१६ चैत्र २०८० शुक्रबार
विचार

आतंकलाई आशीर्वाद

रसियामा बोल्सेभिकहरूले लाखौँ मानिसको हत्या गरे। सन् १९१७ मा सुरु भएको एकदलीय अधिनायकवाद अमानवीय, क्रूर, आतंकपूर्ण र जघन्य अपराध थियो। त्यसकै नक्कल गरे क्युबा, कम्बोडिया, चीन, पोल्यान्ड, पूर्वजर्मनी, हंगेरी, उत्तर कोरिया, रोमेनिया, चेकोस्लोभाकिया, अल्वानिया, भियतनाम आदि देशका कम्युनिस्टले। चारु मजुमदार, जंगल संथाल र कानु सन्यालले सुरु गरेको ‘नक्सलवादी’ आन्दोलन मेची नदीपारिको नक्सलबारी बजारबाट सुरु भयो, सन् १९६० को दशकमा। व्यक्ति हत्याको लहर झापामा पनि फैलियो। ‘झापा विद्रोह’ भनिएको कथित ‘राजनीतिक’ विद्रोहमा कम्युनिस्टहरूले १३ जनाको हत्या गरे। मर्नेहरू अधिकांश निम्न र मध्यम वर्गका किसान थिए।

२०५२ फागुन १ गतेबाट माओवादीले रक्तपात मच्चायो। १७ हजार ८ सय जनाको हत्या (शान्ति मन्त्रालयको तथ्यांक) चानचुने कुरा थिएन। भारत र पश्चिमा राष्ट्रले त्यसलाई ‘राजनीतिक विद्रोह’ भन्दै मान्यता दिए। भारतले नेपाली राजनीतिका ७ दल र सशस्त्र माओवादीबीच सम्झौता गराइदियो। प्रणव मुखर्जी र रअका उच्चपदस्थहरूले यसबारे बोलेका छन्। धेरै कुरा एके यादव र प्रा. एडी मुनीहरूले लेखिसकेका छन्। पुष्पकमल दाहाल र बाबुराम भट्टराईलगायतका नेताले नेपालको गणतन्त्र आफूले स्थापना गरेको दाबी गरे पनि त्यो झुटो भएको भारतीय राजनीतिज्ञ, विश्लेषक र उच्चपदस्थ कर्मचारीहरूको कथन छ।

पुष्पकमल दाहालले २०७२ भदौ ७ गते टीकापुरमा भएको जातीय नरसंहारलाई ‘राजनीतिक विद्रोह’ भनेका छन्। सत्ता चलाउने दलका अध्यक्षले बोलेपछि पार्टीको आधिकारिक धारणा हुँदै होइन भन्न मिल्दैन। सचेत अवस्थामै बोलेको हो भने भोलिका दिनमा अराजक भीडले टीकापुरमा झैँ जसलाई घेरेर मारे पनि ‘राजनीतिक विद्रोह’ मान्नैपर्ने अवस्था आउन सक्छ। त्यसले मलजल गर्छ अराजकतालाई।

केही ऐतिहासिक उदाहरण हेरौँ। मकवानपुरमा २० वर्ष राज्य गरेका माणिक सेनको शरीरान्तपछि उनका जेठा छोरा हेमकर्ण राजा भए। उनकै छोरी इन्द्रकुमारीसँगपृथ्वीनारायण शाहको विवाह भयो। भनिन्छ, सुसुरालीबाट फर्किँदा चन्द्रागिरी पर्वतको टाकुराबाट पहिलोपल्ट काठमाडौँ उपत्यका देखे उनले। त्यहीबेला उनको अन्तरमनमा ‘तीन सहरको राजा हुन पाया हुँदो हो’ भन्ने विचार फु¥यो। सो विचार एउटा महान् अभियानको बीऊ थियो।

धादिङगढीमा केही दिन आराम गरेर ‘गोर्खा’ फर्किए पृथ्वीनारयण शाह। ससुरा हेमकर्ण जीवित छँदै जेठान दिग्वन्धन सेनसित ठाकठुक परेको थियो। हेमकर्ण मरेपछि पृथ्वीनारायणले काजी वंशराज पाण्डे, काजी दलजीत शाह, चौतरिया दलमर्दन शाह, काजी शुरप्रताप शाहलगायतका कमान्डर पठाएर मकवानपुर कब्जा गरे। त्यो युद्ध अर्थपूर्ण ठहरियो।

