रिय एयरपोर्टहरूमा यस्तो हुँदैन । बजारकै मूल्यमा पाइन्छ ।

त्यसैले विमानस्थल सञ्चालन गर्ने र विमान चलाउने हाम्रा कम्पनीहरूलाई पनि के भन्ने ? वातावरण नै धमिलो भएपछि के हुन्छ र अरू ! एयरपोर्टबाट सहर जाने ठूला बसहरूको राम्रो व्यवस्था होस्, एयरपोर्ट भित्रै कडाइ होस्, भन्सार नतिरी केही छिराउन नपाउने अवस्था होस् ! हामीकहाँ त स्क्यानिङ मेसिन हुन्छ, तर त्यो चलाउने मान्छे हुँदैन । एक्सरे मेसिनको हालत पनि त्यस्तै छ । यो सबै व्यवस्था मिलाउन नसक्ने हो भने काठमाडौंमा ‘एयरपोर्ट’ सञ्चालन गर्नुभन्दा नगर्नु नै ठीक हुन्छ, होइन र ? व्यवस्थित गर्ने हो भने लोकसेवाले ‘खास एयरपोर्ट’ का लागि भनेर त्यही हिसाबको तालिम दिएका असल आचरण र सभ्य, शिष्ट व्यक्तिका हातमा सञ्चालनको साँचो दिनुपर्छ । होइन भने हामी राम्रो बस सञ्चालन गर्न नसक्नेले विमानस्थल सञ्चालन गर्नु भनेको नहुने कुरा गर्न खोजेको ठहर्छ । अनि हाम्रो विमानस्थलको स्थिति आजको जस्तै हुनेछ ।

सरकारले व्यापार गर्ने होइन । निजी क्षेत्रले चलाउने हो भने नेपाल वायुसेवा निगम पनि लोभलाग्दा अन्य विमान सेवाजस्तै बन्न सक्छ । सरकारले गरेका व्यापार त हामीले नेसनल टे«डिङ, पेट्रोल पम्प, दुग्ध विकास संस्थान, छाला–जुत्ता कारखाना, कागज उद्योग, चामल निर्यात केन्द्र, भृकुटीलगायत अहिलेका पूर्वका सुनको अण्डा पार्ने चिया कारखाना हेरे पुग्छ । हुन त निजी व्यापारिकै हातमा भए पनि गलत मान्छेको हातमा पुगेमा खतमै हुन्छन् । कति त भइसके । त्यसैले सरकारले यस्ता व्यापार राम्रा र इमान्दार निजी क्षेत्रलाई सुम्पने हो भने केही हुन्छ कि !

प्रकाशित: १५ आश्विन २०७६ ०९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App