२० असार २०७७ शनिबार
विचार

जीवनको जग

जीवनको जग स्कुल शिक्षा हो।  स्कुल शिक्षा कमजोर हुने बालबालिकाको भविष्य सुनिश्चित हुँदैन।  थोरै व्यक्तिले स्कुल कमजोर भए पनि पछि गएर आफूलाई सुधार्ने प्रयास गर्छन्।  तर अधिकतर  बालबालिकाको भविष्य सुनिश्चित गर्ने हो भने तिनको शिक्षादीक्षामै ध्यान पु-याउन जरुरी हुन्छ।  धेरैजसो आमाबाबुको भनाइ हुन्छ– ‘ठूलो भएपछि सिक्छन्। ’ सिकाइ उपलब्धि उमेर र कक्षाअनुसार बढ्दै जानुपर्छ।  तल्ला कक्षामा कमजोर रहेकाहरूलाई माथिल्ला कक्षामा सजिलो हुँदैन।  स्कुलमा बालबालिकाको सिकाइ उपलब्धिमा शिक्षा नीति कार्यान्वयनकर्ताहरूको ध्यान जान सकेन भने त्यो मुलुकका निम्ति ठूलो धोका हुन्छ।  कुनै एक परिवारको भविष्य आफ्ना नानीहरूको सिकाइसँग जोडिएको हुन्छ।  राष्ट्रको भविष्य अहिलेका बालबालिकाको स्तरका आधारमा निर्भर हुन्छ।  जुन मुलुकका ७२ प्रतिशत विद्यार्थी पाठ्यक्रमको न्यूनतम सिकाइमा असफल हुन्छन् भने त्यसले शैक्षिक उपलब्धिको भयावह स्थिति उजागर गर्छ।  राष्ट्रभाषा नेपालीमै ५५ प्रतिशत विद्यार्थीले वाक्य गठनसमेत गर्न नसकेको स्थिति उजागर हुनुले यस क्षेत्रमा तत्काल हस्तक्षेप गर्नुपर्ने अवस्था देखाउँछ।  राज्यले विद्यालय क्षेत्र विकासका लागि ३ वर्षमा ३ खर्ब ७२ अर्ब लगानी गरेको छ।  तर विद्यार्थीको सिकाइ उपलब्धिको यति दारुण चित्रले त्यो बालुवामा पानी बनेको देखाउँछ।  पाठ्यक्रममा समयानुकूल परिवर्तन गर्दैै विद्यार्थीलाई कसरी थप सिकाइका निम्ति उत्प्रेरित गर्न सकिन्छ भन्ने रचनात्मक अभ्यास अभावको संकेत पनि हो।  विद्यार्थीलाई सिकाइमा उत्प्रेरित गर्न सक्ने अवस्था के/कति कारण आएको हो ? यसमा शिक्षा नीतिका निम्ति क्रियाशील निकायको काम के भयो ? यसमा शिक्षक, अभिभावक र विद्यार्थीको भूमिका कति जिम्मेवार छ ? यी पक्षमा ध्यान नदिने हो भने समस्या झन् विकराल बन्दै जानेछन्। 

कर्णाली प्रदेश भने विकास/निर्माणका हिसाबले मात्र होइन, सिकाइ उपलब्धिका दृष्टिले समेत यी दुवै विषयमा कमजोर देखिएको छ।  ब्राह्मण/क्षत्री बालबालिका नेपालीमा र नेवार बालबालिका गणितमा उत्कृष्ट देखिएका छन्। 