पृथ्वीनारायणको पतन गराउन राजा दिग्वन्धन सेनले मन्त्री कनकसिंह बानियाँलाई सैनिक कूटनीतिमा सक्रिय गराए। विदेशी शक्तिको सहायता लिएर भए पनि आफू शक्तिशाली हुने इच्छा राख्दै मुर्सिदावादका शासक मीर कासिम (नवाव कासीम अलि खाँ) समक्ष सैनिक पठाइदिन अनुरोध ग¥यो मकवानपुरले। त्यसबेला बहादुर सेनापति मानिएका गुर्गिन खाँ ठूलो तयारीका साथ गोर्खाली सैनिकसँग भिड्न आए। तर त्यो प्रयास प्रत्युत्पादक बन्यो। पृथ्वीनारायणले जितेको मकवानपुरमा उनीहरू केही दिनमात्र टिके।

जीवन शाह, केशरसिंह बस्नेत, वंशराज पाण्डे, हर्ष पन्त, रामकृष्ण कुँवर, नाहरसिंह बस्नेत र दुर्लभ खत्रीलगायतका योद्धाले धपाए ती विदेशी सेनालाई। हार खाएर अन्त्यमा दिग्वन्धन सेनले आत्मसर्पण गरे। जेठानलाई गोर्खामा लगेर थुने पृथ्वीनारायणले। विदेशी शक्ति बोलाएर गोर्खा र गोर्खालीलाई माटोमा मिलाउन खोज्ने दिग्वन्धनले पश्चाताप गरेको इतिहासकारहरूको मत पाइन्छ।

पुष्पकमल दाहाल र बाबुराम भट्टराईलगायतका नेताले नेपालको गणतन्त्र आफूले स्थापना गरेको दाबी गरे पनि त्यो झुटो भएको भारतीय राजनीतिज्ञ, विश्लेषक र उच्चपदस्थ कर्मचारीहरूको कथन छ।

रोचक कुरा त के छ भने सेन राजाले आफ्ना मन्त्री बानियाँ क्षत्री र पुरोहित मानेका अर्जेल बाहुनहरूबाटै धोका पाएको सूचना प्राप्त गरेपछि हाँस्यास्पद श्राप दिएछन्–‘बानियाकी छोरीलाई पोइ नफापोस्। अर्जेल बाहुनहरूलाई पुरोहित्याइँ नफापोस्। ‘रामविलास’ चामलको बास्ना नआओस्।’ मकवानपुरका बूढापाकाको किंबदन्ती आज पनि सुनिन्छ।

लाखौँ मानिसको हत्या गरेर एकछत्र शासन चलाउन खोज्ने शासकहरूले आफ्ना हरेक कर्मलाई ‘उचित’ प्रमाणित गर्न ‘विद्रोह, राजनीतिक विद्रोह र परिवर्तनको चाहना’ भन्ने गरेका छन्। अफगानिस्तानका कम्युनिस्ट नेता नजिबुल्लाह, भियतनामका हो चि मिन्ह, क्युवाका फिडेल क्यास्त्रो, चीनका माओ, रसियाका लेनिन÷स्टालिन, रोमानियाका निकोलाई चाउचेस्कु, कम्बोडियाका पोलपोट आदिले ‘राजनीतिक विद्रोह’ भन्ने खोल ओढेर लाखौँ विरोधीलाई समाप्त पारे। अपराध, आतंक र दमनलाई वैधानिकता दिएर यदाकदा साम्राज्यवादी र विस्तारवादीले पनि उग्रवादी, पृथकतावादी र साम्यवादीलाई नै हतियार बनाएका उदाहरण छन्।

इग्नाजिओ सिलोनीको कथन छ– ‘विद्रोह रुख जस्तै हो, फल हेरेर मूल्यांकन गरिन्छ।’ दश वर्षे कथित जनयुद्धले नेपाल र नेपालीलाई कति उपलब्धि भयो ?  प्रश्न अनुत्तरित छ। द्वन्द्वका बेला माओवादीले गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता, माधव नेपालकी पत्नी गायत्री, शेरबहादुर देउवाकी पत्नी आरजुलगायतको हत्या गरेको भए संसद्मा रहेका ठूला दलले दिल्ली गएर भारतीयहरूको दबाबमा १२ बँुदे सम्झौता गर्ने थिए कि थिएनन् ? आफ्ना हजारौँ कार्यकर्ता र निर्दोष जनता मार्नेहरूलाई ‘लोकतान्त्रिक’ शक्ति मान्ने थिए कि थिएनन् ? यस्ता प्रश्न भावी सन्तानले पनि सोध्नेछन्।

रामलीला नाटक सुरु नहुँदै राम र रावण पर्दापछाडि खैनी मोलेर बाँडिचुँडी खान्छन्। मञ्चमा भने भीषण युद्ध भएको अभिनय गर्छन्। नेपाली राजनीति त्यस्तै छ। सबै कुराको तयारी पर्दापछाडि हुन्छ। आज पनि त्यही भइरहेको छ। सिंहदरबार, संसद् र सडकमा बोल्नेहरूको भाषा फरक छ। जनता भन्छन्– राष्ट्रलाई शिरमा राखौँ, ठूला दलले भिरमा पु¥याएका छन्।

