२० असार २०७७ शनिबार
विचार

अभिव्यक्तिमा आपत्ति

उदारवादी चिन्तनधारालाई इतिहासमा सबैभन्दा बढी प्रभावित गर्ने बेलायती दार्शनिक तथा राजनीतिक अर्थशास्त्री जोन स्टुअर्ट मिलले भनेका छन्– ‘सबै मानव जाति एकजनाको विचारविरुद्ध भए पनि, एउटै मानिसले फरक विचार राखे पनि, त्यो व्यक्तिलाई मानव जातिले चूप लगाउन सक्दैन, बरु उसले सत्यताका आधारमा सम्पूर्ण मानव जातिलाई चूप लगाउन सक्छ। ’ यो लोकरिझ्याइँको समय हो।  समर्थकको ठूलो भीड भएका मानिसले जतिसुकै अप्रिय कुरा गर्न सक्छन्।  अभिव्यक्ति स्वतन्त्रता व्यक्तिले जन्मसँगै पाएको स्वतन्त्रता हो।  बोल्नका निम्ति शक्ति पुर्‍याइरहनु पर्दैन।  त्यसमा पनि उदार लोकतन्त्रले शक्तिहीनलाई समेत बोल्न प्रेरित गर्छ।  अहिले हामीले हासिल गरेको नागरिक अधिकार स्वतन्त्र अभिव्यक्तिका निम्ति हो।  यस्तो शासन व्यवस्थामा कुनै व्यक्तिलाई अलि बढी अधिकार र कसैलाई कम भन्ने हुँदैन।  बरु उदार लोकतान्त्रिक व्यवस्था त्यतिबेला विकृत हुन्छ जतिबेला शक्तिशालीले जे पनि बोल्न पाउँछन्।  त्यतिमात्र होइन, तिनले अरुलाई नबोल्नका निम्ति धम्क्याउँछन्।  उदारवादी शासन व्यवस्थामै पुगेर फेरि त्यसका जरा काट्ने प्रवृत्ति विस्तारै विश्वमा मौलाउँदैछ।  आफू लोकप्रियताको शिखरमा पुगेको महसुस गरेपछि अरुलाई अभिव्यक्तिमा बाधा गर्ने प्रवृत्ति देखिन्छ। 

आफ्नो राजपाट बुझाएर सामान्य नागरिकसरह जीवन यापन गर्दै आएका पूर्वराजाले बोल्नै नपाउने हुन् र ?

अहिले ‘उदारवादी विश्वव्यवस्था’ अन्त्य भएको हो कि ? भन्ने शंकासमेत चिन्तकहरूले गरिरहेका छन्।  उदारवादी व्यवस्था अन्त्यको कारक तिनै व्यक्ति भएका छन् जसलाई अभिव्यक्तिले अहिलेको स्थानमा पु-याएको हो।  अहिलेसम्मका राजनीतिक परिवर्तन अभिव्यक्ति स्वतन्त्रताबाटै प्राप्त भएका हुन्।  हिजो माओवादीले ‘दीर्घकालीन जनयुद्ध’ (२०५२–२०६३ साल) गरिरहेका बेला राजनीतिक समाधान गरी मूल प्रवाहमा ल्याउनुपर्छ भन्ने अभिव्यक्ति निषिद्ध रहेको हो एउटा कालखण्डमा।  जसले राजनीतिक समाधान खोज्न सुझाउँथे, तिनले माओवादी मतियार भएको भन्दै लाञ्छित हुनुपर्ने अवस्था रहेको हो।  परिवर्तनको वेग रोकिएन।  समाज विकास स्वतन्त्र अभिव्यक्तिका निम्ति लडेर यहाँसम्म आइपुगेको हो।  कसैलाई बोल्न नदिएको भए यो रूपमा विकास हुन सक्दैनथ्यो।  सबैखाले अधिकारको जननी अभिव्यक्ति स्वतन्त्रता हो।  त्यही भएर यसलाई सबैभन्दा मूल्यवान मानव अधिकारका रूपमा ग्रहण गरिएको छ।  कुनै पनि समाजमा विचारको स्वतन्त्र आदान–प्रदान भएन भने अघि बढ्न सक्दैन।  फेरि यस्ता अभिव्यक्तिले अर्कोलाई चोट पु¥याउन पनि सक्छ।  चोट पुग्छ भनेर कसैलाई अभिव्यक्ति दिनबाट रोक्न पनि सकिँदैन।  इतिहासको एउटा कालखण्डमा ग्यलिलियो र चाल्र्स डार्बिनका अभिव्यक्तिलाई धार्मिक अपराध नठानिएको होइन।  सिंँगै समाज एकातिर भए पनि यी चिन्तकका अभिव्यक्ति सही सावित भएका छन्। 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल यतिबेला कसले कस्ता अभिव्यक्ति दिने भनी निर्देशित गर्ने अवस्थामा छन्।  अब उनलाई सोधेर के बोल्ने के नबोल्ने तय गर्नुपर्ने भएको छ।  उनले पूर्वराजा ज्ञानेन्द्रलाई आइतबार एक कार्यक्रममार्फत् ‘बकबास गरिरहे नागार्जुनबाट निकाल्न सकिनेछ’ भन्दै धम्क्याएका छन्।  आफ्नो राजपाट बुझाएर सामान्य नागरिकसरह जीवन यापन गर्दै आएका पूर्वराजाले बोल्नै नपाउने हुन् र ? आमनागरिकलाई प्राप्त हुने अभिव्यक्ति अधिकार उनलाई पनि छ।  अहिलेको व्यवस्था दाहाल र उनीजस्तै नेताहरूका निम्तिमात्र आएको होइन।  उनले नागार्जुनबाट निकाल्ने धम्की दिनासाथ सामाजिक सञ्जालमा सर्वसाधारणले दिएका अभिव्यक्तिलाई मनन् गरेमात्र पुग्छ।  अहिलेको व्यवस्थामा शासनमा बस्नेले मात्र बोल्ने र अरुले नपाइने भन्ने छैन।  अहिलेको शासन व्यवस्थाका बारेमा आलोचनात्मक अभिव्यक्ति राख्न पनि पाइन्छ।  स्वतन्त्र अभिव्यक्ति दिन पाइने भएकै कारण अहिलेको व्यवस्था ल्याइएको हो।  त्यसमा पनि अहिले सामाजिक सञ्जालमा सर्वसाधारणले समेत बोल्न पाएका छन् जबकि यसले परम्परागत अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अवधारणामै परिवर्तन ल्याएको छ।  पूर्वराजा ज्ञानेन्द्रले अहिलेका सत्ताधारी सबैले बोल्न रोके पनि पाउँछन्।  कसैका अभिव्यक्तिमै लगाम लगाउने छूट छैन।  आफ्नो अभिव्यक्ति अधिकारको उपयोग गर्दा अरुका अधिकार मिच्ने कुरा गर्न मिल्दैन।

प्रकाशित: २१ श्रावण २०७६ ०७:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App