coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

कहिले नसुध्रिने पार्टी कांग्रेस

नेपाली कांग्रेस संगठन संरचना निर्माणको तयारीमा छ।  नयाँ संविधान जारी गरेको जस लिने कांग्रेसले पार्टीको नयाँ संरचना ४ वर्षसम्म पनि बनाउन सकेन।  एकात्मक राज्य प्रणालीले संघीयस्वरूप लिएको मात्र छैन, त्यसअनुरूप निर्वाचन भएर सरकार पनि बनिसकेका छन्।  मुलुकमा अहिले स्थानीय, प्रदेश र संघ गरी तीन तहका सरकार छन्।  त्यो निर्वाचन गराउने श्रेय पनि नेपाली कांग्रेसलाई नै जान्छ।  माओवादीसँग मिलेर बनेको सरकारले यी निर्वाचन सम्पन्न गरेको थियो।  तर कांग्रेस आफैँ भने ती संरचना बनाउने विषयमा अन्योलमा रह्यो र भर्खर बनाउने तयारी भइरहेको छ।
संविधान जारी भइरहँदा नेपाली कांँग्रेस तेह्रौँ महाधिवेशनको तयारीमा थियो।  संविधानले नयाँ स्वरूप निर्धारण गर्दै छ भन्ने जान्दाजान्दै नयाँ संरचना कस्तो बन्नेछ भन्ने अन्योलबीच उसले पुरानै संगठन संरचनाका आधारमा तल्ला तहका निर्वाचन ग¥यो र त्यहाँबाट छानिएका प्रतिनिधिका आधारमा महाधिवेशन सक्यो।  पटक–पटकको प्रयासपछि पार्टी सभापति बनेका शेरबहादुर देउवाको चारवर्षे कार्यकाल सकिन ६ महिना बाँकी रहँदा नयाँ संरचना बनाउनेबारे कांग्रेसमा बहस चलेको छ र अहिले लगभग सहमतिको स्थिति बनेको छ। 

अघिल्लो चुनावको आँकडा हेर्दा नेपाली कांग्रेस धेरै कमजोर भएको छैन।  मत धेरै तलमाथि भएका छैनन्।  तर चुनावमा हार–जितका लागि एक मतको पनि ठूलो महत्व हुन्छ।  सांगठनिक रूपमा भने आज कांग्रेस कमजोर भएको छ।  संघीयताअनुरूप यसका स्थानीय मात्र होइन, केन्द्रीय संरचना पनि बनेन।  भ्रातृ संगठनमा चुनाव नभएको अवस्थामा देउवाले सभापतित्व ग्रहण गरेपछि केहीमा चुनाव भए।  तर त्यसपछि पदावधि सकिएका भ्रातृ संगठनहरू पुरानै अवस्थामा फर्केका छन्।  चुनाव नभएको मात्र होइन, ती संगठन नै निष्क्रिय भएका छन्।  तरुण दल तथाकथित सहमतिका पाँच पदाधिकारीमा सीमित रहेर कार्यकाल व्यतीत गर्दै छ।  यो भन्दा लज्जस्पद अवस्था अरू के हुन सक्छ ?

अहिले पनि ओली र प्रचण्डको द्वन्द्वबीच भोलिको चुनाव जित्ने आशमा आज पार्टीको सत्ता कसले र कसरी हत्याउने भन्ने खेलमा कांग्रेस लागेको छ।

यसका कारण सर्सर्ती हेर्दा देउवाको नेतृत्व क्षमतामा गएर जोडिन्छ।  तर पार्टीमा तथाकथित सहमति खोज्ने प्रयासमा देउवाका सम्पूर्ण प्रयास असफल भएका छन्।  निर्वाचनमा प्रस्ट बहुमतसहित झन्डै ६० प्रतिशत मत ल्याएर विजयी बनेका देउवा यसबेला सबैभन्दा कमजोर देखिएका छन्।  उनले मनोनित गरेका केन्द्रीय सदस्यहरू नै उनको असफलताका कारक बनेका छन्।  कांग्रेसमा हारेका नेतालाई फेरि केन्द्रीय समितिमा मनोनित गर्ने बदचलन सुरु भयो, यही कारण निर्वाचित सभापति कमजोर बनेका हुन्।  कांग्रेस कहिल्यै एक हुननपर्ने, तर निर्णयचाहिँ सहमतिमा गर्ने प्रयत्नका कारण सभापतिले काम गर्न पाएका छैनन्।  पदाधिकारी र केन्द्रीय सदस्यमा मनोनित गर्ने व्यवस्था, सभापतिको हात बलियो बनाउन गरिएको हो।  कथम्कदाचित् महाधिवेशनबाट विजयी सभापतिले बहुमत सदस्य आफ्ना पक्षबाट जिताउन सकेन भने आफ्नो निर्णय प्रक्रिया सहज बनाउन मनोनित गर्ने प्रावधान राखिएको हो।  तर आज तिनै मनोनित सदस्यहरू कांग्रेसले गर्ने निर्णयका लागि बाधक बनेका छन्।