शिक्षा क्षेत्र सुधारका लागि स्रोत अभाव हुन पाएको छैन।  राज्यले यस क्षेत्रका निम्ति कुनै न कुनै रूपमा काम गर्दै आएको छ।  त्यसबाहेक दातृ निकायले पनि यसमा योगदान गरिरहेका छन्।  सार्वजनिक शिक्षा सुधार गर्न  शिक्षक तालिममा बितेका ६ वर्षमा २ अर्ब २५ करोड ८ हजार रकम खर्च गरिसकेको छ।  यो प्रयासबाट पनि उपलब्धि हासिल नहुनु भनेको समग्र शैक्षिक कार्यक्रमकै पुनरवलोकन गर्नुपर्ने अवस्था छ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय क्षेत्र विकास कार्यक्रममा गरिएको लगानी र प्रक्रियाको प्रभावकारिताबारे सरकारले गरेको अध्ययनको नतिजा हो यो।  कक्षा ५ का विद्यार्थीको उपलब्धिको राष्ट्रिय परीक्षण २०१८ को नतिजाले गणित विषयमा ७२ प्रतिशत विद्यार्थीले पाठ्यक्रमको न्यूनतम सिकाइसमेत हासिल गर्न नसकेको दुःखद अवस्था सार्वजनिक गरेको हो।  सोही कक्षाको नेपाली विषयमा ५५ प्रतिशत विद्यार्थीले नेपाली विषयमा आफैं वाक्य गठन गर्न नसक्ने प्रस्ट्याएको छ।  ३२ प्रतिशत बालबालिकाको कक्षामा गणित सिक्ने आधारै नबनेको र नेपालीमा २० प्रतिशत बालबालिकाको आफैँ वाक्य गठन गर्ने आधारसमेत स्कुलमा तयार नभएको पाइएको अध्ययन नतिजाले देखाएको छ।  शैक्षिक गुणस्तर परीक्षण केन्द्र (सानोठिमी)ले सोमबार सार्वजनिक गरेको प्रतिवेदनले कक्षा ५ का विद्यार्थी गणित र नेपालीमा कमजोर बन्दै गएको प्रस्ट पारेको छ।   २०७५ फागुनमा केन्द्रले विद्यार्थीको गणित र नेपालीमा उपलब्धिको राष्ट्रिय परीक्षण गरेको थियो।  १ हजार ४ सय विद्यालयका २८ हजार ३ सय ८१ विद्यार्थी, १ हजार ४ सय शिक्षक, १ हजार ४ सय प्रधानाध्यापकलाई परीक्षणमा समेटिएको थियो।  सरकारले विद्यालय शिक्षाको शैक्षिक सुधारका लागि केन्द्रबाटै २०६८ देखि २०७६ सालसम्म कक्षा ३, ५, ८, र १० का सातवटा परीक्षण गराइसकेको छ।  सातै नतिजाले क्रमशः गणित र नेपाली विषयमा विद्यार्थीको सिकाइ उपलब्धि घट्दै गएको देखाएका छन्। 

सरकारले बालबालिकाको शैक्षिक गुणस्तर सुधार्न आर्थिक वर्ष २०७३/७४ देखि २०७९/८० सम्म सातबर्से विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।  कूल १० खर्ब ५८ अर्ब बजेटको कार्यक्रम छ।  जसमध्ये सरकारले प्रारम्भिक ३ वर्ष अर्थात् २०७३ देखि २०७५ सालसम्ममा कुल ३ खबै ७२ अर्ब ९६ करोड विद्यालय शिक्षामा खर्च गरिसकेको छ।  त्यसमा दातृ निकायको १२ प्रतिशत रकम छ।  राज्य आफैँले सात पटकसम्म निकालेको विद्यार्थी सिकाइ उपलब्धि परीक्षणको नतिजा नकारात्मक देखिँदा पनि सुधारका निम्ति पहल गरेको देखिएन।  सिकाइ उपलब्धि परीक्षण गर्ने र त्यसका सुझाव कार्यान्वयन नगर्ने विडम्बनापूर्ण अवस्थामा सरकार छ।  यस्तो स्थितिमा सरकारले आफ्ना शैक्षिक कार्यक्रममै गम्भीर विचार गर्ने बेला आइसकेको छ।  क्षेत्रगत हिसाबले हेर्दा प्रदेश २ मा गणित र गण्डकी प्रदेशमा नेपाली सिकाइ उपलब्धि राम्रो देखिएका छन्।  कर्णाली प्रदेश भने विकास/निर्माणका हिसाबले मात्र होइन, सिकाइ उपलब्धिका दृष्टिले समेत यी दुवै विषयमा कमजोर देखिएको छ।  ब्राह्मण/क्षत्री बालबालिका नेपालीमा र नेवार बालबालिका गणितमा उत्कृष्ट देखिएका छन्।  मुलुकका क्षेत्र, जाति/जनजाति आदि स्थितिलाई समेत ध्यानमा राखेर सिकाइलाई आधुनिकीकरण गर्नुपर्ने बेला भइसकेको छ।  विद्यार्थीको जग बलियो नबनाई भविष्यको नेपाल समृद्ध बन्न सक्दैन।  सिकाइ उपलब्धि नतिजाबाट समयमै पाठ सिक्नु आवश्यक छ।  यी नतिजा आएपछि दुई दिन चर्चा गर्ने र भविष्यमा सुधारका निम्ति क्रियाशील नहुने हो भने समस्या यथावत् रहने छन्।                           

 

 

प्रकाशित: २२ श्रावण २०७६ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App