१७ जेष्ठ २०७७ शनिबार
विचार

अचम्मको मुलुक नेपाल

कैयौं नेपालीको अथक परिश्रम तथा हत्या÷हिंसाबीच आएको नेपालको संविधान बालकै अवस्थामा छ । संविधान वयस्क हुन, थुप्रै चरण पार गर्नुपर्ने हुन्छ । थुप्रै आरोह–अवरोह भोग्नुपर्छ । अनि मात्र संविधानले खुट्टो टेक्छ । अहिल्यै अत्तालिहाल्नुपर्ने बेला आएको छैन । संविधान सधंै एकनास पनि हुँदैन । समयसँगै परिवर्तन पनि हुन्छ । यसपटक सरकारले काठमाडौंको टुँडिखेलमा संविधान दिवसको उपलक्ष्यमा भव्य कार्यक्रम ग¥यो । नेपालका विभिन्न जातजातिको प्रतिनिधित्व भएको यो कार्यक्रम हेर्दा पुरानो पञ्चायतकालकै झझल्को आयो । हुन त यस्ता कार्यक्रम जसले, जहिले गरे पनि उस्तै हुन्छ । राष्ट्रपतिलगायत प्रधानमन्त्रीको पनि उपस्थिति रहेको यो कार्यक्रम एकातिर सुन्दर थियो भने स्वयं ४ वर्षे बालकको स्वास्थ्य भने राम्रो देखिएको छैन ।

यो समारोह हुनुभन्दा केही दिनअघि प्रधानमन्त्री केपी ओलीले सिंहदरबारबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा खतरा आउन लागेको संकेत गर्दै त्यस्तो स्थिति आए बाघ अथवा बघिनीजस्तो भूमिकामा उत्रने कुरा बताएर नेपालीको मनमा एउटा त्रास पैदा गराएका थिए । यस्तै ठीक ३ महिनाअघि संसद्मा प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले सम्बोधन गर्न रोकेपछि उनले पत्रकार सम्मेलनमार्फत संविधानका मूल ३ विशेषता– गणतन्त्र, संघीयता र धर्म निरपेक्षताविरुद्ध आक्रमण हुन थालेको उल्लेख गरेका थिए । उनले भनेका थिए– ‘आज लोकतन्त्र, गणतन्त्र संघीयता र जनताको सार्वभौमसत्ताविरुद्ध अलोकतान्त्रिक शक्तिहरूको मोर्चाबन्दी स्पष्ट देखिएको छ । घोर दक्षिणपन्थीदेखि घोर वामपन्थीसम्म एकजुट भएका छन् ।’ यस्तै अभिव्यक्ति नेकपाका अध्यक्ष पुष्पकमल दाहालबाट पनि बेलाबेला आउने गरेका छन् । यही क्रममा उनले फेरि लोकतन्त्रमाथि खतरा आउने कुरा पनि गरेका थिए ।

यहाँ संविधान नमान्नेहरू पनि छन् । मान्नेहरू पनि छन् । अचम्मको लोकतन्त्र छ ।

ओली र दाहालको यस्तो अभिव्यक्ति संविधान दिवसकै आसपास आउनुको अर्थ के हुन सक्छ ? दाहालको यो भनाइमा आन्दोलनबाट प्राप्त उपलब्धि १० वर्षभित्र पनि रक्षा गर्न नसकेको लघुताभास झल्किन्थ्यो । यहाँ प्रश्न उठ्न सक्छ– संसद्मा दुईतिहाइ बहुमत भएको पार्टीका अध्यक्षले कसलाई औंलो ठड्याएका हुन् त ? यसको उत्तर सबैले बुझ्ने भाषामा नदिँदासम्म उहाँहरूको दायित्व र जिम्मेवारी पूरा नभएकैले हो भन्न जनता हिचकिचाउँदैनन् ।

