१८ जेष्ठ २०७७ आइतबार
विचार

औषधिमात्र हैन उपचार

कमला गौतम

साउन अन्तिम हप्ता। धरान डेंगुको महामारीले ग्रस्त रहेछ। खासगरी धरान नपा–१६ का अधिकांश घरमा बच्चादेखि तन्नेरी हुँदै बूढासम्म बाँकी थिएनन् डेंगुबाट सताइन। त्यतिबेलै प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिएका थिए– सुनसरीमा मात्र ३ हजार २५ जनामा यसको संक्रमण भेटिएको छ। अहिले त झन् कति बढ्यो होला।

बुहारी प्रज्ञा अस्पतालको डबल बेडको क्याबिनमा निकै दिनदेखि सुतिरहेकी थिइन्। बिरामी कुर्न बसेको भाइ डक्टरको पर्खाइमा ओपिडीमा टोकन बोकेर पालो कुरिरहेको थियो। माथिल्लो घरकी हजुरआमालाई भर्खरमात्र डक्टरकहाँ पु¥याएर ल्याएको बताउँदैथ्यो। तल्लो घरकी जेठी फुपूलाई अघिल्लो दिनमात्र डक्टरकहाँ पु¥याएको रे। भन्दैथ्यो– बताएर साध्य नै छैन।

पूर्वाञ्चलकै उत्कृष्ट ठहरिएको धरानको ‘घोपा क्याम्प’ भनेर चिनिने बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खुट्टा राख्ने ठाउँ छैन। चौरदेखि चिसो सिमेन्टको भुइँमा समेत बिरामी यत्रतत्र सुतिरहेका। इमर्जेन्सी र वार्ड सबै खचाखच। रगतको नमुना संकलन गर्ने ठाउँमा पनि भीड। रिपोर्ट लिने ठाउँमा उस्तै। म आमा र बुबाको रिपोर्ट कलेक्सन गरेर हतार–हतार मेडिकल ओपिडीमा गएर टोकनका लागि लाइनमा पुर्जी राखी नजिकैको कुर्सीमा गएर बसेँ। सिलिङ फेन त घुमिरहेकै थियो तर त्यसले पनि चिसो हावा फ्याँक्ने क्षमता गुमाइसकेको थियो, मान्छेको भिडकै कारण।

मेडिकल ओपिडीमा टोकन दिने ठाउँका रमण नामक व्यक्ति रमाइला रहेछन्। उनको व्यवहार निकै राम्रो। भिडका बीच पनि झर्कोफर्को पटक्कै नाइँ। बुबाको रिपोर्टमात्र देखाउनुपर्ने भएकाले बुबा आउनुभएको थिएन। पालो कुर्दा–कुर्दा आमाचाहिँ झन् बिरामी भइसक्नुभएको थियो। यत्तिकैमा कोठा नं. ९ बाट एक डक्टर फुत्त निस्किए असिन–पसिन हुँदै। टिमका अन्य डक्टरचाहिँ भित्रै थिए। ढोकामा बस्नेले पालो आएकाको नाम बोलाउँथे। तर लामो प्रतीक्षापछि बोलाइएको नाममा पनि कोही अघि नसर्ने। भित्र छिरेका एकाध पनि हत्त न पत्त बाहिरिइहाल्ने।

एकछिन त अलमल्ल परेँ। बुझ्दै जाँदा थाहा भयो– सबैलाई अघि बाहिर निस्केकै डक्टर चाहिने रे। अरुले हेरेको नहुने रे। त्यसैले सबैजना उनैलाई पर्खेर भित्रै नपसी बसेका रहेछन्। लाइनमा बसिरहेका धेरैले गरेका खाससुख सुनिन्थ्यो– ‘अब उनी नआउने त हैनन् ?’ शायद उनीहरूको चिन्ता बुझेरै होला, ती अघि बाहिरिएका डक्टर करिब १० मिनेटपछि फर्किए। जब उनी लाइन बसेका व्यक्तिहरू हुँदै कोठाभित्र पसे, बाहिर बसेका बिरामीको अनुहारमा एकाएक मुस्कान छायो। एकछिनअघिसम्म मुर्झाएका अनुहारमा चमक देखिन थाले। मेरी आमा पनि खुसी हुनुभो। अनि अघि बाहिर निस्किएका र पस्नै गाह्रो मानेका बिरामीसमेत तँछाड–मछाड गर्दै भटाभट भित्र छिर्न थाले।

मेरी आमा ज्येष्ठ नागरिक भएर होला धेरैबेर कुर्नुपरेन। म पनि आमासँगै छिरेँ भित्र। चारजना डक्टर एकै ठाउँमा थिए। तर ती डक्टरको बिरामीसँग गर्ने व्यवहार फरक रहेछ। चालु अवस्थाको एसीबीच पनि पसिना पुस्दै उनी सबैलाई नमस्कार गर्न र फर्काउन भ्याउँदा रहेछन्। रोगबाहेकका सान्त्वनामूलक भलाकुसारीलाई पनि केही समय छुट्याउँदा रहेछन्। मानौँ, उनको व्यवहार र बोलीचालीले बिरामीको आधा रोग त्यसै निको हुने रहेछ।

आमाले समेत प्रशंसा गर्दै आउनुभएका ती डक्टरको बोलीवचन र व्यवहार प्रत्यक्ष भोग्न पाएपछि म पनि प्रशंसक नबन्ने कुरै थिएन। आमालाई लिएर घर फर्कँदै गर्दा बाटोभरि मनमा खेलिरह्यो आखिर राम्रो व्यवहार र बोलीबचन पनि ठूलै उपचार रहेछ बिरामीका लागि। धेरै स्वास्थ्यकर्मीले उनीसँग सिक्न आवश्यक छ। धन्यवाद डा. सञ्जीव।

प्रकाशित: २ आश्विन २०७६ ०९:१५ बिहीबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल