coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

सकारात्मक सन्देश

निराशाजनक समयमा कहिलेकाहीं साधारण विषयले पनि बढी खुसी दिन सक्छ। त्यसमा पनि हामी नेपाली सानै कुराले पनि बढी खुसी हुनेमा पर्छौं। नागरिकलाई खुसी पार्ने मात्र होइन, त्यसको मापन पनि गर्ने कुरा सरकारबाट पनि बेलाबेला आउने गरेका छन्। वास्तवमा हामी सानातिना कुराले पनि चाँडै निराश हुने र थोरै काम हुँदा पनि खुसी हुनेमा पर्छौं। यस अर्थमा सरकारले थोरै मात्र प्रयास गर्ने हो भने पनि नागरिकलाई खुसी राख्न सक्छ। ठूलठूला बाटाघाटा तत्काल बनाउन नसके पनि खाल्डाखुल्डी टालिदिने हो भने पनि हामी खुसी हुन सक्छौं। सरकारी कार्यालयमा वातानुकूलित(‘एसी’वाला) कोठामा राखेर सेवा नदिए पनि कर्मचारीले सर्वसाधारणसँग झर्कोफर्को नगरी काम गरिदिए झनै खुसी लाग्छ। त्यसमा पनि कर्मचारीले म बसेर तपाईंको काम सकिदिइहाल्छु भन्ने हो भने सर्वसाधारण नेपालीको खुसी कति बढ्थ्यो होला ? जसको जस सीधै सरकारलाई जानेछ। सडकमा निस्केर हतारमा गन्तव्य पुग्नुपर्ने बेला ट्याक्सी चालकसँग धेरै मोलमोलाइ गर्नै नपरी जान पाइयो भने खुसीको सीमा रहन्थेन। अझ मन पग्लिएर ती चालकले पाउने भाडामा थप टिप्स पनि पाउँथे। तर यस्ता कुरा कल्पना मात्र हन्, यतिबेला। यसरी पनि सोच्ने हो भने हामी निकै फरक हुनेछौं। हाम्रा निम्ति खुसीका नयाँ पाटा फेला पर्ने छन्। यति कामका लागि सरकारले जबर्जस्ती कानुन लगाउनुपर्ने पनि होइन। सर्वसाधारण आफैंले यसमा सचेत भएर काम गर्न थाल्ने हो भने जताततै सकारात्मक चर्चा हुन थाल्नेछ। त्यसको सकारात्मक प्रभाव सरकारको काममै पर्ने छ। जताततै सरकार राम्रो भएको सन्देश पनि जाने छ। अनि हामी नेपालीको चरित्र पनि बदलिन थालेको चर्चा हुन थाल्नेछ।

कुरा धेरै ठूलो होइन। भान्छामा विषादीको मात्रा धेरै भएको भनेर हामी निकै चिन्तित छौं। सरकारले विदेशबाट आयात हुने तरकारी र फलफूलमा रहेका विषादी जाँच गर्ने तयारी गरेकै बेला यहाँ विवादका विषय पनि उत्पन्न भए। फेरि बीचैमा त्यसलाई स्थगित गर्नुपर्ने अवस्था पनि आयो। एकातिर, महँगी साह्रै बढेर सर्वसाधारणको ढाँड भाँचिने अवस्था छ। त्यसमाथि पनि विषादी भएका फलफूल र तरकारी बजारमा धेरै हुनु भनेको सर्वसाधारणले मन शान्त राख्ने बाटै नपाउनु हो। आयातित फलफूल र तरकारी मात्र होइन, स्वदेशी उत्पादनमै पनि विषादीको मात्रा धेरै भएको भन्ने यहाँ चर्चा भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत भाषणक्रममा अति विषादी प्रयोगबारे सर्वसाधारणलाई सचेत बनाउने गरी आफ्ना अभिव्यक्ति दिएका हुन्। अझ माछालाई ताजा राख्न प्रयोग हुने केमिकलले जनस्वास्थ्यमा गम्भीर असर मात्र पार्ने होइन, मानिसको उर्वरा शक्तिमै घात गर्नेसमेत उनले बताएका हुन्। आखिर यस्ता अभिव्यक्तिले पनि सर्वसाधारणलाई सचेत बनाउनेरहेछ। बिस्तारै विषादी प्रयोग कम गर्नुपर्छ भन्ने जानकारी किसानका कानमा समेत पुगेको संकेत देखिन थालेको छ। अहिले भर्खरै खबर आएको छ– तरकारीमा सोचेजति विषादी छैन। वास्तवमा यो साह्रै खुसी हुनुपर्ने पक्ष हो। केही समयअघि हामीकहाँ विषादी धेरै भएको चर्चा÷परिचर्चाले यति सचेत हुन मद्दत गरेको हो भने यो ज्यादै सकारात्मक काम हो। सकेसम्म विषादी प्रयोग गरी तरकारी तथा फलफूल उत्पादन नगर्न सर्वसाधारणलाई सचेत गराउन सकिन्छ।