दुईतिहाइ बहुमतसहित बनेको सरकारले यसरी अत्तालिनु राम्रो संकेत कदापि होइन । तसर्थ सबै दलसित बसेर विचार–विमर्श गरी कारण पत्ता लगाएर त्यहीअनुसार काम गर्नु नै उत्तम हुन्छ । तर धेरै दलबीच तानातान हुँदा भने यो सम्भव छैन । तर एउटा कुराचाहिँ के स्पष्ट छ भने यस्तो खतरा तपाईंकै दलका बिचौलिया, घुस्याहा कर्मचारी, न्यायाधीश, अनि कार्यकर्ताबाट आउन सक्छ ।

प्रधानमन्त्रीज्यू, हामी डराउनुपर्ने देशमा विकास हुन नदिनेहरू, संविधानमा मान्दिनँ भन्ने मन्त्रीहरू, गरिब जनताका लागि केही गर्न नसक्ने, आफूचाहिँ महँगो गाडी चढ्ने जनप्रतिनिधि तथा कर्मचारीहरूदेखि हो ।

हुन त नेपाल भनेकै एउटा अचम्मको मुलुक हो । यहाँ संविधान नमान्नेहरू पनि छन् । मान्नेहरू पनि छन् । अचम्मको लोकतन्त्र छ । नेपालमा संसद्बाट पारित अथवा सबै दलको सहमतिबाट आएको संविधानअन्तर्गत बनेको सरकारमा मन्त्री बन्ने, करोडौंका मोटर चढ्ने, अनि आफन्तलाई पनि यो सुविधा दिने, भत्ता खाने, अरू के के पनि खाने, तर संविधान मान्दैनौं पनि भन्ने ! यस्तो प्रवृत्ति नेपाली राजनीतिमा बाहेक अन्य कुनै देशमा हुँदैन । संविधान नमान्ने मधेसवादी दलका केही नेता संविधान दिवसकै अघिल्लो दिन विदेश लाग्ने, तर प्रधानमन्त्रीले  केही भन्न÷गर्न नसक्ने ? यस्ता मन्त्रीलाई दुईतिहाइको प्रधानमन्त्रीले तत्कालै हटाउन सक्दैन ? स्वास्थ्यमन्त्री त्यही समूहका एक नेता हुन् । देशभरि डेंगीको महामारी फैलिएको अवस्थामा स्वास्थ्यमन्त्री आफ्ना जनतालाई बेवास्ता गरेर अनावश्यक रूपमा विदेश गए । जानु नै थियो भने बरु राजीनामा दिएर गएका भए उनलाई एक कुशल राजनीतिज्ञको पगरी त लगाइदिन्थे, जनताले । जो आफ्नै खुट्टामा बन्चरो चलाइरहेका छन्, बरु त्यसतर्फ तपाईंहरूले बढी ध्यान दिनुपर्ने देखिन्छ । डेंगीबाट यति धेरै गरिब जनता पीडित हुँदाहुँदै ‘सबै व्यवस्था मिलाएको छु, यो खासै ठूलो रोग होइन’ भन्दै टाइसुट लगाएर बोइङ चढ्न उनलाई कुन नैतिकताले दियो ?

मेरा एक मित्र भन्थे– ‘नेपालमा मन्त्री र सरकारी कर्मचारी ‘नगदेश’ भन्ने देशबाट निम्ता आएको छ भने पनि खुसी हुने गर्छन् । नगदेश भन्ने पनि कुनै देश छ र ! छ भने त्यो कहाँ छ र त्यहाँ आफू जानुको उद्देश्य के हो भन्ने कुरासमेत नसोची लोभिने मन्त्री र कर्मचारी नेपालबाहेक अन्य मुलुकमा छैनन् ।’

