७ वैशाख २०८१ शुक्रबार
विचार

प्रधानमन्त्रीको ‘भिडियो कन्फरेन्स’

दुर्गानाथ शर्मा

प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) दोस्रोपटक उपचारपश्चात् सिंगापुरबाट भर्खरै स्वदेश फर्किनुभएको छ। पहिलोपटकको उपचार पूरा नभएपछि उहाँ फेरि सिंगापुरमा जानु भएको थियो।प्रधानमन्त्री ओलीले दोस्रोपटकको सिंगापुर बसाइमा पहिलोपल्ट विदेशबाटै मन्त्रिपरिषद् बैठक गर्नुभयो। सञ्चार प्रविधिले दिएको इन्टरनेट सुविधा प्रयोग गरेर उहाँले टेलिप्रिजेन्स प्रविधिबाट काठमाडौंमा रहेका आफ्ना मन्त्रीहरू सित वार्ता गर्नुभएको थियो। यस विषयमा अझै  चर्चा÷परिचर्चा जारी छ।

सुरुमा यसलाई बैठक भनिएकामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीको त्यो बैठकलाई पहिलोपटक त बैठकै भन्नुभयो तर पछि होइन भनेर ढाँट्नुभयो। मन्त्री बाँस्कोटाले प्रतिनिधि सभालाई पनि मन्त्रिपरिषद् बैठक नबसेको भनेर झुक्याउनुभयो। तर स्वयं प्रधानमन्त्री ओलीले पहिलोपल्ट टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषद् बैठक बसेको भन्दै ट्विटरमा फोटो सार्वजनिक गर्नुभएको थियो।

यसबाट के स्पष्ट हुन्छ भने प्रधानमन्त्री र सिंहदरबारको सञ्चार मन्त्रालयलाई सिंगापुरको बैठक र भिडियो कन्फरेन्सबारे जानकारी नै रहेनछ। सूचना प्रदान गर्ने मन्त्री नै बेखबर देखियो। यसले के देखायो भने प्रधानमन्त्री र सञ्चारमन्त्रीबीच यस विषयमा समन्वय र छलफल भएकै रहेनछ। जनताले यही अनुमान गरे। 

प्रधानमन्त्री सिंगापुरमा स्वास्थ्य उपचारमा रहेका बेला मन्त्रिपरिषद् बैठक बस्नु नै अचम्मको कुरा हो। मन्त्रिपरिषद् बैठक भनेको सार्वभौम विषय हो। बैठक बसेकै भए पनि बैठकमा कुन–कुन विषयमा छलफल भयो, त्यो जानकारी दिनुपर्ने हो तर दिइएन। विदेशमा उपचार गर्न गएका प्रधानमन्त्रीसमक्ष देशमा कुन संकट प¥यो र मन्त्रिपरिषद् बैठक नै गर्न आवश्यक प¥यो ? यसबारे कसैले केही जानकारी दिएका छैनन्। बैठक बस्यो कि बसेन भन्ने कुरामा यति धेरै वादविवाद गर्नु के जरुरी थियो ? मन्त्री बाँस्कोटाबाट, बैठकका विषय गोप्य राखिए पनि यो नयाँ प्रविधि(नेपालका लागि) को परीक्षण गरिएको थियो भनेर जानकारी गराउने प्रयत्न भइदिएको भए पनि यी नकारात्मक कुरा आउने नै थिएनन्।

यो ‘डिएसएनजी–सि–ब्यान्ड’मा ‘इन्कोडेड मोडुलेटर’ इन्टरनेट प्रयोगबाट सिंगापुरमा खिचेको फोटो ‘अप कन्भर्टर’बाट ४०० वाट ‘वान प्लस पिए’मार्फत १.८ एन्टेना प्रणालीबाट प्रसारण गरी दृश्य नेपालमा प्राप्त भएको हो। यो प्रविधिबाट जहाँसुकैको दृश्य पनि प्रसारण गर्न सकिन्छ। सिंगापुरमा प्रधानमन्त्रीको कोठामा राखेको फोटो क्यामेराले त्यहाँको प्रसारण गर्छ भने त्यस्तै व्यवस्था सिंहदरबारमा पनि गरिएको हुन्छ। दुवै तर्फबाट बोलेको दृश्य प्रसारण हुन्छ।

अहिले सञ्चार प्रविधिको यति ठूलो विकास भएको छ कि पृथ्वीको कुनै पनि कुनामा भएका कामकुरा तत्काल विश्वव्यापी रूपमा प्रसारण गर्न सकिन्छ। मलाई सम्झना छ– नेपाल टेलिभिजन प्रारम्भका दिनमा १३÷१४ किलोको एउटा क्यामेरा काँधमा भिरेर अर्को काँधमा ८ किलोको ध्वनी रेकर्डर भिर्नुपथ्र्यो ! त्यसमा पनि एउटा ब्यागमा जगेडा ब्याट्री, क्यासेट र केबुलहरू गरी एउटा मान्छेले बोक्न नसक्ने भारी बोकेर छायांकनका लागि डाँडाकाँडा कुद्नुपथ्र्यो। नेपाल टेलिभिजनमा त्यसबेला क्यामेरा चलाउने मान्छे कति बलियो छ भन्ने पनि एउटा योग्यता मानिन्थ्यो। त्यो युग र हत्केलामा संसार अटाउने अहिलेको यो मोबाइल युगको तुलनै हुन सक्दैन।

प्रविधि सधैं उही रहँदैन। विकास भइरहेको हुन्छ। भिडियो कन्फरेन्स त्यसैको उपलब्धि हो। अहिले एउटा हातमा अटाउने सानो क्यामेरा बोकेर पनि दृश्य खिच्न सकिन्छ। नेपाल टेलिभिजनले त्यस्तै एउटा प्रयत्न यो भन्दा पहिले नै गरिसकेको छ। माधव नेपाल प्रधानमन्त्री भएको २०६६ मंसिर १९ (२००९ डिसेम्बर १८) मा सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद् बैठक बसेको थियो जुन समाचार महाशाखाका अहिलेका निर्देशक, त्यतिबेलाका सञ्चारदाता राजु सिलवालको नेतृत्वमा टोली गएर प्रत्यक्ष प्रसारण गरेका थियो।

त्यो बैठकको अजेन्डा एउटै थियो– हिउँ पग्लेर हिमाल हराउँदै र बिलाउँदै गएकाले त्यो क्रम कसरी रोक्ने ? त्यतिबेला हिमाल सुक्खा डाँडाजस्ता देखिन थालेका थिए। यसले हिमशिखर आरोहण गर्ने अन्तर्राष्ट्रिय टोलीलाई समेत समस्या पर्ने भएकाले यसबारे के गर्ने भन्ने बैठक सबैका लागि महत्वको थियो।

त्यसबेला मन्त्रिपरिषद् बैठकको छायांकन गर्न नेपाल टेलिभिजनले स्याङबोचेमा डिएसएनजी भिडियो प्लेसहितको मिडिया सेन्टर(प्रसारण केन्द्र) स्थापना गरेको थियो। त्यहाँबाट डिएसएनसीमार्फत एसिया–स्याट्को भूउपग्रहको ‘स्पेस सेग्मेन्ट’ प्रयोग गरी श्रव्य÷दृश्य अपलिंक गर्ने र काठमाडौंस्थित केन्द्रीय कार्यालयमा डिस्क एन्टेना प्रयोग गरी प्राप्त दृश्यलाई नेपाल टेलिभिजनको थाइ–क्रम भूउपग्रहमार्फत विश्वका ११६ देशमा हेर्न सकिने व्यवस्था गरिएको थियो। त्यसैले सिंगापुरको बैठक विदेशबाट प्रत्यक्ष प्रसारण गरिएको दोस्रो घटना थियो।

श्रव्य/दृश्य छायांकनका लागि सगरमाथा आधार शिविरबाट नजिकै रहेको कालापत्थरबाट हेलिकप्टरमा क्यासेट पु¥याई दिनको चारपटक मिडिया सेन्टरबाट प्रसारण गर्ने प्रबन्ध मिलाइएको थियो। त्यो प्रसारण विदेशका थुप्रै टेलिभिजनले पनि प्रसारण गरेका थिए। यसरी नेपाल टेलिभिजनले पहिलादेखि यस्ता प्रसारण गर्ने गरेको थियो। यसपटक पनि नेपाल टेलिभिजनलाई यो काम सुम्पेको भए सायद यति विवाद हुने थिएन। नेपालको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को त्यो बैठकले दशबुँदे घोषणापत्र पनि जारी गरेको थियो।

त्यसलै यस्तो प्रसारण गर्दा विषयवस्तुकोे महत्व, कसका लागि प्रसारण हुने हो, सबै निश्चित गरेर व्यवस्थित गर्न सक्नुपर्छ। त्यो काम एक जनाले मात्र गर्ने होइन, नेपाल टेलिभिजनजस्तो संस्थालाई सुम्पनुपर्छ। माथि उल्लिखित विषय विदेशमा पनि आकर्षक मानियो।  किनभने त्यो हरेक वर्ष नेपालमा पर्वतारोहणका लागि आउने कैयौं पर्वतारोही र त्यससम्बन्धी संस्थाको पनि सरोकारको विषय थियो।

यसपटक सिंगापुरको टेलिप्रिजेन्समा बरु प्रधानमन्त्रीको उपचार भइरहेको अस्पतालका वरिष्ठ डाक्टरसँग प्रधानमन्त्रीको रोगबारे सानो अन्तर्वार्ता गरेर प्रसारण गरेको भए प्रविधि परीक्षण पनि हुने थियो र नेपाली जनताले पनि आफ्ना प्रधानमन्त्रीको स्वास्थ्यबारे उचित जानकारी पाउँथे। मन्त्रिपरिषद्का सामान्य अजेन्डामा यत्रो खर्च गर्नुभन्दा अलि महŒवका र अन्तर्राष्ट्रिय चासोसमेत भएका विषयमा यस्ता कार्यक्रम गरेको भए बेस हुने थियो। यस्तो कामका लागि नेपाल टेलिभिजन प्रविधिलगायत जनशक्तिका दृष्टिले समेत सक्षम भइसकेको छ। प्रधानमन्त्रीको कार्यालयमा जागिर खान गएका थुप्रै वरिष्ठ सञ्चारविद्ले यस्तो सल्लाह प्रधानमन्त्रीलाई दिएको भए राम्रो हुने थियो। बैठक हो वा होइन भन्नेबारे वादविवादै गर्नुपर्दैन। पर्दामै सबै स्पष्ट देख्न सकिन्छ।

प्रकाशित: २२ भाद्र २०७६ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App