राजधानी काठमाडौंस्थित कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको विषादी अवशेष दु्रत विश्लेषण ल्याबमार्फत गरिने दैनिक परीक्षणमा विषादी मात्रा कम देखिएको मात्र होइन, भान्छामा पुग्दा यसको प्रभाव न्यून भइसक्ने जानकारीसमेत आएको छ। गत आर्थिक वर्ष २०७५÷७६ मा तरकारीका ३ हजार १ सय २४ नमुना परीक्षण गरिएकामा दुईवटा मात्र खान अयोग्य देखिएका थिए। यसभन्दा अघिल्लो वर्ष गरिएका १ हजार ८ सय १० परीक्षणमा पनि तीनवटा मात्र खान अयोग्य रहेको पाइयो। त्यस्तै चालु आर्थिक वर्षमा गरिएका ३ सय ४१ परीक्षणमा एउटा मात्र खान अयोग्य देखिनु भनेको निकै गजबको जानकारी हो। यसले हामीमा हाम्रा उत्पादनको उपभोगमा ढुक्क हुने अवस्था सिर्जना गर्छ। राजधानी काठमाडौं छेउछाउकै किसानले पनि धेरै विषादी प्रयोग गरेको विगतमा गुनासो हुने गरेको हो। यस विषयमा समाचार र टिप्पणी पनि प्रकाशन÷प्रसारण भएका हुन्। तर अहिले आएर यसमा सचेत हुने क्रम बढेको देखिन्छ। नियमित रूपमा तरकारी तथा फलफूलमा रहेका विषादी परीक्षण गर्ने हो भने यसले किसानलाई सचेत बनाउन मद्दत गर्छ। साथै विषादी हाल्नु अनैतिक काम हो भन्ने सन्देश जान जरुरी छ। आफूले उत्पादन गरेको वस्तु ढुक्कसँग उपभोग गर्न सक्ने अवस्था सिर्जना गर्नु आफैंमा आचारयुक्त व्यवहार हो। यस्ता उत्पादक किसानमा यस्तो धारणा बढाउनु अति आवश्यक हुन्छ। यसो भएमा आफ्नो उत्पादनप्रति सकारात्मक सन्देश मात्र प्रवाह हुँदैन, खुसी बढाउन पनि मद्दत पुग्छ। आखिर खराब कुरा मात्र सोच्ने र खराब मात्र हुन्छ भन्ने कुरा विस्तार गर्ने हो भने सबैले त्यसरी नै सोच्छन्। होइन, यहाँ राम्रो पनि भइरहेको छ भन्ने सकारात्मक सन्देश प्रवाह भयो भने त्यसले सकारात्मक वातावरण बनाउँछ। कम्तीमा तरकारीमा विषादी कम भएको खबरले पनि हामीलाई खुसी तुल्याउन सक्छ। यस्तो सकारात्मक सन्देश सबै क्षेत्रमा फैलिन थालोस्।

प्रकाशित: २० भाद्र २०७६ ०६:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App