नेपालका ठूला कवि भूपि शेरचनले उहिल्यै, नेपाल हल्लैहल्लाको देश हो भनेर यथार्थवादी कविता लेखेका थिए । यहाँ हल्ला कति छन् कति ! कविका अनुसार यहाँका हरेक घरमा जग खनेर हेर्ने हो भने हल्ला नै पाइन्छ सिर्फ हल्ला ! कुनै बेला राजसंस्था फर्किने हल्ला चल्छ त कुनै बेला प्रतिगामीहरू आक्रामक भएका छन् है भन्ने हल्ला चल्छ । कमसेकम सरकार त यस्ता हल्लामा लाग्नु हुँदैन नि ! आफू ठीक छ भने बजारे हल्ला चलिरहन्छन् । हल्लादेखि तर्सिनेले देश कसरी बनाउँछ ?  आफ्नो श्रीपेच नेपाल सरकारलाई नासोका रूपमा बुझाएर सुरुक्क दरबार छाडेका राजा कसैले फर्किंदै छन् भन्दैमा तर्सिने यो कस्तो राजनीति हो ? बरु तर्सिनुपर्ने पक्षचाहिँ अर्को छ । देशमा व्यापक रूप लिएको भ्रष्टाचार, अनियमितता, आफ्नो पार्टीबाहेक अन्य दललाई सहभागी नगराउने, आफ्नै जातभाइबाहेक अरूलाई केही पनि नसम्झने, नेताहरूका आफन्तले शक्तिका आडमा गर्ने गुण्डागर्दी, देशका लागि ठूला खतरा हुन् ।

अहिले नेपालमा भ्रष्टाचारले सीमा नाघेको छ । अदालतजस्ता न्याय दिनुपर्ने उच्च मर्यादा भएका संस्थाहरूले नै करोडौं, अर्बौंका घोटालालाई न्यायको छाप लगाइदिन्छन् । सरकारी तथा पर्ती जग्गा धमाधम व्यक्तिगत बनाइएका छन् र त्यो क्रम बढ्दो छ । यो प्रवृत्ति लोकतान्त्रिक होइन । यस्तो प्रवृत्तिसँग तर्सिनुपर्छ । नेपालका जनता त साहै्र सोझा र निमुखा छन् । हिजो बिहान ६ रुपैयाँ प्रतिकिलो किनेको तरकारी आज बिहान ६० रुपैयाँ पुगेको छ । खोइ सरकार ती अबोध जनताका पक्षमा ? पहिले–पहिले त घूस खायो रे भन्ने सुनिन्थ्यो, अहिले त बिचौलिया ठेकेदारबाट करोडौं होइन, अर्बाैं भ्रष्टाचार भएका कुरा अखबारमा आउँछन् । तर त्यसमा संलग्नलाई कारबाही भएका समाचार आउँदैनन् । यी बिचौलिया र दलालहरूलाई सरकारले नंग्याउन सक्नुपर्छ ।

नेपालले विकासका पाइला चालेको धेरै वर्ष, दशक बितिसक्दा पनि हामी अहिलेको संविधानका सन्दर्भमा बालकै अवस्थामा छौं । प्रधानमन्त्रीज्यू, हामी डराउनुपर्ने देशमा विकास हुन नदिनेहरू, संविधानमा मान्दिनँ भन्ने मन्त्रीहरू, गरिब जनताका लागि केही गर्न नसक्ने, आफूचाहिँ महँगो गाडी चढ्ने जनप्रतिनिधि तथा कर्मचारीहरूदेखि हो । यस्तो प्रवृत्तिमा सुधार गर्नेतिर लाग्ने हो भने हामी ठीक ठाउँमा छौं, विकास हुन्छ । आफू दह्रो भयौं र गलत काम गरेनौं भने कसैसँग डराउनु पर्दैन । नडराउनोस्, जनता तपाईंकै साथमा छन् । शत्रु त बाहिर होइन, घरभित्रै छन्, तिनलाई चिन्ने प्रयास गर्नोस् ।

प्रकाशित: ८ आश्विन २०७६ ११:३९ बुधबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल