२२ असार २०७७ सोमबार
विचार

नेकपा विवादको चुरो

सिंगापुरबाट ‘उपचार भ्रमण’पछि स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक दलभित्र जिम्मेवारी बाँडफाँड टुंग्याएका छन्। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत वर्ष जेठ ३ गते एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको हो। दल एकीकरण प्रक्रिया निर्वाचनमा सफलता हासिल गर्नसमेत कारक रह्यो।मुलुकमा स्थिर सरकार गठन भएमा समृद्धि प्राप्त हुने सपना बाँडेका कारण एकीकरण आवश्यकता महसुस भएकै हो। त्यसै आधारमा निर्वाचनलगत्तै सफलताले अभिभूत भई पार्टीगत एकीकरण भए पनि भावनात्मक एकीकरणका निम्ति भने लामो समय लागेको छ। अहिले पनि दुई अध्यक्ष क्रमशः ओली र पुष्पकमल दाहाललाई पूर्ववत् समूहका नेता तथा कार्यकर्ताले आपसमा चिनाउँदा ‘हाम्रा अध्यक्ष’ भन्ने शब्द प्रयोग गर्ने गरेका छन्। आफ्नातर्फका नेता तथा कार्यकर्ताप्रति दुवैथरीको लगाव छ। खासमा नेकपाभित्र भावनात्मक एकता भइसकेको छैन।

जुन कुरा तिनका अभिव्यक्तिले प्रस्ट पार्छन्। बेला–बेला अध्यक्षद्वय ओली र दाहालका कटाक्ष सार्वजनिक भइरहेकै छन्। दल एकीकरणले राजनीतिक तहमा जुन उचाइ प्रदान गरेको छ, त्यति नै मात्रामा अवसाद पनि दिएको छ। यो नगरेको भए पनि हुन्थ्यो कि भन्ने भाव पनि यदाकदा प्रकट भइरहेको छ। यो त्यही भावनात्मक एकीकरण अभावको प्रमाण हो। दाहालले शनिबार राजधानीमा आयोजित राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघको कार्यक्रममा बोल्दै ‘एकता गरेर कहिलेकाहीं पछुतो लागे पनि’ भन्दै एकीरणको अपरिहार्यतालाई जोड दिएका छन्। मनको भित्री कुनामा रहेको असन्तुष्टि यसरी सार्वजनिक हुने गर्छ। दाहालको त्यो असन्तुष्टि दल एकीकरण गरेर यतिका समय हुँदासमेत पूर्ण रूपमा आफूले जिम्मेवारी नपाउँदाकै परिणाम हो भन्नेमा कुनै शंका छैन। प्रधानमन्त्री पद आधा–आधा समयका लागि बाँड्ने सहमतिको ‘कपाली तमसुक’ सार्वजनिक गर्नाका पछाडि यस्तै असन्तुष्टि कारक हो। तत्कालका लागि दाहालमा प्रधानमन्त्री पदको भन्दा पार्टीको ‘पूर्णअध्यक्ष’ बन्ने चाहना देखिन्छ। जब–जब दलभित्र असहज परिस्थिति आउँछ, तब–तब दाहालबाट यस्ता अभिव्यक्ति सार्वजनिक आउने गरेका छन्। र, दाहालको त्यो असन्तुष्टिलाई ओलीले पनि नबुझेका होइनन्, यसैकारण त ओलीले त्यसको जवाफ पनि बेला–बेला दिने गरेका छन्। संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आइतबार आफूप्रति लक्षित भनाइको जवाफ फर्काएका छन्, ‘मैले एकजनाले भनेको सुनें– प्रधानमन्त्री लगलग कामेका छन्, अब जाने भो भनेर। पद नगएको मैले दुनियाँमा कोही देखेको छैन। सबैका पद कुनै न कुनै दिन जान्छ। आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन। त्यसकारण निर्वाचनसम्म धैर्य गर्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु।’

प्रधानमन्त्री ओलीका यो भनाइ दाहाललगायत आफ्ना आलोचकप्रति लक्षित छ। यसपटक ओलीले दलभित्रको भागबन्डा समयमै नमिलाएका भए, स्वाभाविक रूपमा उनको नेतृत्व क्षमतामा प्रश्न उठ्ने स्थिति थियो। दलभित्र उपाध्यक्ष पद सिर्जना गरी संगठन विभाग र अखिल नेपाल किसान महासंघको नेतृत्वमा रहेका वामदेव गौतमलाई ल्याएपछि ओली धेरै हदसम्म आफ्नो शक्ति बढाउन सफल भएका छन्। दलको केन्द्रीय विभागमा पूर्वएमालेका नेताहरूले शक्तिशाली स्थान ओगटेका छन्। पूर्वमाओवादी केन्द्रका नेताले भने अहिले पूर्वएमालेहरूले छाडेका पद लिनाका पछाडि भने ठूलो उद्देश्य छ। दलभित्र दाहालले अब ‘पूर्णअध्यक्ष’ बन्न पाउलान् भन्ने नै हो। ओली पनि सरकार पाँचै वर्षका लागि चलाउने पाउने सर्तमा दाहाललाई त्यो जिम्मेवारी सुम्पन तयार भएको देखिन्छ। वास्तवमा दलभित्र केन्द्रीय विभागमा भागबन्डा हुन नसक्ने स्थिति एउटा देखावटी समस्या मात्र थियो, यथार्थमा दुई अध्यक्षबीच सहमति अभाव समस्याको प्रमुख कारक हो। नेकपामा विवाद, दुई अध्यक्षबीच पदीय भागबन्डा असहज हुँदा देखिएको हो। ओलीले सरकारको र दाहालले दलको नेतृत्व पाए भने स्वतः समस्या समाधान हुनेछ। सरकारले राम्ररी काम गर्न नसक्दा दलले त्यसलाई सच्याउन पनि सहज हुनेछ। नेकपामा अहिले देखिएका सुलहको स्थिति दुई अध्यक्षबीचकै (अ)सहमतिबाट सिर्जित समस्या हो।  
 

प्रकाशित: २ भाद्र २०७६ ११:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App