अंगोलामा अगोस्तिनो नेतो भन्ने कम्युनिस्ट नेता थिए। उनी र अरु केही मनोरोगीले सो देशलाई नर्क बनाए। ३६ वर्ष चल्यो गृहयुद्ध। कल्पना गरौँ, कति क्षति भयो होला ? इथियोपियाका मेङ्गिस्तु हेली मरियम त्यस्तै कम्युनिस्ट नेता हुन् जसले गृहयुद्धको आगोमा जलाए त्यो देश। युद्धमा लाखौँ जनता मरे। अपराध र नरसंहारलाई ‘पोलिटिकल्ली करेक्ट’ ठान्ने निरंकुश सोचबाट ग्रस्त पुष्पकमल दाहाल र उनका चेलाचेलीले कैलालीमा एक शिशुसहित ७ जना प्रहरीको नरसंहार तथा त्यस क्रममा भएको ठूलो विनासको समर्थन गरेका छन्। टीकापुर जस्तै हजारौँको हत्या गर्ने÷गराउनेहरूले आफ्ना जघन्य अपराधलाई ‘राजनीतिक विद्रोह’ मान्दै आएका छन्। नेपालको शासन उनीहरूकै हातमा छ। त्यसैले जनताले आफूलाई आज पनि असुरक्षित ठानिरहनुपर्ने अवस्था छ। जनता मौन बसिरहे भने भविष्यमा घर–घरमा आतंक फैलिन सक्छ र हरेक गाउँ बन्नेछन् टीकापुर। के हामीले खोजेको त्यही हो ?

पुष्पकमल दाहालले २०७२ भदौ ७ गते टीकापुरमा भएको जातीय नरसंहारलाई ‘राजनीतिक विद्रोह’ भनेका छन् । सचेत अवस्थामै बोलेको हो भने भोलिका दिनमा अराजक भीडले टीकापुरमा झैँ जसलाई घेरेर मारे पनि ‘राजनीतिक विद्रोह’ मान्नैपर्ने अवस्था आउन सक्छ ।

न्युरेम्बर्ग ट्राइबुनलको धारा ६ (ग) मा नरसंहार, मानवता विरोधी कुकर्म र जघन्य अपराधको परिभाषा स्पष्ट छ। संयुक्त राष्ट्र संघले अनुमोदन गरेको छ त्यसलाई। नेपाललाई अस्थिर बनाएर चीन र भारतलाई पनि कमजोर बनाउने पश्चिमा रणनीतिअनुसार राष्ट्र संघलाई पनि थर्काउने महाशक्ति र अरू वैदेशिक शक्ति मिलेर नेपालमा जुन पद्धति ल्याएका छन्, त्यसले यहाँको प्राचीन सभ्यता, परम्परागत धर्म÷संस्कृति, इतिहास खरानी बनाउनेछ। सन् १९२७ को नोभेम्बर १३ तारिखमा सोभियत ट्रेड युनियनका शक्तिशाली कम्युनिस्ट नेता मिखाइल टम्स्कीले भनेका थिए– ‘कान खोलेर सुन, यो देश कम्युनिस्टको हो। यहाँ उनीहरूकै हुकुम चल्छ। जसले विरोध गर्छन्, उनीहरू जेलमा हुनेछन्।’ यसैलाई भनिन्छ अधिनायकवाद।

कम्युनिस्टलाई ‘दुईतिहाइ’ बन्दूक दिएर प्रेस स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, शान्ति, सुरक्षा, सभ्यता र शालीन संस्कारको आशा गर्नेहरू पनि मूर्ख सावित भएका छन्। राष्ट्रका यावत् संयन्त्र कब्जामा लिने, बीसौँ वर्ष शासन गर्न अर्बौँ रुपियाँ थुपार्ने र तस्कर, भ्रष्ट, अपराधी सबैसँग ‘घाहा’ राखेर जनतालाई गुमराहमा राख्ने रणनीति स्पष्ट देखिँदैछ।

सरकार हाँक्ने दलको अध्यक्षले नै अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र संघको निर्देशन र मर्म, स्वतन्त्रता, मानव अधिकार तथा प्रजातन्त्रका न्यूनतम मूल्य÷मान्यतालाई चुनौती दिँदै जाने अनि सरकारले ‘विधिको शासन’ चलाउने वाचा गर्दा त्यसको परिणाम के हुन्छ ? नेकपाको नेतृत्व र वर्तमान सरकारले जतिसुकै ठुलठूला गफ गरे पनि न विश्वले पत्याएको छ न त जनताले। तसर्थ हामी एउटा गम्भीर संक्रमणको सिकार बनिरहेका छौँ।

प्रकाशित: २७ भाद्र २०७६ ०३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App