७ वैशाख २०८१ शुक्रबार
विचार

प्रधानमन्त्रीको स्वास्थ्य

राष्ट्राध्यक्ष वा सरकार प्रमुखको स्वास्थ्य व्यक्तिगत कुरा मात्र होइन, सार्वजनिक चासोको विषय हो। जसबारे जान्न पाउनु सबैको अधिकार हो। प्रत्येक नागरिकलाई आफ्ना प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे थाहा पाउने हक छ। आफ्नो मुलुक हाँक्ने व्यक्तिको स्वास्थ्यबारे जानाकरी पाएपछि सर्वसाधारण आश्वस्त हुन्छन्। केही समययता प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे सर्वत्र चिन्ता र चासो भइरहेको छ। स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री साउन २७ गते फर्किएका थिए। त्यसको १० दिनपछि नै  बिहीबार उनी स्वास्थ्योपचारकै लागि पुनः सिंगापुर जाँदै छन्। १२ वर्षअघि मिर्गाैला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँचबारे अनौपचारिक स्रोतहरूबाट मात्र जानकारी सार्वजनिक भएका छन्। प्रधानमन्त्री आफैं, उनको सल्लाहकार समूह वा चिकित्सक टोलीबाट उनको स्वास्थ्यबारे कुनै जानकारी गराइएको छैन। यसर्थ अन्योलमै उनको स्वास्थ्यबारे चर्चा हुनु उचित होइन। र, सरकार प्रमुखको स्वास्थ्य आमचासोको विषय हुनाले त्यसलाई सार्वजनिक जानकारीमा राख्नु उपयुक्त हुन्छ। कुनै व्यक्तिले आफ्नो निजी स्वास्थ्यबारे जानकारी गोप्य पनि राख्न सक्छ तर राज्यले आफ्ना प्रमुखबारेकोे जानकारी लुकाइरहनु उचित हुँदैन। यसै पनि लोकतान्त्रिक शासन व्यवस्थामा आफूलाई शासन गर्ने व्यक्तिका अवस्थाबारे जानकार हुन पाउनु स्वाभाविक मानिन्छ।

बुधबार गृहमन्त्रालयमा बसेको संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले विरोधीले आफूलाई ‘मरी हालोस्’ भनेर प्रचार गरेको गुनासोसमेत गरेका छन्। साथै उनले आलोचकहरूलाई आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौतीसमेत दिएका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे गलत प्रचार गरिएको गुनासो गरेका छन्। वास्तवमा उनको स्वास्थ्यबारे गलत प्रचार भएको भन्दा पनि सम्बन्धित निकायबाट यथार्थ जानकारी सार्वजनिक नभएको हो। यस्तो अवस्थामा अनुमान गर्नुको विकल्प हुँदैन। लोकतान्त्रिक शासन व्यवस्थामा आफ्ना प्रमुख कार्यकारीको स्वास्थ्यको जानकारी दिइन्छ। तर अलोकतान्त्रिक एक दलीय व्यवस्था भएका वा साम्यवादी मुलुकमा लामो समयसम्म आफ्ना नेताको स्वास्थ्यबारे जानकारी दिइँदैन, लुकाइन्छ। यस्तो अभ्यास कुनै बेला अमेरिकामा समेत भएको थियो। तत्कालीन राष्ट्रपति जोन अफ केनेडीलाई ढाडको समस्या भएर औषधि दिने गरिएको भए पनि त्यसलाई लामो समयसम्म लुकाइको थियो। पछि उनले खाने औषधिबारे सूचना सार्वजनिक भएपछि त्यसो गर्नु उचित होइन भन्ने सुझाव दिइएको धेरै भएको छैन। अहिले अमेरिकामा राष्ट्रपतिको सम्पूर्ण स्वास्थ्य जाँच गरी प्रत्येक वर्ष सार्वजनिक गर्ने चलन छ। यसै क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य जाँच गर्दा तौल बढी भएको देखिएपछि नियन्त्रण गर्ने सुझाव दिइएको समाचार सार्वजनिक भएको सबैको सम्झनामै छ। बढी तौल भएका राष्ट्रपतिलाई व्यायाम गर्न सुझाव दिनुको अर्थ मुलुकका कार्यकारीले शरीर स्वस्थ राख्नुपर्छ भन्ने सन्देश हो। स्वामी विवेकानन्दले भनेका छन्– ‘स्वस्थ शरीरमै स्वस्थ मस्तिष्क हुन्छ।’