सभापतिका प्रतिस्पर्धीलाई मताधिकारबिना सल्लाहकारका रूपमा मनोनित गर्नु, उसले पाएको मतको कदर गर्नु पनि हो।  चलनचल्तीमा वरिष्ठ नेता भनिए पनि सभापतिको निकटतम प्रतिस्पर्धीलाई केन्द्रीय समितिमा नेताको हैसियत दिनु उचित नै हो।  तर चुनावमा सभापति, महामन्त्री र कोषाध्यक्षमा हारेकाहरू सदस्यमा मनोनित भएका छन्।  चुनाव हारेकालाई मनोनित गर्नु चुनाव जित्नेको मात्र अपमान होइन, बहुमत दिलाउने मतदाताको समेत अपमान हो।  यो अपमानको राजनीतिले आज कांग्रेस तहसनहस भएको छ।  अरू पार्टीसँगको निर्वाचनमा समेत एक हुन नसक्ने कांग्रेसले सहमति र सदाशयको राजनीतिका नाममा जुन अभ्यास सुरु ग¥यो, त्यो नै कांग्रेसको अकर्मण्यताको कारण हो। 

यो स्वाभाविक हो– चुनाव हारेकाहरूले कसैप्रति जवाफदेही हुनुपर्दैन।  अर्को महाधिवेशनमा प्रस्तुत हँुदै गर्दा जवाफदेही हुनुपर्ने जित्ने पक्ष हो।  हामी हारेर पनि केन्द्रीय समितिमा पु¥याएकामा त्यसको जस–अपजसमा हामी पनि सहभागी हुन्छौँ भनेर कसैले भन्नेवाला छैन।  महासमिति बैठकको रौद्र रूपले नै भोलिको महाधिवेशनमा हार्ने पक्षको भूमिका कस्तो होला भन्ने देखाइसकेको छ।  हार्नाको कारण पर्याप्त मत प्राप्त नगर्नु मात्र होइन, पार्टी संगठन चलाउने उनीहरूका घोषणा पत्र वा प्रतिवद्धता पनि हुन्।  सभापतिले कसरी पार्टी चलाउन खोजेको छ, उसलाई सहयोग गर्न सकिन्छ भने मात्र मनोनयन भएर बस्ने हो।  सभापतिलाई असहयोग गर्न वा असहमति जनाउन मनोनयन हुने होइन।  असहमति भएका दिन राजीनामा दिएर निस्कन सक्नुपर्छ।  यो संस्कारजन्य राजनीति अभावका कारण पनि कांग्रेस कमजोर भएको हो।  सभापतिले आफ्नो दृष्टिकोणअनुसार पार्टी सञ्चालन गर्न नपाएका हुन्।   

२०४६ को जनआन्दोलनयता झन्डै ३० वर्षदेखि नेपाली कांग्रेस सत्ता र प्रतिपक्षको राजनीतिमा छ।  पहिलो वा दोस्रो पार्टीका रूपमा उसले निर्वाह गर्ने भूमिकाका आधारमा कांग्रेसको मूल्यांकन र पुनर्मूल्यांकन हँुदै आएको छ।  यस अवधिमा बनेका २६ वटा सरकारमध्ये कांग्रेसले मात्र ११ सरकारको नेतृत्व गरेको छ।  बाँकी १५ मध्ये नेपाल कम्युनिस्ट पार्टीले ८ र राजा, पञ्च र प्रधानन्यायाधीशको नेतृत्वमा गरी ७ वटा सरकार बनेका छन्।  २०४७ देखि २०७४ सालसम्म कांग्रेस सरकारमा उदाउने र अस्ताउने गर्दै आएको छ।  यतिबेला राजनीतिले अन्यथा मोड नलिए, कांग्रेसका लागि २०७९ सालसम्म कुर्नुको विकल्प छैन।  कांग्रेस स्थानीय तहका केही सरकारमा बाहेक सबै प्रदेश र संघीय संसद्मा प्रतिपक्ष भूमिकामा छ।  संसद्मा प्रतिनिधित्व गर्ने संख्याका आधारमा कांग्रेस इतिहासकै कमजोर प्रतिपक्ष बनेको छ। 

