८ वैशाख २०८१ शनिबार
विचार

‘शक्ति दलाल’ देखि सावधान !

निर्वाचनमा जनादेश पाएर शासन गर्ने व्यक्तिहरूभन्दा तिनको आडमा बसेर बिनाजवाफदेही लाभान्वित हुनेहरू बढ्ता खतरनाक हुन्छन्। पञ्चायतका बेला तत्कालीन शासनसत्ताकै हिस्सा भए पनि सूर्यबहादुर थापाजस्ता नेताहरूले ‘भूमिगत गिरोह’ भन्ने शब्दलाई लोकप्रिय बनाएका हुन्। यस्तो गिरोहमा ती व्यक्ति पर्थे, जसले राज्यसत्तालाई दरबारको आडमा दोहन गरिररहेका हुन्थे। विशेषगरी राजारानी, युवराजले कानुनी हिसाबले राज्य गरिरहेका भए पनि अन्य दरबारियाले समेत त्यसलाई दुरुपयोग गर्न सक्ने अवस्था थियो। खासमा राजाका भाइहरूले गरिरहेको व्यवहार चित्त नबुझेर सीधै भन्न नसकेपछि ‘भूमिगत गिरोह’को नाम दिइएको हो। जसका निम्ति यो शब्द प्रयोग भएको थियो, तिनले पनि यसलाई बुझ्थे। राजनीतिक परिवर्तन भएको छ। हिजो सत्तामा दरबारिया रहेकामा अहिले ‘जनताका छोराछोरी’ पुगेका छन्। हिजोको सत्तामा भाइभतिजा हुन्थे भने आजको सत्तामा पनि छन्। भाइभतिजाहरूले फेरि हिजोकै ‘भूमिगत गिरोह’को रूप लिन थालिसकेको अनुभव भइरहेको छ। राज्यका विभिन्न निकायमा रहेका ठेक्कापट्टा हत्याउन, सरुवाबढुवा वा अन्य हेराफेरी गर्न, साधन–स्रोत दोहन गर्न तिनले सत्ताको आडभरोसा लिइरहेको देखिँदै छ। कतिपय प्रसंग सार्वजनिक हुन समय लाग्छ। भुक्तभोगीहरूले यो परिस्थिति नियालिरहेका हुन्छन्। ढिलो–चाँडो यस्ता खराब अभ्यास सार्वजनिक जानकारीमा आउनु पनि पर्छ। भाइभतिजा मात्र होइन, ‘क्रोनी क्यापिटलिजम’ (हजुरिया पुँजीवाद)ले समेत अहिले चकचकी गर्न थालिसकेको छ। यसले धेरैलाई निराश पनि पारिरहेको छ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’का साहिँला भाइ नरेशकुमार थापाको निकटता ‘गुन्डा नाइके’ सँग रहेको तथ्य यतिबेला सार्वजनिक भएको छ। केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग उनको नियमित भेटघाट हुने गरेको आधार पाएपछि प्रहरीले उनलाई थुनामा राखी आवश्यक अनुसन्धान गरिरहेको छ। उनको कल डिटेलबाट यस किसिमको सम्बन्ध खुलासा भएको हो। त्यति मात्र होइन, गृहमन्त्रीकै भाइ आफ्नो पक्षमा भएका कारण सबै काम मिल्न सक्छ भन्ने सन्देश आदानप्रदान भएको समेत देखिनुबाट अहिलेको शासन सत्तामा रहेका व्यक्तिका परिवारका सदस्यको समेत यस्ता गतिविधिमा संलग्नता देखिएको छ। अचेल ‘शक्ति दलाल’ समूहले यस्ता किसिमका काम गराउनु कुनै अनौठो होइन। कतिपय नेताका सन्तानसमेत यस्ता बदनामीपूर्ण काममा सक्रिय भएको देखिन्छ, सुनिन्छ। गृहमन्त्रीका भाइ पक्राउ परेको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यक्त टिप्पणीले पनि आम रूपमा नकारात्मक भाव पैदा गरिरहेको देखाउँछन्। ‘राजकुमारहरूको चर्चा थियो, अधिराजकुमार पक्राउ परेछन्,’ जस्ता सामाजिक सञ्जालका टिप्पणी हावाबिना हल्लिएका पात होइनन्। आफ्ना भाइ कुनै अभियोगमा जोडिए पनि त्यसमा अनुसन्धान गर्नुपर्छ भनी गृहमन्त्री थापाले सहजीकरण गरेका हुन् भने यो एक हिसाबले सकारात्मक हो। परिवारका सदस्यले आफैं जान्ने भएर यस्तो व्यवहार गरेका रहेछन् भन्ने विश्वास हुन सक्छ। तर, यो घटनामा गरिने निष्पक्ष छानबिन र कारबाहीले आम नागरिकलाई विश्वासको वातावरण दिने हो।

यो घटनाको एउटा महŒवपूर्ण पक्ष भनेको अहिलेको शासनसत्तामा पनि निकट व्यक्तिहरूले सत्ताको दुरुपयोग गरिरहेका छन् भन्ने हो। यो एउटा घटना सार्वजनिक भएको छ। सार्वजनिक नभएका यस्ता घटना अनेक छन्। अघिल्ला सत्ताहरू पनि त्यतिकै बदनाम भएका होइनन्। शासन सञ्चालन गर्ने व्यक्तिहरूले कानुनी हिसाबले मात्र आफ्नो अधिकार प्रयोग गर्ने, अख्तियार नभएका आफ्ना परिवारका सदस्यलाई त्यसबाट टाढै राख्न सक्ने अवस्था आवश्यक छ। कतिपय नेताका पति वा पत्नी नै शासन सत्तामा रहेका बेला बदनाम भएको देखिन्छ। कतिपयका सन्तान सत्ता दुरुपयोग गर्न सक्रिय हुन्छन्। विशेषगरी मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था सुरु भएपछि ‘स्वार्थको बझान’ अर्थात् ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ स्पष्ट पारिएको छैन। आफू सत्तामा रहेका बेला परिवारका सदस्यलाई राज्यको काममा हस्तक्षेप गर्न नदिने, आफू राजकीय काममा रहे पनि परिवारका सदस्यलाई आफूले जे गरिरहेको छ, त्यसैमा लगाउने गर्दा बदनामीबाट जोगिन सहज हुन्छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका भाइहरू जेजस्ता काममा थिए, तिनीहरू त्यही काममा रहेको समाचार धेरैपटक सार्वजनिक भएका छन्। उनकी आमा हीराबेनसमेत छोराको शासनको कामबाट टाढै रहेको देखिन्छ। एउटा राजनेताले आफूलाई कसरी समर्पित गर्ने भन्ने यसैबाट प्रस्ट हुन्छ। लोकतान्त्रिक शासन व्यवस्थाका निम्ति हिजो संघर्ष गरेका नेताका परिवार, सन्तान र तिनका निकट ‘शक्ति दलाल’ले हिजोको ‘भूमिगत गिरोह’को काम गर्न थाले भने शासन व्यवस्था कमजोर हुनेछ। लोकलाई आश्वस्त पार्नु नेतृत्व वर्गको जिम्मेवारी हो।

प्रकाशित: २९ भाद्र २०७६ ०६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App