बुधबार गृहमन्त्रालयमा बसेको संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले विरोधीले आफूलाई ‘मरी हालोस्’ भनेर प्रचार गरेको गुनासोसमेत गरेका छन्। साथै उनले आलोचकहरूलाई आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौतीसमेत दिएका छन्। सिंगापुरबाट फर्केलगत्तै झापाबाट आएको एउटा टोलीलाई आफू बिरामी भएको सुनेर आएको हो कि भन्ने प्रश्न गर्दै ओलीले आफू ठीक भएको बताएका भए पनि यो कुरा प्रेस सल्लाहकारको ट्विटरमार्फत जानकारी गराइएको धेरै भएको छैन। त्यसलगत्तै फेरि प्रधानमन्त्री स्वास्थ्योपचार गर्न सिंगापुर जानुपर्ने भयो भनी जानकारी दिइएको छ। वास्तवमा प्रधानमन्त्री आफैं र उनका सल्लाहकार टोलीबाट आएका विविध अभिव्यक्तिले सर्वसाधारणलाई सही जानकारी दिन सकेका छैनन्। यसबाट सबैजना अलमलिने अवस्था सिर्जना भएको छ। हाम्रो समाजमा अझै कसैको स्वास्थ्य अवस्था खराब होस् भन्ने कुविचार राख्ने व्यक्ति छैनन्। थोरै व्यक्तिले त्यस्तो सोचेका छन् भने त्यो गलत हो। तर आफ्ना प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी पाउने सर्वसाधारणको हक नै हो। र, यसरी प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी मागिएको यो पहिलोपटक पनि होइन। तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी बिरामी हुँदा पनि नियमित स्वास्थ्य बुलेटिन प्रकाशन गरेर शिक्षण अस्पतालले सार्वजनिक गरेको स्मृति ताजै छ। त्यति मात्र होइन, तत्कालीन राजा र राजपरिवार सदस्य बिरामी हुँदा समेत त्यसको जानकारी सार्वजनिक हुने गरेकै हो। अहिले पनि पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो स्वास्थ्यबारे जानकारी दिने गरेका छन्। पूर्वराजाले त यसरी आफ्नो स्वास्थ्यबारे आमचासो हुन सक्छ भने महसुस गर्छन् भने बहालवाला प्रधानमन्त्री १० दिनको अन्तरालमा कुन रोगको उपचारका निम्ति सिंगापुर गइरहेका छन्, त्यहाँ कति समय लाग्छ आदिजस्ता प्रश्नको निरुपण हुनुपर्छ।  
प्रधानमन्त्री आफैंले विभिन्न मञ्चमा उभिएर आफ्नो स्वास्थ्यबारे पटक–पटक बोल्नुपरेको छ। वास्तवमा यो स्थिति आउनै दिन हुन्थेन। समयमै एउटा प्रेस विज्ञप्ति जारी गरेर यसबारे यथार्थ जानकारी गराउन सकिन्छ। यो प्रधानमन्त्रीको आलोचना नभएर उनीप्रतिको आमचासो हो। निजी व्यक्तिको स्वास्थ्यबारे जान्न खोजियो भने अनुचित हुन्छ। तर सार्वजनिक व्यक्तिको स्वास्थ्य राष्ट्रिय चासोको विषय हो। अतः प्रधानमन्त्रीको स्वास्थ्यबारे यथार्थ जानकारी दिई भ्रम निवारणमा गरियोस्।

प्रकाशित: ५ भाद्र २०७६ ०५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App