संगठनका कारण हो वा आफैँभित्रको द्वन्द्वका कारण आफू कमजोर भएको हो ? यो विश्लेषण कांग्रेसले सही ढंगमा आजसम्म पनि गरेन।  कांग्रेसभित्र गुटगत आरोप प्रत्यारोपका कारण आफ्नो हारको सही विश्लेषण हुन सकेन।  कांग्रेस हारका मूल दुई कारण छन् ः पहिलो– दुई कम्युनिस्टबीच एकता, एमाले र माओवादी नमिलेका हुन्थे भने कांग्रेस पहिलो पार्टी हुन्थ्यो।  बरु माओवादी र कांग्रेस मिलेका भए, ऊ पहिलो पार्टी हुन्थ्यो भन्न सकिन्नथ्यो।  कांग्रेसको कम्युनिस्टविरोधी मानसिकताले कम्युनिस्टमा जस्तो मत एकै ठाउँमा खस्ने थिएन।  न त माओवादीका सबै मत कांग्रेसमा आउने सम्भावना रहन्थ्यो, तर अहिलेको अवस्था भने आउने थिएन।  अनि एमालेले एक्लै सरकार बनाउने बहुमत नपाउने पनि निश्चित थियो।  तर चुनावी सरकार टिकाउन माओवादीसँग सरकार र स्थानीय चुनावमा एकता गर्नुपर्ने बाध्यता सभापति शेरबहादुर देउवालाई थियो।  माओवादी त्यसै पनि तेस्रो पार्टी हुने थियो।  प्रचण्डले माओवादीको विसर्जन गरिरहँदा आफ्ना कार्यकर्ताको राजनीतिक भविष्य जोगाउन एमालेसँग गरेको एकता उनको अर्को बाध्यता थियो।  उनीसँग एमालेसित मिल्नुको विकल्प थिएन। 

कांग्रेस हारको दोस्रो कारण हो– आन्तरिक द्वन्द्व।  कतिपय ठाउँमा गलत उम्मेदवार चयन भएका कारण पनि कांग्रेस हारेको छ।  तर एमाले– माओवादीको एकतालाई कृत्रिम ठानेर कांग्रेस आफ्ना र अर्काको गुटका उम्मेदवार छुट्याउन तल्लीन रह्यो।  जित–हारको जस–अपजस देउवाले पाउने कुराले अर्को पक्ष चरम असहयोगमा उत्रियो।  कतिसम्म भने एउटै गुटका उम्मेदवारलाई हराउने वा जिताउनेसम्मका भूमिकामा कांग्रेस नेता–नेतृ उत्रिए।  कहालीलाग्दो परिणाम उनीहरूको कल्पनाभन्दा बाहिर थियो।  यसपछि पनि कांग्रेसको चेत फिरेको देखिँदैन।  अहिले पनि ओली र प्रचण्डको द्वन्द्वबीच भोलिको चुनाव जित्ने आशमा आज पार्टीको सत्ता कसले र कसरी हत्याउने भन्ने खेलमा कांग्रेस लागेको छ।  
कांग्रेस जनमत भएको, तर कहिल्यै नसुध्रिने पार्टीका रूपमा आज पर्यन्त बाँचेको छ।  बलियो लोकतान्त्रिक अर्को पार्टी नहुनुको फाइदा कांग्रेसले उठाइरहेको छ।  तर यसको अर्थ कांग्रेस निर्विकल्प लोकतान्त्रिक शक्ति ठान्नु भोलिका लागि गलत हुन सक्छ।  समयको प्रवाह रोक्न आजसम्म कसले पो सकेको छ र !

प्रकाशित: २७ श्रावण २०७६ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App